मेरै लागि भयौ
नर बहादुर दाहाल, (दार्जिलिंग, भारत)
कहिले
तिमी अवसादपूर्ण
कविता भयौ,
कहिले
उमंग,उल्लास अनि
रमिता भयौ
कहिले
दम्भ र दर्पले
छुनै नसक्ने
सगरमाथा भयौ,
कहिले
सम्पुर्ण माया पोखेर
अनन्त आकाश भयौ ।
कहिले
बुझ्नै नसक्ने
गहन सागर अथाह भयौ
तर
जे भयौ
मेरै लागि भयौ
कहिले
एकान्तमा
उच्छ्वास र सुस्केरा भयौ,
कहिले
कलरव र प्रतिध्वनि भयौ ।
खड़ेरी परेको
शुष्क हृदयमा
कहिले
प्यारको संजीवनी भयौ ।
थोरै भयौ कि धेरै भयौ
जे जति भयौ
मेरै लागि भयौ ।
अब त
जे जति माया पोखे पनि
दु:ख,दर्द पीड़ाले रोके पनि
जे जति पाँउछु
त्यसैमा रमाउँछु
लिई मन भित्र तिम्रै सम्झना
एक दिन
शुन्य
कतै हराउँछु