हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

राजमार्गछेउका भुराहरू

निलम निहारिका , (नर्थ क्यारोलाइना )


बस चढ्ने तरखरमा छु म ।
– ‘कहाँ जाने दाइ ?’
ल आउनू, सिट खाली छ ।
झोला समाउन आउँछ ।
म रिसाएझैँ हेर्छु ।
– ‘सस्तोमा मिलाइदिन्छु, राम्रो सिट छ ।’
ऊ श्यामेजत्रै छ । छोटो कट्टु र टि–सर्ट लगाएको छ ।
‘साले ! मेरो एरियामा किन आ’को । आफ्नोतिर जा ! अहिले भेट्लास् अस्तिको जस्तो ।’
ऊभन्दा अलि मोटोघाटो उसको जस्तै उमेरको आउँछ ।
उसको हातबाट मेरो झोला लिन्छ ।
बसपार्क चार दिशाबाट पस्न मिल्ने खालको छ ।
म उत्तरतिरबाट पसेकी थिएँ ।
आउँदा रिक्सामा आएको थिएँ बसपार्क । रिक्साचालक पनि यही झोला समाउनेभन्दा पाँच–छ वर्षले जेठो थियो होला ।
पहिलाको केटो दोस्रोको हातमा झोला सुम्पेर जान्छ ।
– ‘आइन्दा मेरो एरियामा टप्कन नआउनू !’
स्वीकृतिमा टाउको हल्लाउँछ पहिलो ।
‘ल भन्नोस् न, कहाँ जाने ?’ हिँड्छ काँधमा झोला हालेर ।
– ‘पख, पख, अरू साथी आउँछन् अनि... ।’
– ‘ए ! अरू पनि हो, कति जना ? ...खोइ कता हो ?’
– ‘हाम्रो टिकट भइसकेको छ ।’
फ्यात्त झोला भुइँमा फाल्छ । निराश भएर जान्छ, रिसाउँदै ।
 
बस अगाडि गुड्छ ।
केही अघि पुगेर रोकिन्छ ।
– ‘ल ठण्डा–ठण्डा चिसो–चिसो ।’
घाँटीमा डोरोले कोकको क्यारेट झुन्ड्याएको अघिकै जस्तो केटा बस चढ्छ ।
बोतलमा फलामको टुक्राले हानेर आवाज निकाल्दै छ । टिटिटि...
झ्यालबाहिर हेर्छु । अर्को त्यस्तै केटाले चटपटे बेचिरहेछ; ‘ल चटपटे... ।’
टाउकोमा उठाएको छ चटपटेको भार ।
‘ए उता लैजा !’
बसबाट एउटा भलाद्मीको आदेश ।
उसको सानो बच्चाले किनिदिने भनेर दुःख दिइरहेछ ।
‘ल सुनिनस् उता लैजा !’ झ्यालबाट टाउको निकालेर कराउँछ ।
चटपटे बेच्ने कोटा अलि पर जान्छ, सकी नसकी सबै उठाएर ।
 
बस अगाडि बढ्छ ।
र, फेरि रोकिन्छ ।
नानीहरू थालमा पोलेको मकै र कोही काँक्रोको चिरा बोकेर बसमा उक्लन्छन् ।
बल्ल थाल उठाउने सक्ने उमेरका छन् नानीहरू ।
खलासी कराउँछ– ‘कहाँ चढेका ? तल झर् !’
कोहीलाई कानमा समातेर तल झार्छ ।
म एक चिरा काक्रो उठाउँछु, एउटीको थालबाट ।
ऊ खुसी हुन्छे ।
– ‘कति हो चिराको ?’
उसले मूल्य बताउन नपाउँदै खलासीले तान्छ ।
पैसा दिन नपाई बस अघि बढ्छ ।
म चिरा समातिरहन्छु । यताउता यात्रुलाई हेर्छु । उनीहरू मलाई नै हेरिरहका छन् ।
मूल्य चुकाउन नपाएको काँक्रोको चिरा मेरो हातमा छ ।
म काँक्रो बेच्ने नानीले लगाएको जामा समात्छु, यस्तै चिरा–चिरा परेको जामा ।
कुरा चल्छ– मकैको ।
एउटीले मकै लिन खोजेको थिई, त्यो बेला ।
थालबाट हातमा उठाएकी थिई यात्रुले ।
सँगै बसेकीले भनेकी थिई, ‘खान हुन्न यहाँको मकै ।’
– ‘किन ?’
– ‘अस्ति नै टिभीमा हेर्नुभएन । मरेको मान्छे पोलेको कोइलाले पोल्छन् मकै ।’
मकै बेच्ने सानी नानीले कसम खाँदै थिई– ‘सत्ते होइन । हाम्रो घरमै दाउरा ल्याएर कोइला बनाउनुहुन्छ बा । आमा र म यहाँ मकै बेच्छम ।’
उसको कुरा नपत्याएर हातमा उठाएको मकै घिन मानेझैँ थालमा राखिदिएकी थिई । त्यो बेला मन अमिलो पारेकी थिई मकै बेच्ने नानीले ।
 
अब बस रोकिन्छ, खाना खाने ठाउँमा ।
भात बाँड्ने ठाउँमा छन् उत्रै नानीहरू ।
त्यहाँ भाँडा माझ्ने ठाउँमा छन् त्यस्तै ।
हाम्रो बसको खलासी पनि छ उत्रै ।
दगुरादगुर गरेका छन्, भात बाँड्ने केटाहरू ।
भाग थपिदिन टेबलमा पुग्न तन्कनुपर्छ केटाहरूलाई ।
‘ए केटा, यता आइज यता !’ भलाद्मीले बाँड्नेलाई बोलाउँछ ।
ऊ दगुर्दैै जान्छ । उसले भनेको थपिदिन्छ ।
‘राम्ररी हाल्न सक्दैनस् ?’ कराउँछ भलाद्मी ।
 
बस अघि बढ्छ ।
यात्रु टिप्न रोकेको बसमा, केटाहरू चढ्छन् सारङ्गी रेट्दै ।
यात्रुहरू रमाइलो लिन्छन् केटाहरूबाट ।
पैसा दिने बेला हुन्छ । निदाएको बहाना गर्छन् धेरैजसो यात्रुहरू ।
पैसा थाप्दै हिँड्छ बालक केही पाउने आशामा । ‘दाइ !’ कोट्याउँछ एउटालाई ।
 
साले ! किन उठाको ? किन छोएको ? बल देखाउँछ, निदाएको बहाना गर्ने मान्छे ।
बसको पछिल्तिर एउटा स्टुलमा एउटी नानी छ । अघिदेखि म त्यसतिर हेरिरहेकी छु । दुईवटी मोटीघाटी महिलासँग बस चढेकी हो ऊ पनि म चढेको पछिको दोस्रो स्टपबाट ।
उनीहरूबीचको कुराकानी – ‘मलाई पनि खोजिदिनू न !’
– ‘कहाँ, पाउन गाह्रो छ ।’
– ‘यत्रै भए काम चल्छ । योभन्दा ठूली पनि काम छैन । धेरै वर्ष राख्न पाइँदैन ।
महिलाहरू सिटमा छन्, सानी नानी स्टुलमा छे । बसको डण्डी समातेर निदाएकी छ । घरीघरी ती महिलाको काखमा पल्टन्छे । म देखिरहेकी छु एक महिला चिमोट्छे; ‘नसुत्’ भन्नलाई । ऊ बिउँझन्छे, डराउछे तर फेरि भुक्छे । फेरि चिमोटिन्छे ।
 
यसो झ्यालबाहिर हेर्छु ।
तल खोला हेर्छु बगरमा हेर्छ ।
बगरमा गिटी कुटिरहेका छन् नानीहरू ।
मान्छेको घर बनाउने, बाटो बनाउनको लागि बेचिन्छ यो गिटी ।
ढुङ्गा फोडिरहेका छन् नानीहरू ।
कमलो हातको फलामले हानिरहेछन् ढुङ्गामा ।
म दृश्य घुमाउँछु ।
सम्झन्छु त्यो रिक्सा तान्ने सानो केटालाई ।
सम्झन्छु, बन्दै गरेको घरमा इँटा ओसारेको नानीलाई, अनि माछा बेच्दै गरेको नानी बाबुहरू, सबै छन् आँखामा ।
 
बस सहर पस्छ ।
देख्छु, बाटो छेउमा पालिस लाउन बसेको सानो केटा ।
भलाद्मी चुरोट तानेर उभिरहेको छ । केटा आफ्नो काखमा राखेर भलाद्मीको जुत्ता पालिस गर्दै छ ।
 
बसपार्कमा बस पस्छ ।
केटाहरू दगुर्छन् बस रोक्न नपाई, सामान झार्न ।
आपूmभन्दा ठूलो भारी झार्छन् ।
एकछिन खोसाखोस पर्छ केटाहरूबीच । झोला झारेको पैसा माग्छन् मलाही बोल्छ– मैले भनेको थिए र झारिस झोला ? किन दिनु पैसा ?
 
ट्याक्सी चढेर घर पुग्छु ।
ढोका खोल्न आउँछे मेरी छोरी ।
सुनाउँछे, ‘पल्तिरको श्यामेलाई त अस्पताल लगेको छ नि ! लुइसले टोकेर । लुइसलाई नुहाइदिन लाग्दा पूरै टोकेछ झम्टेर अनि शरीरभरि नङ्ग्राले चिथोरेछ ।’ श्यामल उसको नाम थियो– घरधनीले श्यामे बनाइदिएको नाम फेरेर ।...
 
म बजारतिर निस्कन्छु, कपाल काट्न ।
भोलि अफिस जानु छ ।
कपाल काटिसकेपछि सोध्छ सेलुनको साहु– ‘मालिस गर्ने हो ?’
– ‘हो हुन्छ ।’ टाउको गहु्रङ्गो भएको छ, केही हल्का हुन्छ ।
म आँखा बन्द गरिरहेछु ।
मसिना हातले मालिस गरिरहेछ ।
आँखा खोल्छु नरम स्पर्शले साह्रै नरम स्पर्श !
पछाडि फर्केर हेर्छु, स्टुलमाथि चढेर मेरो टाउकोमा मासिल गरिरहेको छ सानो केटा ।
 
म निस्कन्छु ।
घर पुग्दा श्रीमती आइसकेकी हुन्छिन् ।
– ‘खोइ, एक्लै आएको ?’
म केही बोल्दिनँ ।
उनी फतफताउँछिन्, ‘अब के गर्ने होला ? कसरी गर्ने मैले एक्लै यत्रो घरको काम ? जताततै एक्लै भ्याउनुपर्छ । आफ्नो सन्तानमा कसैले जुठो भाँडो माझेका छैनन् । लाज पनि भइसक्यो आफन्ती आउँदा । यो चिसोमा भाँडा माझेर मेरो हात हेर्नू त ! किन नलिई आएको ?’
पहिला बसेकीलाई ठूली भई भनेर बिदा गरेकी मेरी श्रीमतीले आफै । अर्को सानो केटा खोज्न पठाएकी थिइन् मलाई ।
सानो केटा गिटी कुटिरहे जत्रो ! बसबाट झोला झारे जत्रो ! गुड्दै गरेको बसमा सारङ्गी रिटेरहे जत्रो... !
म नबोली भान्साकोठामा पस्छु ।
श्रीमती फतफताइरहन्छिन् ।
म बेसिनभरिको जुठो भाँडो पखाल्नेक्रममा छु ।

Comments

Ram Koirala

exact mirror of our society.

Shiva Prakash

Ramro lago Neelam ji. Simple - Dimple.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |