दुइ गजल
प्रभाकर पण्डित, (चितवन)
अन्धोलाई वसन्तको रहर व्यर्थ लाग्यो
बास माग्दा त्रास दिने सहर व्यर्थ लाग्यो
भार भयो जिन्दगी यो कतै बिसाऊँ भन्छु
मृत्यु दिन सँधै चुक्ने जहर व्यर्थ लाग्यो
साउनमा कहीँ कतै पानी देखिएन
गहभरि बगी रुने नहर व्यर्थ लाग्यो
सुनेकै हुँ दुःखपछि सुख आउने कुरा
सँधै शिरमा मडारिने कहर व्यर्थ लाग्यो
मेरो निधार कोर्दाकोर्दै भावी निदाएछ
चिना हेर्ने ज्योतिषीको ठहर व्यर्थ लाग्यो
XXXXXXXXXXXXXXXXXXXXXX
पीर कतै बेच्न पाए खुसी कतै किन्न पाए
संसार अर्कै हुन्थ्यो फेरि शिशु बनी हिँड्न पाए
तोरी पेल्दा तेल आयो मकै पिन्दा पिठो आयो
कतै सुख आउँथ्यो कि दुःखहरु पिन्न पाए
मित्रताको खोलभित्र शत्रुहरु भेटेको छु
केही अरु बाँचिन्थ्यो कि दुष्टहरु चिन्न पाए
पैसा नै ईश्वर ठान्ने भक्तहरुको हुलभित्र
म पनि पुज्थेँ ईश्वर सबको भन्दा भिन्न पाए
यमराज्को अदालत्मा कति तारिक् धाउनु खै
"प्रभा" सायद् मुक्त हुन्थ्यो आजै मुद्धा छिन्न पाए