आकार बिनाका रहरहरु
बिनोद खड्का, (दोहा, कतार)
अहो, कस्तो डरलाग्दो
आफैभित्रका अटृहासहरु
अहो, कस्तो आकार विहिन
आफ्नै रहरका डुंगुरहरु
सुखका प्रतिक हुन
या ती
दूखका उच्छवासहरु हुन
आफैलाई थाहा छैन
कहाँ पुगेर रोकिन्छन यी
कहाँ पुगेर थामिन्छन यी
कहाँ पुगेर छोपिन्छन यी
तर पनि चल्नुपर्ने
अनवरत यात्राहरु
जीवन संघर्षका पौठेजोरीहरु
भौतारिदै सूखका खोजीमा
कहाँ पुगेर टुंगिन्छन यी
मिथ्या हुन सबै
खुसीका तरंगहरु
रहरका पहाडहरु ।
२
रोकुन कोही मलाई
व्युझाउन कोही मलाई
कोही त सम्झाउन मलाई
कस्तो अज्ञान यो
निदाएको वस्तीसंग
आशाका लहरहरु बाँध्नु
अज्ञानीहरुका सामु
जीवनका रहरहरु साँच्नु
मिथ्या हो सबै
आफ्नै हो सबै ठान्नु ।
३
कहाँ थिए म
थिएँ कस्तो म
कस्तो भएँ अब
आफैलाई आफै बिर्सँदै
नजाने कहाँ पुगेँ म
थाहा छैन मलाई आफै
के बाट के भएँ म
आखिर के पाएँ
मिथ्या हो सबै
मैले सम्पत्ति कमाएँ
मैले यस कमाएँ
म रमाएँ
सबै आफ्नै बनाएँ
मिथ्या हो सबै
मैले आफैलाई जिताएँ ।
४
मैले चाहेका बिहानीहरु
सायदै ती देखिएलान
मैले रमेका सूखका बिहानीहरु
सायदै फर्किएलान
मैले भोगेका बिहानीहरु
ईतिहास बने हुन
मैले चाहेका बिहानीहरु
सायदै भेटिएलान
खोइ यात्रा कहाँ टुंगिन्छ
केवल
नफर्कुन ती रातहरु
म आत्तिएका रातहरु
मिथ्या हुन बाँकी सबै
भोगिएका बिहानीहरु
कल्पिएका बिहानीहरु
अनी ती सबै
आकार बिनाका रहरहरु ।
३ जुन २०११, २० जेष्ठ २०६८, शुक्रवार, ।