हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

चाल्दै–चाल्दै जीवन धूलो !

युवराज नयाँघरे, (काठमाडौं )


चाल्न थालेको जीवन उमेर जत्तिकै भो !

जीवन चाल्दै छु म । चालेर हात थाके, आँखा गले, औँला बाउँडिए । तर नसकिने स्थितिमा छु जीवनलाई चाल्न । जानेदेखि बुझेर चालेँ । नजान्दै पनि चालिआएकै हो जीवनलाई । अँहँ, सकिएन चाल्न ।

घरमा श्रीमतीले पातलो चाल्नीले भान्सामा चाल्दैछिन् पीठो । एकदमै मसिन्न्याएर पीठो चालिरहेकी छन् उनी । हल्लाईहल्लाई अथवा ढकढकाईढकढकाई पीठो चाल्ने उनको तन्मय निहालिरहेको छु छेउमै बसेर  । तिनले पीठो घोटेर चाल्नी चलाएको हेर्छु गहिरिएर ।

चालिएँ म यसरी नै थुप्रै घामपानीमा ।

उनले पीठो चालिरहेको कामलाई विचार्दैछु म पुस्तकमा घोत्लिएर । फरक पाटा हुन् यी । सिद्धान्त र व्यवहारका दुई भँगालोजस्तो ।

सोच्छुजीवन धूलै त हो नि !

हामी थाहा पाएर चाल्छौँ, थाहा नपाई चाल्छौँ । चेतनाले डोर्रिएर जीवन धूलो निफन्छौँ नाङ्लामा । अचेतनले घचेटिएर जीवन चाल्छौं चाल्नामा । हो, चाल्न र निफन्न कुनै कसुर बाँकी राखेका छैनौँ हामीले ।

जीवन धूलोलाई मैले चालेँ अनेक पद्धतिमा ।

चाल्नु परेपछि त्यो क्रम हुँदोरहेछ, गति हुँदोरहेछ । निरन्तर चाल्न बाँकी नरहेका अरु धेरै कुरा हुन सक्छन् । मैले प्रष्ट जानेको सामाग्री हो जीवन धुलोजसलाई चालेकोचालेकै छु म । नियमित र वशमा परीपरी ।

कहिल्यै नरोकिई यसलाई चालेको हुँ मैले ।

समयका विचित्र अप्ठ्यारा हुन्, समयका सहज सिँढी हुन्सबैमा चालेको छु जीवन धूलोलाई । मौसम, अवस्था वा रुचिभित्र साँगुरिएर चलिनँ म । झन्झट, परिणाम वा तोकका घेरामा थामिइनँ म । मैले चालिरहेँ जीवन धूलोलाई । धेरै दुष्कर वा दुस्साहसका रुपमा जीवन देखिए पनिचाल्न रोकिनँ यसलाई ।

नाङ्ला र चाल्ना भान्साकोठाका सिँगारपटार ।

पत्नीले चाल्नी चलाएर पिठो चालिरहेको गतिले मेरो आफ्नो जीवनसँग गाँसिन्छ । पीठै हुँ म पनि त । यो अनेक प्रकारका चाल्नीमा रगडिएर चालिन रोकिएन अथवा थामिएन । आँपैm गति बनाएर यो चालिएकोचालिएकै त भयो नि ।

धेरै खालका चाल्ना छन् भान्सामा ।

चामल चाल्ने, पीठो चाल्ने वा मसला चाल्ने किसिमका चाल्नाहरु दराजका खण्डे कोठामा थन्किएका छन् । आवश्यकता बोध भयो कि ती बाहिरिन्छन् । अनि परिचयसाथ काम पाउँछन् चाल्नीले ।

फरक चाल्नीले काम पाउँछन् फरकै ।

चामल चाल्नेले मिल्दै मिल्दैन पीठो चाल्न । मसला चाल्नेले तोरी चाल्न मिल्दैन । अथवा गहुँ चाल्नेले सम्भव छैन धान चाल्न । यिनको मूल्य र अर्थ यहीँनिर निर्क्यौल हुन्छ ।

जीवन जस्तै भिन्न र फरक ।

फरक चरित्रले पाएको मूल्य । भिन्न कामले ल्याएको अर्थ । अलग कर्तव्यले दिएको परिणाम ।

चाल्नु परेको छ जीवनलाई । हरेक अवस्था र स्थितिमा । नचालिरहने त सन्दर्भ वा प्रसङ्गै भएन । जीवनका लम्काइलाई निहाल्न नि चाल्नै प¥यो । जीवनका स्थितिलाई नापजोख गर्न नि चाल्नै पर्यो । अथवा मौनतामा रहन नि चालिनै पर्यो । विषाद वा अनुकूलको थुम्कामा एक खुट्टा राखेर जित्दैन जीवनले ।

धान चाल्ने चाल्नी बन्छन् तारका जालीले ।

धेरै पटक केटाकेटीमा मसिना औँला चाल्नीमा दलेर आनन्दित हुन्थेँ म । आँगनमा धान चाल्न राखिएका चाल्नीमा हत्केला घोटेर आउने मुसुमसे मस्तीमा पटकपटक नजिकिएको हुन्थेँ म । उमेर अनुसारको मज्जामा साधनको सहज उपस्थिति ।

पसिना चाल्ने हो नि यसमा ।

बा भन्नुहुन्थ्यो ।

लाटा, बुझ्दैनस् तँ । जब आँफैले धान रोपी उमार्छस् । अनि चाल्न थाल्छस् र पत्तो पाउँछस्पसिना चाल्नुको अर्थ !

लाटो भन्ने गालीबाट मनमा पस्थे केही कुरा ।

आज पत्नीले भान्सामा चलाइरहेको चाल्नी चलाएको मिहीन आवाज सुन्छु, गति हेर्छु र लय निहाल्छु । जीवन यसरी नै चालिँदैचालिँदै आएको रहेछ । धेरै अघिदेखि मैले चालिरहेको चाल्नी घरका हरेक सदस्यमा आइरहेको रहेछ साटिँदै ।

एक दिन फुर्सदमा हेरेँ चाल्नीका प्रकार ।

घरमा कति किसिमका चाल्नी रहेछन् ? कुरा ओर्लिए मनमा । भान्सामा पसेँ त्यहाँ देखेँ पीठो, मसला, चामल चाल्ने चाल्नी । भँडारमा बालुवा चाल्ने मोटो चाल्नी देखेँ । यी सबैका बनौट, रुप र प्वाल आआफ्नै काम अनुसारका थिए । आकारमा चरित्र टाँसिएको हुँदो रैछ । चाल्नीका प्वालमा बस्तुका चरित्र थिए लिपिस्सै ।

हरेक चाल्नीमा चरित्र हुँदो रहेछ ।

पाएको कामलाई अँगालेर फत्ते गर्थे ती । जिम्मा जे थियोत्यसलाई स्वीकारपूर्ण पार्थे कामलाई । अथवा हात लागेका कामलाई पन्छाउन मिल्दैन्थ्यो ज्याबललाई ।

चामल चाल्नेले पीठो चाल्न सक्तैनथे । बालुवा चाल्नेले धान चाल्न मिल्दैन्थ्यो । तोरी चाल्नेले मकै चाल्न हुदैन्थ्यो । यी सबै बस्तु थिए । बस्तुले आकारको मूल्य बोकेर आएका हुनाले ती चालिनलाई पनि त्यस्तै साधनको खाँचो थियो अनिवार्य ।

जीवन धूलो यहाँनिर एउटै भयोजेमा पनि चालिने जस्तैजस्तै ।

सानो छँदा तरार्ईका खेतमा धान काटिसकेपछि पराल र नलसहितका भुस बढारिरहेका आइमाईका हुल देख्थेँ म । एउटै कपडाले तलदेखि माथिसम्म केही प्रतिशत ढाकिएका हुन्थे ती ।  गरीबीका रेखा यहाँनिर शून्यावस्थामा देखिन्थ्यो, आकारसाथ ।

बिहानैदेखि गरा र खेतका चौकुना बढारिरहेका ती साँझपख थुप्रिएको त्यो धूलो चाल्नीले चाल्थे पटकपटक । एकदुई गर्दै तीनचार पटकसम्म चाल्थे । र, मुस्किलले एक

आधाढक्की धान लिएर घरको चुलो बाल्न दगुर्थे झमक्क साँझमा ।

धेरै खेत हुने हाम्रो त पुरा वर्ष पुग्दैनथ्यो अन्न खान । खेतै नभएका तिनको अवस्थाबारे सकिन्न, घोत्लिन । खेतका लहलह धान काटेर लगेपछि रहलपहल वा भुँइमा खसेका धानका बाला र धूलो बढारी चालीचाली बाँच्ने तिनको सिङ्गो जीवन कसरी बित्थ्यो कसरी ? असहजका काँडाले कोर्छन् मलाई ।

कति पाउँथे तिनले धान ? फेरि पाएको धानभित्र सबै चामल हुन्थ्यो र ? तैपनि तिनले चाल्नी बोकेर चहार्न छोडेका छैनन् धान काटेका रित्ता गरा र खेत । मैले थाहा पाए सम्मका मङ्सिरमा तिनले चलाउन छोडेनन् चाल्नी ।

पत्नीले चाल्नी चलाईचलाई छुट्टाइन् ढुटो र पीठो ।

चाल्नीले चालेको जीवनबारे हेर्छु । त्यो भित्रको ढुङ्गा, माटो, भुस वा छेस्काछेस्की पर्गेल्छु । जीवनमा आइपर्ने चोट, असहजता, घृणा र अवगाल सबै रहेछन् भुसजस्तै । चाल्नीबाट बुरुर्र तल खसेको पीठो नै प्राप्ति रहेछ, गौरव रहेछ ।

घर अगिल्तिरको चौरमा साना केटाकेटीहरु पातमा प्वाल पारेर ढुङ्गा र माटोका चाल्छन् ससाना डल्लाडल्ली । तिनलाई नि अभ्यास गर्नु छजीवन धूलो चाल्ने । अभ्यस्त कति हुन सक्छन् ती, पर्खनु छ । हो, प्रयास छ अटुट ।

तोरी र सर्स्युं दुईको रङै फरक । तोरी चालिरहनुभएकी आमाको अनुहार छेउमै बसेर हेर्थेँ म । उहाँ एक निष्ठासाथ सर्स्युं र तोरी छुट्टाउन सकौँ भन्ने भावमा रहनु हुन्थ्यो ।

मैले सोझो कुरो सोधेँ आमालाई—‘आखिर दुबैबाट तेल आउँछ नि । किन छुट्टाउनु पर्यो चालीचाली !

मिसिएको तेल मीठो हुँदैन नि । तिम्रा मुखमा मीठै परोस् भनी दुःख बिसाउनु पर्या छ !

उत्तर सुनेको थिएँ ।

हुँदाहुँदा सेतो तिल र कालो तिल चालीचाली छानेर छुट्टाएको देखेको थिएँ मैले । सोध्दा उत्तर सुनिएथ्यो—‘कालो देउताका लागि, सेतो मान्छेका लागि । मान्छेको देउतालाई र देउताको मान्छेलाई नहोस् भनेर यसरी चाल्नु प¥या हो !

प्रकृतिको उत्पादनले पनि चालिएरै अर्थ पाउनुपर्दो रहेछ । मूल्य, महत्व र मनितो कमाउँदो रहेछ ।

बगरमा बालुवा चालेर जीवन डोर्याउनेहरुको अनुहारसँग धेरै पटक भेटघाट भएको छ मेरो । अनेक खोलामा बालुवा चालिरहेका हुन्छन् तिनका हात । मोटा र खस्रा तार जालीमा बग्दो पानीबाट ढुङ्गेनी कण  झिकेर मसिना बालुवा चाल्नेहरुका पाखुरामा हुन्छपाँगो माटो छुट्याएको बालुवाले आय आर्जन गराउँछ धेरै ।

जाली मोटो नपार है, मसिनो पार !

ठेकेदारले  थर्काइरहेको हुन्छ खोलाको किनारबाट ।

बालुवा चाल्नेहरुको गुनासो आपसमै हुन्छ—‘हामीलाई चाल्नीको तार मसिनो बनाऊ भन्दै परतिर लगेर मोटो बालुवा मिसाउँछ ।

यता हामी ठगिने, उता मोटाउने ऊ !

हुलले बालुवा चाल्दै उदास र हैरानी साटिरहेकै हुन्छन् ।

हरेक ठाउँमा प्रयोग छ चाल्नीको । त्यो प्रयोगले सबलदुर्बल, अपेक्षाउपेक्षा र मृत्यु जीवनका हात परेका छन् प्रमाणपत्र । यी प्रमाणपत्रले चाल्नी चाल्दाका गति देखाउँछन्, तरिका बताउँछन् र उपलब्धि चिनाउँछन् ।

आफ्नै चाल्नीले चालिएको जीवन धूलो हुँ म ।

हो, चालिएको छु धेरै पटक । पटकपटक हल्लाइएको छु चाल्नीमा हालेर । खेपखेप औँलाले चलाईचलाई चालिएको छ मलाई । मोटो, मसिनो, ठिक्कको अनि अति मसिनो प्वाल भएको चाल्नीमा चालियो मलाई ।

चालिन बाँकी छ अझै मलाई ।

एउटा पुरानो स्मृतिमा उभिएर हेर्छु आफूलाई । अर्थ र समयको साँघुरो स्थिति थियो मभित्र । कति बुझेँ त्यसबेला । ख्याल छैन पटक्कै । स्मृतिले बूढीऔँला देखाएर झस्काएपछि यतिबेला त्यो स्मृतिमा पुगेँ म ।

घर नजिकै थियो पञ्चकन्या राइस मिल ।

धेरै साथीसाथ मिल नजिकैको खेत र चौरमा गोठालो हुन्थेँ गाईबाख्राको । चैतको टन्टलापुर घाममा मिलका बगैँचामा फलेका फलफूल चोर्थे केटाहरु । हातमा लाठो लिएर बसेका हट्टाकट्टा चौकीदार वल्लो छेउदेखि पल्लो छेउसम्म पुगिरहेका हुन्थे उद्यानमा ।

उनी कतिखेर सियाँलमा सुत्लान् र हामी बगैँचामा पस्ने भन्ने ध्याउन्न हुन्थ्यो । कतिबेला हामीलाई हामी लघारेर उनी सफल, कहिले हामी सफल ।

आफ्नो असफलतामा उनको गर्जन हुन्थ्यो—‘पख्, तिमेरलाई चाल्नो हुने गरी ठटाउँछु !

बोली नै डरलाग्दो भएपछि दण्ड कस्तो हुन्थ्यो होला ? सातो जान्थ्यो हाम्रो ।

बेलाबखत दया जाग्थ्यो उनमा ।

एइ, खानका काल हो । उसिनेका चामल खान आओ !

स्नेही स्वर सुनिन्थ्यो चौकीदारको ।

अनि हामी भुराहरु गुडुडु छिथ्र्यौं मिलमा । लाइन लगाएर मिलभित्र पसाउँथे हामीलाई । चामल चालिरहेका बढेबढे फलामे चाल्नीका छेउमा उभ्याइन्थ्यौँ हामी । अनि चकित परेर हेर्थेँ म । माथिबाट खसेका चामलका रास चाल्नामा दगुरादगुर हुँदै तलतिर चालिइरहेका हुन्थे ।

केटा हो, चाल्नोबाट उच्छिटिएका चामल मात्र खाने नि !

कृपा हुन्थ्यो उनको ।

चाल्नीबाट उफ्रिएर भुँइमा खसेका चामल टिप्न लुछाचँडी गथ्र्यौं हामी । एकनासे प्वालमा एकनासका चामल । बिस्तारै चलेको चाल्नीबाट थोरै उच्छिटिन्थे चामल । चाँडो चले धेरै खस्थे । धेरै जसो साहृै धीमा गतिमा चल्थ्यो र चामलका एकाध गेडाका लागि राम्रै मारमुङ्ग्री चल्थ्यो हाम्रो हुलमा ।

थुइ्या, चाल्नीको प्वाल एकदमै सानो हुनु नि !

किन नि ?’

सानो भएपछि चामल तल नखसी बाहिरै आउँथ्यो नि !

होत्त, है !

अलिक बुज्रग बोल्थ्यो हामी मध्येको ।

चौकीदारले एकदमै माया गरेथ्यो, कृपा गरेथ्यो र तिर्न नसकिने रिन लाएथ्योचाल्नी बाहिरको चामलका गेडा खान दिएर हामीलाई ।

उफ्, कति चालिएछ निष्ठुरतापूर्वक जीवनलाई !

एक दिन चाल्नी हातमा लिएर हेरेँयसको आकारसँग गाँसिएको चरित्र । चाल्नीले पाएको रुप । हेर्दा कुनै ठूलो र मानक स्थिति देखा पर्दैन । अथाह उपलब्धि र परिणाम पस्किदैँन । तर त्यस पछिल्तिरको नतिजालाई जीवनको धूलोसँग नगाँसी धरै पाइन्न । जीवन धूलोसँग मूल्याङ्कन नगरी अर्थ प्रवाह गर्नै सकिन्न ।

धेरै होइन भनेको ठाउँमा केही हो भएर आइरहेछ चाल्नी ।

आरोह अवरोहमा म वरपरका दृश्यमा धेरै पटक पोखिएर भेट्छु । प्रश्न गर्न तम्तयार कक्षाको कमजोर विद्यार्थी जस्तोशिक्षक जिल्लिएर हेरिरहेको हालतमा छु म ।

बस्तुलाई छान्छ चाल्नीले ।

बढी प्रयोग हाम्रै भान्सामा हुन्छ । त्यो भए राम्रो, नभए उत्तिको पीडादायी कुरो भएन । तैपनि नमीठो खाने, अस्वस्थ्यकर वा दाँतमा ढुङ्गामाटो नरड्किऊन् भन्ने हैरानीबाट मुक्त हुन घरमा भित्रिएका हुन् चाल्नी । यी अब भान्साकोठाका स्थायी मित्र !

हत्तेरिका, नचालेको पीठो पकाएको हो कि क्या हो ?’

मेरा नाकनिके मामाले गहुँको सानो टुँडो रोटीमा भेटेपछि भोकै उठेको ख्याल छ मलाई ।

उनले धेरै पटक भनेको सम्झन्छु—‘टुप्पी हल्लाउनु र चुरा बजाउनु दुई मिल्दा जस्ता देखिए नि स्वादमा अकासपत्तालको फरक छ । लोग्नेमान्छेले चालेको पीठोमा हात्ती समेत छिर्छ, आइमाईले चालेको पीठोमा भुसुना नि खस्न पाउँदैन !

सुन्दा अतिशयोक्ति लागे पनि स्त्री कला र साधनाको सम्मान हुनुपर्छ यो ।

यसरी नै बुझ्छु म । मैले बुझेको पाककलामा समर्पण र सावधानीको एकोहोरो तथ्य छ उभिएको । यो उभ्याइले चाल्नी बनाएको छ गृहिणीको घरसंसारलाई ।

सामान्य हुँदैन एउटा बस्तुभित्रको ज्ञानले घेरेको आकाश । एउटा सामग्रीभित्र लुकेको शिक्षाले अँचेटेको धर्ती हुँदैन सरल । यी आकाश र धर्तीका मिल्दा कोणमा अविदित दर्शनले बसेको हुन्छ तर्क तानेर ।

त्यही हो मेरो घरको चाल्नी ।

छिमेकमा बन्दै छ घर । त्यहाँ थुप्रै छन् ढुङ्गा, इँटा छानिरहेका कर्मीहरु । अनेक तर्क र विचार सुन्छु म यी इँटा र ढुङ्गाका छनौटसँगै । कुन र कसरी राख्ने ढुङ्गा ? अथवा कुन र कहाँ राख्ने इँटा ? सरोबरी छलफल भएर बनिरहेको छ घर ।

पानीमा बालुवा पखालिरहेकी एउटी हँसिली आइमाईलाई ठेकेदारले भन्यो—‘तिमी जस्तै उज्यालो होस् है बालुवा !

भै हाल्छ नि ! आफूलाई नाफा कम राखी बाक्लो तारको जाली दिनु प¥यो नि मलाई !

हँसिलीले ड्रमको पानीमा बालुवा पखाल्दै दिएको उत्तर थियो यो ।

चाल्नी वरपर भेटेका अरु थुप्रै पात्र छन्, प्रवृत्ति छन् र परिवेश छन् । मलाई यिनले पटकपटक आँफैतिर हेर्न भनेका छन् । आफूलाई कति पटक मैले चालेँ । आफ्नो चालिएको धूलोमा कति कण छन् बालुवाका, ढुङ्गाका, माटोका वा सिन्कासिन्कीका ।

के म चालिन सकिएको जीवन धूलो हुँ ? के चालेर समाप्त गरिएको जीवन धूलो हुँ म ? कुन तहको चाल्नीमा चालिएँ म ?

अल्झिन्छु प्रश्नका प्रसङ्गमा ।

नाङ्लो र चाल्नी एकै ठाउँमा राखेथेँ मैले ।

यी भालेपोथी हुन्यिनलाई यसो नगर !

तोरी चालिरहेका छिमेकका कार्की दाइले भनेथे ।

उनले अथ्र्याएथे—‘भालेपोथी अरुहरु । यो काम र नतिजाको तस्वीर हो !

यतिखेर केही जानेको जस्तो मधुरो बत्ती छ मनमा । पिलपिल बल्दै बत्तीले उज्यालो दिन्छ—‘कामै नहुनु र परिणामको ठूलो बखान । अथवा सानो बखान नभए पनि ठूलै काम हुनु !

धेरै अघि तमोरका किनारमा बालुवा चालिरहेका एक दम्पत्ति भेटिए ।

के भेटिन्छ र यत्तिको मरिहत्ते गरेको ?’

सुन पाइन्छ नि !

एक दिनमा कति पाइन्छ ?’

महिनौँ बालुवा चाल्दा एक लाल पाइन्छ !

बाफरे, म आत्तिएँ । सुन जस्तो गर्बिलो जीवन समाप्त भइरहेथ्यो । सुन जस्तो मूल्यवान समय बगिरहेथ्यो । यी जोडीले बालुवा चालेर सुन खोजिरहेको दुस्साहसलाई मैले विस्मयपूर्वक हेर्नु प¥यो । अज्ञात पीडामा अवाक् भए मेरा आँखा । मेरो अन्तःस्करण प्रश्नका मुङ्राले कुटियो ।

चाल्नी किन्नै हम्मेहम्मे भो !

स्वास्नी चाँहिले भनेको कुरोले एक पटक फेरि सुनकथाको निर्धन व्यथादेखाप¥यो ।

भान्सामा पत्नीले चालिरहेको चाल्नी हल्लिएको हेरिरहेको छु म निरन्तर । त्यो चाल्नीका पछाडि मेरा जीवनका भुस, बियाँ र कनिका आइरहेका हुँदा हुन् । हो, तिनको पहिचान कुन दिनदेखि मैले गरेँ ! यो भयरहित भएर बोल्न सकिरहेको छैन ।

बेत, बाँस, निगालो, धागो, पाट, तार सबै जालीका चाल्नीले हरेक पल चालिनु नै जीवन ठानेँ मैले ।

चालिँदाचालिँदा यो जीवन धूलो कहिले चालेर सकिएला ?अथवा योग्य जीवन धूलो हुने कहिले ? चाल्नोमा अझै कति बस्ने म ?

अन्तिम चाल्नो खोज्नु छ जीवनको !

 

००

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |