मैले फुकेको बेलुन
बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनीया)
सानो कुनामा थन्किएर
सुकेनास लागेको झैँ
खुम्चिएर
खम्च्याँग खुम्चुँग भएर
बसेको
त्यो पिलन्धरे बेलुनलाई
मैले फुक्ने निधो गरेँ
र
फुकेँ
आफ्नो शासले
अनि मरन्च्याँसे गर्धन
फुट्ने गरी फुकेँ
दुई बाहुबलको आडमा
बडो कष्टकासाथ
फुक्दा फुक्दै
फुत्किएला कि भनेर
औँलाका माझ
समाउँदै
मुख सुकाउँदै
बेस्मारी फुकेँ ।
अघिसम्मको पिलन्धरे बेलुन
अब
टन्न खाएर अघाएको भुँडेवाल झैँ भएर
फुकियो
म मख्ख परेँ
आफ्नो मेहनत सफल भएको देखेर
आफ्नो सपना साकार भएको देखेर र
बेलुनले आफ्नो आकार लिएको देखेर
बेलुन
अब हावामा उड्न तयार भयो
फिरफिर फिरफिर गरेर
भुँई छोड्न तयार भयो
मैले फुकेको त्यो बेलुन
शायद अब आफुलाई
भुईँ लायक ठानेन
मेरो नियन्त्रणमा रहन मानेन
उसको फुर्तिबाट म सजग भएँ
यसर्थ
मैले उसको नाईटोमा
डोरी बाधेँ र अर्को टुप्पा
आफ्नो हातमा बलियोसँग समातेर राखेँ ।
तरपनि मैले नै फुकेको त्यो बेलुन
अब मेरो नियन्त्रणबाट फुत्किन खोज्दै थियो
हावाको चालमा भर्भभराउँदै थियो
माथी माथी आकाश ताक्दै थियो
एकैछिन अगाडिसम्म
कहिँ कतै कुनामा थन्किएको यो बेलुन
अब म भन्दा माथी माथी जाने जमर्को गर्दै थियो ।
आफ्नो मेहनत आफ्नै
हातमा जतनकासाथ राख्ने
जोहो गर्दा गर्दै
अचानक बेलुन मेरो हातबाट फुत्कियो
र उड्यो आकाशतर्फ
तिब्र बेग लिएर
माथी माथी, धेरै माथी
म आँखाले भ्याएसम्म
लोभी नजरले हेरी रहेँ
कथम् फेरी तल झरेर
मेरै वशमा आउला कि भनेर
तर अहँ
उसलाई उँचाई मन परी सकेको थियो
उसले उँचाई ग्रहण गरि सकेको थियो
र त
मलाई उसले सर्वथा विर्सेर
उप्रतिको मेरो मेहनतपनि विर्सिसकेको थियो
र अब मबाट टा...ढा हुँदै
माथि माथि पुगिसकेको थियो
दुखको कुरा
उँचाई लिएपछि एकपटक फर्केर
मतिर हेर्ने धृष्टतासम्म गरेन ।
म अब व्दिविधामा छुँ
अर्को बेलुन फुकौ कि नफुकौँ भनेर
जति बेलुन फुकेपनि नियति यहि नै रहेछ
बेलुन आखिर बेलुन नै त रहेछ
कृतध्नको एउटा पाठ रहेछ ।
Comments
Gopal Regmi
Beautiful composition! Every line is so beautiful but here are the lines I liked the most: मलाई उसले सर्वथा विर्सेर उप्रतिको मेरो मेहनतपनि विर्सिसकेको थियो र अब मबाट टा...ढा हुँदै माथि माथि पुगिसकेको थियो दुखको कुरा उँचाई लिएपछि एकपटक फर्केर मतिर हेर्ने धृष्टतासम्म गरेन ।