हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अपरिचित आँखाभित्रका परिचित पीडाहरु

कुमारी लामा, (हाल: बेलायत )

ती आँखाहरु किन यति निरस देखिन्छन् ?

म अचम्मित हुन्छु….

 

लाग्छ शताब्दियौं गडिएका असीम पीडाका छालहरु एकै पटक सुनामी उर्लिरहेछन् त्यहाँ । म निशब्द उभिइरहन्छु ती एक जोर आँखाका अघिल्तिर । मुक दर्शक म । भयभित भयभित छन् ती । असंख्य इक्षाका वा वितृष्णाका या भनौं असन्तोषरुपी आंधी एकैचोटि उर्लन्छन् । लाग्छ त्यो आंधी निकैबेर थामिने छैन ।

 

ती मौन र निरस नयनहरु निकै भयग्रस्त छन् । अग्लो पहाडको टुप्पोबाट तल हेर्दा लाग्ने कहाली जस्तै एउटा अनौठो त्रासले भरिएका छन् ती । अनन्त पीडा र निरसताको कुहिरो मडारिरहेकै बखतमा पनि केही हरिया मुनाहरु पलाउँदै छन् कि भन्ने आभाष हुन्छ अचानकै । जस्तो कि चट्टानी भूखण्डकै माझमा पनि मसिना भु्ईँझारहरु निरन्तर टाउको उठाउने क्रममा हुन्छन् । ती निरश आँखाहरु भित्रको मखमली संसारमा पनि अनगिन्ति आशाका मुहानहरु जरुवा झैं पलाउन उद्यत् होलान् ।

 

त्यसैले एक साँझ मेरो दैलोमा टुप्लुक्क आइपुग्छन् । म एउटा पुस्तकलाई विट मार्ने क्रममा आफ्नो मन मस्तिष्कलाई केन्द्रित गरिरहेको हुन्छु । अनि उनी एक अपरिचित भइकन पनि, परिचित जस्तै गरी मनका भावनाहरु भकाभक पोख्न थाल्छन् ।

 

उनी साँच्चै अपरिचित हुन् मेरा लागि । मेरा एक मित्रको हात समाई मित्रझैं भई मसंग एकाएक मनका खुलदुली साट्न पुग्छन् । उनी भित्र सयौं प्रश्नहरु सलबलाई रहेका हुँदाहुन् । अनि ती अनगिन्ति प्रश्नको जवाफ खोजिरहेका आखाहरु प्रश्नहरुमै रुमल्ईिरहेकै बखतमा उनी पक्क बोल्छन्ः

 

मेरो इच्छा के छ भनेर मेरो परिवारले कहिल्यै सोधेनन् । अनि मैलेपनि आफ्नो बिचार र अनुभुति कहिल्यै पोख्न सकिनँ उनीहरुको सामु

 

ओहो ।

कस्तो बिडम्बना । यस्तो पनि आइपर्ने रहेछ ।

 

ऊ र उनको परिवारको सोचाइ र बुझाइको दुरी सायद धेरै थियो । कति नमिठो अनि कष्टकर पनि । उनको परिवारलाई त छ छैन दुःख, तर उनी भने भयँकर पीरमा भएको आभाष पाएँ । उनी चाहँदैनथे क्यान्सरले अन्तिम अवस्थामा पु्र्याएका बुबाको इच्छालाई निमोठ्न । तर उनलाई उतिकै असह्य पीडाले छोप्दै थियो जब आफ्नो इच्छा र आकांक्षाको बली चढाएर उनी लण्डनतिर हानिँदै थिए ।

 

उनले आफुलाई हराएर भए पनि परिवारलाई जिताउन चाहे सायद । आफ्नो आँखाका आँसुहरुलाई परेलीमा सर्लक्कै सुकाएर परिवारको ओठमा मुस्कानका गोदावरीहरु फुलाउने प्रयत्न गरे । तर आफन्तीहरुकोलागी खुसीको थुँगे फुल फुलाउँदै गर्दा उनी आफु भने भित्र भित्रै प्राणहीनता महसुस गर्दै थिए । आफ्नो इच्छा र आकांक्षाबाट टाढा हुनु पर्दाको अस्तित्वहीनता र चारैतिर छाएको अन्धकार अनि चिसोपनले उनलाई सलक्कै निल्दै थियो ।

 

उनले आफ्नो मनमा बाल्यकालदेखि संगालेर राखेको चाहनाको गुराँसलाई एक पटक पनि फर्केर हेर्ने आंट गरेनन् त्यस बखत । उनको बिदेश हिडाइ संगसंगै उनका अनन्त रोजाई र आकांक्षाका खहरेहरु क्रमशः सुक्दै सुक्दै उच्चाट लाग्दो बलौटे बगरमा परिणत भए । त्यस पछि उनका ती एक जोर आंखाहरुमा कहिल्यै खुसीको सयपत्री फुल्न सकेन । वर्षौं पछिपनि उनले उस्तै प्राणहीनताको महसुस गरिरहेछन्, पारिको उजाड डांडा जस्तै ।

 

त्यो मनमा दन्किएको रापले उनलाई एकाएक घायल बनायो जब आफु हारेर जिताएको परिवार शोकमा चुर्लुम्मै डुब्न पुगे । क्यान्सरले बुबालाई उसको संसारमा लगेरै छाडेछ । उनले पीडा जति आफुलाई सारेर खुसी दिन खोजेकै थिए तर सकेनन् । ऊ चुक्यो कतै । त्यसैले त बुवाको अन्तिम अवस्थाको साक्षी हुन पाएनन् ।

 

अब ती नयनमा घामको पारीलो न्यानोपन कसरी अटाउन सक्छ र ? त्यस दिनको फोनको घण्टी ऊ कहिल्यै सम्झन चाहन्नन् । त्यही क्रुर फोनको घण्टीले उनलाई बुवाको मृत्युको खबर दिएको थियो । त्यो निद्रामै उठाएको फोनको खबरले ऊ यसरी झस्किएर ब्युँझियो कि त्यसदिन पछि ऊ कहिल्यै राम्ररी निदाउन सकेन ।

 

घटनाको दुई वर्षपछि उनी वासी सम्वेदना बाँड्न घर जांदैछन् तर उनको मन मस्तिष्क फेरि एक पटक दोधारको भुमरिमा परेको छ । घर जान पाउनुको खुसीमा उमंगले उफ्रिनु कि बुबाको सम्झनामा एकान्तमा श्रद्धाका आँसुहरु खसाउनु । यी कुराहरुले उनलाई भित्रैबाट चिस्याएको छ अमिल्याएको छ ।

 

त्यसैले आजकल उनी अर्थहीन दिनहरु बिताउँदै छन् बिना कुनै उत्साह र उमंग । मेरा सामु उनले पोखेका एक एक इमान्दार शब्दहरु म केलाउँदै छु । म त्यहाँ जीवन कम र जीवनप्रतिको वितृष्णा बढि पढी भेट्छु । सायद उनी भित्रभित्रै बेस्सरी कोपरिएका छन् अनगिन्ति पीडारुपी नंग्राहरुबाट अनि रगतपक्ष भएका छन् भित्र भित्रै । जब कसै गर्दा पनि उनी त्यो पीडाको निरन्तरतालाई रोक्न सक्दैनन् अनि फेरि एकपटक पुनः मेरा सामु झुल्किन्छन् र भन्छन्ः

 

पहिला उनीहरुले मलाई बुझेनन्, अब सायद म उनीहरुलाई नबुझुँला

 

उनका यी भावनाहरुले असंख्य असन्तोषका तापहरु ओकल्दै छन् । मध्यरातसम्म गर्नु पर्ने रेष्टुरेण्टको जागिरबाट थकाइले चूर भएर फर्कैदै गर्दा जब अन्तिम ट्रेन पनि छुटेर सुनसान सडकमा भौतारिदै घण्टौँ बसको प्रतिक्षा गरेर उनी लस्त हुन्छन्, सायद त्यस बखत यी असन्तोषका झिल्काहरु डढेलो भएर हृदयभरि फैलँदो होला । त्यो पीडाकै बेलामा पनि उनी एक पटक आफ्नै घरको त्यो सानो, फोहोरी तर न्यानो कोठाको सम्मmनाले निकै बेर पिरोलिँदा हुन् ।

 

प्रत्येक पटक जब उनी यसरी नै एक्लोपनले, थकाइले अनि रातको सुनसानले भयग्रस्त हुन्छन् तब मेहेन्दोले देख्ने सेतो उर्गेनका घोडाहरु जस्तै घरपरिवारका मुहारहरु झल्याक झुलुक उनका ती थकित आँखाहरु अघिल्तिर आइ पुग्दा हुन् । त्यो खाली बसमा एक्लै घर फर्किदै गर्दा तन्द्राकै अवस्थामा पनि ऊ धेरै पटक झस्किन्छन् सायद । प्रत्येक झस्काइसंगसंगै उनका नयनहरुमा पीडाका लहरहरु पुषको हुस्सु झैं डम्म ढाकिन्छ, संसार चूक अन्धकारमा बद्लिन्छ अनि उनको छातीभित्र कतै चसक्क हुन्छ ।

 

परिवारको खुसी र आफ्नो दुःख, उनीहरुको जीत र आफ्नो हारको सम्झनाको भुमरिमा उनको दिमाग सल्बलाउन थाल्छन् । तब एक जटिल प्रश्न उनको सामु खडा हुन्छ ।

 

               परिवारको जीतकोलागि मैले स्विकारिदिएको हारको औचित्य के रह्यो त अब?”

 

उनको मस्तिष्कका नसा नसामा यी हार जीत, खुसी र दुःखका लहरहरु निरन्तर दैडिरहन्छन् । उनी निष्कर्षमा पुग्न सक्दैनन् । दिमाग रन्थनिँदै गर्दा एमी ह्वाइनहाउसको ब्याक टु दी ब्ल्याक बीस पटक सुन्छन् अनि दुई पेग ह्विस्की पनि निल्छन् ।

 

केही बेर पछि मनमा उम्लेको लाभा अलि शान्त भएको महसुस गर्छन । रातको अथवा भनौं अर्को दिनको बिहानको चार बजिसक्छ तर उनका ती थकित आंखाहरु झन् झन् चनाखो भएर ठुलठुला हुँदै जान्छन् । अर्को दिनको जागिरमा हाजिर हुन छ घण्टा मात्रै बांकी रहन्छ तर ऊ एक पटक पनि झ्याप्प निदाउन सक्दैनन् ।

 

थकाइको चरम सीमा पनि नाघिसक्यो उनको निरिह शरीरले । उनी अझै पनि त्यही हार र जीतको पुच्छर समाएर दिमागी दौडाइमा दौडिरहेकै हुन्छन् । एउटा पीडादायी सत्यको त्यान्द्रामा झुन्डिरहन्छन् ।

 

धेरै बेरको मानसिक लडाईँ पछि उनलाई शरीरको थकाई र मनको बोझले एकै पटक थिच्छ । उनी अर्धचेतन अवस्थामा फड्किन्छन् । त्यस बेला उनी एउटा मखमली संसारमा पुग्छन् जहाँ आफुलाई हरियो मुलायम दुबोको बिशाल चरनमा पल्टिएर छ्याँग उघ्रिएको नीलो आकाशलाई निह्याल्दै गरेको पाउंछन् । यस बखत उनी केही पनि सम्झँदैनन्, न हार जीतको तीखो प्रहार, न थकाइ र अन्धकारको नमिठो अनुभव । उनी भुवा सरि हलुका हुन्छन् ।

 

निकै अन्तरालपछि एक साँझ फेरि ती अपरिचित आँखाहरुभित्र परिचित पीडाहरु बोकी उनी मेरो दैलोमा टुप्लुक्क आइपुग्छन् । 

 

 

Comments

prakash sayami

Such a wonderful article by Kumari Lama. I like it very much . thanks Basu ji 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |