हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अनेसासको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन – बेलायत सम्मेलन

शर्मिला खड्का (दाहाल), (काठमाण्डौ )


‘भाषा हाम्रो प्राण हो, देश हाम्रो ज्यान, जहाँ रहे नि चिनाउने संस्कृति हो शान,’ नाराका साथ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेलायतको राजधानी लन्डनमा हालै सम्पन्न भएको छ । अगस्ट २६, २७, २८ गरी तीन दिनसम्म चलेको उक्त सम्मेलनमा नेपाल तथा अन्य देशबाट पनि सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पहिलो दिनको कार्यक्रममा परिचय र मन्तव्य  आदान प्रदान गरिएको थियो । ह्यारी फूटबल क्लवमा सम्पन्न गरिएको उक्त कार्यक्रममा विभिन्न देशका सहभागी बीच डायस्पोरिक लेखन, नारीलेखन र बाललेखनबारे विचारहरू आदनप्रदान गरिएको थियो । उद्धोषक गोपीकृष्ण प्रसाईको कुशल उदघोषणसँगै सम्पूर्ण साहित्यकारहरूको साहित्यिक परिचयसहित व्यक्तित्वको चर्चा गरिएको थियो । विदेशिनुपर्ने बाध्यतासँगै बाँच्नुको जिजिविषालाई कायम राख्दै भाषासाहित्यको लागि गरिएको यो कार्य प्रशंसनीय थियो । संयोजक जया राईको कुशल नेतृत्वमा गरिएको यो कार्यक्रम ऐतिहासिक थियो । विभिन्न देशबाट आउने सहभागीह्रुलाई कसरी ल्याउने, कहाँ राख्ने र कार्यक्रम कहाँ कसरी सम्पन्न गर्ने भन्ने विषयमा संयोजक जया राई र अनेसास बेलायत च्याप्टरका सम्पूर्ण पदाधिकारीहरू तन्मयताका साथ लागि परेको देखिन्थ्यो । संयोजक जया राईको महत्वपूर्ण काममा सहयोग गर्नुहुने साहित्यकार तथा समाजसेवी विकलचन्द्र आचार्य, डा. रुपक श्रेष्ठ,कवि गोपीकृष्ण प्रसाई, कवयित्री लारा राई र शशी थापा सुब्बाको सक्रियतालाई प्रशंसनीय मान्नुपर्छ । डायस्पोरिक लेखनलाई विकास गर्ने उद्देश्य राखी सन् १९९१ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना भएको हो । यसका विभिन्न शाखाहरूमा भाषासाहित्यलाई प्रवर्धन गर्न साहित्यिक कार्य भइरहेको छ । प्रवासमा रहेर आफ्नो भाषासाहित्यप्रति प्रेम, आस्था, समर्पणको भावना राखी डायस्पोरिकलेखनलाई सुदृढ गर्ने उद्देश्य राखी यसका संस्थापक अमेरिकामा बसोबास गर्ने साहित्यकार होमनाथ सुवेदीले स्थापना गरेका हुन् । प्रत्येक दुई वर्षमा गरिने यो सम्मेलनको पहिलो कार्यक्रम अमेरिकाको न्युयोर्कमा सन् २००९ मा गरिएको थियो ।
दोस्रो दिनको कार्यक्रम लन्डनस्थित ह्यारो फुटबलको क्लवको सभाकक्षमा भव्यताका साथ सम्मन्न भएको थियो । उद्घाटन, पुस्तक विमोचन, कार्यपत्रप्रस्तुत कवितावाचन आदि रहेको सो दिनको कार्यक्रम महत्वपूर्ण तथा प्रमुख थियो । नेपाली प्रतिभा पलायनको सबुत प्रमाणसहित लारा राई र शशी थापा सुब्बाले आफ्नो उत्कृष्ट प्रतिभा र कुशल उद्घोषणको नमूना साथ कार्यक्रम संचालन गर्नु भएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्नु भएको थियो भने अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण  बजगाईँले अध्यक्षता ग्रहण गर्नुभएको थियो । संस्थाका संस्थापक होमनाथ सुवेदी, डा. गोविन्दराज भट्टराई, प्रदीप नेपाल, डा. सुष्मा आचार्य, माइकल हट, हरिहर अर्याल आदिले विशिष्ट आतिथ्यता ग्रहण गर्नु भएको थियो । विदेशमा रहेर विभिन्न कार्यव्यस्तताका वावजुद पनि बेलायतमा रहेका प्रतिभावान व्यक्तिहरूले यो सम्मेलनका लागि आफ्नो धेरै समय र शक्ति खर्च गरेर लागिपरेका थिए । महामहीम राजदूतबाट पानसमा बत्ती बाली समारोहको औपचारिक उद्घाटन गर्नुभएको थियो भने संस्थाका संस्थापक होमनाथ सुवेदीलद्वारा ठूलो ब्यानरको पर्दा हटाएर कार्यक्रमको शुभारम्भ गरियो । ठूलो तालीको गडगडाहटका साथ बेलायती पावनभूमिमा नेपाली भाषा साहित्यको ऐतिहासिक कार्यको मधुर ध्वनि गुन्जियो । श्रेया राईको मीठो राष्टिय धूनले समारोहमा देशप्रति सम्मान प्रकट गरिएको थियो ।
संयोजक जया राईदारा विभिन्न देशका शाखाबाट पठाइएको शुभकामना मन्तव्य पढेर सुनाइयो । शुभकामना मन्तव्यको क्रममा बेलायतस्थित गैरआवसिय नेपाली संधका अध्यक्ष सूर्य गुरुग, प्रतिभा प्रतिष्ठान बेलायत,ब्रुनाईका अध्यक्ष रक्षा राई, साहित्यकार खगेन्द्र पाठक, नेपालका कवि रमेश श्रेष्ठ, आदिले व्यक्त गर्नुभयो । 
 कार्यक्रमको निश्चित गन्तव्यको क्रममा पुस्तक विमोचनको एउटा बेग्लै महत्वपूर्ण आकर्षण थियो । नेपाली साहित्यमा विदेशमा यति धेरै पुस्तक एउटै कार्यक्रममा विमोचन गरिएको सम्भवतः यो पहिलो अवसर थियो । डायस्पोरामा रहेर धेरै पुस्तक लेखिसकेका होमनाथ सुवेदीका डायस्पोराका डोरा, बेलायत भूमिमा आफ्नो दैनिक जिविकालाई कायम राख्दै भाषा साहित्यमा समर्पित दुई युवा साहित्यकार र समाजसेवी विकलचन्द्र आचार्य र डा. रुपक श्रेष्ठको क्रमशः बेलायती आँगनमा गोर्खली सुवास र विगवेन र समय सार्वजनिक गरियो । त्यस्तै नेपालबाट सहभागी साहित्यकार डा. सुष्मा आचार्यको वासुदेव लुँइटेलको स्मृतिग्रन्थ र शर्मिला खड्का दाहालको सिर्जना र सन्त्रास को पनि लोर्कापण गरियो । यसै अवसरमा शर्मिला खडका (दाहाल)दारा सम्पादित इ पत्रिका समयसिर्जना डट कम लाई पनि सार्वजनिक गरियो ।
कार्यक्रमको दोस्रो चरणमा कविता, गीत, गजलका साथसाथै कार्यपत्र प्रस्तुत गरिएको थियो । लामो समयदेखि नेपाली भाषासाहित्यका गहन अध्येता माइकल हटले नेपाली उपन्यासको प्रवृत्तिबारे चर्चा गर्नुभएको थियो । डायस्पोरा लेखनमा विशेष अनुसन्धान र अध्ययन गरिरहनुभएका डा. गोविन्दराज भटटराईले डायस्पोरामा अन्तर्राष्टिय नेपाली साहित्य समाजले खेलेका भूमिकाबारे मुल्याकन गर्नुभयो । कार्यपत्रप्रस्तुतिको क्रममा डा. सुष्मा आचार्यले नेपाली साहित्यमा नारीलेखनको विकासक्रम र प्रवृत्तिबारे विस्तृत व्याख्या गर्नुभयो । डायस्पोरिक लेखनमा आफ्नो शक्तिशाली पहिचानको लागि संघर्षरत युवा कवि गोपीकृष्ण प्रसाई र गजलकार डा. रुपक श्रेष्ठ डायस्पोराले नेपाली लेखनमा खेलेको भूमिका बारे बताउनुभयो । दिनभरिको कार्यक्रममा कार्यपत्रसँगसँगै नेपाली भाषासाहित्यको विकास र विस्तारबारे विशेष चर्चा परिचर्चा गरियो । नेपालबाट सहभागी हुनुभएका कवि रमेश श्रेष्ठ ,साहित्यकार गीता रेग्मी, अस्मिता भन्डारी, कमला वली, कर्ण थापा डम्वर गिरि आदिले रचना पाठ गरेर सुनाउनुभएको थियो । त्यस्तै बेलायत प्रवासमा रहनुभएको माया क्यालेन्डर, नारायण गाउँले, देवन्द्र खवास, मुकेश राई,प्रतिभा बोहरा, नरेश काङमाङ, सुशीला कार्कीले रचना पाठ गरेर सुनाउनुभयो । क्यानाडाका गोपी सापकोटाले राष्टियताले भरिएको छन्दवद्ध कविताले सबैलाई भावुक बनाउनुभएको थियो भने नीलहरी घिमिरेले गायत्री मन्त्र पाठ गरी धार्मिक महत्व झल्काउनुभयो ।  
अन्तिमचरणमा नृत्य, संगीत र कविताले कार्यक्रमको भव्यतालाई अझ रौनक बनाएको थियो । गोर्खा वेलफेयर सोसाइटी युथ क्लव साउथ हेरोका बहिनीहरुले प्रस्तुत गरेका उत्कृष्ट नृत्यले कार्यक्रमलाई अझ रोचक बनाइदिएको थियो । कुनै पनि कार्यक्रम सफल बनाउनलाई विभिन्न पक्षबाट गरिएको सहयोगको उत्तिकै महत्व हुन्छ । यस कार्यक्रमलाई पनि सफल बनाउन आर्थिक सहयोग गर्नुहुने कुल आचार्य, माधवलाल श्रेष्ठ, उमेश रेग्मी, गञ्ज आलेमगर, महन्थ श्रेष्ठ, सुरेन्द्र श्रेष्ठको भूमिका महत्वपूर्ण थियो । त्यस्तै दिनभर चियापान र अन्य काममा खटनु हुने बसुन्धरा राई, पूर्णिमा राई, प्रिती राई र साहित्कारहरूलाई व्यवस्था गराउन सहयोग गर्नुहुने बुद्धि बहादुर राई र विमल आचार्यको भूमिका पनि गहन थियो । यसरी पहिलो दिनको कार्यक्रम एउटा ऐतिहासिक महत्व बोकेर सम्पन्न भयो ।
दोस्रो दिनको कार्यक्रम थेम्स एकेडेमीमा सम्पन्न भएको थियो । कविता, गीत, गजलसँगसँगै अनेसासले निवार्ह गनुपर्ने भूमिकाको बारेमा विस्तृत छलफल गरियो । कार्यक्रमको तयारीको क्रममा भएका कमीकमजोरी र डायस्पोरिक लेखनमा आउने अप्ठेरा पक्षहरूको बारेमा पनि छलफल गरियो । नेपालबाट सहभागी हुनुभएका कवि रमेश श्रेष्ठ ,साहित्यकार गीता रेग्मी, अस्मिता भन्डारी, कमला वली, कर्ण थापा डम्वर गिरि आदिले रचना पाठ गरेर सुनाउनुभएको थियो ।  अनेसासको बेलायत च्याप्टरका अध्यक्ष होम परिवागको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. गोविन्दराज भट्टराईले डायस्पोरिक लेखनको विकासको लागि अनेसासले गर्नुपर्ने कार्यहरूको विवरण दिनुभयो । अनुवादसाहित्यलाई विकास गर्नुपर्ने, स्थानिय शाखाले नेपाली भाषाको लागि गरेको कार्यको इतिहास राखिनुपर्ने, बालबालिकालाई नेपाली भाषाको अध्ययनका लागि सुअवसर प्रदान गरेर उनीहरूको वातावरणलाई सुहाउँदो बालसाहित्य सिर्जना गर्नुपर्ने आदिको विषयमा सुझाव दिनुभयो । कार्यक्रमको अन्तमा बन्द सत्रपछि घोषणापत्र जारी गरियो । घोषणापत्र यस प्रकारको थियो ।
१) ‘डायस्पोरा’शब्दलाई नेपाली भाषामा आगन्तुकशब्दको रुपमा लिई शब्दकोशमा यसको प्रविष्टि गराउने ।
२) नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन विविध प्रकारका प्रयत्न गर्ने । यसका उद्देश्य प्राप्तिका लागि निम्न बमोजिमका कार्यहरू गर्ने :
 २) क. हरेक नेपाली डायस्पोराले त्यस देशमा श्रष्टाहरूसंग सम्पर्क बढाई साहित्यिक आदनप्रदान गर्ने ।
२)ख.सम्बन्धित देशका विद्यालय, विश्वविद्यालय, पुस्तकालय  तथासाहित्यिक संस्थाहरू, संचारमाध्यमहरू सँग सम्बन्ध स्थापित गर्न प्रयत्नगर्ने ।
२) ग नेपाली भाषा पठनपाठनको निमित्त स्थानिय निकायहरूसँग सम्बन्ध बढाउने ।
२)घ हरेक डायस्पोरामा नेपाली भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण र त्यसको निरन्तरताको लागि उपयोगी पाठ्यसामाग्रीहरू (दृश्य, श्रव्य, र छापा ) को निर्माण गर्ने ।
२) नेपाली साहित्य सिर्जनाका अभिवृद्धिका लागि हरेक नेपाली डायस्पोराले अनुवादका माध्यमलाई प्रोत्साहन गर्ने ।
२) च सम्बन्धित देशका नेपाल विषयमा अनुसन्धान गर्ने विद्वत तथा विदुषीहरूको पहिचान गरी वहाँहरूको कार्यलाई अभिलेख गर्ने, प्रोत्साहित गर्ने र सम्मान गर्ने ।
३) आगामी सम्मेलनहरूको निमित्त कार्यपत्रका विधाहरूको विस्तार गर्दै यथा समयमा प्रस्तुत हुने विषय तथा शीर्षकहरूको सुनिश्चित गर्ने ।
४) विश्वकै जननी भाषा तथा पूर्वीय सभ्यताको सम्बाहक संस्कृत भाषामा अभिलिखित सम्पदालाई विश्वसामु परिचित गराउने ।
५)विविध भाषा र संस्कृतिबीच अन्तरसम्बन्ध स्थापना गरी समन्वय र सहअस्तित्वको स्थापनाको लागि प्रयत्न गर्ने ।
६)अनेसास केन्द्रले विविध डायस्पोरामा आयोजित कार्यक्रमप्रति आफ्नो भूमिका र उत्तरदायित्वलाई स्पष्ट परिभाषित गरी अन्तर सम्बन्धलाई सुदृढ गर्न गम्भीरताका साथ लिने ।
७) अन्तर राष्ट्रिय जगतमा फैलिएको अनेक नेपाली डायस्पोरा केन्द्र र ती केन्द्रसँग सम्बन्ध स्रष्टा, सृजना र संस्थाहरूको विषयमा संक्षिप्त जानकारीमूलक डाइरेक्टरी निमार्ण तर्फ विशेष पहल गर्ने ।
यसरी तीन दिनसम्म चलेको अनेसासको सम्मेलन यिनै विविध कार्यक्रमका साथ सम्पन्न भएको थियो । विदेशी भूमिमा धेरै बाधा, अडचन र अवरोधलाई पन्छाएर नेपाली भाषासाहित्यका लागि गरिएको यो कार्यक्रम ऐतिहासिक थियो । यो कार्यक्रमले डायस्पोरामा बेलायत भूमि भाषा साहित्य र सिर्जनालेखनमा निकै अगाडि रहेको महसुस गराउँदथ्यो भने नारी सहभागिता, सक्रियता र प्रतिभाले कार्यक्रमभरि नै निकै प्रशंसा पाएको थियो । यिनै विशेष चर्चा परिचर्चाका साथ बेलायतको दोस्रो अन्तर्राष्टिय सम्मेलन भव्यताका साथा समापन भयो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |