हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

भूटानी शरणार्थी समस्या समाधान बारेमा

दीर्घराज प्रसाई, (काठमाण्डौ)


बितेको १५ बर्षदेखि भूटानी नागरिकहरु माथि जसरी मानव अधिकार हनन् भइरहेको छ त्यसलाई लिएर सबै पक्षले जिब्रो चपाएर बोल्ने गरेको पाइएकोछ । मूलकुरो भूटान सन् १९४९ को भारतसँग गठबन्धन गरिएको संधिसँग बाँधिएकोछ । करिब करिब भूटानको रक्षा र वैदेशिक संवन्ध भारतसँग संवन्धित भएकाले भूटानसँग संवन्धित कुनै पनि वैदेशिक वा भूटानी शरणार्थीहरु जस्ता मामिलाहरुमा भारतको सरोकार नभई समाधान हुन सक्तैन । भूटानबाट लखेटिएका नागरिकहरु भारतको बाटो हुँदै जवरजस्ती नेपालमा धपाइएका हुन् भन्ने कुरा सबैको अगाडि छलङ्ग छ । भूटानी शरणार्थीहरु नेपाल भूटान भारत र शरणार्थी प्रतिनिधिको उपस्थिति र आपसी समझदारी बिना समाधान हुन नसक्ने देखिन्छ । अझ पनि भूटानी शरणार्थी समस्या नेपाल भूटानको वीचको द्विपक्षीय समस्या हो भनेर रट लगाईरहने हो भनॆ यसले झन् व्यवधान खडा गर्नेछ । राष्ट्र संघीय शरणार्थी उच्च आयोगका नेपाल प्रतिनिधि अब्राहमले पनि 'यो नेपाल-भूटानको द्विपक्षीय समस्या हो' भनेर भूटानी शरणार्थी समस्या झन अन्योलमा पर्न पुगेको हो । भूटानी शरणाथीहरुलाई तेस्रो मुलुकमा पठाउने कुराले समाधानको बाटो होइन । राष्ट्रसंघीय शरणार्थी आयोगले भारत र भूटानको वीचको संवन्धको गहिरो अध्ययन गरेर मात्र सोच्ने काम गरियो भने समस्याको समाधान सजिलै हुनसक्छ । तर भारतलाई पर राखेर भूटानी शरणार्थी विषयमा कुरा गर्ने हो भने सबै प्रयत्न बिफल हुनेछन् ।

भूटान निर्माणको वास्तविक यस्तो छ । पहिला भूटानको अधिकाँश भूभागलाई जङ्गलले ढाकिएको र सन् १७२५ तिर भूटानमा बस्ती व्यवस्था गर्ने कार्यक्रममा भूटानको सीमाक्षेत्रलाई अगाडिदेखि भूटानमा बसोबास गरी आएका नेपाली भाषी भूटानीहरुलाई बसोबास गराएर सीमाको सुरक्षा गर्ने काम गरिएको हॊ । प्रारम्भदेखिनैं नेपाली भाषी भूटानीहरुले अथक परिश्रम गरी भूटानको दक्षिणक्षेत्रलाई सम्पन्न गराउनमा ठूलो योगदान छ । आदिकालदेखिनैं भूटानमा नेपाली भाषालाई लेखापढीको भाषाकोरुपमा मान्यता भएको हुँदा भाषाको हिसाबले भूटानमा नेपालीहरुलाई कुनै कठिनाई परेको थिएन । राज्यले बौद्ध धर्मलाई प्रार्थमिकता दिएता पनि हिन्दु धर्म वा अन्य धर्म मान्न र आ-आफ्नो पैरन लगाउन सबैजाति स्वतन्त्र थिए । भूटानमा शताब्दियौंदेखि बसोबासो गदैं आएका बाहुन, क्षेत्री, नेवार, लिम्बु, राई, गुरुङ, मगर, तामाङ, कामी, दमाई आदि नेपाली भाषीहरुले आफ्नो मातृभूमिको लागि ज्यूज्यान अर्पेर रगत पसिना बगाएका छन् । भूटानमा धर्मराजाको अन्तर्गत देवराजाको मान्यता थियो । स्मरणरहोस् कि धर्मराजा र देवराजा भन्ने शब्द नेपाली भाषाबाटै सिर्जना भएकॊ हो ।
भूटानको संस्थापना तिब्बती नेपाली भाषी र कुचविहारवासीहरुको संयुक्त प्रयासमा भएको हो । भूटानको राजवंशको संस्थापक नाम्ग्याल थिए । अवतारी लामाको रुपमा तिब्बतबाट भूटानमा आएका धर्मराजा नाम्ग्याललेनैं भूटानमा रीति-थिति बसाएर राजकाज चलाउन शुरु गरेका हुन् । तिब्बती नेपाली भाषी र कुचविहारवासीहरुको आधिपत्य थलोको रुपमा भूटानलाई लिइन्छ । मुलतः यी तिनै जातिको सहयोग लिएर धर्मराजा नाम्ग्यालले एक सुदृढ र सम्पन्न भूटानको जग बसाल्न सकेका हुन् । यिनकै समयमा बौद्धगुम्बा बनाउन नेपालबाट कुशल कालिगढहरु झिकाइयो । तिनीहरुको साथमा नेपालबाट विभिन्न जातका मानिसहरु भूटानमा बसोबास गर्न थालेका हुन् । वि.सं. १६८१ मा धर्मराजाको समयमानैं धर्मराजाको इच्छा अनुसार गोर्खामा चलेका ऐन नियम माना-पाथी तुलो भूटानमा पनि चलनचल्तीमा ल्याइएको थियो । धर्मराज नाम्ग्यालको समयमा भूटानको संवन्ध गोर्खासँग मात्र नभएर काठमाण्डौं उपत्यकाका मल्ल राजाहरु लगायत सेनबंशी राजासँग पनि थियो । भूटानमा कलात्मक दरबार निर्माण गर्ने पनि नेपाली जातिनैं थिए । हिन्दु पुरोहितहरुको पनि भूटानमा धर्मराजाको समयकालमा राम्रो मान्यता थियो । बोद्ध गुम्बा बनाउने मध्येका कतिपय हिन्दुनैं हुने हँदा हिन्दु र बौद्ध धर्म वीचमा राम्रो संवन्ध थियो । भूटानी सरकारी गुम्बाहरुमा पाच देवताका मूर्तिहरु राखिने र भुटानी राजपरिबार बुद्धत्वमा शिवत्व र शिवत्वमा बुद्धत्व हुन्छु भन्ने कुरामा विश्वास हुँदा भूटानी राजाहरु खोटाङको हलेसी महादेव र स्वयम्भू माथि ठुलो आस्था राख्छन् । यसरी प्रारम्भदेखिनैं नॆपालीभाषी जातिहरुको बसोबासो हुँदैआएको हुँदा नेपालीभाषी भूटानीहरु त्यहाँका आधिकारिक नागरिक मानिन्छन् । यसरी भूटानका आधिकारिक नागरिकहरुलाई भूटानीनैं होइनन् भनेर लखेट्नु कति ठूलो अपराध हो । खोई ! संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समूदाय बोलेको ? भूटानी शरणार्थीहरुको मूल पीडा नैं यही हो ।

सन् १९०७ भन्दा अगाडि भूटानको राजवंश धर्मराजा र धर्मराजाको पद्धतिलाई सन् १९०७ मा दण्डभेदको नीति अपनाएर देवराजा पेल्लोप वाङचुकलॆ समाप्त गरेर सन् १९०७ मा राजा घोषित भएका हुन् । भूटानमा वाङचुकवंशको अभ्यूदय हुनु भन्दा धेरैबर्ष अगाडिदेखि नेपालीभाषी भूटानीहरुकॊ भूटानको स्थापनामा ठूलो योगदान थियो भन्ने कुरा कसैले नकार्न सक्तैन । वाङचुकवंश शुरु हुनुभन्दा अगाडिदेखि नेपालीभाषी भूटानीहरु बसोवासो गर्दै आएका र वाङचुकबंशलाई राजा बनाउनमा पनि नेपालीहरुको ठूलो हात छ । सन् १९०७मा पेल्लोप वाङचुकलॆ आफूलाई राजा घोषित गरेता पनि अँग्रेज इष्ट इण्डिया कंपनिले भूटानमा राजसंस्था कायम गर्न चाहेको थिएन । नेपालको अँग्रेजसँग राम्रो समझदारी कायम भएकाले नेपाली भाषी भूटानीहरुको सहयोगमा नेपाली भाषीहरु सम्मिलित एउटा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पेल्लोप वाङचुक नेपालमा आई नेपाल सरकार मार्फत अँग्रेजहरुलाई संझाएर भूटानमा राजसंस्था कायम राख्ने काम भएको हो । त्यसबेलामा चन्द्रशम्सेरको अँग्रेजसँग राम्रो सम्पर्क थियो उनैं मार्फत भारतमा रहेका अँग्रेजहरुसँग राम्रो समझदारी राखी भूटानमा वाङचुक बंशलाई राजा कायम गराउन सकिएको हो । तर दुःखको कुरा सबै वास्तविकतालाई बिर्सेर भूटानी राजाले सन् १९८८ देखि जातिय विखण्डनको सुत्रपात गर्दै नेपाली भाषी भूटानीहरुलाई भूटानबाट लखेट्ने जनगणनाको एउटा षडयन्त्र झिकियो । 'नेपाली भाषी नागरिकहरुलाई सन् १९५८ भन्दा अगाडिदेखि बसोबास गरिआएको प्रमाण देखाउन सक्नु पर्दछ । प्रमाण देखाउन नसकेको खण्डमा भूटान छोड्नु पर्दछ'  भनियो र पछि कतिपय प्रमाण देखाउनेहरुको प्रमाणहरु समेत च्यातच्यूत पारेर अनागरिक भन्दै बलजफत भूटानबाट पिटेर लखेट्ने काम गरिएको हो ।

सन् १९७१ मा संयुक्त राष्ट्र संघको सदस्य भएको बेलामा भूटानको जनसंख्या १० लाख भएको जनाइएको १९८८ पछि गरिएको षडयन्त्रपूर्ण जनगणना पछि भूटानको जनसंख्या ७ लाख मात्र भनेर उल्लेख गराउदै लुटेर र कुटेर लखेटिएका नेपाली भाषी भूटानी नागरिकहरुलाई निमिटयान्न गराउन यस्ता चालहरु रचिएका हुन् । संयुक्त राष्ट्र संघले भूटानमा रहेका सम्पूर्ण जातिको बसोबासको इतिहास खोज्ने काम गरेमा सबै तथ्य छलङ्गिन जान्छ । यस परिस्थितिमा भूटानले कृत्रिम कुरा झिकेर विश्वब्यापीरुपमा मानव अधिकारको हनन् गरेकोछ । अहिले आएर भूटानी राजा जिग्मे सिग्मे वाङचुक भन्न थाल्नु भएको छ कि नेपालमा रहेका भूटानी शरणार्थीहरु सबै भूटानी होइनन् । यो कुरा केही दिन पहिले भारतको नयाँ दिल्लीमा भएको भ्रमणको अवसरमा भन्नु भएको हो । तर यो कुरा सोहै आना झुठो हो । झुठा कुरा गरेर अन्तराष्ट्रिय जगतमा भूटानी राजा उपहासको पात्र बन्नु राम्रो होइन ।

यस्ता सबै वास्तविकतालाई बिर्सेर भूटानमा आधिकारिक नागरिकहरुको रुपमा परिचित नेपाली भाषी भूटानी जातिलाई कृत्रिम जाल रचेर लखेट्नु त्यो मानव जाति माथिकै प्रहार हो । भूटानलाई वौद्ध धर्मावलम्वी राष्ट्र भनिन्छ तर आफ्ना नागरिकहरुलाई अनाहकमा कृत्रिम मुद्धाहरु लगाएर मार्ने, बलत्कार गराउने, लखेट्ने काम गरेकाले भूटानमा वौद्ध धर्मको उपहास भइरहेकोछ । राष्ट्रियता भन्ने कुरा एउटा भावना मात्र नभएर मानिसको बाँच्न पाउने अधिकार हो । तर भूटानमा नागरिकहरु राष्ट्रियताबाट विमुख हुँदा सिंगो राष्ट्रको रुपमा भूटानलाई कसरी मान्न सकिन्छ र भूटानी शरणार्थी समस्या सुल्झिने अवस्थामा पुगिसकेको थियो तर केही बर्षअघि नेपाली भाषी भूटानी शरणाथीहरुलाई जोङखा भाषा र किरा भोटे पोशाक अनिवार्य लगाउनु पर्ने कुरा र शरणार्थीहरुलाई भूटानमा फिर्ता लगेर उनीहरुलाई कामदार ज्यामी सरह्र व्यवहार गर्ने कुरामा हाम्रा केही कुतनीतिक माफियाहरु तथा भेषबहादुर थापा समेतबाट गोप्य समर्थन गरिदिएर नेपाली भाषी भूटानीहरु माथि जुन अपराध गरियो त्यस कुराले सबै कुरा बिथोलिन पुगेको हो । अव पनि तिनै कुरालाई दोहोर्याउनु भएन । यसअघि जे हुनु भयो । अव यस्तो हुनु भएन । तर भूटानी शरणार्थी समस्या समाधान गराउनमा नेपालभूटान र भारतको संयुक्त प्रयास हुनुपर्दछ । फलतः यस मामिलामा भारत पन्छिन मिल्दैन । भारतको सहमति बिना भूटानी शरणार्थी समस्या समाधान हुन नसक्ने भएकाले भारतले तर्केर हिड्न मिल्दैन किनकि यस्मा भारतको कुनै न कुनै पक्षको संलग्नता देखिन्छ ।

भूटानका राजालाई थाहा भएकै कुरा हो कि नेपाली भाषी भूटानीहरु भूटानको राष्ट्रियता र वाङचुकवंश प्रति बफादार छन् । टेकनाथ रिजालज्यूको 'निर्वासन' नामक पुस्तकले पनि भूटानको यथार्थ स्थितिको उजागर गरेको छ । यत्तिको अन्यायमा परेका बेला पनि नेपाली भाषी भूटानीहरुहरु राजासँगै सुमधुर संवन्ध राखेर बस्न चहान्छन् भने भूटानी राजसंस्थाको लागि यो महान उपलब्धी ठान्नु पर्दछ । केही समय अगाडिदेखि भूटानी नेता टेकनाथ रिजालले यूरोप र अमेरिकाका संवन्धीत केन्द्रहरुमा पुगेर आफ्नो देश भूटानमा फर्कन पाउने अधिकारको वकालत गर्दै आएका छन् । फलतः यस्तो अवस्थामा भूटानमा जतिर्नै प्रजातान्त्रिक सुधार र नयाँ संविधानको तर्जुमा गर्न खोजे ता पनि ती सबै निरर्थक हुन्छन् । बुझ पचाएर भूटानी राजालॆ बस्न मिल्दैन । अतः भूटानी राजाबाट अव सन् १९८८ भन्दा अगाडिको जस्तै अवस्थामा बसोवास गर्न पाउने गर्नेगरी खेदिएका टेकनाथ रिजाल लगायत सबै आफ्ना नेपालीभाषी भूटानी नागरिकहरुलाई विनासर्त बोलाउन सक्नुपर्दछ । केही भूटानी शणनार्थीहरु मध्ये अमेरिका वा अन्य राष्ट्रमा पुनर्वासको व्यवस्था होला तर त्यो भूटानी राजा र भूटानी शणनार्थीको लागि समाधानको बाटो हुन सक्तैन । तसर्थ यो भन्दा अगाडि जे हुनु भयो । अव भूटानी राजा जो हुन् कसैको वहकाउमा नलागी यथार्थतामा आई शरणार्थी समस्या समाधान गर्ने पहल गरेमा भूटान र भूटानी राजसंस्थाको ठूलो विजय भएको ठहर्नेछ ।

 

Comments

Sharmila Khadka Dahal

गजल राम्रो छ । वधाइ छ दिलप भाइलाइ ।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |