दसैं आएको छ
दिपक जडित , (हवाई, अमेरिका )
लामो दापभित्र
धारिलो खुँडा
छट्पटाईरहेको छ
दाप नभएका
गरीबगुरुवा झैं
नाङ्गा खुकुरीहरु
उत्ताउलिएका छन्
ठुला मान्छेहरु
हँसिला छन्
केटाकेटीहरु
चुल्बुलिएका छन्
खोरमा
भर्खरै दाना खाएको
खसीलाई केहि पत्तो छैन
शान्त, चुपचाप
उ मस्त उघ्राईरहेको छ
हिँजो अस्ति जस्तै
आँगनको एकातिर
ठुलो खड्कुलामा
पानी उम्लिसकेको छ
खुँडा निस्कनेछ दापबाट
पूजिनेछन्
नाङ्गा खुकुरीहरु कर्दसमेत
काटमार चल्नेछ
सँधै शान्ति चाहनेहरुको
सर्वदा शान्त आँगनको एक कुनामा
बग्ने छ आलो रगत
तरपनि घर आफैं
केटाकेटी झैं
उज्यालिएको छ
हो त्यो घरमा
दसैं आएको छ ।