हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

चलचित्रकर्मी महिला सशक्तिकरणका लागि निजी क्षेत्रको भूमिका

प्रकाश सायमी, (ललितपुर)

 

सिनेमा र महिलाः एक छवि निरुपण

सन् १८९५ डिसेम्बर २८ तारिखमा विश्वमा पहिलो पटक प्रदर्शित मूक सिनेमा दि ट्रेन अराइभल टु स्टेशन' फ्रान्सका लुमाएर दाजुभाइले बनाएका हुन् यसमा कुनै महिला पात्रको भूमिका थिएन र निर्माणमा पनि कुनै अहम् भूमिका महिलाको रहेन । सन् १८९५ देखि सन् १९२५ सम्म सिनेमा निर्माण गर्ने प्रमुख राष्ट्रमा फ्रान्स, अमेरिका, इटाली, रुस, डेनमार्क, बेलायत र भारत भएपनि यो लामो दौरान सिनेमाले मूक युगमा आवाज खोज्ने क्रममा धेरै कोशिशका वावजूद रुसका केही सिनेकर्मी मध्ये सजग रुपमा सर्जेइ आइन्स्टाइनले महिलाको अहम् भूमिकामा 'मदर' नामक सिनेमा बनाए, सन् १९२६ मा ।

यस अगि सन् १९१५ मा अमेरिकी निर्देशक डेविड वार्क ग्रीफिथले द वर्थ अफ् नेशन'मा नेपथ्यबाट महिलाको उपस्थिति देखाएपछि त्यसलाई सन् १९२५मा रुसका फिल्मकर्मी सर्जेइ आइजेन्स्टाइनले ब्याट्लशिप पोटेम्पिकीनमा अस्पतालबाट ट्रलीमा बच्चा लिएर आउँदै गरेकी आमा र उनको संवेदनालाई क्लोज अपमा अभिव्यक्त गर्ने प्रयास गरेको थियो । सिनेमा निर्माणक्रममा पहिलो सिनेमा दि ट्रेन अराइभल टु स्टेशन देखि ब्याटलशिप पोटेम्पिकीन का वीचमा लामो समय महिलाको उपस्थिति र स्वर शून्य बराबर रह्यो । सन् १९१६ मा रुसमा राष्ट्रीयकरण भएपछि लेनिनको शासनकालमा उदाएका तीन फिल्मकार ( कुलेशाव, डबजेन्को र आइजेन्स्टाइन ) मध्ये आइजेन्स्टाइनले सशक्तरूपमा महिलाको स्वरलाई पर्दामा उठाए, यो सिनेमा नै विश्वमा महिलाको विषय तत्व लिएर बनाइएको पहिलो कथानक सिनेमा थियो । र, यही सिनेमाले नै विश्वका आमूल सिनेकर्मीको विचारलाई बदल्न सघाउ पु¥यायो । यही सिनेमाको प्रभावमा भारतमा महबूब खानले सन् १९५७ मा  मदर इन्डिया बनाए । मदर इन्डिया प्रदर्शन भएर सफल भएको नौवर्षपछि नेपालमा सन् १९६५ को मार्चमा आमा चलचित्रको निर्माणको घोषणा भयो । सरकारी लगानीमा यो नेपालीमा बनिएको नेपालको पहिलो सिनेमा मानिन्छ, यसै सिनेमाको प्रदर्शनसँगै सन् १९६५ मै निजी क्षेत्रबाट पहिलो  पटक माइतीघर नामक् सिनेमा बन्यो , बी एस थापाद्वारा निर्देशित यस सिनेमामा भारतीय अभिनेत्री माला सिन्हाको प्रमुख भूमिका रहेको थियो । यस सिनेमामा उनकै जीवनको समस्या, संकट र  चुनौती वरिपरि यो सिनेमा केन्द्रित थियो । (सायमी, पृ। २४: २००१)

माइतीघर निर्माणको अठार वर्षपछि बल्ल सन् १९८२ मा निजी क्षेत्रबाट जुनी नामक् सिनेमा बन्न सक्यो । निजी क्षेत्रका निर्माताको लगानीमा बनेको यस चलचित्रमा जुनी का निर्माता मञ्जु राणा स्वयम् एक महिला भएको कारणले यस फिल्मको व्यानरको नाउँ पनि महिला कै नाउँबाट  सुजाता फिल्मस्  राखिएको थियो र यसमा सम्पूर्ण कथावस्तु नायिका मीनाक्षी आनन्द वरिपरि घुमेको थियो, यसमा नारीको जीवनमा आउने समस्या, उनले पार गर्ने सत्तासंघर्ष र समन्वयका वारेमा कथा केन्द्रित थियो ।

माइतीघर, परालको आगो, जुनी पछि निजी क्षेत्रबाट चलचित्र बनाउने क्रममा काठमाण्डू उपत्यका, पोखरा र विराटनगरका धेरै निर्माता निर्देशक सक्रिय देखिए भने भारतको मुम्बई र कोलकत्ता अनि भारतकै बाइसौँ राज्य सिक्किम पनि अत्यन्त सक्रिय देखिए । त्यसमध्ये निजी क्षेत्रका प्रायः निर्माता निर्देशक आफ्नी आमा, पत्नी वा छोरीबाट प्रेरित भएर सिनेमा बनाउने हुनाले प्रायःले आफ्नो सिनेमाको व्यानरको नाउँ देवी, भगवती, कालीको नाममा राखेको पाइन्छ भने कतिले आफ्नै पत्नी वा आमाको नाउँमा पनि राखिएको पाइन्छ । उदाहरणार्थ , निजी क्षेत्रबाट दोस्रो चरणमा सिनेमा बनाउने चलचित्र उद्यमी डीबी थापाले मायाप्रीति ( सन् १९८६) बनाउँदा आफ्नो ब्यानरको नाउँ शान्ति फिल्मस् राखे भने नायक निर्माता भुवन केसीले आफ्नै छोरीको नाउँमा काजोल फिल्मस् राखेका छन् । यसवाहेक कैयन् निर्माता निर्देशकले विवाहपछि सिनेमामा सक्रिय बनाउन अनेक सृजनात्मक कार्यमा सम्बद्ध पनि बनाएका छन् , निर्देशक तुलसी घिमिरेले आफ्नी पत्नी भारती गजमेरलाई सहायक निर्देशकमा र निर्माता निर्देशक शम्भु प्रधानले आफ्नी पत्नी नूतन प्रधानलाई सम्बाद लेखकका रूपमा प्रवेश गराएका छन् । मूलतः नेपाली सिनेमाका निर्माता, निर्देशक वा उद्यमी यस व्यवसायलाई लक्ष्मीले धान्ने भएको भएर पनि महिलाको सहभागितालाई प्रमुख मान्दछन् ।

यस्ता कैयन् उदाहरण निजी क्षेत्रका चलचित्र उद्योगले दिएका छन् भने कैयन सुधारहरु गर्नुपर्ने अहिलेको  परिप्रेक्ष्यमा देखापर्दै आए पनि सिनेमाको पर्दामा महिलाको तस्वीर अस्पष्ट र धूमिल देखिन्छ ,यसै विषयलाई अभियोजन गरेर यो कार्यपत्र तयार पारिएको छ ।

 

विषयः १

काल्पिनिकीमा तिनी निकै उच्च महत्वमा रहेकी तर वास्तविकीमा तिनी परिचयहीन बनेकी छिन् । तिनले कवितालाई आदि देखि अन्त्यसम्म सामिप्य दिएकीछिन् तर तिनी इतिहासबाट गायब छिन् ।विश्वप्रसिद्ध उपन्यासकार भर्जिनिया उल्फकृत्त अ रुम अफ ओन्ज्ओन, का यि पंक्ति पढ्दा विपर्यास लाग्छ महिलाको जीवन । पुरुष तिनलाई चाहन्छ, माया गर्छ, तिनको पूजा गर्दछ र तिनको वारेमा लेख्दछ, तर उनीहरुले ती सबै आफ्नो अस्तित्वका निम्ति गरेको देखिन्छ । ( जैन र राई ,पृ। १०६ २०२) 


उधृत
मन्तव्यले समाजमा महिलाको स्थितिलाई स्पष्ट दर्शाउँछ, त्यो चाहे उच्च घरानामा होस् वा निम्नकोटिमा । तर त्यसमा महिलाले आफैँ सक्रियता देखाउनका निम्ति पहिलो सहभागिता आफैँ नै एक विषय वा आग्रह बन्न जरुरी छ । र, आफैँलाई सहभागी बनाउन महिलाले सृजनात्मक सहभागिता र समन्वय हुने क्षेत्रमा आफूलाई उभ्याउन आवश्यक देखिन्छ ।

नेपाली चलचित्रका क्षेत्रमा महिला चलचित्रकर्मीको शून्य वराबर उपस्थिति रहेको क्षेत्र हो, सिर्जनात्मक क्षेत्र । सिर्जनात्मक क्षेत्रलाई सिनेमाले तीन प्रभागमा विभक्त गरेको देखिन्छ ,

क) कथा लेखन

ख) सम्बाद लेखन

ग) गीत लेखन ।

ई तीनै क्षेत्रमा महिला चलचित्रकर्मीको उपस्थिति हुन सके, यहीँबाट अभियान सुरु हुन्छ । सिनेमा खाली पानाको कालो अक्षरबाट थालिन्छ, र खालि पानामा जस्तो विषयलाई पनि उठाउन सकिन्छ । जस्तै, कथावस्तुको चयन , पात्रको नाम वा चरित्र चित्रण । यसमा महिलाको सहभागिता हुन सके , महिलाका विषयमा जिउँदा जाग्दा विषवस्तुको प्रकटन हुन सक्छ । सिनेमा निर्माण वा लेखन सामाजिक स्रोतको प्रेरणा वा उपज भएको हुनाले हाम्रो समाजमा भएका सबल पक्षलाई हामीले वरण गर्न सक्छौँ । नेपाली समाज हिन्दू राष्ट्रवादबाट अत्यधिक प्रभावित भएकोले यसले दुर्गा, काली जस्ता शक्तिरुपी पात्रलाई पर्दामा रुपायित गर्न महिलाको कलमको  सहायता लिन सक्छ ।

दोस्रो, सम्बाद लेखन पनि महत्वपूर्ण पक्ष हो । दुई घण्टाको सिनेमा हेरिसकेर दर्शकको दिल दिमागमा बस्ने पछिल्लो चीज सम्बाद नै हो । यसले वर्षौसम्म प्रभाव पारिरहन्छ । उदाहरणका लागि , माइतीघरमा सुनीता रेग्मीले बोलेको घैँटोभित्र घाम लागे मात्र आइमाइले संसार देख्न पाउँछ वा सिंदूरमा खलनायक नीर शाहले बोलेको सम्बाद, यो घर एउटा स्टेज हो र तँ मेरी स्वास्नी । वा जीवनरेखामा खलपात्र अर्जुनजंग शाहीले बोलेको  सम्बाद मलाई त्यही माल चाहिन्छ । वा, नायिका रेखा थापाले बनाएको कसले चो¥यो मेरो मन मा रेखाले आर्यन सिग्देललाई तिमी राम्रो माल छौ भन्ने जस्ता सम्बाद महिलाले लेखेको भए, अझै स्तरीकृत वा सम्पादित हुनसक्थ्यो ।

तेस्रो पक्ष हो, गीत लेखन जसमा नारीको उपस्थिति चलचित्रमा बौद्धिक शून्य बराबर छ । पुरुषले लेखिएका गीतमा महिलाको रुप, साजसज्जा र लावण्यको मात्र चित्रण भएको पाइन्छ, मस्तिष्क वा मानसिकता कतै देखिन्न । यसलाई एक रुचिसम्पन्न महिलाले सहभागिता दिन  सके तटस्थ नभए पनि तर्कातीत हुनसक्छ ।

विषयः २

चलचित्र निर्माण सिर्जनात्मक कार्य हो भने त्यति नै हदमा संरचनात्मक कार्य पनि हो । संरचनात्मक कार्यमा समूहगत उपस्थिति अनिवार्य छ । यदि सिनेमालाई एकल पद्धतिमा नसोचेर अगि बढाउन समूहको सामीप्य राख्ने हो भने लेखनमा जस्तै छायाङ्कन, सम्पादन र सङ्गीत संरचनामा महिला चलचित्रकर्मीले गतिलो भूमिका निर्वाह गर्न सक्छ । तर यो जत्तिकै प्रभावकारी कदम अर्को पनि हुनसक्छ, हरेक चलचित्र निर्माण कम्पनीले निर्देशन विभागमा निर्देशकका सहायकका रूपमा महिला सहायक निर्देशक राख्ने पद्धति बनाएमा ती महिलाबाट  निर्देशकले वा दृश्याँकनमा समन्विति वा सहभागिता सम्मानपूर्वक पाउन सक्छ । वेशभूषा, केशविन्यास, साज सजावट लगायत रंग संयोजनमा समेत उल्लेखनीय सहभागिता पर्दामा हुनसक्छ ।

नेपाली चलचित्र बन्न थाले देखि आजसम्मको परिवेशमा चेतन कार्कीले यो परम्परालाई थाले पनि अरु निर्देशकले न्यून रुपमा यसको पालना गरेको  पनि देखिन्न, निजी क्षेत्रका निर्माताले यस पद्धतिलाई गम्भिर रुपमा हेर्न वा सोच्न सकिन्छ ।

 

विषयः ३

चलचित्रको लेखन, निर्देशन, निर्माण छोडेर तेस्रो अत्यन्त प्रभावकारी पक्ष हो,  प्रचार । चलचित्र जुनसुकै विचार वा विषयमा बनाइए पनि यसलाई बाहिर प्रदर्शनमा ल्याउने बेलामा  गरिने प्रचारले समाजमा शीघ्रतीशीघ्र प्रभाव पार्छ, त्यही प्रभावले समाजमा नयाँ शक्तिसमीकरण बनाउँछ  । सिनेमा, एउटा सम्मानित दुनियाँको  वास्तविक छवि  हो, सिनेमाले एउटा काल्पनिकी संसार त अवश्य बनाउँछ तर सिनेमा स्वयम् मा वास्तविकता हो । यही वास्तविकतालाई सिनेमा रुचि राख्नेले पनि, नराख्नेले पनि आफ्नो अवधारणा बनाउनसक्छ 

जनस्थानमा जाने प्रचार, प्रसार एवम् प्रवर्धन सामग्रीमा वामाशक्ति भागी हुन सके, त्यस्ता  सामग्रीमा पनि महिलाको गरिमा न घट्ने, समाजलाई कुत्सित नबनाउने सत्कार्य गर्न सकिन्छ । यसले जीवनको गौरव जोगाइराख्न सकिन्छ । पोष्टर, क्यासेटको ज्याकेट, टीभी वा पत्रपत्रिकाका निम्ति बन्ने प्रकाश्य सामाग्री वा टिजरमा महिलाको सोचबाट नयाँ ढँगबाट न्यायपूर्ण काम हुनसक्छ ।

 

विषयः ४

सिनेमा मनोरञ्जनको माध्यम भएपनि यो शिक्षाको जग पनि हो तर सिनेमा हेर्नुअगि नै जनसाधारणमा हेर्ने सिनेमा हेर्ने चेतना वा शिक्षा हुन जरुरी छ, सिनेमा के लागि बनाउने भन्दा, के का लागि के हेर्ने भन्ने ज्ञान वा विवेक हुन जरुरी छ ।  सिनेमा महिलाका निम्ति के के कारण शिक्षा हुनसक्छ , दर्शकका रुपमा बुझ्न जरुरी छ यसका लागि सिनेमालाई पाठ्य पुस्तकमा राख्न जरुरी छ, तर यो  हाम्रो जनजीवन, भावभूमि र परिवेशमा आधारित हुन जरुरी छ ।

यस खण्डलाई हामीले सन् १९७८ को यूनेस्कोको मिडिया शिक्षा साधारण पाठ्य सामग्रीको प्रस्तावना हेर्ने हो भने स्पष्ट हुनसक्छ |

सिनेमा वा शिक्षा, एक खाद्य पदार्थ नइकन यो एउटा मानसिक उपलब्धि हो । यो सबै ठाउँमा एउटै स्वादमा नजान सक्छ, यूनेस्को यो प्रतिवेदन राम्रो भइकन पनि सकारात्मक भएन किनकि यूनेस्को को गतिविधि र सक्रियता पश्चिमी मुलुकको अनुभव र औद्योगिक राष्ट्रको उपलब्धिका आधारमा  हुने हुनाले पूर्वीय मुलुकमा यसको ठीक उल्टो प्रभाव पर्न गयो । सिनेमाशिक्षा यसकारण असफल हुन पुग्यो यसलाई बैज्ञानिक वा शिष्ट तरिकामा लाने हो भने यसबाट अझै महिला चलचित्रकर्मी लाभान्वित हुन सक्छन् ।

सिनेशिक्षा स्कूली माध्यमबाट नभईकन रोजेरियन पद्धतिमा जान सके सिनेमा सीधै महिलाको रुचिको विषय बन्न सक्छ , सिनेमा हेरेपछि त्यसमा अन्तरक्रिया वा छलफल गरेर स्त्री विषयक खोजखनिज गर्न सकिन्छ,

सिनेमा हेर्ने

सिनेमामा के छ, के छैन सामूहिक छलफल गर्ने

हेरिएको सिनेमाको जनजीवनमा प्रभाव हेर्ने ।

, त्यसको वस्तुपरक मूल्याङ्कन गरेर महिलालाई अभिप्रेरित गर्ने ।

अन्त्यमा ;

प्रतिबद्धता

चार विषयमा गरिएको यो छलफलले एउटा राम्रो निष्कर्ष दिनसक्छ, चलचित्रकर्मी महिला सशक्तिकरणका लागि ।

हामी आफ्नो छलफल र अन्तरक्रियामा उठेका कुरामा जिम्मेवार हुन जरुरी छ ।

हामी अरुलाई आफ्नो भू यथार्थको व्याख्या गर्न लालायित नगरौँ ।

 

प्रक्रिया

सिनेमा हुनुको यथार्थ हो तर यसमा नुहुनुका सत्यता धेरै छन्, यसमा आम मान्छे रुचि पैदा गर्न सक्ने क्षमता हुन जरुरी छ, त्यसका निम्ति विविध शैलीका नयाँ धारणा र नयाँ प्रविधिमा यो सन्निकट हुन जरुरी छ । 

रुचि र रहरका आधारमा महिलावर्ग आकर्षित हुने क्षेत्रमा सिनेमाको प्रविष्टि हुन जरुरी छ, त्यो चाहे सुन्दरी प्रतियोगिता होस् वा, अन्य सामाजिक संघसंस्था ।

श्रव्यदृश्य माध्यम विशेषतः टेलिभिजनबाट रुपसारमा ध्यानपूर्वक जान जरुरी छ ।

प्रणालीगत रुपमा सिनेमा र समाजको सम्बन्धले केही अर्थ राख्छ तर यसलाई गुणदोष का आधारमा मात्र हेरिने दृष्टिकोण फेरिनुपर्छ ।

अपेक्षा:

हामीले यसबाट सिनेमाका अरु सम्भावनका मार्ग प्रशस्ति गर्न सक्छौँ वा यसैकै कारणले वामा शक्तिमा आर्थिक रुपान्तरण हुनसक्छ ।

सिनेमाले धेरैको जीवन, र गति बदल्न सक्छ तर हामीलाई यो पनि थाहा छ सिनेमाका निम्ति हामीले बाटो बदल्न सक्यौँ भने स्वभावतः सिनेमा पनि बदल्न सक्छ । भनिन्छ, राइट लिभिङ्ग एट राइट टाइम । त्यसैको प्रतीक्षामा नेपालीय सिनेमाले खोजेको परिवर्तन महिला चलचित्रकर्मीबाट भएमा दक्षीण एशियाई भूखण्डमा राम्रो सन्देश जान सक्छ ।

००

सन्दर्भ ग्रन्थ:

जैन, जसबीरः राई, सुधा , फिल्मस् एन्ड फेनिज्म ( सन् २००२), न्यू दिल्ली , रावत पब्लिकेशन ।

सायमी, प्रकाश, चलचित्रः कला र प्रविधि (सन् २००१), काठमाण्डू , पैरवी बुक्स पब्लिकेशन ।

सिक्र्का, मिन्क्केनेन्, अ जनरल क्युरिकुलर मोडेल फर मास एडुकेशन, (सन् १९७८) न्यूयोर्क ,  यूनेस्को । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |