हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

पुस्तकको खोल व्यापार

प्रकाश सायमी , (गोधुली संसार)


 “डन्ट् जज् अ बुक बाइ इट्स कभर । ”
एउटा राम्रो पुस्तकलाई त्यसको खोलको आधारमा नहेर्नुस् भन्ने यो उक्ति निकै पुरानो भए पनि अहिलेको बजारमा आवरण बाहेक पुस्तकको चर्चा, विज्ञापन अनि लेखकको उपस्थिति र वैभवले पुस्तकको बजार बनाउँछ ।
आजभोलि विज्ञापनको भाषामा कुन पुस्तक राम्रो कुन नराम्रो देख्ने मायोपिक संस्कार शुरु भएको छ ।
विज्ञापनले अर्कै भाषा बोल्छ, साहित्यमा जुन चीजको सामयिक महत्व छैन वा त्यो अलि बिकाऊ छ भने त्यसले अलि प्रख्य स्वरमा बजार खोज्छ । चलचित्र बन्नु अगि वा त्यसभन्दा केही दशक अगाडि जब छापामा विज्ञापनको स्वरुप देखियो त्यो निकै प्रहास्यक थियो ।
आज विज्ञापन नयाँ स्वर र शैलीमा स्पष्ट हुँदै आएको छ , आज कुनै गाडी बेच्नु पर्यो भने त्यो गाडीको उच्चता वा गुणको चर्चासँगै छेवमा कुनै सुन्दरी स्त्री वा उनको शरीरसित जोडेर भाषाको प्रयोग गरिन्छ । गतवर्षको विज्ञापनको जोडतोडमा कुनै राम्रो कारको विज्ञापन गरिँदा त्यो गाडीको सीट, सीटमा प्रयोग गरिएको छालाको तुलना कुनै सुन्दरी स्त्रीको अनुहार, शरीर वा त्वचासित तुलना गर्दै पाश्र्वभूमिमा लेखिएको पाइन्थ्यो । र, त्यसकारण कार वा सम्पन्नताको प्रतीकसित मोडलको रुपमा महिलाको प्रयोग यसरी बढ्दै आयो । जबकि मानवीय जीवनको शुरुवातमा कुनै महिलाको विवाह कसैसित गरिदिनु पर्दा , त्यो महिलालाई गोरुगाडा वा अन्य सामानसहित उभ्याएर देखाइन्थ्यो जसलाई पूर्वीय मुलुकमा दाइजो वा दहेज बन्न पुग्यो, अरबी मुलुकतिर खुली खुल्हाको परम्परा अझै जारी छ ।
अब यही परम्परा पुस्तक लेखन र प्रकाशन अनि विक्रीवितरणको यो भयावह प्रतिस्पर्धामा पनि देखा परेको छ । आफ्नो मातृभाषा छोडेर अँग्रेजी भाषामा  पुस्तक लेख्ने कुनै लेखकलाई पश्चिमीया बजारमा चिनाउन पर्यो भने पश्चिमी जगततिर नाम कमाएका कुनै लेखक, समालोचक वा सम्पादकले उनका वारेमा शक्तिस्वरुपको रुपमा केही पंक्ति लेखेर अघिल्लो पृष्ठमा टाँसिदिने चलन आजकाल व्याप्त छ ।
त्यो टाँस ले लेखको व्वक्तित्व मा एक्कासी चार चाँद लगाइदिने र उनको छवि निरुपण अर्कै स्तरमा हुने परम्परा बढको छ । उदाहरणका लागि अफगानिस्तानका लेखक खालेद हुस्सेनीलाई प्रस्तुत गर्ने इशावेली अल्दानी हुन् वा झुम्पा लाहिरीलाई चिनाउने जोन उपाडाइक् । यिनकै शब्दका आधारमा प्रकाशकले किताब छाप्ने र पाठकले लेखकलाई पुज्ने चलन आजकाल बढ्दो छ ।
यो परम्परा उन्नाइसौँ शताब्दीको शुरुवाततिरबाट देख्न सकिन्छ, भारतवर्षका चर्चित कवि रबीन्द्रनाथ ठाकुर नोबेल पुरस्कार पाउनु अगि पनि कविता लेख्ने र कविता, कथा उपन्यासकै कारण जनस्थानमा स्थापित  थिए तर उनको खास्सा परिचय बनिसकेको थिएन, भन्ने बुझिन्छ ।
ठाकुरकै समकालीन लेखक शरत्चन्द्र त्यससमय अत्यधिक चर्चित र प्रशंसित थिए, बँगाली समाजमा । देवदास, शेष प्रश्न, परिणीता का कारण बँगाली पाठकका पाक सामग्री बन्न पुगेका शरत्चन्द्रका पुस्तक बजारमा आउन लागको हल्ला चल्ने वित्तिकै बजारमा लाइन, र हुलदंगा शुरु भइसक्थ्यो ।
यस्तै एउटा पुस्तक प्रकाशन पूर्वसन्ध्यामा यिनको पुस्तक पाइने पसलमा लाठी चार्ज भइरहेको वेला यिनी अर्को सुनसान पसलमा एउटा किताब किन्न घन्टौँ पर्खिरहेका थिए, पसलेको अनुपस्थिति भएर । त्यतिवेला कुनै पाठकले उनलाई प्रेमपूर्वक सोधे, “शरत्बाबु यो के हो ? उहाँ अर्को पसलमा तपाइँको किताब नपाएर मान्छे लाठी खाइरहेका छन् तपाइँ चैँ यहाँ एक्लै ? यो  सुनसान पसलमा ?”
“म पनि यहाँ किताब किन्न नै आएको हुँ , मित्र । ”
तपाइँको किताब त यहाँ पाइन्न नि ... उनले जिस्काए शरत्चन्द्रलाई  ।
शरत्चन्द्रले मधुर हाँसोमा भने, म तिनको लागि लेख्छु तर मेरो  लागि लेख्ने अरु कोही छ , रबीबाबू ।
यो उत्तरले बजारको त्यो दारुण चित्रलाई दर्शाउँछ जहाँ रबीन्द्रनाथ ठाकुर पाठकका निम्ति अभेग थिए । तिनै रबीन्द्रनाथ ठाकुरलाई नोबेल पुरस्कारको सिँढीसम्म पुर्याउन विलियम् बट्लर यिट्सको भूमिका र पुस्तकको उचित चर्चा कारण बन्न पुग्यो यद्यपि नोबेल पुरस्कार पाउने आठवर्षअगि सम्म पनि उनी पश्चिमी जगत्मा फर्निचर कवि भनेर तिरस्कार गरिएको उनीसँगै मञ्चमा कविता पढ्ने कवि खार्खे लुई बोर्खेस्ले आफ्नो अनुभवमा शेयर गरेका छन् ।
भाषा र भावको भव्यता भए पनि आजकाल कुनै कृतिको भविता या त कुनै समालोचकले या त कुनै स्थापित अखबारको पानाले मात्र पुष्टि गर्न सक्छ ।  समालोचकको कुनै शक्तिशाली झुन्डले नराम्रो पुस्तकलाई पनि उचालेर पुजनीय र पठनीय बनाइदिने हो भने त्यसले तत्कालै बजार पाउन सक्छ र त्यो बिक्छ पनि । त्यस्ता लेखकलाई पट्ब्वाइलर भन्ने चलन अद्यापि छँदैछ तर त्यसले बनाएको र विगारेको बजारलाई सुधार्न राम्रा लेखक वा स्रष्टालाई वर्षौँ लाग्न सक्छ ।
समालोचक वा पत्रकारले बनाएको कृतिप्रति अवधारणा बाहेक कृतिलाई विगार्ने अर्को पाटो हो, पुरस्कार । पुरस्कार प्रायः विश्व बजारमै पाउनु पर्नेले नपाएर नपाउनु पर्नेले पाएको अनि पाएपछि लेखकको लेखकीय जिन्दगी ध्वस्तन्यस्त भएको पाइन्छ ।
पुरस्कारलाई सदैव पश्चिमीया जगतले तीन शब्दले गुँथेको र भँज्याएको पाइन्छ, मेकिँग, जजिँग र फेकिँग ।
मेकिङ्ग अर्थात् हल्लाको खेती.. पुस्तक आउनु अगि नै लेखक र कृतिका वारेमा व्यापक चर्चा परिचर्चा । पत्रपत्रिकामा पुस्तकको अँशप्रकाशन र तहल्काको तयारी । जजिङ्ग अर्थात् निर्णायक पहल । पुस्तक पुरस्कारका लागि सिफारिश, दलबन्दी सहकार्य, अन्तरक्रिया अनि पुस्तक हस्ताक्षर कार्यक्रम । सम्भव भएसम्मका ठूल्ठूला हल्ला (सबैभन्दा बढी विक्री । पहिलो महिनामै दोस्रो संस्करण । सबैभन्दा बढी कृतिश्व पाउने लेखक ) यस्ता चर्चा परिचर्चाले पाठकको दैनिक जीवनसित यसले व्यर्थमा सरोकार राख्न थाल्छ । लेखक खोजेर पढ्न नसक्ने र आफ्नो अध्ययन अनि रुचिको विषयप्रति अज्ञानता भएका पाठक यही छापा, अखबार र स्रोतब्य माध्यमका भरमा पुस्तकको खोजीमा स्टल तानिन्छन् ।
फेकिङ्ग अर्थात् छल र फलको खेल । पंक्तिकार यसलाई छल र  कपटको माध्यमबाट फल अर्थात् फल  सम्म पुग्ने अस्त्र ठान्छन् । फेक अर्थात् आधारहीन चर्चा र विवादोत्तेजक विषयका आधारमा पुरस्कार पाइसकेपछि यसले राम्रो लेखकलाई त वर्षौँ पछि धकेल्छ तर त्यसबाहेक पुस्तक संस्कृतिमा रुचि भएका पाठकको बौद्धिकतामा विराम लगाइदिन्छ ।
अहिले नेपाली पाठक पनि यस किसिमका कर्पोरेट संस्कृति र सेन्डिकेटबाट प्रभावित भएका छन् , टीशर्ट, क्याप, वा पुरस्कारको लोगो झुन्डिएको कृतिले लेखकको मानमर्दन एकातिर गरेको छ भने त्यो उँचाइनभएको लेखक पुरस्कारको वैशाखीमा बुँख्याचा भएर ठीँग उभिएको स्पष्ट देखिन्छ, जसलाई पब्लिसिटी स्टन्ट भनिने त्यो रोगले लेखकलाई जीवनकालमै एउटै कृतिले थन्काइदिएको धेरै इतिहास हामी समक्ष छ । झुम्पा लाहिरी र किरण देसाई सँगै अँग्रेजी आख्यान लेखनमा आएकी अरुन्धती रायलाई द गड अफ् स्मल थिँग नामक् उपन्यासले  रातारात जुन स्थूलता दियो त्यसलाई तिनी स्वयँले थाम्न सकिनन् र बाँकी जीवन त्यही कृतिको व्याज खाएर विताउनु पर्यो । यद्यपि कुनै नेता, डाँकू, व्यापारी वा प्रशासकका जीवनी वा आत्मकथा पनि यस किसिमले चर्चामा आउने र सेलाउने गरेको प्रशस्त इतिहास हाम्रा सामू अझै पनि छ ।
वर्षौँ साहित्य साधना गरेर, लेखेर पाठकको मनोबलसित इमान्दारी निर्वाह गर्दै आएको  एउटा लेखकलाई हराउन कुनै वेश्यावृत्तिको जीवन विताएकी महिला वा कुनै क्यासिनो लुटेका लुटेराको कथाले प्रभाव पार्न सक्छ तर त्यो कृतिको कालान्तरमा प्रभाव र त्यसले पार्ने पाठकीय दुर्दशा प्रति पत्रकार समालोचक सजग हुन जरुरी छ ।
अब अहिलको बजारमा लेखक बाहेक मैदानमा सबै साम, दाम, दण्ड, भेद प्रयोग गरेर प्रकाशक देखा परेको छ । प्रकाशकले पाठकसित लेखकलाई पनि घोड दौडमा दौडाउन थालेका छन् , को लेखक को भन्दा कति अगि कति पछाडि ? यस्ता काउन्टडाउनमा लेखक विस्तारै विस्तारै फँस्न थालेका छन्, लेखकको सम्बन्ध अब टीभी, अखबार, पुस्तक विक्रेता, फोटोग्राफरसित एउटा व्यापारीको  जस्तो समन्वयकारी, मिलनसार व्यापारमुखी हुन जरुरी हुँदै गएको छ ।
अब लेखक वा कृतिकार कर्पोरेट जगतको चक्रव्यूहमा फँस्न थालको छ । कर्पोरेट जगत मुख्यतः मुनाफा र बजारको भाषामा सोच्दछ, सामाजिक हित र जनकल्याणकारी भाषामा होइन । कर्पोरेट सेक्टर आफ्नो सामाजिक दायित्वलाई अलिक पनि सावसचेत भएको इतिहास पाइँदैन ।
एउटा पुस्तकको विमोचन पाँचतारे होटलमा हुनु, सबै दलका नेता र सबै च्यानलका क्यामेरा भेला पारेर भीड –(मसफर शो ) देखाएर लेखकप्रियता प्रति पाठकलाई दोधारमा पार्नु अनि पूर्ववर्ती लेखकको इतिहासलाई धज्जी उडाएर नयाँ कीर्तिमान कायम गर्नु, विश्वविद्यालयका डा झुन्ड्याएका प्राध्यापकले एकपटक पढ्नै पर्ने किताब भनिदिएपछि त्यसैको अंशग्रहण गरेर अखबारले हेडलाइन वा कभर अप बनाइनु, अनि पुस्तकको चर्चा परिचर्चाका निम्ति अखबार मा क्रसवर्ड (कोठेपद), प्रश्नोत्तर, वा पुस्तकवार्तामा त्यस्ता प्रसँग बारम्बार दोहोर्यारहनुले लेखक एक सर्जक हुन् कि सेल्सम्यानको नयाँ अवतार, खुट्याउन गाह्रो हुँदै  गएको छ ।
सयौँ, हजारौँ वा लाखौँ पटक यसो भनिएको पाइन्छ, डन्ट् जज् अ बुक बाइ इट्स कभर । ”
कुनै किताबलाई त्यसको आवरणको सुन्दरताको भरमा  निक्र्यौल नगर्नुहोस् भनिए पनि बजारमा सँधै किताब –(गुदी) नभएका आवरणहरुको व्याप्त छन् । अहिले नेपाली पुस्तकका वारेमा पनि त्यसै भनिन थालिएको छ, नेपाली किताब पनि आजकाल खोल त निक्कै राम्रा देखिन थालेका छन् । यस्तै खोलले किताबको क्षमताको निक्र्यौल गर्ने हो भने भोलि हामी किताबको संकलन होइन, खोलको संकलन गर्ने पाठक हुनेछौँ ।
भर्खरै भूँइफूलको देश नामक् पुस्तकको आवरणका वारेमा उपन्यासकार पिटर जे काथकले यस्तो टिप्पणी राखेका थिए, भूँइफूलको देश भनेको यी महिला हो ? ई महिला नै हुन् भने यो कथा के नारीको रुपको वारेमा हो र ? यदि होइन यी महिला लेखक शारदा शर्मा हुन् भने के यिनको आत्मकथा हो र ? ”
यस प्रश्नले पाठकीय मनोदशालाई भित्रैदेखि झक्झकाएको देखिन्छ । सलमान रुश्दीको मिड्नाइट्स चिल्ड्रेन वेलायती संस्करण पहिलो पटक सार्वजनिक हुँदा  डस्टी ज्याकेट (चित्रविहीन)मा आएको थियो, यसैका कारणले सलमान रुश्दी आज पनि चिनिन्छन् । नेपाली निबन्ध साहित्यमा शिखर चुम्न सफल किताब एब्स्ट्र्याक्ट चिन्तन प्याज मा कुनै चित्र वा कला नै  थिएन । ज्याँ पल् सात्र्रको द वर्डस् वा अल्वेयर क्यामूको द स्त्रेन्जर मा कुनै झकिझकाउ नै थिएन । आजसम्म चर्चाको शिखरमा रहेको जे डी स्यालिन्जरको क्याचर इन द राई अझै पनि विना झकिझकाउ बजारमा छाएको देखिन्छ, यसले सदैव किताबको गुण, गरिमा र अस्तित्वलाई कायमै राखेको छ ।
छल, फल र खेलले चर्चामा आएका पुस्तक केही समयपछि इतिहासको गर्तमा यसरी पुरिन्छ, त्यो कुनै किताब थियो भन्ने पनि मान्छेलाइै थाहा हुँदैन । प्रकाशकको दौडमा यसरी लेखक दौड्न थाल्ने हो भने कुनै दिन त्यो प्रकाशकले आफ्नो साइनबोर्ड फेरेको दिन लेखकले फेरि आफ्नो अस्तित्वको अर्को सत्ता खेल्नुपर्ने हुन्छ । बजार र विज्ञापनको भाषामा लेखक यति एक्लो हुन्छ कि कुनै सभा, सेमिनार वा संगोष्ठिमा त्यो लेखकको नाम कसैले लिएमा पनि ऊ झसँग हुनुपर्ने हुन्छ ।
त्यो झसँग हुने लेखक बन्नबाट सुरक्षित हुने एउटै बाटो छ, चकाचौँधको दुनियाबाट टाढा रहेर स्वस्थ साहित्य सिर्जना गर्ने । डेविड म्याक्फेले भनेका छन्, लेखकको दुश्मनको भनेको ठूलो हल्ला खल्ला र चर्चा हो । लेखक एकान्तको सम्प्रति हो ।
लेखक कृतिको भरमा बाँच्ने हो, चर्चामा होइन । राम्रो लेखक एउटै कृतिले जीवन पर्यन्त बाँचकै हुन्छ । पुष्कर शम्सेर रणेको परिवन्दले जसरी  चिनिन्छन् भूपीलाई घुम्ने मेचमाथि अन्धो मान्छेले । गुरुप्रसाद मैनालीलाई नासोले चिने जस्तै पारिजातलाई शिरीषको फूल बाहेक अरुले  चिनाउनै परको छैन आज पर्यन्त । तर हत्केलामा गन्न नसकिने किताब लेख्ने लेखक सय वर्ष पुगिसक्दा पनि उनका छोरा छोरीले शतवार्षिकी कार्यक्रम गर्दा मात्र  चिनिने अवस्था यो समाजमा छ ।
लेखकलाई वंशले होइन, कृतिले बचाउनुपर्छ ।

Comments

kishan sangit

पुरस्कारलाई सदैव पश्चिमीया जगतले तीन शब्दले गुँथेको र भँज्याएको पाइन्छ, मेकिँग, जजिँग र फेकिँग । 
Ho yesai gari aahile prakasan bhayeka book haru le pani cover ko bussiness lai nikkai importans diyeko dekhiye ko 6. yo mansikta ra bimar kahile samma jane ho kunni ? 
Ktm bata lamjung aauda tapai sanga yo subject ma lamo kura vayo dai, yo trend bastab ma sarai dikka lagdo 6 k.

Asafal Gautam ji lai dhanyabaad pratikriya ko nimti 

prakash sayami

Thank you Asfal Gautam ji and thanks for publishing Bashu ji 

ashafalgautam

दाजु वर्तमान वास्तविकताको नुतन बनेर निस्केको छ यो लेख 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |