बौलाहा कविको सपना
नर बहादुर दाहाल , (दार्जिलिंग)
मलाई पटक्कै निद्रा
लाग्दैन
तर पनि
म सधैं
तिमीलाई सपनामा देख्छु
कहिलेकाहीँ
चिट्ठी लेख्न बस्छु ।
तर
चिट्ठी लेख्दा लेख्दै
कविता पो लेख्छु
आघात पर्दा
म मरिमरि हाँस्छु
खुशी हुँदा
धुरुधुरु रुन्छु ।
तिम्रो मेरो प्रेमको
कुनै नाउँ नै छैन ।
तिम्रो माया
धेरै भएछ क्यार !
यसलाई कतै
राख्ने ठाउँ नै छैन ।
पृथ्वी सूर्यको वरिपरि
घूमोस कि नघूमोस
मेरो
मन त
तिम्रै वरिपरि
घुमे जस्तो लाग्छ ।
समयले छलेको
म एक्लो मान्छे
जीवन पनि
मदेखि
डराएर भाग्छ ।