तिम्रो छोरो
उर्मिला थपलिया, (काठमाण्डौं)
सपनाको घुम्टो ओडेर
ख्याउटे महत्त्वाकांक्षा पाल्दै
लुखुर लुखुर
शहर पसेको म
र मेरो भबिष्य
काठमाडौंको एउटा गल्लिमा
भौतिक शरीर थुपारेर
बाबा
तिम्रै उपदेश बोकी
अनवरत
पुस्तकसँग कुस्ती खेल्दा खेल्दै
गरीबीसँग चिरपरिचित हुँदै
भौतारिरहेको थिएँ
अचानक
देशको संकटमा
मेरो उपस्थिति देखाउँदा देखाउँदै
निरंकुश त्यो सत्ताले
गर्ल्याम्म ढाल्यो मेरो शरीर
ऐया ऐया भनेँ, रगतको आहालमा
बाबा तिमीलाई सम्झँदै
अनि सदा सदाको लागि चिम्लेँ आँखा
हो बाबा
मैले देख्न पाइनँ
तिमीले ल्याएको मीठो चामल
अनि चाख्न पाइनँ
आमाले बनाएको गुन्द्रुक
आँगनीको डिलमै फलेको
त्यो रसिलो नासपाती
नुना खुर्सानीसंग साँदेर
जिब्रो पट्काउँदै खानै पाइनँ
तिमीले मेरै लागि भनी
पाखो बारी बेच्यौ
अफसोच
अधुरै रह्यो
त्यो माया को स्पर्स
तर पनि
सुर्ता नगर बाबा
तिम्रो छोरो आज
हेर्दा हेर्दै
सबैले मान्ने
सबैले देख्ने
भित्ता भित्ता टाँसिने
ठूलो मान्छे भएको छ ।
Comments
deepak
verry good
Prakash Sayami
Urmila is one of potential poet in Nepali language. she is viivd sense of writing . congratulation