सर्वनाम युद्ध
कृष्ण प्रसाई, (काठमाण्डौं)
अभाव र ओजले उमारिएका उर्जाहरू
उसताका ,
आगो भएर बल्थे अगेनामा —
उनै अगेनामा अन्मिन्थे
आफन्तका ओतहरू,
अनि
अगेनामै उनिन्थे
आगतका अभिलाषाहरू ।
अलिपर आगनछेउ उभिएका,
आरु, अम्बक र अमलाका ओेतहरूले —
अगम्य आगो ओकलिरहेका हुन्थे
जुन मेरी आमाको आफ्नै सासका अँश लिएर हुिर्कएका थिए ।
केही वर्षमै ,
हामी मान्छे भन्दा पनि ठूला भएर
आकासतिर उचालिएका थिए तिनीहरू —
त्यसैबेला मैले देखेको हुँ
पहाडहरूको माझमा,
नदी तिर्खा लिएर बग्दथ्यो उँधोतिर
सपना बटुलिरहेका थुप्रै कमला मनहरू,
चील उड्ने आकासतिर बाटो हेरिरहेका हुन्थे —
चौबन्दीभित्र माया साट्नेहरू,
बादलले घुम्टो हालेको हिमाल हेरेर —
अजम्बरी माया रोपिरहेका हुन्थे
म सोच्दथेँ —
जन्मँदै सगरमाथाजस्तै उँचाइ लिएर
कतै कोही मान्छे पनि आएन,
एउटै उचाइ भएर मान्छे —
सधैभरि बाँच्न पनि सकेन ,
जन्मँदै मलामी बोकेर जन्मिएको छ मान्छे —
मृत्युको व्यापार,
सर्वनाम सत्य छ
मान्छेको सहरमा ।
चाहेर पनि जान नसकिने
र
भन्दैमा गएर आउन पनि नपाइने —
सर्वनाम नियतिसँग,
शताब्दी शताब्दीदेखि—
निरीह मान्छे,
मान्छेकै साक्षी राखेर —
सहस्र इमानी समयहरूसँग,
सर्वनाम युद्ध
लडिरहेछ !
लडिरहेछ ! !
र
लडि नै रहेछ ! ! !