मन मान्दैन, म के गरुं
नर बहादुर दाहाल , (दार्जिलिंग )
आज आकाश अतृप्त छ,
भावनाहरू सबै सुसुप्त छन् ।
अझ
मेरो मन विक्षिप्त छ ।
यसले तिमीलाई खोज्दै,
सारा पृथ्वी परिक्रमा गरिसक्यो ।
तर म जान्दछु.....,
तिमी त
मेरा नजर वरिपरि छौ
सपना भरिभरि छौ
कविताका शब्द शब्दमा बसेर
भावनामा हरघड़ी छौ ।
तर तिमीलाई नदेख्दा यो मन,
रंगविरंगी सपनाहरू बोकेर,
तिम्रो प्रतीक्षा गरिरहन्छ ।
म जान्दछु...
आज तिमीसंग मेरो
भेट हुँदैन ।
तर यो मन,
व्यग्रताका काँड़ाहरू टेकेर
तिमी हिँड़ने बाटोमा
ओहोर दोहोर गरिरहन्छ ।
किनभने
तिम्रो स्पर्शको सुगन्ध बिना
अब यो नबाँच्ने भैसक्यो ।
तिम्रो अधरमा फुलेका
सौन्दर्यका फूलहरू नबटुली
यो हाँस्न नसक्ने भैसक्यो ।
तर प्रेम त साकारमा होइन
निराकारमा हुन्छ ।
यसैले त तिमी
सधैं
मेरो मन भित्र नै छौ ।
यति पनि यसले जान्दैन
अनि
म के गरूँ ?
यो मेरो मन मान्दैन
अनि
म के गरूँ ?