हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

बोर्खेसको जीवनमा कविताको असर

प्रकाश सायमी, (गोधूलि संसार, सैँबु ८, ललितपुर)


यदि म जीवन फेरि बाँच्न पाउँछु भने
अर्को क्रममा- म कोशिश गर्नेछु
-म अझै धेरै गल्ति गर्नेछु
म मरेपनि सोह्रै आना सही रहने कोशिश गर्दिनँ
म अझै धेरै आराम गर्नेछु
म अझै भरिपूर्ण हुनेछु- अहिले भन्दा धेरै ।
वास्तवमा म थोरै कुरा गम्भिरतापूर्वक लिनेछु
म कम स्वास्थ्यकारी हुनेछु
म धेरै चुनौति लिनेछु
म धेरै भ्रमणशील हुनेछु
म धेरै सूर्यास्त हेर्नेछु
म धेरै हिमालारोहण गर्नेछु
म धेरै नदी तर्नेछु
म धेरै ठाउँहरु पुग्नेछु जहाँ म पहिले पुगेको छैन ।
म धेरै आइसक्रिम खानेछु र कम गेडागुडीहरु
मसित धेरै साँच्चिका समस्या हुनेछन्- कल्पना गरिएकाभन्दा कम ।
म ती मान्छेमा मध्ये हुनेथिएँ
जो अरुको तुलनामा इमान्दार र शानदार जीवन निर्वाह गरिरहेको हुनेथिएँ
उसको जीवनको एक-एक पल
अवश्य मेरा जीवनका उल्लासका क्षणहरु हुनेछन् तर
यदि म फर्केर जान सक्ने भए
म ती रमाइला क्षणहरु पाउन कोशिश गर्ने थिएँ

यदि तिमीलाई थाहा छैन भने- जीवन त्यहीबाट बनेको हुनेछ
आज त्यसलाई नगुमाऊ ।

म ती मध्ये अवश्य एक हुँ
जो थर्मामिटर विना
जो तातो पानीको बोतल विना
र विना छाता अनि विना प्यारासुट कहीँ कतै गएन

यदि म फेरि बाँच्न सक्ने भए- म हलुका यात्रा गर्ने थिएँ
यदि म फेरि बाँच्न पाउने भए- म खालि खुट्टा काम गर्ने थिएँ
बसन्तको शुरुवातदेखि
शिशिरको अन्त्यसम्म
म धेरै गाडा चढ्ने थिएँ
म धेरै सूर्योदय हेर्ने थिएँ र धेरै बच्चाहरुसित खेल्ने थिएँ
यदि…।
मसित बाँकी जीवन भइदिएको भए-
तर म अहिले पचासीको भएँ
-र मलाई थाहा छ म अब मर्दैछु ।

Instance शीर्षकको यो अङ्ग्रेजी कविताबाहेक यस शृङ्खलामा "History of Night, Art of Poetry, Sucide, Report, Weapon, Ciblical Night, Tiger बाहेक पहिले कतै पढिएको कविता 'चक्कू' पनि साथमै थियो । चक्कू उनको सर्वाधिक चर्चित कवितामध्ये एउटा हो जसलाई नपढ्ने उनका विदेशी प्रशंसक नहोलान् भन्न सकिन्न । र मैले यो कविता धेरै अगि वा करीब पन्ध्रवर्षअगि निर्लिप्त पारिसकेको थिएँ -

'मैले आफ्नो नियतिलाई पाइसकेछु
आफ्नो अन्तिम ल्याटिन अमेरिकी नियतिलाई ।
सख्त फलामको प्रहार
मेरो छातीलाई चिर्दै
घाँटीमाथि
मैले आफूले चिनेको चक्कू । '

बोर्खेसले यो कविता लेख्नुपूर्व यस कविताको रचनालोकका बारेमा ज्ञान गरेका थिए कुनै एक प्रेस कन्फरेन्समा । चक्कूको आफ्नो निजी रहस्यमय जिन्दगी छ । हत्या र हिँसाको एउटा यस्तो प्राइवेट लिपि त्यसमा गाँस्सिएको छ जो अनायास हामीभित्र त्यसप्रति सम्मानको भावना जाग्रत गर्दछ ।

सन् १९७६ अगि नै यूरोपीय समाजमा र अङ्ग्रेजी पाठकका माझ चर्चित भइसकेका कवि बोर्खेस ल्याटिन अमेरिकामा भइकनपनि नोबेल पुरस्कार समितिको दृष्टि नपरेका एक कवि थिए ।

सत्तरीको दशकमा आफू चर्चाको शिखरमा हुँदा उनी लण्डनको पहिलो सार्वजनिकीकरण समारोहमा उनले भनेका थिए- "समय त्यो पदार्थ हो जसमा म बनेको छु । समय एउटा छाल हो जो मलाई बगाउँदै लान्छ- तर म छाल हुँ । त्यो चित्तुवा हो जो मलाई चिरफार गर्छ- तर म चित्ता हुँ । त्यो आगो हो जो मलाई निल्न खोज्छ- तर म आगो हुँ । दुनियाँ दुर्भाग्यवश असली हो- म दुर्भाग्यवश म बोर्खेस हुँ ।"

ल्याटिन-अमेरिकी लेखकहरुमा शायद बोर्खेस नै एक यस्ता लेखक हुन् जो यूरोपको परम्पराको,  यहुदी परम्पराको यातनाग्रस्त जिज्ञासाको सबैभन्दा निकट आउँछन् । उनले यही प्रसङ्गमा भनेका छन्- "चमत्कार गर्ने सुविधाबाट देवता भलै विचलित भएको होस्, लेखक होइन- लेखक हमेशा अतीतलाई बदल्न सक्दछ…। काफ्काले जस्तै । ऊ स्वयम् आफूभन्दा पहिल्यै आउने कुराको रचना गर्न सक्दछ ।"

लामो-लामो बाक्लो उपन्यास पढ्न नरुचाउने बोर्खेसले त्यस किसिमका कृतिको रचना पनि गरेनन् शायद । उनले एकपटक टिकट किनेर आफ्नो कुरा सुनाउन आएका प्रशंसकलाई भनेका पनि छन्- "मलाई यो स्वीकार गर्दा एकदम लाज पनि लाग्छ मैले कहिले पनि लामो उपन्यास पढ्न सकिनँ- 'म्याडम बाभोरी' अनि 'युद्ध र शान्ति'-जस्ता महान् उपन्यास पनि सकिनँ । अवश्य 'डन कुऔते' पढ्दा रमाइलो लाग्दछ- त्यसलाई म बारम्बार पढ्दछु किनकि शायद त्यो साँचो उपन्यास होइन त्यो केवल कहानी हो जो बराबर चलिरहन्छ ।"

उनी जीवनको अन्तिमकालतिर किस्सा लेख्न अति औत्सुक्य थिए रे उनी स्वयम्ले आफ्ना पाठकलाई भनेका छन् कतै "म साह्रै सीधा-साधा कहानीहरु लेख्न चाहन्छु । आफ्नो बुढ्यौलीमा म केही यस्ता कहानीहरु लेख्न चाहन्छु जो किपलिँगले एक्काईस-बाईसवर्षको उमेरमा लेखेका थिए ।"

सम्भवतः उनलाई बुढेसकालमा धेरै कुराले साथ दिएन र उनले यो काम गर्न सकेनन् । आफ्नो आँखाले त्यसपछि दोस्रो पत्नीले साथ नदिएपछि उनी आफ्ना ९९ वर्षकी आमासित गएर जीवन बिताउन थाले । यही समय उनको बाहिरी दुनियाँसित भन्दा अन्तर विश्वसितको आत्मीयता बढ्दै गयो । यही समय उनले बौद्धदर्शन, तन्त्र र पुराकथामाथि आफ्ना विषयाध्ययनलाई केन्द्रित गरे । बोर्खेसले एक प्रसङ्गमा भनेका छन्-"सङ्गीत सुखको स्थितिहरु पौराणिक कथाहरु समयले थाकेका मुहार गोधूलिको धमिलोपन केही स्थान- यी सब हामीलाई केही भन्न चाहन्छन् वा यिनीहरुले हामीलाई केही भनेका थिए जुन हामीले ओझेलमा पार्नु हुँदैनथ्यो वा हामीलाई केही बताउनेवाला छ । साक्षात्को यो तात्कालिक सम्भावना जुन कहिले पूरा हुँदैन-यसरी नै जसरी सौन्दर्यको सृजन हुनेगर्दछ ।"

सन् १८९९ मा व्यूनोस आयरिशमा जन्मेका बोर्खेसको सन् १९८६ मा निधन भएको थियो । ८७ वर्षको लामो आयु पाएका बोर्खेसले धेरै कम लेखेका छन् धेरै कम मात्र होइन धेरै कम शब्दमा लेखेका छन् । आश्चर्य लाग्छ यति कम शब्दमा कसरी उनले आफूलाई व्यक्त गर्न सके होलान् । उनी मिल्टन जस्तै वाचन गरेर अरुलाई लेखाउँथे यो क्रम उनको आँखाको दृष्टि गुमेपछि झन् बढ्यो । यो उनले स्वीकारेको नियति हो ।

कथाकार, निबन्धकार, कवि बोर्खेसका सन् १९२३-१९७६ सम्मका 'सेलेक्टेड पोयम्स्' 'द बुक अफ सैन्डु', ( कथा र केही कविताः अ युनिभर्सल हिस्ट्री अफ् इनफेर्ना, लैबरिन्थ्स् (उत्कृष्ट कथा-संग्रह ) द बुक अफ् इमेजिनरी बीन्ग्र्जु र डा. ब्राडिज् रिपोर्ट आदि प्रकाशित छन् ।

बोर्खेस यथार्थलाई ऐन्द्रिय र संस्पर्शमूलक मान्दथे । बोर्खेस राजनीतिका बारेमा आफ्नो कुनै पक्षीय विचार राख्दैनथे । उदाहरणका लागि उनी पेरोनका विरोधी भए आफ्ना केही निजी कारणले । क्यास्ट्रोका प्रति उनी सदैव निरपेक्ष रहे । उनको राजनीतिक स्वभाव रुढिवादी सोचको थियो त्यही कारणले उनी पश्चिमीया जगतमा लोकपिय भएपनि नोबेल पुरस्कारको चयनमा कहिल्यै परेनन् बरु उनलाई नोबेल पुरस्कार वितरण समारोहको  मँचमा उभिन बोलाइयो । देश र जनताका खातिर उनले त्यो प्रस्तावलाई नाइँ भन्न सकेनन् र उनी गएपनि तर अमनले ।

उल्लेखनीय कुरा के छ भने जुन समय कविताको ऊर्जाशील वर्ष मानिन्थ्यो त्यहीबेला बोर्खेसले टेक्सास् विश्वविद्यालयमा आउनुभन्दा पहिल्यै आफ्नो अघिल्लो आठ सङ्ग्रहबाट चुनेर एउटा सानो सङ्कलन तयार पारेका थिए त्यही सङ्कलनलाई नै उनले आफ्नो काव्य-प्रतिभाको आकलन मानेका थिए । उनी पश्चिमका गालिब मानिन्थे । फेबर एन्ड फेबरले सन् १९८४ मा प्रकाशित गरेको बौद्ध-दर्शनमाथि लिखित उनको पुस्तक 'सेभेन नाइट्स'  उनको चर्चित कृतिमध्ये पर्दछ ।
बोर्खेस रहस्यवादी लेखक होइनन् तर उनका कृतिहरु पढ्दा त्यसमा रेशाहरु देखापर्छन् । उनले लण्डनमा एक-एक पाउण्ड तिरेर आफ्नो कार्यक्रम हेर्न आएका पाठकहरुलाई भने- " पहिलेको कुरा हो । चीनमा चुआँग सू नामक् एक व्यक्ति रहने गर्दथे । एकदिन दिउँसो उनले सपना देखे उनी चरा बनेर उडिरहेका छन् । जब उनको निन्द्रा टुट्यो उनी बडो असमन्जसमा परे…। उनले यो तय गर्न सकेनन् कि उनी चुआँग-सू हुन् जो सपनामा चरा बनेका थिए वा उनी चरा थिए जसको सपनामा उनी चुआँग-सू बनेका थिए ।" बोर्खेसका अधिकांश कथाहरु जसलाई उनी फिक्शन्स् भन्थे- यस्तै छद्म सन्दिग्ध घटनाहरुका वरिपरि घुम्दछन् ।

बोर्खेसका बारेमा भारतका चर्चित कथाकार एवम् उपन्यासकार निर्मल बर्मा भन्दछन् "बोर्खेसका लगभग सबै कथाहरुमा समय मरुभूमिजस्तै फैलिएको छ- आफ्ना समस्त मृगतुष्णाहरु र मरीचिकाहरुका साथ-यथार्थबाट अलग होइन तर यथार्थको हिस्सा पनि होइन; ती सब तासका जोकर जस्तै हुन् जसलाई खेलमा केही पनि बनाउन सकिन्छ किनकि आफूमा त्यो केही पनि होइन । जे केही पनि होइन त्यो सबथोक बन्न सक्छ । …बोर्खेसको समय प्रूस्तको घुमावदार समय होइन जसको चरम विन्दू 'अनायास स्मरण'का क्षणहरु द्वारा आलोकित हुनेगर्छन् ।"

कथाकारका रुपमा भारतीय समाजमा अत्यन्त पढिने बोर्खेसलाई कविका रुपमा पढ्ने झन् धेरै छन् भन्न सकिन्छ । भारतीय कुँवर नारायणको यो विचारले पुष्टि गर्दछ- "एक बौद्धिक कवि हुनुको त्यो मुश्किल आदर्शलाई बोर्खेस्ले सफलताले निभाएका छन् जहाँ उनको कविता जीवनको अत्यन्त सामान्य प्रसङ्गहरुबाट समेत असामान्य निष्कर्ष र गहिरो मनोवैज्ञानिक सत्यतासित पाठकलाई अनौठो सामना गराउँदछ । उनको कविता एकदम सहुलियतमा हामीलाई ब्युँझाउँछन् ; चिच्याएर घच्घच्याउँदैनन् । बोर्खेसका रचनाहरु न त यथार्थबाट आक्रान्त छन् न यथार्थ निरपेक्ष नै । उनी यथार्थलाई सीधा र सपाट नमानेर त्यसलाई व्यूहात्मक मान्दछन्।"

भारतका अलग-अलग युगका यी दुई महान् स्रष्टाको विचारबाट बुझ्न सकिन्छ उनको लेखनीयको प्रभाव भारतवर्षमा कस्तो छ ।

बोर्खेसलाई एक स्रोताले सोधे-"तपाई आफ्नो जिन्दगीमा कुन चैं चीज सबभन्दा बढी महशूश गर्नुहुन्छ ?"
-"हमेशा लाग्दछ म कतै हराइरहेको छु हमेशा यस्तै लाग्दछ ।"
"कुन चीजबाट तपाईलाई एकदम डर लाग्छ चक्कूबाट ? "
-"त्यसबाट मलाई डर लाग्दैन डर असलमा मलाई ऐनासित लाग्छ- बालकालदेखि म त्योसित डराउँदै आएको छु । त्यसलाई देखेर मलाई भयानक अनुभव जस्तो हुन्छ जस्तो म कहीँ फसिगएँ र बाहिर निक्लन सक्तिनँ । ऐनालाई देखेर यो मायावी भ्रम हुनेगर्छ जस्तो कतै मेरो प्रतिरुपको अस्तित्व छ जस्तो हरेक प्राणीको आफ्नो एउटा प्रतिरुप छ जसको कारण हरेक चीज सन्दिग्ध अवास्तविक र प्रश्नवाचक बन्न पुग्दछ ।"

बोर्खेसले यही समयको तर्कना लेखे होलान् यो सुन्दर कविता- चक्कू

…मेचको दराजमा एउटा चक्कू छ
सय साल पहिले तोलिँदोमा बनाएका थिए लुइस मेलीअन लफीनरले
ऊरुगुआईबाट ल्याएर यो पिताजीलाई दिइएको थियो
भन्दछन्-
कहिले यो कारिन्दाको हातमा पनि बसिसकेको छ
हेर्ने बित्तिकै यसलाई उठाएर ल्याउने मन हुन्छ कुनै आफ्नो चीजजस्तो
जसको धेरैदिनदेखि खोजी भइरहेको छ एकनासले
हात मुठठीमा जमिहाल्छ अनि जबरजस्त धार हुक्म मुताबिक
म्यानको भित्र-बाहिर खटाखट सर्किन्छ ।
तर चक्कू केही अरु नै चाहन्छ ।
त्यो फलामको केवल ढाँचा मात्र होइन;
एउटा खास इच्छा हो सोचेर बुझेर
गढिएको
जुन चक्कूले एउटा मान्छे हिजोराति तकुआरेंबोयेमा
मारियो र जुन चक्कू सिजरमाथि बसे्रथ्यो ती सबको जात
एउटै हो
चक्कू हत्यारा हुन्छ झम्टिएर हत्या गर्न चाहन्छ
मेरो मेचको दराजमा तमाम कागजहरु र चिठिहरुका बीचमा बस्दा-बस्दै
त्यो एउटा स्वप्न देख्न थाल्छ कुनै चित्तुवाको सीधा-साधा स्वप्न ।
छुने बित्तिकै ब्युँझन्छ उसको धातुमा लुकेको हिँसा या शायद
त्यो हातमा लुकेको
जसको लागि त्यो बनाइएको थियो ।
कहिलेकाहीँ उसमाथि दया आउँछ
यस्तो ताकत र एकाग्रता
यस्तो शानदार यसको चुस्ती वा सरलता
वर्षौ यो यसै थन्किरहन्छ
बिचरा !

यो कविताको अनुवाद गरुजेल मेरा सामु रहेको उनको अर्को एउटा कविता नेपालीमा ब्युँझिसकेको छ -

…नदीलाई हेर्न
समय र पानीलाई मिलाउन जान्नुपर्छ
र याद राख
समय एउटा अर्को नदी हो
नदीजस्तै तैरिन जान्नको लागि
र हाम्रो अनुहार पानीमा पानीजस्तै हराउनुपर्छ

ब्युँझनु एउटा सपना हो भन्ने बुझ्न
सपना हुने सपना नदेख्नु
र त्यो मृत्यु
जुन हाम्रो हड्डीमा पलाएको छ
त्यो मर्यो
हर रात हामी सपनालाई निम्त्याउँछौं

("कविताको कला" बाट सानो अंश)
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |