गजल
अमृत सुबेदी , (पोखरा)
कोही आयो पेट भरी खाएर गयो
अनि मेरो कमजोरी वताएर गयो
अभाव देख्यो मेरो विबशता देख्यो
आफु हाँस्यो र दुनियाँ हँसाएर गयो
भोकले रोएरै निदाएका नानीहरुलाई
नारा जुलुस आयो र ब्युँझाएर गयो
बन्दुक थमायो, निशाना देखायो र
मेरा आँखामा पट्टी लगाएर गयो
योजना अनुसार उसले केही गरेन
मात्र कागजका चित्र बनाएर गयो
कोही मान्छे हाम्रो हुनु भन्दा पहिले
छिमेकीले पो सबै पाठ पढाएर गयो
मान्छे सानो ठूलो कोही हुँदैन हजुर
मालिकलाई मजदूरले सम्झाएर गयो
परदेसिनु पहिले एक जवानले हिजो
के सोच्यो र नागरिकता जलाएर गयो ?
आगो समाऊ भोजन मिल्छ भन्यो
विचरा त्यो गरिब पत्याएर गयो
कसका निम्ती नाङ्गो पैताला आएथ्यो
जाँदा वाटोभरी गुराँस बिछ्याएर गयो