हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नयाँ बर्षको शुभकामना

गोपाल रेग्मी , (मनासस, भर्जिनिया )


समय साँध यो आयो पुरानो साल फेरियो
,

बितेको सालका पुरा  घटना चक्र हेरियो ||

थिए क्षण कुनै मीठा मुसुक्क मुसकाउने,

थिए क्षण कुनै फेरी अश्रु धारा सुकाउने ||

 

उत्साहले भरिएर दिनहरु बिते कति,

आँटेको पुगेन कैले भयो चिन्ता पनि अति ||

साँचेका सपना सप्पै पुरा हुने भए तनि

झर्थे यै लोकमा सप्पै देव देवीहरु पनि ||

 

सपना बन्नु हो राम्रो सपना बुन्नु पर्दछ

वश छ कर्ममा मात्रै त्यो पनि गुन्नु पर्दछ  ||

आशक्ति फलको राखी कर्म गर्दा निरन्तर

नपुग्दा फलको आशा नहुने ब्यग्र को छ र ?

 

आएको खाली हातै हो जानु छ खाली हातले

न चिन्ताले केही हुन्छ न केही हुन्छ मातले ||

चिन्ताको भूमरी भित्र परिन्छ जब फन्फनी

सम्झनु बेश हो दिन राम्रा हुन्छन् पछि भनी ||

 

मितेरी नूतनी आए गांसिए मीत फैलिए

बुझाईमा हुँदा अन्तर्  एकाधि मन मैलिए  ||

मैलिएका मन माझी फेरी सफा बनाउन

परेको छ नयाँ मैत्री अझै गाढा बनाउन ||

 

अमूल्य पाठ सिकेर बितेको साल गल्तिका

बनाई योजना नौला नव-चेत र चल्तीका ||

कर्ममा डट्नु छ फेरी सम्बत्सर नयाँ भयो

सकियो साल बितेको जे हुनुथ्यो भयो गयो ||

 

नयाँ जाँगर उत्साह नयाँ जोश उमंगले

सकौं जुट्न सबै हामी कर्ममा नव ढंगले ||

सहजै सकियोस् गर्न बिघ्न बाधाको सामना

नयाँ यो बर्षकोलागि सबैमा शुभकामना ||

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |