हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जीवनपट

शिव प्रकाश, (बोस्टन, अमेरिका )

प्लेनको इन्जिन ‘अफ’ हुने वित्तिकै सेलफोनको स्वीच ‘अन’ गर्छ एउटा म्यासेज आइसकेको छ– “आशुतोष, म तिमीलाई एक घण्टा पछि फोन गर्छु– गौरी ।”
समयको लामो फड्कोले साइनोको रंग झन् गाढा बनाएको छ । अतीतका मीठा अनुभूतिमा बाँचेका स्मरणहरु झन् वयस्क बनेर आशुतोषका मनभरी दौडिन थाल्छन् – कहिले प्रभासँग अनि कहिले गौरीसँग ।
वादलका थुम्काहरुसँग कतै ठोक्किदै, कतै छलिदै, कतै लुकामारी गर्दै स्वप्नभूमि अमेरिकाबाट उडेको जहाज विभिन्न देशका आकासको छाती चिर्दै मातृभूमि नेपालको माटोमा अवतरित हुन्छ । दिनले संध्याको पोल्टोमा टाउको लुकाइसकेको छ । अहिले साँझको पाँच बजिसकेको छ ।
प्लेनको ढोका कतिखेर खुल्छ ? घरदेशको सम्झनाले निथ्रुक्क भिजेको उसको मनमा अहिले छट्पटी र औडाहा छड्किन थालेको छ । आँखाभरि आठवर्ष अघिदेखि देखेका सपनाहरु छन् । ती आज साकार हुदैछन् ।
उसका आँखाका परेलीमा सधैं नाचिरहने, अन्तष्करणमा सधैं डुलिरहने र मस्तिष्कमा सर्धै खेलिरहने त्यो मातृभूमि ! आज आफ्नो अभागी निधार बल्ल त्यो मातृभूमिको चरणकमलमा अड्याउँदै छ । विगत दुःखै दुःखमा बगाएको भए पनि दुःख के हो यतिबेला उसले सबै भुलेको छ । ऊभित्र खुशी नै खुशी मात्र छ । “आखिर जीवनमा खुशी पनि आउँदो रहेछ– धेरै वर्षपछि मातृभूमिको माटोमा माथा टेकाउँदैछु ।” आशुतोषलाई अहिले यस्तै लागेको छ ।
प्लेनको सिँढीको अन्तिम खुड्किलो छोड्नु अघि ऊ टक्क रोकिन्छ । मातृभूमिको पवित्रमाटो टेक्नु अघि त्यो माटोलाई ढोक्छ । प्लेनबाट ओर्लिनेको लाइन एकैछिन अवरुद्ध हुन्छ । उसका अगाडि–पछाडि धेरै मान्छे छन् । जो त्यही प्लेनमा यात्रा गरेका थिए ।
पछाडिबाट एउटा आवाज आउँछ– “के गरेको यो लाईन जाम गरेर ? हा... हा... हा... यस्ता पनि मान्छे देखिए !” अनायास त्यो रुखो हाँसोको कर्कश आवाज उसका कानमा ठोक्किन्छ । त्यो आवाजले मुटुमा ढुङ्गा ठोक्किए जस्तो दुःखाउँछ उसलाई । 
“कसैको नभाको स्वाङ् !, बाटो छोड ए....” अर्को एउटा संवेदनाहिन उदण्ड आवाजले उसलाई धकेल्छ । अगाडि केही पर्यटकहरु छन् उनीहरु एकतमासले हेर्छन् । एउटाले सोध्छ– “के गरेको यो ?” उ विनम्रता पूर्वक मधुरो स्वरमा जवाफ दिन्छ – “मेरो देशको माटोलाई ‘स्यालुट’ गरेको ।”
ओरिपरिका अरु नेपालीले हाँसोको पात्र बनाउँछन् उसलाई । तर, पनि उ कसैसँग केही वाद–विवाद, अनुग्रह–आग्रह, विग्रह–पूर्वाग्रह नगरी अघि बढ्छ । मनमनै भन्ठान्छ– यस्तै रहेछ ढुंगालाई ढोग्नु धर्म मानिन्छ तर माटोलाई ढोग्नु अपराध ठानिन्छ । त्यो घटना एउटा दुस्वप्न जस्तो लाग्छ उसलाई । मनमनै धारे हात लाउँछ । आकासमा झण्डै उन्नाईस–बीस घण्टाको उडान अनि लण्डनको लामो ट्रान्जिट । बहराइनका थप केही घण्टा । झण्डै तीस–बत्तीस घण्टाको निरस, पट्यार र थकानलाग्दो यात्रा ! तै पनि आशुतोष पटक्कै थकित देखिदैन । उसको अनुहारमा बिहानीको किरणले चुमेको त्यो आफ्नै हिमालको चमक छ । जसलाई ऊ शिरको मुकुट ठान्छ । शरीरमा कलकल बग्ने ती आफ्नै देशका वयस्क खोलानालाको स्फूर्ति छ । जुन आफ्ना नसानसामा सधैं बगेको अनुभूत गर्छ । मनमा उमंगको गुँरास ढकमक्क फुलेको छ । जुन उसको दुःखमा पनि साथी बन्छ र खुशी दिन्छ  ।
मातृभूमिसँग उसको सम्बन्ध त्यही छ– जुन सम्बन्ध नङ र मासुको हुन्छ । मुटु र श्वासको हुन्छ अनि जून र ताराको हुन्छ ।
तर विडम्बना ! समयको भँगालोले उसलाई भूगोलको कुनै सुदूर कुनामा लगेर धेरै वर्ष थन्क्याइदियो । विधाताको इच्छा– उसलाई माता र मातृभूमिको काख अनि परिवारको मायाबाट वर्षौ अलग गरायो । अन्ततः आज एक निराश्रित एकाङ्की जीवनबाट गृहस्थ जीवनमा फर्केको छ । मानिस जस्ता देखिने मान्छेहरुको जंगलबाट फेरि मानिस भेट्न आएको छ ।
बाहिर उभिएका सयौ अपरिचित अनुहारमा आँखा दौडाउँछ । त्यो भीडमा टाढैबाट प्रभालाई देख्छ । खुशीले प्रफूल्ल हुन्छ । झलमल्ल जून–तारा झुल्केको आकाश जस्तो हुन्छ मन तर एकाएक झट्ट गौरी सम्झिन्छ । अहिले आफू फेरि एउटा दशगजामा उभिएको जस्तो लाग्छ उसलाई । एकतिर प्रभा र अर्कातिर गौरी ! आँखामा प्रभा, मनमा गौरी ! एउटा अन्र्तद्वन्दले उसको अन्र्तमनमा अर्को युद्ध चलाउँछ एकछिन् ।
साँझ झमक्क परिसकेको छ । घरमा पुग्छ– अँध्यारो छ । बत्तीको स्वीच अन गर्छ– बल्दैन । धेरै अँध्याराहरु मध्ये लोडसेडिङको सघन अँध्यारोमा देश डुबेको छ । उसलाई लोडसेडिङको तालिका थाह छैन । छोराले भन्छ– “बाबा, बत्ती छैन । राती बाह्र बजेमात्र आउँछ ।”
बल्ल उसलाई थकानको महशुस हुन्छ । लखतरान शरीरलाई सोफामा एकछिन् लडाउँछ । उठेर नुहाउँन बाथरुम तिर जान्छ र धारा खोल्छ– पानी आउँदैन ।
“खै मैले धारा खोल्न जानीन कि क्या हो ?” श्रीमतीतिर हेर्दै भन्छ ।
“नजानेको हैन, पानी नभएको हो । धारा रित्तो छ । एकदिन विराएर पानी आउँछ– जम्मा दुई घण्टा । बिहानै आयो अब पर्सी मात्र आउँछ ।” श्रीमतीको कुराले ऊ एकछिन् विलखबन्दमा पर्छ । श्रीमतीका अनुहारमा एकटक लाउँछ । मोती हराएको नाग जस्तो त्यसै ओलिएर सोफामा फेरि पल्टन्छ ।
“रित्तोधारा ....! रित्तोधारा ....!” एक्लै बोल्छ ।
“यसमा त्यस्तो अचम्म मान्नु पर्ने कुरा म त केही देख्दिन । यहाँ त यो सामान्य हो । गुण्डा, फटाहा, हत्यारा, लुटेरा र डनहरु मारिए भने जुलुस निस्किन्छ, बन्द–हडताल हुन्छ अनि शहीद घोषणा हुन्छ तर देश आफैं शहीद हुन लागेको छ । यो सबै सामान्य भएको छ । सबैलाई मान्य भएको छ । ”
श्रीमतीले भनेका कुरामा केहीबेर गम्भीर हुन्छ । हेर्छ– प्रभाको अनुहारमा यौवनका आभाहरु उडिसकेको देख्छ । शरीरमा वैंशको वशन्त छैन । मनको मर्मको कितावमा पीडाका अक्षरहरु पढ्छ । वेदनाका भाषा सुन्छ ।
सोच्छ– म एक अपराधी हुँ ! उ जिन्दगीको हिसाबकिताब गर्न थाल्छ । कमाएको भन्दा गुमाएको नै बढी आउँछ शेषमा । विगत र वर्तमानलाई तौलन्छ– वर्तमानको पल्ला अति हलुको देख्छ । ऐनामा आफ्नो अनुहार हेर्छ– उस्तै देख्छ आफ्नी स्वास्नी प्रभा जस्तै । यौवनको भीख अब कोसँग माग्ने ? यौवन गुमाएर कमाएको पैसाको अर्थ खोज्छ– केही पाउँदैन ? झन् लखतरान थाके जस्तो लाग्छ उसलाई । मैनबत्तीको मधुरो उज्यालोतिर गहिरो नजर लाएर जीवनको परिभाषा खोज्छ– जीवन एक ठट्टा पनि रहेछ जस्तो लाग्छ ।
ए, मान्छे ! हैन कहाँ हरा’....? प्रभाको आवाजले झस्किन्छ । “यस्तै हो । अँध्यारोसँग विरक्ति लाग्यो होला । हाम्रो त प्रीत गाँसिसकेको छ ।” प्रभा मुस्कुराउन खोज्छे ।
“मैले कुरा बुझिन ।” आफ्ना उदास आँखा प्रभाको अनुहारमा डुलाउँछ । फिक्का उज्यालो जस्तो लाग्छ ।
“मैले धेरै अँधेरा रातहरु एक्लै काटीसकेकी छु । त्यसैले आजको यो अँधेरो मलाई अँधेरो जस्तो लागेको छैन । तपाइँको उपस्थिति नै यो घरको उज्यालो हो ।”
चुपचाप आशुतोष चुपचाप नै छ । फेरि आफ्ना आँखा प्रभाको अनुहारमा दौडाउँछ । प्रभाको अनुहारमा कताकता केही खुशी जस्तो पनि देख्छ ।
“यस्तै हो भने त तपाइँ यहाँ चारदिन पनि टिक्नु हुन्न । यहाँ ‘छैन’सँग मित र ‘अँधेरो’सँग प्रीत लाएर बाँच्नु पर्छ । दुःखसँग हाँस्नु पर्छ । देशमा अब ‘छैन’ बाहेक केही बाँकी छैन ।”
 उसले फेरि पनि कुरा बुझ्दैन र सोध्छ– “ प्रभा, के भन्न खोज्या ?”
“छैन अर्थात केही छैन । देशमा पेट्रोल छैन, मट्टीतेल छैन, ग्यास छैन, पानी छैन, बत्ती छैन । यो सबै सामान्य भैसकेको छ । मान्छेमा नैतिकता छैन, इमान छैन, धर्म छैन, मानवता छैन, संवेदशीलता छैन । मान्छेभित्र हुनु पर्ने जे हो त्यो नै छैन । यो सबै झन् सामान्य भैसेकेको छ । खोज्दै गयो भने केही ‘छैन’ ।”
“भनेपछि देशमा ‘छैन’ मात्र बाँकी छ ।” आशुतोष फिसिक्क हाँस्छ तर भित्रभित्रै उसको मन दुःखेको छ । देशको पीडा अनुहारमा झल्किन्छ ।
“ल म तातो चिया बनाएर ल्याउँछु ।” प्रभा भान्सातिर लाग्छे ।
“मलाई थाह छ तिमी थाकेका छौं तर त्योभन्दा बढी म थाकेकी छु तिम्रो पर्खाइमा । स्वागत छ तिमीलाई मातृभूमिमा । भोलि.............. !”
गौरीको आवाजले उसलाई विगतको त्यो लामो बाटोमा एकछिन् फेरि हिँडाउँछ, स्मरणका उकाली–ओरालीहरु चढाउँछ–ओराल्ःछ । औपचरिकताका केही शालिन शब्दले गौरीप्रति आभार देखाउँदै “हुन्छ” मात्र भनेर फोन विसाउँछ । अनि स्मरणको उही बाटोमा हिड्छ जुन बाटो उसको मानसपटलमा हिडिरेको छ ।
आशुतोषको मष्तिष्कमा गौरी र गौरीको मष्तिष्कमा आशुतोष प्रेमका एक अनौठा विम्ब र प्रतीक भएर बसेका छन् । यता जीवनमा प्रभा छे !

चियाको कप नजिकै राख्दै सोध्छे– “यात्रा कस्तो भयो त ?” प्रभाको आवाजले उ आफू अहिले फेरि घरमा भएको महशूस गर्छ । आत्मग्लानीको पसिनाले एकचोटी मन भिजाउँछ । गौरीलाई एकछिन् विर्सिन्छ ।
“अँ ठीकै भयो तर अलि थकित भए जस्तो भएको छ । के भन्नु प्रभा दिक्क लाग्छ सम्झिदा पनि ....! पछि भनुला कुनै दिन ।”
आठ वर्षपछि भेटेको लाग्नेसँग बेलाबेलामा प्रभाका आँखा ठोक्किन्छन् । आफैंमा कताकता अलिकति लज्जा, अलिकति संकोचले प्रभालाई एक अनौठो दूरीमा राखेको छ । अनि लज्जा र संकोच जस्तै केही सन्देहले पनि पछ्यारहे जस्तो लाग्छ प्रभालाई ।
आशुतोषलाई भने आफ्नै स्वास्नी पनि कस्तोकस्तो भरखरै मात्र चिनेको जस्तो हुन्छ । कुरा गर्न पनि कताकता अप्ठ्यारो जस्तो । कुरा गर्ने कुरा पनि केही नभए जस्तो । साँच्चै भन्ने हो भने भरखर ‘लभ’ पर्न सुरु भए जस्तो ! कुरै नआउने, आए पनि छिट्टै सिद्धिने जस्तो । एउटा पछि अब अर्को के कुरा गरुँ जस्तो भइरहन्छ ।
उनीहरु बीच । त्यो समयले एउटा लामो रेखा तानेको छ । थाहा छैन छोट्याउन यो समयले कति समय लिन्छ ?
० ० ० ० ० ०
बातैबातमा ........ ! र, बातैबातमा रात वित्छ । विहानीको सुनौलो स्पर्शले धरती उज्यालो भैसकेको छ प्रभाको मन जस्तै । उठेर नुहाउन जान्छे । चिया लिएर आउँछे । आशुतोषको छेउका बसेर भन्छे– “उठ्न अलि अबेला भएछ तर आहा ! आज मन कति चंगा भयो ।” आशुतोष मुस्कुराउँछ ।
“गौरी पर्खिरहेकी होली, ओहो ! एक बज्न लागिसकेछ ।” हतारहतार निस्कन्छ ।
पिपलबोटमुनी गौरी गाडी रोकेर बसिरहेकी छे । एउटा मीठो मुस्कानले स्वागत गर्दै मित्रताका हात निशङ्कोच अघि बढाउँछे र भन्छे– “वेल कम माइ डियर आशु ! तर मैले हिजै भनेकी थिइन, एक बजे भनेर । पाँचमिनेट ढिलो भयौ नि । खोइ त अमेरिकन टाइम ?” प्रश्नसूचक दृष्टिसँगै गौरीका प्रेमिल आँखा आशुतिर एकोहोरिन्छन् ।
“सरी” भन्दै लामो मुस्कान छोड्दै गौरीको अनुहार तिर आफ्ना आँखा विछ्याउँछ र सोध्छ– “हामी कहाँ जान्छौँ त ?”
“म जहाँ लान्छु त्यही ।” गौरीको बोलाई उस्तै छ पहिलेकै जस्तो भाववाचक र अलि चर्को ।
गाडी तीनकुनेबाट मोडिएर भक्तपुरको हाइवेतिर लाग्छ । कुराकनीको शिलसिला सुरु हुन्छ ।
“अनि यत्रो वर्षपछि फर्किएको तिमी, के फरक देख्यौ त देशमा ?”
“धेरै देखेँ, गौरी । नेता भनाउँदा भष्माशूरहरुले बोली फेरेछन् । पहिले मजाले नेपाली बोल्न जान्नेहरुले आज नेपाली भाषा विर्सिएछन् । हिजोसम्म दौरा–सुरुवाल र ढाकाटोपी ढल्काएर दरबार छिर्ने तिनै अनुहारहरु आज अर्थोकै के–के लाउन थालेछन् । भेषभूषा त फेरेछन् तर अनुहार र व्यवहार फेरेका रहेछन् । भित्रका उही सधैका भष्मासुर,अझै भष्मासुरै रहेछन्  !
“अनि अरु नि ?” आफ्ना ठूला–बाटुला चंचल आँखा नचाउँदै सोध्छे ।
“गौरी, कताकता मेरो देश, आफ्नै देश हो कि हैन जस्तो पनि लाग्यो । देश परदेश गएको हो कि जस्तो पनि लाग्यो । कि त्यो परदेश नै मेरा देश भित्रिएको हो कि जस्तो पनि लाग्यो । खै के हो ? देशमा एकप्रकारको फ्युजन देखेँ । यो फ्युजन हो वा मेरो कन्फ्युज थाह छैन !” उसले विष्णुविभूका कविताका यस्तै केही भावहरु पनि सम्झन्छ र थप्छ– “स्वप्नदर्शीहरु पनि सायद सबै शहीद भए !”
“अर्थात .... ?” उ छिट्टो र छोटो बोल्छे । शब्दका चास्नी घोल्न सिपालु छे ।
“सुन– यो देशका गाउँ–शहरमा पहिले देशभक्ति र देशप्रेमका गीतहरु सुनिन्थे । अहिले हेर त– शीलाकी जवानी रे ! मुन्नी बदनाम हुई रे ! दूधेवालकदेखि जाउलेबूढाहरुसम्मका मुखमा झुण्डिएको ! सिनेमाहरुमा राष्ट्रप्रेम र मानवता हुन्थ्यो । अहिले त जताततै देहदर्शन मात्र देख्छु ! टीभीमा । पत्रपत्रिकामा । मोडल बन्नलाई नाङि.्गनै पर्ने भएछ । जताततै डिंकाचिकाको नक्कल । जस्ताको तस्तै । हैन के हो यो ? कता जादैंछ नयाँपुस्ता र यो नयाँ पुस्ताले डोर्याउने समाज ?
“गौरी, देशमा छाएको अँध्यारोसँगै सँस्कारका बत्तीहरु सबै निभे जस्तो लाग्यो मलाई । चेतनाका जुनकीरीहरु सबै मरिसके जस्तो लाग्यो ।”
गौरी लामो शास तान्छे । “हो, हईऽऽ... कस्तो भयो समाज” भन्दै “अनि म नि ?” उही चंचलेपाराले सोध्छे ।
गोरो वर्णकी गौरी । बाटुला चंचले गाजलु आँखा । सलल बगेको हलुका रातो कपाल । हात गोडा उस्तै सलक्क परेका । जीउडाल उस्तै चटक्क मिलेको अझै । हल्का कालो रंगको टिसर्ट । अलि उदरतापूर्वक खोलिएको छाती । उसका आँखामा झनै वयस्क देखिन्छे गौरी ।
आफ्ना आँखा निर्वाध डुलाउँछ उसको शरीरमा । जूनको उज्यालोमा विताएका पल्लवित पलहरु सम्झन्छ । गोधुलीमा हराएका मधूर साँझहरु सम्झन्छ । शहरबाट कतै टाढा खेतबारीमा विताएका उज्याला दिनहरु सम्झन्छ । गौरीसामू गौरीसँगैका विगतमा एकछिन् हराउँछ । गौरीको गालाको चिटिक्क परेको कोठी जस्तो सधैं गालामै टास्सिउँ जस्तो लाग्छ उसलाई । हाँस्दा फक्रिएको गुलाफ जस्तो देखिन डिम्पल जस्तै उसको मनमा सधैं फक्रिरहुँ जस्तो लाग्छ ।
सोच्दासोच्दै आफ्नो मन नेताहरुको आचरण जस्तै खराब जस्तो पनि लाग्छ । सत्ताको सिंहासनमा बसेका नेताले जस्तै मनका सिंहासनमा बसेकी गौरीलाई म किन निकाल्न सक्दिन ? आफैलाई प्रश्न गर्छ ।
गौरीले एक्कासी गाडीको ब्रेक ध्याच्च लाउँछे । उ झस्किन्छ र गौरीका हात समाउन पुग्छ । कताकता असजिलो महशुस गर्छ । अनुहार अलि फिक्का हुन्छ । ग्लानीको अनुभूति अनुहारमा उत्रिन्छ ।
गौरी मुस्कुराउँदै बोल्छे– “त्यसैले ब्रेक लगाएको हुँ । कहाँ हराएको । बोस्टनका समुद्र किनारका ‘बीच’ र शहरका ‘वीच’हरुले मन उतै ताने कि क्या हो ? बडो शालीन र भद्र बनेर बसका थियौ नि  ! डर लाग्यो ?”
“छैन ।”
“नत्र किन समायौ त हात ?”
आशुतोष हाँस्छ । गौरीले त्यो हाँसो बुझ्छे र उ पनि हाँस्छे । दुबै एकछिन् रोमान्टिक हुन्छन् ।
खै मेरो बारेमा त केही भनेनौ नि ? “कस्तो ‘गुफी’ जस्तो हँऽ तिमी ? नो कमेन्ट ? फेरि ब्रेक हानौ कि क्या हो ? अब त ब्रेक हैन एक्सिलेटर दवाउँछु र उडाउँछु तिमीलाई । कसैले नभेट्ने ठाउँमा पु¥याउँछु नि !”
“तिमी, तिमी जस्ती रहिनछौ, गौरी !” मुसुक्क हाँस्दै वाचाल बोली बोल्छ आशुतोष ।
“अर्थात ?” गौरीका आँखामा आवेगको एउटा लघु विम्ब झलक्क झल्किन्छ तर आशुतोषलाई थाह छ प्राय नारीहरुलाई नराम्री भन्नु हुदैन भन्ने कुरा । अनि धेरै पुरुषले नारीलाई कहिल्यै नराम्री पनि भन्दैनन् । नारीप्रति पुरुषहरुको एउटा जन्मजात व्यवहार हो । त्यसमा पनि गौरी निक्कै राम्री देखिन्छे । उमेरले मान्छेलाई खान्छ भन्छन् तर उसले उमेरलाई खाएकी छे जस्तो लाग्छ ।
“अर्थात गौरी ! तिमी, तिमी जस्ती नभएर तिमीभन्दा राम्री रहिछौ । झन् राम्री ! सुन नउगेलिने र तिमी बुढी नहुने रहस्य एकै हो कि क्या हो ?”
आशुतोषको कमेन्टले गौरीको मुखबाट हाँसोको बाक्लो फोहोरा फुट्छ । अनुहारमा ढकमक्क गुराँस फुल्छ । “गीभ मी फाइभ” गौरीको खुशीलाई आशुतोषले साथ दिन्छ । दुबै धक खोलेर हाँस्छन् । गाडी मन्द वेगमा दौडिरहेछ । हावाका हलुका स्पर्शले गौरीका कपालका रौ अनुहार भरी आफूखुशी सल्बलाउँछन्। हेरुँ हेरुँ लाग्ने गरी ! बेलाबेलामा ती कपालका केस्रा आसुतोषका गालासम्म ठोक्किन आउँछन् । जिस्किन आउँछन् ।
लामो ग्यापको अनुभूति र अनुभवहरु बाड्दै यात्रालाई अगाडि बढाइरहेछन् तर दुबैलाई लाग्छ उनीहरु बीच त्यस्तो लामो ग्याप कहिल्यै भएको थिएन । आफ्ना विगतलाई कति छिट्टै वर्तमानसँग हिडाइरहेछन् आफुसँगै उनीहरु ।
सडकको किनारमा एकछिन् गाडी रोकेर गौरी एकतमासले आशुतोषलाई हेर्छे । अनि छिनमै आँखा बन्द गरेर भन्छे– आहा ! मनका आँखाले हेर्दा तिमी झन सुन्दर देखिन्छौ ।
”तर, हामी कहाँ जादैछौ ?” आशुतोषको कौतुहलता तपक्क तप्किन्छ । आँखा गौरीको अनुहारमा विसाएको छ उसले पनि ।
“आइपुगियो ।” नभन्दै गाडी नगरकोटको एक भव्य होटलको आँगनमा पुगेर रोकिन्छ ।
“हामी यहाँ गौरी ?” आफ्ना अमुक आँखा गौरीतिर लगाउदै सोध्छ ।
“हो यहाँ, जस्ट फलो मी !” लाग्छ यो कुनै कमाण्डरको आदेश हो । ऊ गौरीका पाइला पछ्याउँदै एउटा सानो सेपरेट डाइनिंग रुममा छिर्छ । होटलमा सबैले गौरीलाई ‘म्याम’ भन्दै नमस्कार गर्छन् । सधै आउने ग्राहक जस्तो ! नजिकबाट चिनेजाने जस्तो गरी ! ऊ अल्मिलिन्छ । किन हो ? के हो ? गौरीलाई कसरी चिने यी सबैले । गौरी बैंकमा काम गर्छे ऊ एउटी बैंकर हो । यो होटलसँग उसको के रिलेशन ?
“ह्याभ अ सीट । ह्वाट उड यू लाईक टु ड्रिंक ?”
आशुतोष गौरीको विपरित कुर्सीमा बस्छै गौरीको प्रश्न उतै फर्काउछ– “तिमी के पिउँछौ नि ?”
“म आज वाइन पिउँछु ।” अवाक बोल्छे गौरी ।
आशुतोषलाई मनै खलबल्याउने, आँखै तिर्मिराउने आश्चार्यका रंगीचंगी फूलहरु फूले जस्तो लाग्छ आफ्ना ओरिपरी ! “यो केटी काठमाण्डुदेखि यहाँसम्म ड्राइभ गरेर आएकी छे । वाइन पिउँछु भन्छे । यस्तो होटलमा ल्याएकी छे । फर्किदा गाडी कसरी चलाउँछे ?” आफैभित्र केही प्रश्न उब्जिन्छन । उ तिनै प्रश्नमा एकछिन् हराउँछ ।
“चिन्ता नगर फर्किदा मसँग मेरो ड्राइभर कर्णध्वज हुनेछ ।” सायद तिमीले यही सोचेका होलाउ, हैन त ?
मन्द हाँसोसाथ सहमतिको टाउँको हल्लाउँछ आशुतोष ।
केही स्यान्क्स गौरीले अर्डर गरिसकेकी छे । चियर्स......... । दुबैका गिलास बज्जछन् ।
“भन आशु, कस्तो छ अमेरिका ?”
“मान्छे जस्तै छ ।”
“मेरो प्रश्न त सद्दे नै हो तर उत्तर किन पागल ?” गौरीले तीखा नजरका वाँण र लोभलाग्दो मुस्कान एकसाथ छोड्छे ।
“देखेको मान्छे र बेहोरेको मान्छे फरक हुन्छ, गौरी । त्यस्तै हो सुनेको अमेरिका र भोगेको अमेरिका पनि फरक छ ।”
“कस्तो फरक ?”
मान्छेभित्रको मान्छे जस्तै छ अमेरिकाभित्रको अमेरिका । अणु–परमाणु र जीवाणुहरुको देश हो अमेरिका । अहिले यति नै, अरु कुरा गर्दै गरौंला ।
“ओ, मिस्टर ! धेरै कुरा ‘फ्री’ छ रे नि त्यहाँ ?” गौरीका आँखाका तिखा हेराईको अर्थ बुझ्छ ।
“हो म्याम ! भावना नै मूल्यहिन भएपछि अरु कुराको मूल्य के हुन्छ ? तिमी नै अनुमान लगाऊ । तर, मैले जीवनमा कुनै पनि ‘फ्री’ को उपयोग गरेको छैन ।” एकछिन् हाँस्छन् दुबै अनि चुपचाप हुन्छन् । त्यो मौनतामा एकछिन् आँखा–आँखा बोल्छन् ।
गौरीले आशुतोषको हात तान्छे र प्रेम र सम्मानको एक चुम्बन चुप्प पार्छे । खिसिक्क हाँस्छे । धन्यवादको प्रतिउत्तरमा मुन्टो हल्लाउँछे ।
“भाइ, म्यानेजनर सा’बलाई पठाइदेऊ त ।” वेटरतिर हेर्दै भन्छे । आशुतोष झन् छक्क पर्छ । मनमा अनेक शंका–उपशंकाको दोहोरीलत्ता चल्छ । यो होटल ! म्यानेजर ! सबैसँग चिनजान ! के हो ? ‘अलमल गोत्र आमा एक बाउ सत्र’ जस्तो हुन्छ उसलाई ।
“म्याम, सर मिटिङ्मा हुनुहुन्छ रे, एकै छिन पछि आउँछु भन्नु भा’छ ।”
“ओके नो प्रब्लम, थ्यांक्यू...” गौरीले वेटरलाई भनेको वाक्य सिध्याउन नपाउँदै पछाडिबाट एउटा आवाज आउँछ– “हजूर, नमस्कार ! म कर्णध्वज ।”
गौरी उठ्छे । मुसुक्क मुस्कुराउँछे र छेउमै बस्ने संकेत गर्छे । आशुतोषले गौरीको हाँसोमा भिन्नता पाउँछ  । गौरीको अहिलेको यो हाँसो र केहीबेर अघिसम्मको त्यो हाँसोमा फरक लाग्छ उसलाई । “के मान्छेपिच्छेको हाँसो पनि फरक हुन्छ ? कतै त्यो कस्मेटिक हाँसो त थिएन ?” उसलाई कताकता मनको बाघले लखेट्छ । ‘नारीको शत्रु सुन्दरता हो’ भन्छन् हो कि क्या हो जस्तो पनि लाग्छ । “को हो कर्णध्वज ?” गौरीभन्दा अघि प्रश्नको एउटा पहाड उभिन्छ उसका सामू ।
शूटबुटको शुभ्र पहिरनमा शालीन बोली र भ्रद स्वाभावको जस्तो लाग्ने कर्णध्वजले खल्तीबाट चेक निकाल्दै मित्रताका हात आशुतोष तिर बढाउँछ । चेक आशुतोषको हातमा थमाउँछ ।
“भद्र हाँसो हास्दै भन्छ– “धनले धन कहिल्यै दिदैंन, लिन्छ मात्र । मनले हो दिने त । भौतिक रुपले तपाइँभन्दा हामी अझै विपन्न छौं तर यसको अर्थ त्यो होइन कि हामीसँग धन धेरै भएर दिएको हो । यो त मनले दिएको हो, खासमा गौरीको मनले । तपाइँले गरेको एक असल कार्यका लागि एउटा सानो सहयोग मात्र हो । त्यो यज्ञका लागि अलिकति चरु सम्झिनुस् यो र स्वीकार्नुस आशुतोषजी ।”
गौरी बीचमा बोल्न खोज्छे । एकछिन गौरी भन्दै गौरीलाई रोक्दै कर्णध्वज फेरि बोल्छ– “वाइ द वे मलाई थाहा छ अमेरिकाको दुःख । म सात वर्ष दुःख गरेर फर्किएको हुँ । होटल म्यानेजमेन्टमा मास्टर्स गरेर । मलाई तपाइँ र तपाइँको दुःखको कमाइले गर्न लागेको त्यो सामाजिक कामको बारेमा गौरीले सबै बताएकी छिन् ।”
“मलाई एउटा कुराले असाध्यै प्रभाव पारेको छ आशुतोष । आफ्नो जन्मदिनका नाउँमा मान्छेले उडाउने हजारौं रुपिया तिमीले तिम्रो गाउँको स्कुललाई जन्मदिनको उपहार भनेर दिएको चन्दाले मेरो मनमा एउटा अमिट छाप पा¥यो । अनि तिमीले त्यही स्कुलमा स्थापना गरिदिएको अक्षयकोश, आफ्ना बाबुको नाममा स्थापना गरेको प्रतिष्ठान । यो सबैमा तिम्रो दुःखको कमाइ त्यो धनले भन्दा पनि तिमीभित्रको त्यो मनले गरेको हो जस्तो लाग्यो । मैले यो कुरा कुनै अखबारमा पढेको थिएँ । त्यतिबेला तिमीभन्दा सायद म बढी खुशी थिएँ होला ! मेरो मित्रको महानता देखेर ।” गौरी एकसासमा बोल्छे ।
आशुतोषका आश्चर्यवोधक आँखाहरु घरी गौरीका, घरी कर्णध्वजका आँखासँग ठोकिन्छन् । तर, कर्णध्वज हो को ? ओठमा मुस्कान भए पनि मनमा एउटा आँधीहुरी चलिरहेको छ ।
“वाइ द वे आशुतोष उहाँ मेरो श्रीमान् कर्णध्वज ! अहिले यही होटलको एज्युकेटिभ म्यानेजर ।” ऊ तीनछक्क पर्छ । सपना जस्ता लाग्छन् उसलाई यी सबै । यो सबै कुनै एउटा पुरानो, सभ्य र शालिन सिनेमा हेरे जस्तो पनि लाग्छ । एकछिन् एकतमासले हेर्छ दुबैका अनुहार । छोटो मौनता पछि सबै मुस्कुराउँछन् ।
“गफ गर्दै गरौ म आइहाल्छु, अनि लागुँला नि हुन्न ?” कर्णध्वज बाहिरिन्छ ।
“नो हग ?” गौरीले मन खोल्छे । गौरीको उदारताको पर्खाइमा बसेको हुन्छ आशुतोष पनि । दुबैले एकछिन् आँखा चिम्लिन्छन्, लामो सास तान्छन् ।
“यतिसम्म त नैतिकताले पनि छुट दिन्छ नि हैन त आशु ! अनि तिम्रो र मेरो कथाले पनि मागेको हुन्छ नि हैन र ? अहिलेका सिनेमामा जस्तो !” दिल खोलेर हाँस्छे गौरी फेरि ।
“आशुतोष तिमीले जानेबेलामा भनेका थियौ नि– हामी जीवनसाथी नभए पनि जीवनभरको साथी हुन सक्छौ भनेर । मैले सधैं तिम्रो त्यही वाक्यलाई सम्झे, सोचेँ र मनन गरेँ । तिमीले भनेजस्तो प्रेम र विवाह फरक हो भन्ने छुट्याएँ । आखिर सम्भव पनि त थिएन ...। अन्ततः तिम्रो अवतारको रुपमा कर्णध्वजलाई मैले मेरो प्रेमी र पति दुबै स्वीकारेँ र उसँगै खुशी हुने प्रयत्न गरेँ । गरिरहेको छु र सायद गरिरहने छु तर एक शर्तमा...... ।
“कस्तो शर्त ? गौरी !”
“पछि भन्छु कुनै दिन......।” उसले वाक्य टुङ्ग्याई ।
तर गौरीले अहिलेसम्म बताएकी छैन, त्यो शर्त .... ! आशुतोष सोच्छ– हो, जीवनपटमा जिन्दगी एक ठट्टा पनि रहेछ ।

जनवरी ०६, २०१२
(नोटः जैमली कथा संग्रहको गौरी कथाको विनिर्माण कथा)

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |