हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

म को हुँ

बिनोद खड्का , (दोहा, कतार)


यात्री हुँ म
जहाँ गए पनि
पाहुना हुँ म
जहाँ पुगे पनि
गनतव्य सीमित छैन
सीमानाले रोक्न सक्दैन
रहरहरुको लायक हुँ
स्वतन्त्रताको नायक हुँ
शान्तिको गीतको गायक हुँ
फेरिन सक्छन रहरहरु
फेरिन सक्दैनन परिचयहरु
विवसताको भुमरीभित्रै पनि
मेटिन सक्दैनन
आमाका चाहनाहरु
उनका दुधका धाराहरु
अझै बग्दै हुन ती सबै
मेरा नसा नसाहरुमा
भावनाका तरंगहरुमा
त्यसैले भुल्न सक्दिन म
जहाँ पुगेपनि
जहाँ रहेपनि
म नेपाली हुँ
नेपाली नै रहन्छु
बाँकी सबै मिथ्या हो
क्षणिक सन्तुष्टी झै भोग्दछु ।


म केवल क्षण हुँ
जहाँ पुगे पनि
पीडाहरुमा खेल्न सक्छु
पीडाहरुमा नै बौरिन सक्छु
जीवन लक्षका क्षितिजहरुसम्म
आफै म पौडिन सक्छु
पौडिरहेछु
बाधाका पहाडहरुसंगै जुध्दै भीड्दै
लक्ष म भेट्न सक्छु
सक्दैनन पीडाहरु रोक्न मलाई
पीडाहरु म रोकिदिन्छु
आमाका आशिर्वादहरुसंगै
तोडिदिन्छु बाधाहरु
तरोताजा एउटा वर्तमान
वेदखल म भोगिरहन्छु
जहाँ पुगेपनि
जहाँ रहेपनि
म नेपाली हुँ
नेपाली नै रहन्छु
बाँकी सबै मिथ्या हो
क्षणिक सन्तुष्टी झै भोग्दछु ॥


क्षणिक खुसीहरु
मेरा लक्ष होईनन
निरन्तर भोगिरहन्छु भेटिरहन्छु
क्षणिक सूखानुभुतीहरु
भ्रममिश्रित लक्षहरु
अनुमानका प्राप्तीहरु
मेरा रहरहरु होईनन
म खोजी रहन्छु सधै
अनन्त खुसीहरु
समग्रका खुसीहरु
सामुहिक खुसीहरु
म बाँच्न चाहँन्न
दूखका आँशुहरु अरुलाई बाँडेर
म हाँस्न चाहन्न
पीडा कसैलाई दिएर
खुसी बाँड्ने
अविरल चाहनाका यात्राहरु
अनवरत बढ्दैछन
बढिरहन्छन
त्यसैले त
जहाँ पुगेपनि
जहाँ रहेपनि
म नेपाली हुँ
नेपाली नै रहन्छु
बाँकी सबै मिथ्या हो
क्षणिक सन्तुष्टी झै भोग्दछु ।।।


मैले रोपेको माटोमा
सून्दर भविष्य टुसाउनु पर्छ
मैले फोरेको चटृानमा
पानीको मूहान फोरिनु पर्छ
पृथ्वी हाम्रो हो
सबै रम्नुपर्छ
सबैका भविष्य रम्नुपर्छ
सबैका भोक मेटिनुपर्छ
तीनका प्यास मेटिनुपर्छ
मेरी आमाका चाहना यही हुँन
सर्वत्र फैलिनुपर्छ
मेरा अविरल यात्राहरु बढ्नुपर्छ
सीमाले रोकिनु हुँदैन
परिचयले छेकिनु हुँदैन
त्यसैले त
जहाँ पुगेपनि
जहाँ रहेपनि
म नेपाली हुँ
नेपाली नै रहन्छु
बाँकी सबै मिथ्या हो
क्षणिक सन्तुष्टी झै भोग्दछु ।।।।


मैले सोचेको आगतमा
शान्तिले राज गर्नुपर्छ
दया र करुणा
मुस्कुराउनुपर्छ
मान्छेको बस्ती
मसान बन्नु हुँदैन
मान्छे खेल्ने आँगनमा
बारुधको गँन्ध छाउनु हुँदैन
मेरी आमाका चाहना यही हुँन
सर्वत्र फैलिनुपर्छ
मेरा अविरल यात्राहरु
यही महान सन्देश बोकेर
लक्षका पहाडहरु चढ्नुपर्छ
बाधाका जंघारहरु नाघनुपर्छ
सीमाले रोकिनु हुँदैन
परिचयले छेकिनु हुँदैन
चढ्दैछन
नाघ्दैछन
त्यसैले त
जहाँ पुगेपनि
जहाँ रहेपनि
म नेपाली हुँ
नेपाली नै रहन्छु
बाँकी सबै मिथ्या हो
क्षणिक सन्तुष्टी झै भोग्दछु ।।।।।


फेरी पनि किन हो
चसक्क चस्किन्छ मन
आफ्नै वस्तीमा डढेलो लागेजस्तो
आफ्नै कुलाकुलेसाहरुमा
बाढी मढारिए जस्तो
आँत्तिएर आधा रातमा
कस्तो नराम्रो सपना
आफै टुक्रिएको
लुछिएको
लुटिएको
आफनै अनुहार
तर्साउछ मलाई
झस्काउँछ मलाई ।
चाहिदैन मलाई किनिएको परिचय
नेपाली नै भई बाँची रहुँ
चाहिदैन मलाई कसैको स्वर्णभूमि
नेपाली माटोमा नै मर्न सकुँ
उतै हाँसु उतै मरु
जहाँ मेरो देश छ
जहाँ चन्द्र सूर्य हाँसेको छ
जहाँ मेरो अस्तित्व गाँसिएको छ
मेरो देश कहाँ छ
जहाँ मेरा पीता पूर्खाको पसिनाले िसंचेको
मेरो आफ्नै भूमि छ
जहाँ पुगेपनि
जहाँ रहेपनि
म नेपाली हुँ
नेपाली नै रहन्छु
बाँकी सबै मिथ्या हो
क्षणिक सन्तुष्टी झै भोग्दछु ।।।।।।

२१ जुलाई २०११, शुक्रबार, Khadkabinod02@yahoo.com

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |