हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

आत्मबोध

नरबहादुर दाहाल, (दार्जीलिङ)


अहिले म

पसारिएको छु....

यहाँ

शरशैय्यामाथि

निश्चल, निचेष्ट, निर्विकार

जीवन-संघर्षमा ।

 

छैन आज मेरो जीवनमा

उत्कर्ष ।

न छ कुनै

हर्ष -अमर्ष ।

लागेर बाण

आफ्नै आफन्तहरुको ।

इष्टमित्र

वन्धु-वान्धवहरूको

 

अपमान  लाञ्छना,

तिरस्कार

क्षोभ विक्षोभको ।

जर्जर छ देह यो

लागेर आघात ।

माया गर्नेहरूको

विश्वासघात ।

 

तर

अहिले म मर्दिन !

मलाई पनि छ

वरदान ,

स्व-इच्छा मृत्युको ।

भीष्मपितामह जस्तै

उत्तरायण पर्खिरहेको छु ।

यो जीवन कुरूक्षेत्रमा,

सोचिरहेछु

सुतेर यहाँ....,

चाहिएको छ

मलाई पनि अब

आफ्नो सिद्धान्तको

एक सबल प्रतिद्वन्दी ।

जसले

मेटाइदेओस मेरो प्यास ।

 

आस्था र विश्वासको

आशा र आकांक्षाको

श्रद्धा र प्यारको

अर्जुनले जस्तै

छेडेर बाण

यस पृथ्वीको गर्भबाट ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |