हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

म निबन्ध भित्र

योगेन्द्र उपाध्याय “पुष्प”, ()

मसँग भएका मेरा सम्पुर्ण बौद्धिकताहरु खर्च गरेर एउटा निबन्ध रचना गर्न मन लागिरहेछ मलाइ, म चाहन्छु मेरो निबन्ध त्यस्तो होस् जुन अहिलेसम्म रचित निबन्ध भन्दा फरक धारमा बगोस्, म चाहन्छु मेरो निबन्ध यौटा युगबाट अर्को युगमा प्रवेश गराउने साधन बनोस्, म चाहन्छु मेरो निबन्धमा प्रकृतिको सुगन्ध होस्, म चाहन्छु मेरो निबन्धमा समयको रौद्रता होस्, म चाहन्छु मेरो निबन्ध सुर्यको सप्तरँग होस्, म चाहन्छु मेरो निबन्धले अन्टार्कटिकाको हिउँ पगालोस, म चाहन्छु मेरो निबन्धले हतोत्साहित देशलाइ उत्साह गर्न सिकाओस्, म चाहन्छु मेरो निबन्धले भत्केका सिमानाहरुको सहि सिमाङ्कन गर्न सकोस्, म चाहन्छु मेरो निबन्धले बगिरहेको पानीले जीर्ण खेतमा रक्तसञ्चार गराओस्, म चाहन्छु मेरो निबन्ध बुढा बाजेको लौरो बनोस्, म चाहन्छु मेरो निबन्धले त्यो सबथोक परिवर्तित गरोस् जुन परिवर्तन हुन अत्यन्त जरुरी छ । मेरो निबन्धले मैले चाहे सबथोक गर्न सक्छु, यौटा भत्केको भग्नावशेषलाइ इतिहासकै गौरवशाली वस्तु भएको प्रमाणित पनि गरिदिन सक्छ । सक्दिन त मात्र भत्केकोलाइ नभत्केको स्वीकार्न । म ढाँटीरहन्छु निबन्ध मार्फत तर मलाइ थाहा छ त्यो बस्तु हिजो खडा थियो आज ढलेको छ । यद्यपी त्यसको इतिहास ग्रेटवालभन्दा बलीयो होस् वा त्यसको बिगत ग्रेटवाल झैँ शक्तिशाली होस् तर भत्किसकेपछि इतिहास को अर्थ नै के रह्यो र ? लक्ष्मी प्रसाद देवकोटा जीवित रहँदा घृणा दिने यी हातले उनी मरीसकेपश्चात् सम्मानका माला पहिर्याएको यो दृश्य म देख्न त चाहन्न तर देख्न पर्छ नै । म बारम्बार यी हात प्रति पनि शँकाग्रस्त हुन्छु यो हात मेरो पहिलेको हात हो या अहिलेको हात । यो हातको वास्तविकता के पहिला जे थियो अहिले पनि त्यहि छ ? मेरो यो हातको निश्कर्ष निकाल्न पर्दा म पहिले र अहिले दुइ भाग बराबर पचास भन्न चाहन्छु जसले अहिले मार्न पनि सक्छ पछि मन्दिरमा गएर भगवानको अगाडि क्षमाको भिक्षा माग्न पनि सक्छ । यो हातले चोरी गर्दा पनि त्यति नै कुशलता देखाउन सक्छ जति यो हातले क्षमा माग्दा पनि त्यत्ति नै कुशलता देखाउन सक्छ । यो मेरो हात अचम्मको छ जुन कापीका पानामा चल्यो भने साहित्यसागर बनाउन सक्छ । यो मेरो हात अचम्मको छ जुन तरवारको बिँडमा पर्यो भने रक्तसागर बनाउन सक्छ । जेलीएको छ मेरो हात जुन धागो तानियो त्यहि धागोको इशारामा नाच्न सक्छ मेरो हात ।
म यूवा भएको, रहेको र चाहेमा रहिरहने घोषणा गर्छु । तर म मृत्यूशैयामा सुतिरहेको झैँ लाग्छ मलाइ । म आफुलाइ मृत घोषणा गर्न सक्दिन । किनकी जबसम्म मृत घोषणा गर्ने र मृत अघोषणा गर्ने धारणा ममा विद्यमान छ तबसम्म म मृत हुन सक्दिन तर मरेभन्दा बढी भैकन जीवित छु म । मेरा यी तिक्ष्ण आँखा चीलका भन्दा तिक्ष्ण छन् । चीलका आँखाले हजार किलोमिटरको दृश्य आफ्नो आँखामा कोच्न सक्छ भने म हजार प्रकाशवर्ष दुरीमा रहेका वस्तुहरु पनि सजिलै चिन्न सक्छु । चिलले मेरो अगाडि घमण्ड नगरेहुन्छ म यति समृद्ध छु चील भन्दा कि म उभन्दा रफ्तारमा उड्न सक्छु, उभन्दा रफ्तारमा गुड्न सक्छु, उभन्दा टाढा हेर्न सक्छु, उभन्दा बढि चिन्नसक्छु तर उ जति देख्छ नढाँटी देख्छ, उसले जे देख्छ  त्यसलाइ सिधा सिधा देख्छ म घुमाएर देख्छु, म देख्छु एकथरी र देखेझैँ गर्छु अर्कोथरी, म ब्ल्याक एण्ड ह्वाइटलाइ रँगीन देख्छु, रँगीनलाइ ब्ल्याक एण्ड ह्वाइट देख्छु, म कति झुटा देख्छु । मसँग भएको क्यामेराले पनि एउटा मेशिन जुन मैले बनाएको हो त्यसले पनि त्यहि दृश्य मात्र कैद गर्छ जुन दृश्य मेरो आँखाले कैद गर्दछ । म अरुको गरीबीमा आफ्नो सम्पन्नता देख्छु, आफ्नो सम्पन्नतामा अरुको गरीबी देख्छु, म अरुको रगतमा रातो देख्छु, आफ्नो रतमा पीडा देख्छु, म अरुको मृत्युमा अन्त्य देख्छु एउटा सस्पेन्स कथाको तर मेरो मृत्यु म कहिल्यै देख्दिन र देख्न चाहन्न पनि । म अरुको भोकमा उपवासको ट्याग झुण्ड्याइदिन सक्छु तर मेरो भोकमा म याचक बन्न पुग्दछु । म यो के बाँच्दैछु ? यो म बाँच्दैछु या अरु कोहि बाँच्दैछ ? तर जो बाँचे पनि जो मरे पनि म जीउँदै छु । म पूर्ण विश्वस्त छु मरे झैँ लागेता पनि म सडकको मूर्ति होइन । जिउँदो जाग्दो प्राण हुँ म । तर चीलभन्दा कम प्राण छ मसँग त्यसैले त म आफ्नो प्राण आफूलाइ मात्र खर्च गर्न सक्छु, शायद म कन्जुस छु, शायद म भरीपूर्ण भएर पनि भिखारी झैँ छु तर म छु यौटा मरिसकेको अस्तित्व बोकेर ।
म बोल्न सक्छु, बोलेर मात्र नपुग लाग्छ मलाइ र लेख्न थाल्छु । म भन्न चाहन्छु, म सुनाउन चाहन्छु, म प्लान बनाउँछु र त्यो प्लानमा अरुलाइ हिँडाउन चाहन्छु । तर प्लान बनाएको म अस्थिरको अस्थिर नै रहन्छु । म भाषण गर्दा लाग्दछु कि अहिले नै कुटो कोदाले लिएर खेतमा दौडन्छु । म लेख्न लाग्दा लाग्छ कि कलमको मसीले बन्दुकको गोलीलाइ छिया छिया बनाउँछु । एउटा प्रचण्ड प्रकाश छ मेरो शब्दमा जुन लेखीएको कापी बन्द हुनासाथ तेजहीन हुन पुग्छ । के काम मेरो शब्दको जो यति कमजोर छ कि कापी जस्तो मसीनो पर्खाल पनि छेड्न सक्दैन । मेरो शब्द अत्यन्त खोक्रो छ तर मलाइ लाग्छ यो शब्द भरिपूर्ण छ किनकि यो मेरो क्रिएसन हो, किनकि मैले बनाउन चाहेको शब्द हो, किनकि मैले सुन्न चाहेको शब्द हो । कहाँ कहाँ छैनन् मेरा शब्दहरु इतिहासमा, कम्प्यूटरमा, कापीमा यत्र तत्र सर्वत्र याक चुरोट झैँ छन् मेरा शब्दहरु, मलाइ लाग्छ आमूल परिवर्तन र मेरा शब्द हात्ति र हात्ति छाप चप्पल झैँ हुन् । यति हुँदाहुदै पनि मेरा शब्द शब्द मात्र हुन जुन ध्वनि बनेर केहि क्षण गुञ्जायमान हुन्छन् र आकाशमा विलीन हुन्छन् । मेरा औचित्यहिन शब्दले बनाएका ६ लेनका सडकहरुले कसैलाइ गन्तव्यमा पुर्याउन सक्दैन । मेरा शब्दहरुले वीरका आर्तनादलाइ जस्ताको तस्तै हुबहु उतार्न सक्छन् । वीरहरुको वीरता प्रदर्शित पनि गर्न सक्छन् मेरा शब्दले । सक्दैनन त विगतमा तिनले भोगेको उत्तप्त क्षणमा घडी उल्टो घुमाएर शितलता प्रदान गर्न । मेरा शब्दले कति मजाक उडाइरहेका छन् शहिदहरुको उनीहरुको पीडालाइ मैले रँगमञ्चको एक कथानक बनाइरहेको छु । कति स्वार्थी छु म उनीहरुको पीडा बेचेर म पैसा कमाइरहेको छु । धिक्कार छ मलाइ तर यौटा रक्स्याहा झैँ आदतले मजबुर छु लेखिरहन्छु, लेखिरहन्छु ।
देशमा खेर गइरहेका बस्तुहरु सदुपयोग गर्नुपर्छ, देशमा धनको कमी छैन मात्र व्यक्ति इमान्दार र कर्मशील हुनु पर्छ, देशमा के मात्र छैन र ? तर देख्ने आँखा हुनुपर्छ, देशमा हिमाल छ, देशमा बुद्ध छ, देशमा के के छ के के छ तर देश विकासको किरणवाट पनि वञ्चित छ कारण किनकि देशमा म छैन । आदर्श अमूर्त वस्तु हो त्यसले विकास गर्न सक्दैन र खेर गइरहेका मृत वस्तुहरुले आफ्नो सदुपयोग आफै गर्न सक्दैन । सदुपयोग गर्ने एउटा खोलोबाट छेकबार लगाएर कुलोमा लगाउने म छैन देशमा । मलाइ लाग्छ म देशको नागरिक नै होइन, नागरिकताले म स्वदेशी भएको प्रमाणित गर्न सक्दिन । म स्वदेशी भन्दा त त्यो विदेशी कैयाँै गुणा उत्तम जो चोरेरै भए पनि मेरो सम्पदाको सदुपयोग गरिरहेको छ । त्यो विदेशी कैयौँ गुणा ज्ञानी जसले मैले कचरामा फालेका बुद्धका इतिहासका पानामा रहेको नेपाल नाम काटेर अरु कुनै नाम लेखिरहेछ । म भन्दा त्यो चोर उत्तम छ जसले मैले कचरा भनेर फालेका बस्तुहरुलाइ रिसाइकल गर्छ । म हमेशा आफूलाइ ज्ञानी मान्छु र उसलाइ चोर मान्छु म आफु ज्ञानी भनेरै ताली र धन कमाउँछु तर भित्र मलाइ थाहा छ मेरो ज्ञान कुज्ञान हो र उसको चोर अचोर हो । उसलाइ दुनियाँले चोर देखेता पनि उ चोर होइन किनकि मैले काम नलाग्ने भनेको बस्तु उसले लिएको हा,े चोरेको होइन । त्यो काम नलाग्ने बस्तु मसँग भएको भए गन्हाउने थियो । उसँग हुनाले त्यो बस्तु सुवासित हुँदैछ । मसँग त्यो बस्तु भएको भए रोगको घर बन्ने थियो उसँग भएकाले त्यो बस्तु औषधी बनेको छ । म भन्दा देश प्रेमी उ हो जसले यो देशको कचरा त्यो देशको खेतमा प्रयोग गर्दैछ । मैले त उसले दिएको प्राङ्गारिक मल पनि आफ्नो खेतमा पोख्न अल्छी मान्ने गर्दछु । जेसुकै होस् म देश प्रेमी भएको प्रमाणित गर्न लेखिरहन्छु लेखिरहन्छु........ म आदतले मजबुर छु ।
शहीदको अन्तिम वाणी झुटो साबित हुदैछ । अझ पनि गँगालालले मर्ने बेलामा भनेका शब्दहरु कानमा गुञ्जीरहन्छ “म मरेर गए पनि क्रान्ति जीवित रहन्छ ।” मैले उनको यो वाणिको इज्जत गर्न मारीरहन्छु,, रगत बगाइरहन्छु,, साहित्यमा समाचारमा क्रान्तिको आवाज उठाइरहन्छु,, आमूल परिवर्तनको नारा घन्काइरहन्छु,, नयाँ पुस्तामा आफुले देशका लागि बगाएका थोपा थोपा पसिनाको टाटो पनि देखाइरहन्छु । तर नयाँ पुस्ताले जब सोध्छन् 'बाबा हजुरको पसिनाले बनाएका मोतीदाना खै त ?' म केहि बोल्न सक्दिन । मैले जेसुकै बगाएपनि आस्था बगाउन सकेको थिईनँ । म डराइ डराइ नातीलाइ आस्था सिकाउँछु तर मेरो आस्था आस्था च्यानल झैँ हो तर पनि म प्रसारण गरिरहन्छु आदतले मजबुर धिक्कारको पात्र हुँ म ।
खै अब के लेखुँ र निबन्ध ? मनभित्रका दुइ पात्रहरु एक अर्कामा द्वन्दित अवश्थामा छन् । म मलाइ लेख्छु असल तर म असल होइन, म लेख्छु परिवर्तन तर म आफु परिवर्तन हुन चाहन्न । म सबथोक लेख्न सक्छु तर एकथोक पनि गर्न सक्दिन । म बुझ्न नसकिने छु जे लेख्छु त्यो आफै बुझ्न सक्दिन । मैले त मेरो लेख बुझ्न सक्दिन भने अरु कसले बुझ्छ र अरुलाइ बुझाउन लेखुँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |