हिँउ
सीमु श्रेष्ठ, (काठमाण्डौ)
हिँउमा
चोरी औंलोले
कोरेको मेरो सपनाले
सानो कुलेसो भै बगेछ यो बेर ।
आफ्नो
कलेटी परेको हाँगामा
हिँउफूल फूलाएको बेला
कपास जस्तै
नरम नरम, फूरुङ्ग भएथ्यो
उत्तिनै खेर यो मनपनि ।
जम्न,
हिँउलाई पनि
आधार चाहिन्छ भन्ठान्थे
जस्तो शुभ्र
जस्तो तरलता
उस्तै ऊ होला
टाकुरोलाई चुल्याएको देखेर
यो मन पनि लोभिएको थियो।
तर,
हिँउले दिएको कालो दाग
देखेर आफै पत्याउन छाडेकी छु ।
संवेदनाहीन चिसो हिँउ
प्रेमपूर्वक सँगाल्दासँगाल्दै,
पगाल्न सकिन्छ कि भनेर ।
चिसो हिँउले डामेको मन
बोकेर आफैभित्र
निर्लज्ज टाकुरो झै
उस्तै उस्तै
कालो भएर उभिएकै छु
अर्को
हिँउद मास पर्खेर फेरी पनि ।