हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

मैले कविता लेख्न सकिन

दीपक जडित, (एँकरेज, अलास्का)

                    

वासुदाइको फोन आएछ । मैले उठाईन । वास्तवमा मैले फोन बजेको नै थाहा पाईंन ।

 

आजभोली मेरो यस्तै चल्दैछ । म स्वयँ भताभुङ्ग छु क्यार । मेरो समय लथालिङ्ग छ । कतिबेला के गर्छु आफैं पत्तो पाउँदिन । कतिबेला उठ्छु, कतिबेला सुतेको हुन्छु । कतिबेला खान्छु, कतिबेला पिएर हिंडेको हुन्छु ।

 

बेमतलबी, बेपर्वाह ।

 

अनुशासनहीनताको गतिलो उदाहरण बाँचेको छु म ।

 

यस्तो तब भयो जब म बेरोजगारीको चपेटामा गतिलोगरी च्यापिएँ । जतिबेला काम थियो, जिन्दगीमा कामैकाम थियो । लाग्थ्यो आफ्नो रहरका कुराहरु, मनले अह्राएका कुराहरु गर्नलाई समय नै छैन । तर होईन रहेछ । समय अभावको चाप जति पर्छ उति मनले अह्राएका काम गर्ने समय निकालिंदोरहेछ । समय फालाफाल भएपछि 'खाली दिमाग शैतानका घर' साँच्चै हुँदोरहेछ ।

 

हाम्रो आफ्नै पनि एउटा उखान छ, 'कुकुरको कामपनि छैन, फुर्सदपनि छैन ।'

 

यो उखानमा कुकुर त यौटा दृष्टान्त मात्र हो भनिएको चैं मान्छेलाई नै हो ।

 

'थुक्क! म, आफ्नै निमित्त कुकुरको दृष्टान्त दिनुपर्ने?' त्यो पनि भुक्न नसकेर । कथंकाल भुकिहालेपनि भुकेको अर्थ नलागेर । हो, भुक्न अर्थात बोल्न अर्थात लेख्न नसकेर नै, अझ लेखे/बोलेपनि त्यसको अर्थले आफैंसंग महत्व नराखेर कुकुरको दृष्टान्त राख्नुपरेको हो ।

 

त्यसो त उदाहरणमा कुकुरलाई पेश गरेर मान्छेलाई खसाईयो भनेर मान्छेवादीहरुलाई झनक्कै रीस उठ्दो हो । तर मलाई त हामी मान्छे नै पनि के पो हौं र भन्ने लाग्छ । होइन भने अहिलेसम्म हामी मान्छेले आफैंले आफुलाई बाहेक अरु कस्ले हामीलाई मान्छे, मानिस, मनुष्य भनेको छ र? त्यहि कुकुरलेपनि हामीलाई मान्छे कहाँ भन्दो हो र? कुकुरले मान्छेलाई के भन्छ हामीलाई के थाहा ?


जे होस्
, खोतल्दै जाउँ । खास कुरा निस्किहाल्छ कि?

 

फोन कोट्याउँदा देखें वासुदाइले भ्वाईसमेल समेत छोड्नुभएको रहेछ ।

 

वहाँहरुले वासिङ्टन डिसी क्षेत्रमा नियमित जस्तै गर्दै आउनु भएको कविता गोष्ठीमा फोन मार्फत कविता वाचन गर्नलाई सम्झाउनु भएको थियो । ईमेलमा, फेसबुकमा निम्तो राख्दा पनि म बेवास्ता गर्दै बसेको भएर दाइले फेरी फोन गरेर सम्झाउन चाहनुभएको हो ।

 

तर म ? मेरो कुरै छोडौं भो ।

 

फोन उठाउन त भ्याईंन भ्याईंन । कलब्याक सम्म गरिनं । यस्तोबेलामा म आफ्नै गजलको यौटा मिसरा(हरफ) सम्झन्छु, 'आँखिर निकम्मा मेरै प्यार रहेछ ।'

 

म फोन नै गर्दिंन । फोन उठाउंदिन पनि र पनि तारन्तार फोनमा मलाई लेख्न झक्झक्याउनुहुन्छ वासुदाइ । म जस्तो बैगुनीलाई दिनसक्ने, म जस्तो निष्ठुरीलाई सम्झनसक्ने कति छ हँ वासुदाइसँग माया ?

 

फोनमा भ्वाईस म्यासेज सुनेपछि एकमनले तात्तिएको पनि हुँ म, कविता लेखेर तयार रहनलाई । समय भने कम थियो पहिलेको निम्तोलाई बेवास्ता गरेको भएर । तै पनि लेख्नै लागियो भने कविता त जसरी पनि लेखिन्छ । लेख्न थाले पनि । आफ्नै अवस्था र झेलिरहेको समय लेख्ने मूड थियो-

 

काँचको गीलासमा

केहि पानीका टुक्राहरुसँग

बन्द बोतलको पानी घोलेर

टाङ टुङ ट्याक् ट्वाक् बजाउँदै

स्वाट्ट पारेको रातहरुमा

प्रतिघण्टा पचहत्तर माइलको दरले

बेतोडसँग हाइवेमा दौडंदा पनि

जिन्दगी ठिक-ठिक लेनमा कुदेकै हो

जिन्दगीले ठिक-ठिक एक्जिट लिएकै हो

बिना कुनै दुर्घटना

बिना कुनै पूल ओभर

सकुशल

जिन्दगी घर फिरेकै हो

आज जिम्मेवार बनेको

त्यहि जिन्दगी

बिना कुनै नशा

बिना कुनै लापर्वाही

असल बनेर

बडो सावधानीले गुड्न खोज्दा

पिक-अप लिन नसकेर

आफ्नै घरको ड्राइभ-वेमा

अल्झिरहेको छ

...............

..........

............

 

कुन्नि के लेख्थें खै अगाडी । पुरा लेखेको भए यस्को शिर्षक सम्भवत 'आज जिन्दगी' हुन्थ्यो होला तर लेख्दा लेख्दै मनले भन्यो, 'धत् जँड्याहा अब हुँदा हुँदा जाँड खाएको कुरा पनि तेरो कविताको मसला हुन थाल्यो?'

 

असी नब्बेको स्पीडमा एक्कासी ब्रेक लगाएझैं कविता रोकेर सोचें । हुनपनि कविता लेख्न सजिलो छ नि, आजभोली जे लेखे पनि कविता कहलिने परिपाटी जो छ । हुलुक्क भित्रबाट अमिलो मुखमा आएझैं महसुस भयो ।

 

म रन्थनिएँ । अब के लेख्ने त कविता गाँठे!, कविता लेख्न मात्र सजिलो रहेछ कवितामा के लेख्ने भन्ने निर्क्यौल गर्न त बडा मुश्किल पो रहेछ ।

 

भै'गो, यसपाली म बरु कविता नै लेख्दिंन । पछि कुनैदिन भित्रबाट हुलुक्क अमिलो ननिस्किएको बेला लेखौंला ।

 

म थन्किएँ । पढ्दै गरेको अभि सुबेदीको निबन्धमा उत्तरवर्ती कालखण्ड नामको पुस्तक पल्टाएँ । पोहोरसाल नेपालबाट आफैंले बोकेर ल्याएका मध्येको एउटा यो किताब पढेर तुर्न लागेको रहेछु । सुदुर अन्तिमतिरको 'एसिया, इतिहास र हामी' भन्ने शिर्षकमा पुगेको रहेछु ।

 

पढ्न थालें- 'इतिहासकारहरु समयका कलेवर रचना गर्छन्; भत्काउँछन् अनि फेरि जोड्छन् । ती भन्छन्- इतिहास सकियो । अब यसपछि इतिहास हुँदैन । शीतयुद्ध सकियो । अब मानिसको समयले एउटा अर्कै अवतार फेर्छ, तर......'

 

स्कूलमा हुँदै देखि मधुपर्क मार्फत सुबेदीका निबन्धहरु पढ्दै आएको मलाई यसपटक अनौठो भयो । निबन्ध जति पढ्दै गएँ उति निबन्धका हरफहरु कविता बनेर घुस्दै गए दिमागमा । यसरी -

 

इतिहासकारहरु

समयका कलेवर रचना गर्छन्

भत्काउँछन्

अनि फेरी जोड्छन्

ती भन्छन्

इतिहास सकियो

यसपछि अब

इतिहास हुँदैन

...........

.........

 

हैन, के अचम्म भै रहेछ मलाई ? पढ्न त म निबन्ध नै पढिरहेछु? चिमोट्न चैं चिमोटिन आफुलाई तर सम्झाएँ । म अभि सुबेदीको निबन्ध नै पढिरहेछु । तर भएन सुबेदीको निबन्ध अगाडी झन झन कविता बनेर पस्दै गयो दिमागमा -

 

.......

होइन

इतिहास सकिएको छैन

इतिहासले

अर्को मोड लिएको मात्रै हो

मानवजातिले

फ्याक गरेर मानिस बुझे

भने-

यी हाम्रा मानव हुन्

ती तिम्रा मानव हुन्

कसैले भने-

भूगोलका पनि धाँजा हुन्छन्

...............

..................

 

यो त अति भयो । मबाट कविताको भूत उत्रँदै गएको हो कि जस्तो लाग्न थाल्यो ।

 

के मैले आजसम्म पढेका सबै निबन्धहरुको हरफ भाँचेर, पूर्णबिराम ईत्यादि हटाएर लेख्ने हो भने ती कविता हुन्छन् त?

के मैले आजभोली पढेका, पढ्ने गरेका तथा यदाकदा लेखेका कविताहरु पनि पुर्णबिराम ईत्यादि थपेर प्याराग्राफमा लेख्ने हो भने ती सबै निबन्ध हुन्छन् त?

 

के आजका कविता र निबन्धको अन्तर पूर्णबिराम ईत्यादि नदिएर सकेसम्म ठाडो पारेर लेख्नु र पूर्णबिराम ईत्यादि दिँदै सकेसम्म तेर्सो पारेर लेख्नु नै हो त?

 

मैले वासुदाइ सम्झें । वासुदाइको भ्वाईस म्यासेज सम्झेँ । भोलीपल्ट हुन गैरहेको मनासस कोठे कविता गोष्ठि सम्झें । त्याँहा उपस्थित भएर तथा फोन मार्फत कविता वाचन गर्नुहुने नदेखे/नभेटेपनि रचना मार्फत जाने/चिनेको अग्रज सबै कवि साहित्यकारहरुलाई सम्झें । अनि तत्काल मैले झेलिरहेको अवस्था सम्झें ।

 

अनि सम्झें, 'त के म आजभोली लेखिने सबै कविताहरु र सबै निबन्धहरु उस्तै हुन्छन् खालि सल्लाको रुखजस्तै ठाडो पारेर लेख्ने कि धानखेत जस्तै तेर्सो पारेर लेख्ने भन्ने मात्र अन्तर हुन्छ भन्ने निचोडमा पुगेको हुँ त?'

 

होइन ।

 

होइन भने के हो त?

 

आखिरमा चित्त बुझाएँ, खासमा मैले अहिले कविता लेख्न नसकेको मात्र हो । मगजको यो हुन्डरी थामिएपछि म फेरी कविता पक्कै लेख्छु । चाहे कविता र निबन्धको अन्तर सल्लाको रुखझैं ठाडो अझ ठाडो पारेर लेख्नु र धान खेतझैं तेर्सो अझ तेर्सो पारेर लेख्नु नै किन नहोस् ।

 

अलिकति ढुक्क भएँ र फेसबुकमा बासुदाइलाई म्यासेज लेखें-


बासुदाइ
,

माफ गर्नुहोला है म भोलीको गोष्ठीमा कविता वाच्न सक्दिनँ ।

 

यतिञ्जेल बासुदाइको जवाफ पनि पाइसकेको छु-

केहि छैन, पछि गरौंला नी ।

टेक इट इजीको कति मिठो भाका बासुदाइको ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |