भ्रम, उज्यालो र आँखाहरु......
सञ्जु बजगाईं, (लन्डन, बेलायत)
दृष्य देख्न सामर्थ
एक जोर आँखाहरु
आफैंसँग बोकेर
बाटो पछ्याईरहेछु गन्तब्यको
अन्धो भएर ।
पछ्याउनु नियति भो !
तोकिएका बाटाहरु,
पछ्याउनु नियति भैरहेछ ।
ठुल्ठुला चौरस्ताको निम्तोको
अर्थ खोज्ने हक छैन यहाँ,
म बिना अर्थको हात हल्लाउँछु
ट्वाल्ल हेरिरहेका बाटाहरुलाई
र,
लम्किन्छु साँगुरो गल्लीको
पुरातन खुड्किलातिर ।
उज्यालो छिर्न नसकेको यो साँगुरो गल्ली !
दिउँसै झुल्न नसकेको यो साँगुरो गल्ली ! !
यो गल्लीको अन्धकार
के मेरा आँखाभित्रका नानीहरुको दोष हो ?
बत्ती त आजकल सडकहरुमा बल्छन् भन्छन् ।
कोल्टे परेका गल्लीहरुको अन्धकार
मेरो अगुवाको टर्चलाईटले के चिर्छ ?
म पछ्याउँछु अन्दाजमा
उसका भारी पदचापहरु
पछ्याई रहन्छु निरन्तर ..........!
ए , मेरो मन छेक्ने पर्दा !
तँलाई च्यात्न सक्ने कोही छ ?
टर्च लाईट र सडकबत्तीभन्दा
हजार गुणा बढी उज्यालो बन्दी भएको छ यहाँ ।
मन गुफा त होईन नि !
तर टाउकामा सद्धे आँखा बोक्नेले
पराया मन किन देख्दैन हँ ?
रातभर हतौडाको आफ्नै सिरानी
ब्युँझिएर सन्नाटामा
यो मन किन फोड्न सक्दैन हँ ?
निन्द्राभरी बिझाएर
उघ्रिएको उही बिहानी,
पछ्याउनु उही नियति,
त्यसैले,
दृष्य देख्न सामर्थ आँखाहरुलाई
मृत्युपर्यन्तको
एक मुठ्ठी
अग्रीम श्रद्धाञ्जली !!
Comments
sangeet
sarahi ramro