हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नाति मेरै हो

अलकाआत्रेय चूडाल, (भिएना, अष्ट्रिया )


काठमाडौँको घट्टेकुलो । भुस्याहा कुकुरको जीउमा स्याउँ—स्याउँ परेका किर्ना जस्ता जोडिएका घरहरू, अटेसमटेस गर्दै को भन्दा को कमको प्रतिस्पर्धामा आकासिएका छन् । जेठको पट्यारिलो घाम । सानो गल्लीबाट पुगिने एउटा घरको भुइँतलाको कोठामा पचपन्न बर्षकी अधबैँसे महिला दुवै हात पछाडि बाँधेर झ्यालबाट बाहिर हेर्दै छिन् । ठूलो निधारमा सुहाउँदो ठूलो टीका, डम्म परेको जीऊलाई गुलाबी रङ्को सूती सारीले बेरेकी छन् । कानमा सुनका एकजोर रिङ् र नाकमा सुनकै ठूलो फुली लगाएकी छन् । घाँटीमा हरियो पोतेमा उनेको तिलहरी पनि सुहाएको छ । गम्भीर अनुहार भएकी विकासकी आमा हेर्दा सम्पन्न र सुखी परिवारकी जस्ती । तर अहिलेको उनको अनुहारले कुनै समस्या वा बन्धनबाट मुक्ति खोजेको जस्तो देखिन्छ ।
पल्लो घरको ढुङ्गा छापिएको आँगनमा साना नानीहरू खेल्दै छन् । एउटाले सानो तीनपाङ्ग्रे रातो साइकल ठेल्दैछ, अर्को साइकलमा चढ्न पाएकोमा रमाएर हाँसिरहेको छ । हेर्दाहेर्दै विकासकी आमाका आँखा अगाडि आफ्नै नातीको अनुहार नाच्न थाल्यो । ...“मेरो नाति पनि कहिले हुर्केर यत्रो होला ....... यसैगरी साइकल चलाउला अनि म नजीकै बसेर त्यो रमाइलो दृश्य हेरुँला ।”..........
छोरोले बिहे भएको सात बर्षमा छोरा पायो । छोराको सन्तान होस् भनेर कति देउता भाकिन्, कति बर्त बसिन्, अनि बल्ल उनको सपना साकार भयो । भगवान्को आशीर्वादले बुहारीले पहिलो पल्टै नाति पाइदिई । नाति जन्मिएको खबर सुनेपछि खुट्टा भुइँमा थिएनन् उनका । विकासले एकाबिहानै फोन गरेर भनेको थियो, “आमा कविताले छोरा पाई ।” हर्षले उनको वाक्य बन्द भयो । बोल्दाबोल्दैको फोन लोग्नेलाई दिइन् । त्यो नाती हेर्न उडेर काठमाडौँ जाऊँ जस्तो लाग्यो । तर छोरा बुहारीले नबोलाई कसरी जाउन् ? हर्षले पहिलो पाइला उचालिएपनि दोस्रो पाइला जमीनमै गाडियो ।
बुहारी सुत्केरी भएको पन्ध्र्र दिन बितिसक्यो । गाउँका सबैले सोधिसके । जो भेटेपनि नाति हेर्न कहिले जाने भन्छन् । कतिको मुखमा बुजो लगाउन् । दुइ हफ्तापछिको शनिवार विकासले फेरि फोन गर्यो ।
“तेरो छारो कहिले हेर्नपाउँछौँ त विकास?”
“आमा, अहिले त कविताको दुई महिना छुट्टि छ । ऊ अफिस जान थालेपछि आउनुहोला नि हुन्न ?”
“हुन्छ बाबु तँ जे भन्छस् ”
बुहारी अफिस जानथालेपछि नजीकैको छिमेकीसँग साथ लागेर बिहान पाँच बजेको मकालु यातायातको बसमा काठमाडौ हिँडिन् । बसले विराटनगर छोडेपछि मात्र छर्लङ्ग उज्यालो भयो । महेन्द्रराजमार्गमा बस अविरल बगीरहन्थ्यो, विकासकी आमाको मनमा बगेको विगत जसरी । राजमार्ग छेउका खेतहरू हरियो तन्ना ओछ्याइएजस्ता थिए । खेल्दै गरेका साना केटाकेटीहरू खेल्न छाडेर गुडेको बसलाई ट्वाल्ट्वाल्ती हेर्थे । तिनलाई देखेपछि विकासकी आमालाई आफ्नो नातिको याद आउँथ्यो । कत्रो होला ? कस्तो होला ? उनको पहिलो नाति, साउँको भन्दा ब्याजको माया हुन्छ भन्थे बूढापाकाहरू । यो कुरा अहिले मात्र विकासकी आमालाई छर्लङ्ग भयो । नत्र किन उनको मन नातिको मायाले भुतुक्क हुन्थ्यो ।
काठमाडौँको चक्रपथबाट बस बिस्तारै दाहिने मोडियो र बिसौनीमा गएर रोकियो । विकासकी आमाका साथी कलङ्कीमै ओर्लिसकेका थिए । विकासकी आमा बसबाट ओर्लिएर अलमल्ल परेर यताउति हेर्दै थिइन् । टुप्लुक्क विकास आइपुगेर झोला खोसे । ट्याक्सी चढेर आमाछोरा घट्टेकुलाको डेरामा पुगे । बुहारी कविता सासूलाई ढोग्न तयार भइन् । शल हातमा समाएर सासूका खुट्टा ढोगिन् । निधारले सासूका गोडा छोएनन् बीचमा शलले छेक्यो । सासूका मुखबाट अनायास निस्क्यो, “सौभाग्यवती भव ।”
विकासकी आमाले पुग्नासाथ हतार–हतार ओछ्यानमा सुतेको नातिलाई छातीमा लगाइन् । कुलको शोभा बढाउने, मरेपछि बैतरणी तार्ने त्यो सानो काखभरिको बालखले अनजानमै बज्यैको मुखमा हेरेर मुसुक्क मुस्कुराइदियो । बज्यै नातीको मायाले भुतुक्क भइन् ।
“तँ जस्तै छ विकास तेरो छोरो पनि” दङ्ग परेर आमाले भनिन् ।
“हो र आमा ?”
“हो त नि । तेरो नाक पनि सानामा यस्तै थियो । घाममा धेरै सुताएर तँ पनि यस्तै कालो थिइस् । हात खुट्टा पनि सलक्क परेका तेरैजस्ता रैछन् ।”
विकासकी आमा नाति स्याहार्नमा मस्त भइन् । नाति हुर्कँदै गयो । उनी काठमाडौँ आएको पनि पाँच महिना नाघ्यो ।
हरेक शनिवार बुढाको फोन आउँछ । घर आइज अब नाति खेलाएर अघाइनस् भनेर बुढाले बोलाएको पनि धेरै भैसक्यो । होस् अब नातीको पास्नी सकेर आउँछु भनेर फोनमा कुरा भएपिच्छे टार्छिन् । जुराउँदा हेराउँदा बल्ल आठ महिनामा पास्नी हुनेभयो । पास्नीपछि नजीकैको डे केयरमा राख्ने भनेर कविताले कुरा पनि मिलाई सकिन् ।
कविता काठमाडौँको हुनेखानेकी छोरी । छोरोले मनपराइहाल्यो । नाइँ नास्ति गर्न भएन । सानो छँदासम्म खेल्न जाऊँ आमा ? अब सुतुँ आमा ? साथीले किताब मागेको छ, दिन हुन्छ आमा ? भनेर हरेक कुरा सोध्थ्यो । नसोधी केही गर्दैनथ्यो । अब ठूलो भएपछि बाआमाको मन राखिदिन एकपटक सोध्ने मर्यादा चाँहि राख्यो । शहरकी केटी । हाम्रो परिवारमा घुलमिल हुन नसक्ली । जात पनि त मिल्दैन नि बाबु भन्दा होइन आमा छेत्री बाहुन भनेको एउटै हो, केही हुन्न कविता असल छ भनेर उल्टै सम्झाउँथ्यो । छोरोको आग्रह टाल्न सकिनन् । घरमा बुढा कति दिन त रिसाएर भागै बसेनन् । विकासकी आमालाई कस्तो आपत । बुढाको मुख हेरुन् कि छोराको ।
झन् अहिलेको कुरा बुढाले सुनेभने के गर्लान् ? विकासकी आमाको मुटु काँप्यो । एकछिन अगाडि फाट्टफुट्ट देखिएका काला बादल जम्मा भएर पानी पार्न थाले । आकाश नराम्रोसँग मुटुनै कमाउने गरी गर्जदैँ छ । ठूलो प्रलय नै हुन लागेको जस्तो गर्दैछ । छड्के बाछिटा झ्यालबाट भित्र पस्यो । विकासकी आमाले हतार–हतार ग्रीलबाट हात छिराएर झ्याल तानिन् ।
“बादल गर्जँदा विकास साह्रै डराउँथ्यो । पानी पर्न थालेपछि जहाँ भएपनि दौडेर आउँथ्यो । पानी परेको दिन मसँगै सुत्थ्यो ।”......... विकासकी आमाका आँखा अगाडि पुराना दिनहरूले फर्किएर चियाए । ...........म सँधै आमासँग सुत्छु भनेर विकास झगडा गर्थ्यो । बिहा भएपछि त दुलहीसँग सुत्नुपर्छ भनेर बुवाले जिस्काउँदा म आमासँगै बिहा गर्छु नाइँ भनेर झनै आमासँग लिप्सिक्क टाँसिन पुग्थ्यो । ..........
पल्लो कोठामा खित्का छोडेर हाँसेको आवाज आयो । सानो नाति बेलाबेलामा रमाइला लीला गर्छ । रमाएर चारै हातखुट्टा फ्याँकेर बुरुक्क उफ्रन्छ ।  पल्लो कोठामा उसको मामाघरकी हजूरआमा, हजूरबुवा र मामा आएका छन् नातिलाई भात खुवाउन । घरकी बज्यैले त बिहानै पशुपतिमा लगेर ख्वाइसकिन् । अब अहिले मावलीको पालो । काठमाडौँको चलन कस्तो हँुदोरहेछ भनेर हेर्न उनलाई पनि मन थियो नि, तर के गर्नु ? उनी केही समयका लगि भएपनि कोठामा थुनिएकी छन् । बाहिरी संसारबाट टाढा । एक्लै । .........मन त लाग्छ कराएर छोरोलाई बोलाउँ कि भन्ने, तर फेरि डर पनि लाग्छ उसको पनि त कुनै बाध्यता होला ।  नत्र म बुढीलाई कोठामा थुनेको हेरेर ऊ किन बस्थ्यो र ? .......
हिजोआज सबैका हातमा फोन हुन्छ । बुहारीको पनि छ । केहिबेर अघि उसको मोबाइल बज्यो । उताबाट के भने कुन्नि उसले हस् मात्र भनेर राखिदिई । अनि मीठो स्वरमा “आमा पल्लो कोठामा जाउँ न” भनी । विकासकी आमा नाती बोकेर पल्लो कोठामा बुहारीको पछि–पछि गइन् । त्यहाँ पुगेपछि ए बाबुले सु गरेछ क्यार म सुराल फेराएर ल्याउँछु भनेर नाती लिएर बाहिर निस्की अनि बाहिरैबाट ढोकाको चुकुल पनि लगाइदिई । विकासकी आमा भित्र एक्लै परिन् ।
बुहारी कविताका माइती आएको यो तेस्रो पटक हो । तीनै पटक उनी कोठामा बन्दी बनाइएकी छिन् । कारण के होला जान्ने इच्छा उनलाई पनि छ । कवितासँग पनि यसको कारण जान्ने साहस गर्न सकेकी छैनन् । चित्त दुख्दो उत्तर आउला कि भन्ने डर छ । कहिलेकाहिँ छोरासँग केरकार गर्न पनि मन लाग्छ । तर उसलाई पनि के भन्नु ? थाहा पाएकै होला । बुहारीले चाहिँ मेरो मम्मीड्याडीले हजूरलाई र बुवालाई एकैपटक भेट्ने भन्सेको छ भनेर सान्त्वना पनि दिएकी थिई । उत्तरमा उनले केही पनि भनिन् । पोहोर हामी दुवै पनि त आएका थियौँ । वास्ता गरेनन् । .....तर पटक–पटक कोठामा बन्दी बनाइनुको उद्देश्य के होला ?
बादलको गडगडाहट अलिक कम भयो । हावा अघिजस्तै चल्दै छ । रोकिएको छैन । पानी बलेसीबाट चुहिन थाल्यो । धररर को आवाज विकासकी आमाको कानमा गुञ्जियो । झ्यालबाट बाहिर हेरिन् । अघिका साना नानी आँगनमा थिएनन् । उनीहरूको सानो साइकल पानीमा नुहाइरहेको थियो । परको पीपलको रुखका हाँगा कम्मर मर्काइ–मर्काई पानीमा भिज्दै नाच्दै थिए । बेला बेलामा बादल तबला बजाउँथ्यो ।
.........“जे सुकै होस् । बुहारी फरासिली छ । फुर्तिली छ । पढेलेखेकी छ । छोराबुहारी एक आपसमा सन्तुष्ट छन् । बाबुआमालाई चाहिने यत्ति त हो ।.......... काठमाडौँका ससुराली नभएको भए विकासलाई पनि यो बिरानो ठाउँमा बस्न गाह्रै पथ्र्यो । ......ठिकै छ । उसको अलग्गै संसार छ । .... विकास बेला बेलामा भन्छ “आमा म बाहिरै बसेर हजूरहरूको सेवा गर्छु ।” ....गरेकै पनि छ । बहिनीको बिहामा सुटुक्क पचास हजार पठाइदियो । आमा यो पैसा मैले दिएको भनेर कवितालाई थाहा दिनुहुन्न भनेको थियो । ........तर हाम्रो विकास पनि त कम छैन नि । नपाउनुको छ ।  एस.एल.सी.मा जिल्लैभरिबाट पहिलो भएको थियो । जागिर पनि राम्रै खाएको छ । कमाइ पनि राम्रै छ । आफ्नै कमाइबाट काठमाडौँमा घडेरी पनि किनिसक्यो । अनि अब छिट्टै घर पनि बनाउँछु भन्थ्यो । ......... रूप झनै राम्रो, कुनै राजकुमार भन्दा कम छैन । त्यस्तो छोरो पाउने कति भाग्यमानी तपाइँ त भनेर सबैले गाउँभरि मेरो डाहा गर्छन् । तर काठमाडौँका ससुरालीलाई त छोराको मात्रै मतलब हुँदो रहेछ । छोरो पाउने आमाको त कुनै सोधनी नै छैन । ..........विकासकी आमा पलङ्मा गएर बसिन् ।
........किन मलाई यहाँ थुनियो ? छोरा बुहारीको सल्लाह हो कि ? ....होइन विकासले मलाई थुन्ने सल्लाह कहिल्यै दिएन होला । जे जस्तो भए पनि म त्यसकी आमा हुँ । हुनसक्छ ऊ कुनै बाध्यताले यसको विरोध गर्न सक्दैन । ....... यो बुहारीका आमाबाबुुकै सल्लाह होला । नत्र उनीहरू फोन गरेर मात्रै किन आउँथे । तेरी सासूलाई पल्लो कोठामा पठा हामी आउँदै छौँ भन्छन् क्यारे ।........बुहारी त्यस्ती खराब छैन ।  ......म नराम्री भएर कवितेका बाबुआमालाई मेरी सासू भनेर चिनाउन लाज हुने भनेर त होइन ?”......
विकासकी आमा खाटबाट उठेर नजीकैको स्टीलको दराजको ऐना अगाडि उभिइन् । “मेरो अनुहार त्यति नराम्रो त छैन नि । अनुहारमा अलि अलि चाउरी परेछ ......त्यो त उमेर भएपछि परिहाल्छ................कपाल पनि कालै छ ......म धेरै गोरी नभएपनि काली पनि त छैन नि.......विकास पनि म जस्तै छ ........सबैले आमाजस्तो भएर छोरो राम्रो भएको पनि भन्थे .....विकासलाई ससुरालीमा पनि ज्वाइँमध्येको राम्रो भन्छन् भनेर कवितानै भन्थी ।..........तर किन मलाई यहाँ थुनियो ?........ मेरो सारी पनि त रामै्र छ नि ..............घर बस्दा यत्तिकै लुगा त लगाउँछन् नि काठमाडौँमा पनि । ..........गरीब भनेर हेपेका होलान् ............... म गरीब भएपनि मेरै छोरो नभई उनीहरूलाई भएन .....गरीब भएपनि मागेर खाएका छैनौँ......आफ्नै खेत छ ....शहरबाहिरै भएपनि विराटनगरबाट एक घण्टामा पुगिने ठाउँमा घर छ .....बारी छ ...... अब बर्खा लाग्यो । बिऊ राख्न हतार भैसक्यो । आफू यहाँ छु .........काठमाडाँैमा पनि चामल पठाउनुपर्छ .......यिनीहरूलाई चामल मात्रै किन्न नपरेपनि धेरै सजिलो हुन्छ । काठमाडौँमा यस्तो महँगी छ ।................त्यो नाति पनि त मेरै छोरोले त पाएको हो । उनीहरूकी छोरीले एक्लै पाएको होइन क्यारे .......... कविताका बाबुआमा कस्ता रहेछन् ? फोटोमा त देखेकै हो अगाडि हेर्न पाइएन । होस् तिनीहरूलाई किन हेर्नु पर्यो ........... ”
विकासकी आमाले उठेर ढोका तानिन् । ढोका बहिरबाटै लगाइएको थियो । बल गरेर तान्दा पनि खुलेन । ......उहिल्यै विकास बर्सिको हुँदा भित्र कोठामा छिरेर तलको छेस्किनी झारेछ । ढोका खुलेन । विकासले खोल्न जानेन । भित्र छोरो रुने बाहिर आमा । रुवाबासी भयो । पल्लो घरका भाइले बल्ल बल्ल झ्यालको ग्रील निकालेर भित्र पसेर ढोका खोले । त्यसबेला उनले सबै कोठाको ढोकाका तलका छेस्किनी कुच्याएर नलाग्ने बनाएकी थिइन् ।
उनी फर्केर पलङ्मै थचक्क बसिन् । साँझ पर्न लागिसक्यो । साँझ बत्ती बाल्ने बेला भयो कि भनेर भित्ताको घडी हेरिन् । भर्खरै पाँच मात्र बजेको रहेछ । जेठमा त सात नबजी घाम अस्ताउँदैनन् । पट्याएको सिरकमा टाउको अड्याएर पल्टिन् ।
विकासकी आमाका आँखा भित्तामा टाँगेको विकास र कविताको फोटोमा परे । ...... कति राम्रो जोडी । बुहारी विकासलाई माया गर्छे । ऊ भनेपछि भुतुक्क हुन्छे । छोरो पनि पाइहाली । ........ठिकै छ । हामी काठमाडौँ कहिले पो आइन्छ र ? .....उनीहरू पनि बर्षमा एक चोटि दशैँमा घर आउँछन् । ससुरालीमा टीका थाप्नुपर्छ भन्दै एकादशीमै हिँडि पनि हाल्छन् । हामी बुढा सासूससुरालाई पराइ देखेपनि छोरोलाई माया गरिहाल्छे । यो भन्दा बढी किन चाहियो ?
कति सुत्नु भन्ठानेर विकासकी आमा उठिन् । पल्लो घरबाट रेडियोमा गीत बजेको सुनियो । .....मै छोरी सुन्दरी कसरी भरूँ पानी.... .....
विकासकी आमालाई नाच्न खूब रहर लाग्छ । बर्ष दिनको तीजमा उनी खूब नाच्छिन् । उहिल्यै माइतमा उनका बाले नाचेको देखेछन् । अब छोरी बिग्री भनेर भाँडभैलो मच्चाएछन् । त्यो बेलादेखि नाच्न छोडेकी थिइन् । बिहा गरेपछि फेरि नाच्न थालिन् । उनकी सासूलाई नाचेको साह्रै मनपर्ने । त्यसैले आफू नजानेपनि बुहारीलाई नाच्न रोकावट भएन । अनि त के चाहियो ? विकासकी आमालाई सँधै तीजको प्रतीक्षा । नातिनातिनी भै सके तर नाच्ने रहर मरेको छैन । जेठा छोराको बिहामा रत्यौली नाच्ने कत्रो रहर थियो । तर पूरा भएन । विकास र कविताले सुटुक्क भागेर बिहा गरे । ............कुरा गम्दा–गम्दै विकासकी आमाका आँखा रसाए । फेरि खाटमा ढल्केकी थिइन् कतिबेला भुसुक्क निदाइछन् ।
“आमा बत्तीपनि नबाली किन अँध्यारोमा बस्नुभएको ?” विकास ढोका खोलेर भित्र
पस्यो ।
“पाहुना गए बाबु ?” खाटबाट जुरुक्क उठ्दै विकासकी आमाले भनिन् ।
“तिनीहरू त्यस्तै हुन् आमा । अलि मै हुँ भन्छन् । चित्त नदुखाउनुस् है ।”
विकासकी आमाको मुख के भन्न खोज्दै उघ्रिएको थियो कुन्नि ? छोराको मीठो अनुरोध सुनेपछि बीचैमा अड्कियो । आवाज आएन ।
उनलाई कतिबेलादेखि पिसाबले च्यापेको थियो, केही नभनी जुरुक्क उठेर हिँडिन् ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |