हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देशका धड्कन

प्रल्हाद पोख्रेल , (काठमाण्डौं )

जल्ले जीवन दिन्छ, दिन्छ बिपना सत्कल्पना चिन्तन

नि:स्वार्थीपनले पवित्र मनले उत्साह घोलीकन

जल्ले दूर भगाउला मगजको मैलो बढारीकन

त्यस्तो जाग्रत जोसका नवयुवा यो देशका धड्कन।


जल्ले सङ्गत गर्छ केवल यहाँ विश्‍वास आस्थासित
जल्ले सार्थक पार्छ सत्य सपना संकल्प उद्‍भासित

जो खोजी नवमार्ग हिँड्दछ उँभो ताकेर आजीवन

त्यस्तो उज्ज्वल चेतका नवयुवा यो देशका धड्कन।


पुर्खाका इतिहासको जटिलता जो बुझ्छ राम्रोसित
देखी क्रूरपना, व्यथा, कुटिलता जो हुन्छ आन्दोलित
प्यारो राष्ट्र निमित्त गर्छ जसले उत्सर्ग यो जीवन

त्यस्तो निर्मल भावका नवयुवा यो देशका धड्कन।

जो डग्दैन कदापि घोर घटना बाधा समस्यासित
जो झुक्‍तैन किमार्थ, खेल्छ सहजै दुर्दान्त आगासित
जल्ले अर्पण गर्छ देशहितमा हाँसी स्वयं जीवन
त्यस्तो शाश्‍वत शक्तिका नवयुवा यो देशका धड्कन।

आफ्नै ज्यान दिएर देशहितमा जो होमिए भै चरु
जो छन् सूर्यसमान चम्किरहने आदर्श योद्धाहरू
छेडेथे जसले त राष्ट्रहितको जीवन्त आन्दोलन
सो आन्दोलनका ज्वलन्त अगुवा हुन् देशका धड्कन।

जस्तै होस् न अकल्पनीय घटना बन्दैन जो कुण्ठित
आफ्नै प्राण दिँदा, सहादत हुँदा जो छन् सदा जीवित
जो जो ज्योति जगाउँदै भुवनमा छर्छन् प्रभा कञ्चन
त्यस्ता वीर पराक्रमी सहिद हुन् यो देशका धड्कन।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |