हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पेद्रो लुजा

शिव प्रकाश, (बोस्टन, अमेरिका )


सानो प्राप्तिमा मान्छे
‘Something is better than nothing’ भन्छन् तर म आजकाल Nothing is better than anythingÚ भन्न थालेको छु । अनि यो वाक्यसँगै मेरो मस्तिष्कमा हरेकचोटी उही लूजा चल्मलाएको पाउँछु ।

त्यो दिन, दिन एक्कासी बदलिएको थियोती मान्छे जस्तै जो छिनमा बदलिन्छन् । अवस्था, मुड र त्योभन्दा पनि बढी निजी स्वार्थ अनुरुप । यसै पनि बोस्टन क्षेत्रको मौसम र मान्छेको मन एकै जस्तो लाग्छकतिखेर बदलिन्छ थाहै हुन्न ।

हिजोसम्म सारसौदो बोस्टनले आज हिउँको बर्को ओढिसकेको छ । लमतन्न सडकहरु हिउँको कात्रोभित्र चिसिइसकेका छन्मुर्दा चिसिए जस्तो । केप हाइवेको छातीमा अविरल बग्ने गाडीको भेल लगभग सुकिसकेको छ । रुखलाई शरदले ओढाएका हरिया पातका पहिरन शिशिरले खोसेर नङ्ग्याइसकेको छमान्छेले मान्छे नंग्याए जस्तै । कुम जोडेर नाङ्गा रुख सडक छेउ जिङ्ग्रिङ्ग उभिएका छन् । ओहो ! नाङ्गो कति विरुप देखिदो रहेछ ? तर यो विरुप रुप हेर्न मान्छे कति लाययित हुन्छ ? रुखको त्यो नाङ्गोपनले मेरो आँखा तानिरहेको छमान्छेका आँखा नाङ्गा तस्वीरले ताने जस्तै ।

बाहिर हिउँको झरी छ । म गाउँघरमा झर्रझर्र परेको असारे झरी सम्झिन्छु । असारे रोपार र बाउसेहरु सम्झिन्छु । गाउँका खेतबारी, गह्राकान्ला सम्झिन्छु । आहा ! ती दिन ? कठै त्यसै गए ! सम्झदा सम्झदै एक्कासी मेरो आँखा अर्को रमितामा अल्झिन्छन्हिउँको हिलाम्मे सडकमा मरीमरी पाइडल मार्दै एक साइकल यात्री अगाडी बढिरहेछ । सडकमा हिउँको हिलो अनि एक्लो साइकल यात्री ! उसका लुगाले अर्को पत्र हिउँको लुगा लगाइ सकेको छ ।

हिउँको बाक्लो बरसातले बाहिरको तापक्रमलाई निक्कै चिस्याएको छ । म भित्रबाट हेरिरहेको छु । ग्राहक नआएको पनि धेरैबेर भै सकेको छ । सकिनसकी उकालोमा पाइडल मार्दै ऊ अघि बढिरेको छ । लाग्छउसको लक्ष्य मेरो पसलतिरै छ ।

जीवनमा धेरै मान्छे एक्लो भए जस्तै सडकमा अहिले ऊ एक्लो छ । हेर्दाहेर्दै ऊ ढोका अघि आइपुग्छ र रोकिन्छ । लुगामा टाँसिएका हिउँका फाल्साफोसा टक्टक्याउँछ । त्यो ठीहीमा पनि तरतरी चुहिएको अनुहारको पसिना पुच्छ ।

टिठलाग्दो अनुहार । झुस्स दारी पलाएको । आधा तालु खुइलेर आलु जस्तो भैसकेको । बाँकी कपाल मिश्रित रंगकोनिख्खर खैरो पनि हैन, कालो पनि हैन । पातलेपातले लिखुरे पाराको । अलि मैला लुगा लाएको । झुत्रेझात्रे खालको बाँदरमुखे अनुहार भित्र पस्छ । डिच्च हाँस्छ ।

यो झुसे किन भित्र पस्यो भन्ठान्छु म !

अरुले जस्तै How are youÆ भन्ने अर्थहिन शिष्टाचार निभाउँदै सिगरेट माग्छ । म पैसा माग्छु  । ऊ छैन भन्छ । म दिन्न भन्छु  । सस्तो खाले दे भन्छ, म फेरि दिन्न भन्छु ।

सबैभन्दा सस्तो कति डलरको छ भनेर सोध्छ । सिगरेट हैन सिगार दुई डलरको छ भन्छु । ल उसोभए मलाई त्यही दे भन्छ । म फेरि पहिले जस्तै पैसा माग्छु । ऊ पनि पहिले जस्तै छैन भन्छ ।

आफूले लाएका तीन पत्र लुगाका एक दर्जन खल्ती छाम्छ । एउटा खल्तीबाट एक पेनी निस्किन्छ । ल यो लि बाँकी भोलि दिन्छु भन्छ । मतिर हेर्दै निसंकोच त्यो पेनी मेरो हातमा थमाउँछ । उन्मुक्त हाँसो हास्छ र भन्छ– “मसँग अहिले यति नै छ । बाँकी .....!

हे, एक पेनी भनेको एक पैसा हो ? सय पेनीको एक डलर ! एकसय उनान्नसय पेनी बाँकी ? के तैले मलाई मूर्ख ठानेको ?” म बोलीको बारुद पड्काउँछु ।

ऊ हाँस्छ । मजाले हाँस्छ । निर्धक्क हाँस्छ । म रिसाउँछु । ऊ झन् हाँस्छ , हाँसी नै रहन्छ  ! म जति रिसाउँछु उ उति हाँस्छ । म छक्क पर्छु । मेरा आँखाले उसलाई पढ्न खोज्छन् तर उसको अनुहारको भाषा बुझ्दैनन् ।

Relax ! don’t worry I will pay tomorrow. President Obama trusts me but you don’t ! what’s wrong with you ? ऊ फेरि हाँस्छ ।

उसका कुराले लाग्छयो एक इलूजन हो । पातालबाट पृथ्वी नटेकी एकैचोटी आकासमा उडि रहेछ । यो पागल हो । योसँग बहस गर्नु भन्दा दुई डलर गुमाउनु बेस हुन्छ । संसारमा सायद सबैभन्दा धेरै पागल भएको मुलुक अमेरिका नै होला ! यो पनि भेटियो भन्ठान्छु म ।

हुन त मैले भोगेको अमेरिका र अरुले देखेको र सुनेको अमेरिकामा फरक पनि हुन सक्छ । मेरो अनुभवले अमेरिकालाई इमानका लागि मरुभूमि र बेइमानका लागि उर्वरभूमि मानेको छ । मेरो अहिलेसम्मको भोगाइलाई यो नयाँ इलूजन पनि पुष्टि गर्दैछ । उसले उधारो माग्दा अरु धेरै बेइमान अनुहारहरु मेरो मगजमा नाच्न थाल्छन् । नौ वर्ष भैसकेको छ म अमेरिका बसेको । यो नौ वर्षमा नौ जना इमान्दार अमेरिकन पनि भेटेको छैन ।

काम गर्दा गर्दै एकदिन दिउँसो अति भोक लागेर स्टिभलाई स्याण्डवीच ल्याइदे भनेर पाँच डलर दिएर पठाएको ऊ कहिल्यै फर्केन । सिगरेट, सोडा र भुसाहा किन्न जो दिनको सात पटक मेरो पसलमा आउँथ्यो ।

स्टिफनी पनि त्यहीकी लोकल हो । ऊपनि दिनको चार पाँच पटक उही भुसाहा र सिगरेट किन्न आउँथी । हरेक पटक मस्का मारेर जान्थी । एक दिन आइ एम ब्रोक भन्दै एक प्याकेट मार्लबोरो लाइट सिगरेट मागी । मैले हुन्न भन्दाभन्दै हनीका हनी लाएर लावण्य भाव देखाउन थाली । मर्नै लागि । क्षणिक स्पर्शसुख दिई । गोरो छालाले लोभ्यायोदिएर पठाएँ । त्यस दिनदेखि बेपत्ता !

काइलीले त झन एक प्याक सिगरेटका लागि एक रातको अफर नै गरी । कलेज पढ्ने केटी ! त्यसमाथि हिसी परेकी । मेरा आँखाले ऊ जति सुन्दरी अरु कोही देख्दैनथे । धेरै लोग्नेमान्छेका आँखा जस्तै मेरा पनि लोभिएदिएँ । पलस बन्द गरेपछि बारमा जाउँ भन्दै थिई । त्यो केटी उपर खर्च गर्ने दुःखको कमाइमा मेरा परिवारको छाँया देखेँ र मैले अर्को कुनै दिन भनेर टारेँ । त्यस दिनदेखि ऊ पनि बेपत्ता !

हप्ता दिन अघि मात्र फ्य्राङ्की पसलमा आएर रुनै थाल्यो । सधैं आउने, राम्रै खरिददारी गर्ने ग्राहक । आज मलाई पाँच डलर दिइनस भने म काममा जान सक्दिन । गइनँ भने मेरो काम खोसिन्छ । म बरबाद हुन्छु । काममा जाने भाडा छैन भन्न थाल्यो ।

पैसा पाए पछि तँ पनि बेपत्ता हुन्छस् अरु जस्तै भनेँ तर रोइकराई गर्न थाल्यो । आमाको कसम म आजै बेलुका तेरो पैसा तिर्छु भन्यो । आमा भन्दा पूजनीय र ठूलो अर्को के र को छ संसारमा ? एक पटकको आमा सधैंको आमा ! आमाको कसम खाएर आँसु नै चुहाए पछि पाँच डलर निकालेर दिएँ । त्यस दिनदेखि फ्य्राङ्की पनि बेपत्ता !

गाँठ भी गुमाना बेबकुफ भी बन्नाहिन्दीको उखान भन्दामाथि ग्राहक भी गुमाना, नाफा भी गुमाना भो अमेरिकामा मलाई ! एउटा ग्राहक गुम्दा वर्षभरिमा कति घाटा हुन्छ ? एकछिन् हिसाबकिताब गरेँ । टाउकामा हात लाएँ ! केहिबेर झोक्राएँ ।

अरु जस्तै फ्य्रान्की पनि मेरो पसलतिर नफर्की आजकाल सडकको पल्लो पेटीबाट हिड्छ । सबै त्यही छन् तर म र मेरो पसलतिर हेर्दैनन् । यस्तै अरु बेइमान अनुहारहरु एकाएक स्मृतिमा आउँछन् । केभिन, डेनिस, डेना, क्यारोल, म्याटी, ब्रिट्नी र अन्य केही ।

लाज भन्ने कुराको सम्बन्ध घैंटो र नाइटो मुनीको अंगसँग त छैन भने अरु केमा लाज ? यो समाजमा अरु जे गरे पनि पटक्कै लाज मानिदैन । यिनले यही सिकेका छन् र आफ्ना सन्ततीलाई पनि यही सिकाएका छन् । आखिर मान्छे आफू जुन तत्वले बनेको छ भावी सन्तान पनि त्यही तत्वले बन्नेछ । त्यो तत्वको उत्पादन अमेरिकामा दिनप्रतिदिन बढ्दो छ । म यस्तै यस्तै सम्झन्छु र भन्छुNo credit Û

"You don’t believe me for two dollars ? don’t worry if I don’t pay you. I will work for you." भन्दै ऊ पहिलेकै पाराले अट्टाहस हाँसो हाँस्छ ।

यो उपलक्षणमुखी बहुरुपीलाई किन उधारो दिने ? तर दिमागमा एकास्सी एक वाक्य क्लिक भयो– “उल्टो देशमा सुल्टो मान्छे !अमेरिका उल्टो देश हो ! यो उल्टो देशमा सुल्टो मान्छे पनि त हुन सक्छ म जस्तै ! स्टिभ, स्टिफनी, काइली, क्यारोल, केभिन, डेनिस, डेना, म्याटी र ब्रिट्नी ... जस्ता सबै उल्टा नहुन पनि सक्छन् । यो मेरो लागि अर्को ठूलो आश्चर्य पनि हुन सक्छ– “अमेरिकामा अर्को एक इमान्दार मान्छे !

फेरि सोचेँमेरो अनुभवले बताए अनुसार अमेरिकामा उल्टोको सिद्धान्त पूर्णरुपले लागू हुन्छ । हाम्रो गाउँघरका हाट, बजार, पसलमा सधै आउने नियमित ग्राहकलाई उधारो दिइन्छ तर यहाँ त्यसको ठीक उल्टो छ । सधैं आउनेलाई दियो, भोलिपल्टदेखि बेपत्ता । पैसा पनि गुम्यो, ग्राहक पनि गुम्यो, त्यो ग्राहकबाट सधैं हुने बेपार पनि गुम्यो र फाइदा पनि गुम्योफ्य्राङ्कीहरु जस्तै !

यो पहिलो पटक आएको छ । मेरो नियमित ग्राहक पनि हैन, गयो भने यही दुई डलर जान्छ भन्ठाने । दिने निधो गरेँ र एक सामन्य प्रश्न सोधेँ– “के काम गर्छस् ?”

जे पनि गर्छु अर्थात सबैथोक गर्छु ।त्यसरी नै हाँस्यो जसरी पहिले हाँसेको थियो ।

जे पनि अर्थात सबैथोक भनेको के ?” एक भुत्ते प्रश्नले उसलाई रेट्न खोजेँ ।

मान्छेको मासु खाने बाहेक जे पनि गर्छु !हा हा हा...You don’t believe, who am I ? I do everything.ऊ त्यसरी नै हाँसिरहेछ जसरी पहिले हाँसेको थियो ।

I know you do everything but I believe you don’t know anything! मेरो कुराले फेरि हाँस्यो तर योसँग धेरै सयम खर्चिनु भन्दा दुई डलरको सिगार दिएर पठाउनु उचित ठाने । दिएँ ।

हाँस्दै Thank you  भन्यो । अघि भनेकै शब्द दोहोर्यायो–“भोलि पैसा ल्याइन भने काम गरेर भए पनि सदाउँछु । म ठग हैन अरु जस्तो ।फेरि हाँस्यो । 

You don’t know me! उसले बारम्बार दोहोर्याउने वाक्य दोहोर्याउंदै पसलबाट निस्कियो । हिउँको हिलोमा साइकलको पाइडल त्यसरी नै मार्दै गयो जसरी ऊ आएको थियो ।

सडकमा रातभरी डोजर चलेको छ । डोजरले सबै हिउँ किनारा लगाइसकेको छ । म बिहानको कफी पिएर एक्लै टोलाइरेहेको छु । माटोको मायाले मनमुटुलाई घरदेशतिर पुर्याएको छ । आँखाभरी आफ्नै ती हिमाल छाएका छन् । मनभरी गाउँबेँसी डुलेका छन् । स्मृतिका एल्बमबाट सम्झनाका तस्वीरहरु एकएक गरि मस्तिष्कमा स्लाइड शो भइरहेका छन्घरपरिवारदेखि सबैसबै । बाहिरको चिसोले शहर मुर्दाशान्तिमा निदाए जस्तो छ ।

Hi buddy, good morning! मेरो एकाकिपन एकाएक च्यातिन्छ । त्यो आवाजतिर नजर हुत्याउँछु । हिजोको त्यही झुसे अगाडि उभिएर ङिच्च हासिरहेको छ ! मनमनै सोचेयसले आज अर्को स्टोरी बनाउने भो । झनक्क रिस उठ्यो ।

‘Money’! मेरो पाहिलो वाक्य नै त्यै भो । जसले मलाई चिन्तित तुल्याइरहेको थियो । थियो, दुई डलरमात्र तर त्यसमा अर्को एक अमेरिकीको नियत जोडिएको थियो ।

Relax ! उँचो स्वरमा एक शब्द मात्र बोल्यो । भित्र पसेर सावेल निकाल्यो र वाकवेको  सबै हिउँ फयाँक्यो ।

भित्र आएर हिजो जस्तै ऊ हाँस्न थाल्यो । फेरि सबै कुरा हिजो जस्तै भयो । बोली हिजोकै ! रुपरंग हिजोकै ! हाँसो हिजोकै ! व्यवहार हिजोकै ! लुगा हिजोकै ! साइकल हिजोकै तर मौसम भने आज नितान्त फरक ! आज बोस्टन बौरिएको छ । हिजो ओढेको हिउँको बाक्लो बर्कोबाट आज बोस्टनले अनुहार बाहिर निकालिसेकेको छ । बालसूर्यको कलिला किरणका स्पर्शले धरती हाँसेको देखिन्छ ऊ जस्तै ।

मलाई अर्को सहयोग चाहियो ।निर्धक्क बोल्यो । हाँस्नु उसको नियति हो जस्तो लागिसकेको छ । अहिले पनि हाँसको छ । प्रारब्धले उसलाई हसाइरहेछ । I am stupid but I am not dumb ÛÆ उसले भनेको सम्झिए र म पनि मुसुक्क हाँसे ।

के सहयोग चाहियो भनेर सोधें । म वालमार्टसम्म जानु छ राईड चाहियो भन्यो । मैले राईड दिएँ ।

एटिएमबाट पैसा निकालेर मलाई बीस डलर दियो । मैले किन भनेर सोधेँ । तैले मलाई सहयोग गरिस् त्यसैले दुईको वीस भन्यो । मैले लिन मानिन तर उसले मलाई वाध्य गरायो । लिएपछि you are a good man भनेर फेरि हाँस्यो र फेरि भन्योहेर, यो सबै मलाई राष्ट्रपति ओबामाले पत्याएर दिएको हो । मजाक मिसिएको उसको हाँसोको फोहोराले मलाई पनि भिजायो म पनि सँगै मिसिएर हाँसे । कार्ट भरी सामान किन्यो । सबै खानेकुरा । फूडस्ट्याम्प बाट पैसा तिर्यो । गाडीमा सामान हाल्ने बेलामा छुट्यायो । यो आमालाई । यो छोरी सिल्भियालाई । यो अर्की छोरी मरिनालाई । यो मलाई ।

सबैभन्दा कम सामान उसैका थिए । मैले सोधेतलाइँ यति सामानले कहिलेसम्म पुग्छ ?

फेरि हाँस्दै जवाफ दियो– “एक हप्ता पुग्छ । त्यसपछि देखाजाला !उसको अनुहारमा कोरिएका खुशीका रेखाहरु पढ्न खोजेँ तर सकिन । ऊ किन खुशी भएको हो थाह भएन । आखिर मान्छे जे गर्छ आफ्नो खुशीको लागि गर्छ र जे गर्दा खुशी हुन्छ त्यही गर्छ । ऊ यसैमा खुशी छ । दिनुमा खुशी छ । बाँड्नुमा खुशी छ र बाँडेर हाँस्नुमा खुशी छ ।

आफैमात्र खाउँ भन्ने यहाँका धेरै मान्छेको जीवन र जंगली जनावरको जीवनमा खासै फरक पनि छैन ।दुर्गन्धको एक गहिरो कुवा भएर जमेको कुरुप सत्य बेलाबेलामा यसैगरि ओकल्छ ऊ ।

मैले बल्ल उसको नाउँ सोधेँ– “तेरो नाउँ के हो ?”

मलाई सबैले चिन्छन् तँ किन चिन्दैनस् ? म अर्को दिन भन्छु ।हाँसो मिसिएको प्रतिप्रश्न गर्दै टर्रो जवाफ दियो । मसँग उसको प्रश्नको उत्तर थिएन । मैले उसलाई नयाँ नाउँ दिएँलूजा । तेरो मस्तिष्कका केही तार लूज भएका छन् त्यसैले तेरो नाउँ अब लूजा । उसले फेरि एकपटक आफ्नो सम्पूर्ण खुशी हाँसोमा बद्लियो र भन्यो You are right, I like it. Yes I am Luza !

मैले उसको घर परिवारको बारेमा सोधेँ । सबै बतायोस्वास्नीसँग डिभोर्स भै सकेको छ र अर्कैसँग गइसकेकी छे । छोरो मेरिल्याण्ड स्टेटमा स्टेट पुलिस छ । दुई छोरी दुबै हेयर स्टाइल डिजाइनर छन् । 

तँ किन हरेक चोटी बोल्दा हाँस्छस् ?”

मेरो जीवनले मलाई हाँसोको पात्र बनायो । म अरुसँग हैन मेरै जीवनसँग हाँस्छु । हाँस्ने कारण एउटै छ, त्यो होमसँग सबैथोक छ तर केही छैन । र, मसँग जे छ त्यो नै मेरो सबैथोक हो । मैले जीवनमा कहिल्यै केही खोजिनँ त्यसैले दुःखको अनुभव गरिनँ ।

के हो त तेरो सबैथोक ?”

“Happy brain ! which never hurt’s you.”

उसका यी दार्शनिक विचारहरु मनमा गाँठो पार्दै, फूकाउँदै, ओल्टाउँदै, पल्टाउँदै म डेरा फर्किएँ । 

भोलिपल्टदेखि ऊ नियमित रुपमा मेरो पसल र डेरामा आफ्नो डेरा जमाउन थाल्यो । उसले हरेक काम जानेको थियो । गाडीको मेकानिक्सदेखि काठ, विजुली, धाराका सबै काम । उसलाई चाहिएको बेलामा म थोरबहुत उधारो र नगद पनि दिन थालेँ । हुने वित्तिकै ल्याएर तिर्थ्यो । कुखुराको लेदो मासु र भात भनेपछि हुरुक्क हुन्थ्यो । बेलाबेलामा मलाई सताइरहन्थो मासुभातका लागि ।

अचानक ऊ बेपत्ता भयो । एउटा खहरे आएर स्याप्पै सुके जस्तो भयो उसको अनुपस्थिति मलाई । दिन नबिराई आउने मान्छे आज तीन दिन भइसक्यो अत्तोपत्तो छैन । फोन पनि अफ छ । मनमा अनेक शंकाहरु तँछाडमछाड् गरेर दौडिन थाले । उसको घरमा फोन गरेँ भाइले रुखो स्वरमा थाह छैन भन्यो ।

ऊ भन्ने गथ्र्यो– “भाइले मेरो डाहा गर्छ । यसको ब्रेन कहिल्यै ह्याप्पी छैन, यो हानिकारक छ । अनह्याप्पी ब्रेनले जे पनि गर्न सक्छहिट्लरले जस्तो ।

फेब्रुअरीको महिना । दिनको साढे तीन बजेको छ । सन्ध्याको पोल्टोमा घामले टाउको लुकाउन थालिसेकेको छ । दिन छोटिएर सबेरै सम्साँझ जस्तै लाग्न थालिसेको छ । आजको दिन पनि उसैको भाईको अनुहार जस्तो घुर्मैलो छ ।

मेरो फोनमा घण्टी बज्छ । म पेद्रोको वकिल बोलेको । पेद्रो जेलमा थियो । आज उसको पेसी छ अदालतमा । तिमीले उसका लागि एक हजार डलर जमानत दियौ भने ऊ बाहिर आउन सक्छ । नत्र छ महिनाको लागि ऊ जेल जानु पर्ने छ ।

को पेद्रो ?

उसले पेद्रोको बारेमा बतायो । वकिलको कुरा सुनेर पुछ«ेतारा खसेजस्तो म भित्रभित्रै आफैभित्र खसेँ र आफैभित्र हराएँ एकछिन् ।

ऊ किन जेल गएको ?” वकिललाई सोधेँ ।

लाइसेन्स जफत भएको बखतमा उसले गाडी चलाए वापतको सय डलर जरिवाना नतिरेको तीन वर्ष भैसकेको रहेछ । त्यसैले ।

मनमनै भन्ठाने कानूनको राज्य भनेको यस्तो हुन्छ । मेरो देशको भ्रष्ट प्रशासन र भष्मासुर नेतालाई सम्झिएँ । मनमनै तिनलाई थुकेँ । हुन त सामुन्ने गएर मुखैमा थुकिदिँदा त शरम नमान्ने ती भ्रष्ट र भष्मासुरहरुलाई मनमनै थुकेर के नै हुन्थ्यो र ? तै पनि मनको आवेग शान्त गरेँ ।

मैले किन जमानत दिने ? उसको भाई छ । छोरा छ । छोरीहरु राम्रो कमाई भएका छन् उनीहरुलाई भन न ।मैले जे देखेको र हाम्रो समाजमा परिवारको दायित्व जे हुने गरेको छ त्यही भनेँ ।

हैन उनीहरु कसैले गर्दैनन्, तिमीमात्र अन्तिम आशा हौं । हामीसँग समय पनि छैन । आघा घण्टाभित्रमा सबै सक्नु पर्छ । नत्र.... !वकिलले फोन विसायो । म अलमल गोत्र आमा एक बाउ सत्र जस्तो भएँ ।

उही नम्बरबाट फेरि फोन आयो तर आवाज फरक थियो । फोनमा ऊ डाको छोडेर रुन थाल्यो र भन्न थाल्यो– “जन्म दिनेमात्र बाउ हुदैन मुक्ति दिने पनि बाउ हुन्छ । यो अमेरिका हो । यहाँ सबैका सबै छन् तर कसैका कोही छैनन् । मेरा पनि सबै छन् तर यतिबेला तँ बाहेक मेरा कोही छैनन् ।म सुनिरहेको छु । उसका वाक्यले मेरो मन चरक्क चरक्क चिरिरहेको छ । तै पनि हजार डलर भनेको अमेरिकीहरुका लागि सेतो हात्ती नै हो । यहाँ एउटा रेडिमेड शब्दको प्रयोग अति हुन्छPay you back ! तर अपवाद बाहेक यहाँ कसैले कसैलाई एक डलर पनि दिँदैन र दिए पनि तिर्दैन । कसैले कसैलाई पत्याउँदैन । लोग्नले स्वास्नीलाई, बाउले छोरालाई, प्रेमीले प्रेमिकालाई । यस्तो अविश्वासको यो घना जंगलमा म कसरी एक हजार डरलको सेतो हात्तीमा त्यो विन्दासलाई चढाऊँ जस्तो लाग्यो ? भोलिदेखि ऊ पनि बेपत्ता हुन के बेर ? न योसँग मेरो लिनुदिनु ? न दश पुस्ताले नाता पर्ने ? न यो मेरो देशको ?

तर पेद्रो अरु कोही नभएर उही थियोजसलाई म सधैं लूजा भन्थे, माया गर्थे, ख्याल गर्थे र परिवारको एक सदस्य मान्थे ।

सधैं हाँसिरहने पेद्रो आज डाको छोडेर रोयो । उसको अनुहारमा दुःखको लहर बगेको कहिल्यै देखिन । घरबाट भाइबुहारीले निकाल्दा पनि जिन्दगी यस्तै हो भन्दै मध्यरातमा हाँस्दै आएको पेद्रो आज रोयो । पैसा नहुँदा राति एघार बजे भोक लाग्यो भन्दै हाँस्दै आउने त्यही पेद्रो आज रोयो । मुन्टो भाँचिने गरि गाडीले हानेर मृत्युमा अनुवाद हुने अवस्थामा पुग्दा पनि हाँसेरै क्षमा दिने पेद्रो आज रोयो । कहिलेकाँही लाग्थ्यो सम्पूर्ण धरती उल्टिएर थिचे पनि ऊ हाँसी नै रहन्छ । हाँसेरै प्राण त्याग्छ । न भूतको पश्चाताप, न वर्तमानको परवाह न भविश्यको चिन्ता ! यस्तो मान्छे आज क्वाँक्वाँ रोयो !

उसको अनुहारमा कहिल्यै कुनै समस्या र बन्धनको जालो देखेको थिइन । मानव जातिकै एक प्रतिनिधि पात्र हो ऊ । यस्तै यस्तै कुराले मन चिथोरि रह्यो । मनै त हो थाम्न सकिन । सोचेंअरु के नै होला ? दुई हप्ताको कमाई गुमाउँला । दुई हप्ता काम गरिन भन्ठान्छु चित्त बुझाउँछु । बस् ! उसको आफ्नै रगतको सम्पूर्ण नातासामू मूल्यहिन बनेको यसको आँसुको मूल्य म चुकाउँछु ।

चेक खल्तिमा हालेर अदालततिर हुँइकिएँ । जमानत दिने ठाउँमा गएँ । चेक देखाएँ । चेक हैन नगद चाहिन्छ भने । अत्तालिँदै दौडेर बैंक गए र नगद ल्याएर बुझाएँ । दुई मिनेट प्रतिक्षा गर भने, पर्खिएँ । मेरो सामुन्ने ल्याएर पेद्रोको हतकडी खोलिदिए र काजमा सही गराएर जिम्मा लगाए । एक लामो निश्वाससँगै उसका आँखाका डील भत्काउँदै चार्ल्स नदी फेरि बग्न थाल्यो । उसका हातले मेरा गोडा समाए । उसको सम्पूर्ण हाँसो अहिले आँसु बनेर बगिरहेछ । जहिले पनि सुखको आभाष पोतिएको त्यो अनुहारमा दुखको भेल उर्लेर आयो ।

‘You are my god father, I call you Dad !’ एकहोरिएका आफ्ना अनुभुति विहिन आँखाभित्र मलाई निकैबेर बन्धक बनायो उसले ।

तलाईँ किन तेरो परिवारका कसैले सहयोग गरेनन् ? आखिर एक हजार डलर ठूलो कुरो पनि त हैन तेरा छोराछोरीका लागि । सबै राम्रो कमाइ गर्ने छन् ।मेरो प्रश्नले ऊ निक्कै भावुक बन्यो । केहीबेर थामिएको चाल्र्स नदी आँखाबाट फेरि बग्न थाल्यो ।

मेरो भाई र ममा एउटै फरक छऊ मभन्दा ठीक उल्टो छ । किन कि ऊ अमेरिकामा जन्मिएको हो, म पोर्चुगलमा । यहाँको हावापानी र माटो नै यस्तै छ त्यसैले मेरा छोराछोरी र मेरो भाई उस्तै छन्  माया बाँडेर कहिल्यै रित्तिदैँन भन्थे तर आज ऊ रित्तो लाग्दैछ । ऊसँग आँशुमात्र बाँकी छन् अहिले मसँग ऊ तिनै बाँड्दैछ । मैले सोचेँ आज यसले सबै आँशु रित्यायोस् भोलि अरुसँग बाड्नु नपरोस् । बाँकी रह्यो भने त्यो आँशुको मूल्य फेरि पनि नहुन सक्छ ।

म आँशुको भाषा पढिरहेको छु । एउटा विक्षिप्त सत्यले उसको अनुहारमा झम्टिए जस्तो लाग्यो । उसको कुराले निकैबेर मेरो मन चिमोटिरहन्छ ।

उसलाई थाह छकसैले उसलाई केही दिँदैनन् तर ऊ आफूसँग केही नराखी सबै अरुलाई दिन्छ । अमेरिकी समाजको नांगो सत्य ओढेको एक प्रतिनिधि पात्र हो पेद्रो ।

सधैं हाँसिरहने उसको अनुहार एक तमासले हेर्छु र भन्ठान्छुआखिर जिन्दगी यस्तै रहेछ हाँस्दा हाँस्दै कतिखेर रुनु पर्दो रहेछ । अनि मनभरी पीडाको दह टिलपिल जमाएर पनि नदी झै बग्नु पर्दो रहेछ । उसको अनुहारमा शहरका मान्छेको जस्तो इन्द्रेणी रंग देख्दिन म । मेरै गाउँघरको मुहार जस्तो निश्छल श्यामश्वेत देख्छु । अहिले उसको अनुहारमा म एक अमेरिकीको हैन मेरो हरैंचा र डाँगीटोलका अनुहारहरु देख्न थालेको छु । अब झन्झनै ऊ मेरो आफ्नै जस्तो लाग्न थालेको छ ।

उसले मासुभात भन्न जानेको छ । सोध्योमासुभात ? घरमा ल्याएर लेदो हालेको कुखुराको मासु र भात ख्वाएँ । यति धेरै खायोमानौ ऊ महिनौदेखि भोको छ ।

I am alive but I have no life. That’s why I always laugh ! फेरि पहिले जस्तै उन्मुक्त हाँसो हाँस्न थाल्यो । अनुहारमा गहिरिएका पीडाका खोल्साहरु अहिले पुरिइसकेका छन् । सोचेँसमय पीडा पनि हो र उपचार पनि हो । उसको थयार्थले अहिले पनि मेरो मन ठुंगीरहन्छ ।

दिन जतिजति वित्दै जाँदै छ उतिउति बुढ्यौलीले पेद्रोलाई पछ्याउँदै छ । बुढ्यौलीसँगै बेसाहारापनको निरस र एकाकी आयतनभित्र ऊ खुम्चिँदैछ । अमेरिकी समाजमा पेद्रो जस्ता धेरै बेसाहाराहरुले सहारा खोजिरहेका छन् । यद्यपि यो समाजलाई संसारकै सभ्य, शिक्षित र सम्पन्न समाज मानिन्छ । जहाँ मूल्यहिन बाँचेको मानवीय मूल्यले मानव जातीलाई जिस्क्याइरहेछ ।

ऊ मलाई ड्याड भन्छ । म उसलाई लूजा भन्छु । यो सुनेर मान्छे मुखामुख गर्छनहाँस्छन् । ऊ मभन्दा निक्कै पाको छ ।

हरेक फादर्स डेमा पेद्रोको फोन आउँछ र हाँस्दै भन्छHappy father’s day Dad ! this is your son Pedro Luza. उसले त्यो एक हजार डलर पनि तिरि सकेको छ ।

 

अप्रिल ४, २०१२

Comments

Bhairab KC

यथार्थपरक मन छुने कथा लेख्नु हन्छ शिव सरले । पर–देशमा बसेर नेपाली भाषाकेा सेवा गरिरहनु भएकेा छ ।

Sundar Joshi

अमेरिकी परिबेशमा लेखिएको एउटा अति उत्कृस्ट कथा /
 नेपाली उखानहरु, थेगोहरु र यहाँको जीवन शैली बीच
 गजबको फ्युजन छ / पेद्रो एकदमै जीवन्त पात्र हो जसलाई
 मैले फ्लोरिडामा पनि भेटेको छु / कथाकारको कलम लाई सलाम छ र अब निरन्तर पढ्ने छु /

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |