हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

फरवाडेड म्यासेज

रामहरि पौड्याल, (भरतपुर १२/१९३, चितवन)


चम्किला बत्तीहरुको झिलिमिली प्रकाशमा उज्ज्यलिएको छ वातावरण | शहरका हरेक चोक र गल्लीहरु क्रिसमस ट्री र तिनमा सजाईएका रंगिन बत्तिहरुसंगै टलकिएका छन् | शहर सजिएको छ आधुनिक फेशन र ग्ल्यामरको केन्द्र बनेर | सपिंग मलहरु, डिपार्टमेन्ट स्टोरहरू खचाखच भरिएका छन् तन्नेरी ग्राहकहरुको क्रिसमस क्रेजसंगै | तिनका उत्साहलाई बतावरणको हिमाच्छादित धर्ती प्रतिकूल देखिदैन | माइनस पांचको चीसोले क्रिश्मस सपिंगको भिडलाई रोक्न छेक्न सकेको छैन | सबैखाले सपिंग मलहरु वातानुकुलित तातोसंगै स्वागतातुर देखिन्छन आफ्ना ग्राहकहरुको सेवामा |

युरोप पश्चिमाहरुको सभ्यता र संस्कृतिको नमूना | बिकाश, निर्माण र मानवीय प्रगतिको चरमोत्त्कर्ष | लण्डन वोर्ल्ड क्यापिटल | सिटि व्हीच नेभर स्लिप | फरक छैन दिन हो की रात ? मान्छेहरुका समुन्द्र र तिनका ब्यस्ततम दैनन्दिनी | फराकिला बाटाहरु, सलल बग्ने कारहरुका लामा लामा लाईनहरु, तिनले फाल्ने उज्ज्याला बत्तिहरुको चम्काई मानौ स्वर्गतिरको दिब्य यात्राझैँ लाग्दछ | हो ! यही दिब्य यात्राको लस्करमा लामबध्द संसार भरका इमिग्र्यान्टहरु | काले,गोरे, गहुँ गोरे, अग्ला, होचा संसारका सबै खाले मान्छेलाई देख्न र बुझ्न पाइन्छ एकै थलोमा |

बेलायतको ब्यस्त बास्तबिकतामा मन फुकाएर घुम्ने, फिर्ने समय निकाल्ने भनेको यस्तै क्रिसमस, न्यु इयरको लामो छुट्टीमा हो | साथीभाइहरुसंग भेट घाट, रमाइलो ठाउको दृश्यावलोकन |  सबैको कार्य सुचिमा यतिखेरै जुर्दछ | मैले पनि यस्तै रंगिन सपना साँचेथे रमाइलो गरि बिदा मनाउने | दिनहरुको उत्सुकतापूर्ण पर्खाई रमाईला दिनहरुका नजिकिदै थिए |

एकदिन कामबाट फर्के पछि मैले आफ्नो इमेल चेक गरें लापटपमा | मेरा बिस्थारित नजरहरु टक्क एउटा इमेलको फरवाडेड म्यासेजमा गएर अडिए | ‘’ हेल्प नेप्लिज वुमन सेभ हर लाइफ, ब्रिंग ब्याक दि स्माइल अन हर किड्स |’’ कैलेकाइ नियति किन यति बिघ्न कृतघ्न भइदिन्छ एउटी होनहार फूलका बिरुद्ध ? तिनका आश्रीत ससाना नालाबालाका बिरुद्ध ?? बिचरी ३१ बर्षकी ऊ मृत्यसंग लडिरहेकी छ, हात फैलाई रहेकी छ सहयोगको थापेर भीख जीवनको | एकातिर रक्त क्यान्सरको प्राणघातक महारोग, अर्कातिर तीन तीनवटा कलिला सन्तानहरुका बाच्ने तीब्र जीवनेक्षा र बीचमा असाहाय ऊ | आधुनिक चिकित्सा बिज्ञानले जति प्रगति गरेको भएपनि गरीब अबलाहरुले सस्तो मूल्यमा मुकुक भित्रै बोन म्यारो ट्रान्सप्लान्टको सुबिधा कहिले पाउलान ? मिर्गौलाको सस्तो र सुलभ प्रत्यारोपण स्वदेश भित्रै कहिले होला ?? मेरा भावनात्मक जिज्ञासाहरुको उपक्रम |

विरहि कथाले तुरुन्त द्रवित मलाई श्रीमतीले साथ दिन्छिन् | ‘एक थुकी सुकी, हजार थुकी नदी |’ सहयोग न हो कसैको सानो सहयोगले एउटी होनहार युवतीको जीवन बाँच्दछ भने | १०/२० पाऊण्ड भगवानका नाममा यो फेस्टिव सिजनमा सबैले दिदिए बिचरीको जीवन बचाउन सकिने थियो | कलिला नानीहरुले अल्पायुमै आमाको मायाबाट टाढिनु पर्ने थिएन | हामी दम्पती यहि कल्पिदै सबैलाई इमेल फरवाड गर्यौं | सम्पूर्ण इस्टमित्र, साथी संगाती सबैलाई सहयोगको अनुरोध गर्यौं | धन्य छ प्रविधि इमेल इन्टरनेटको क्षण भरमै हाम्रा अनुरोधहरू सम्प्रेषित भए ग्लोब भरि | वेबपेज सहित बिचरिका तीन तीन लालावालाहरुको तस्बिर, डाक्टरी सिफारिस सहितको प्रतिलिपि संग्लग्न हाम्रो फरवाडेड म्यासेजले कसो मान्छेहरुको मन नछोला र ?

बेलायतमा पनि नेपालीहरुको संख्या ह्वात्तै बढेको छ आजभोलि | पूर्व गोर्खा आर्मीहरुले स्थाई रुपमा बेलायत बस्न पाउने नियम बनेपछि नेपालीहरुको संख्यापनि लाखबाट माथि पुगिसकेको अनुमान गर्दैछन् | यतिधेरै नेपालीहरुको महासागरमा मात्र केहि सयले दस/बीस पाउण्ड क्रिस्मस र न्यु इयरको नाममा हाम्रो झोलीमा हाली दिए ती अभागी बैनीलाई बचाउन र तिनका सन्तानलाई अल्पायुमै मातृ वियोगको पिडाबाट बचाउन सकिन्थ्यो | सम्भाब्य सहयोगका अनुमानमा हामी दम्पतीका दिनहरु कौतुहल्तापूर्ण रहे | हामीले आफ्ना घुम्ने फिर्ने कार्यक्रमहरु स्थगन गर्यौं तत्कालिक | मैले त्यो बिदा भरि ड्रिंक नगर्ने संकल्प गरे |  हामी मानवीय अभियानमा जुटी रह्यौं |

क्रिश्मस र निउ इयर शुभकामना आदन प्रदानको बाढीको समय | मोबाइल फोन, इमेलले कति सजिलो बनाइदिएको छ दुनियालाई | एउटै टेक्स्ट म्यासेज, एउटै इमेल फर्वाड गर्दियो सबैलाई कति सजिलो ? सयौं टेक्स्ट म्यासेज आउने हामीलाई यो साल गजब भयो एउटै म्यासेज आएन मेरी क्रिसमसको, हेप्पी निउ इयरको | कसैलाई फोन गर्यो भेटै हुदैन, सबै तर्किन्छन पर पर |

‘’ हैन मेनुका के भो यस्तो अचम्म ?’

‘पख्नुस हइ म ट्रीक गर्छु | ‘ उनले मोबाइल समातिन् र सेटिंग मिलाईन् हाम्रो नम्बर डिस्प्ले नहुने गरि | अनि तम्सिन मोबाइल घुमाउन |

‘’हेलो भाउजु पो अर्कैको भनेर उठाएको आइडी डिस्प्ले नदेखेर |’’

बिजी छौ काममा ........

क्रिश्मसमा पनि काम?.......

........................

खै के हो ??

सधै अनलाइन हुनेहरु एपियर अफ लाइन भै दिन्छन् हामीलाई अनलाईन् देखे पछि | हामी दम्पती आजित भइयो अचानक सबै साथी संगातीहरुमा देखेएको यो अस्वाभाविक परिवर्तनले | मनभरि ग्लानी भो यसरी सबैलाई चिडाउनु पर्दा | के यी सबै व्यवहारको एउटै कारण त्यहि सहयोगको लागि प्रेषित फरवाडेड इमेल म्यासेज नै थियो त ? हाम्रा मनमा साथीभाइहरुका यी अनपेक्षित रहस्यमयी व्यवहार एउटा जटिल प्रश्न बनेर घुमि रहेछ, घुमि रहेछ |

‘‘राजनीतिक स्वार्थकालागि, नेताहरुलाई खुसि पार्नाकालागी, बियर ककटेल पार्टीकालागि हामीहरु कति पैसा उठाउछौ ? बिशुद्ध मानवीय जीवन रक्षा त्यो पनि एउटी तीन तीन सन्तानकी आमा अल्पायुमा रक्त क्यान्सरको कारणले मर्दै छ तर देश भित्रै कुनै उपचार छैन | भगवानकै अनुकम्पाले बेलायत आउने सौभाग्य, पाउण्ड कमाउने अहोभाग्य पाएका हामीहरु किन १०/२० पाउण्ड दान गरेर भगवानप्रति धन्यबाद टक्र्याउने अबसर गुमाउछौ ?’’ विरक्तिएका मेरा मन भरी यस्तै यस्तै भावनाहरु खेल्न थाले  | आर्थिक सहयोगका लागि अनुरोध गर्दा गर्दै थाकेका मेरा हातहरु | कसैको जीवन रक्षाकालागि लागिपरेका मेरा आस्थाहरु |

मान्छेहरुको पहिचान दुखमै हुदो रहेछ | यति ठूलो ब्रमाण्डमा कति धेरै मान्छेहरु ? तथापि अर्काको दुखलाई पनि आफ्नै परिवारको मान्छेजस्तै ठान्ने पनि देखिए र  देखिए बाल नदिने पाषाण हृदयी पनि | चन्दा माग्ने काम जीवनमै गर्न नपरोस कसैलाई | कायल भइयो हामी दम्पती | आफन्त र चिनेजानेका भन्दा नचिनेका अजनबीहरुले हाम्रो अभियानलाई यति साथ दिए की तिनका गुणलाई जीवनमै शायद तिरेर सकिएला | हामीले तिनलाई साचो भगवान ठानेका छौ जसले हाम्री बैनी चुनुको जीवन रक्षाकालागि मागिएको झोलीमा सप्रेम सहयोग गरे | दानबीर कर्णरुपी भवानी मनहरु भएका डाक्टरहरु भेटिए, अजस्र मनका धनी दिलै देखि रोशन बलेका पनि देखिए | ठूला ठूला राजनीतिक कुरा गर्ने र आपद परेर गुहार्दा सूको नझार्ने महान नेताहरु बग्रेल्ती भेटिए | जेहोस परदेशी भूमिमा एउटी चेलीलाई बचाउनकालागि गरिएको हाम्रो कदमलाई साथ दिने सबै सबैलाई दिल देखि हाम्रो हार्दिक अभिबादन | यस्ता सहयोगी भावनाहरु सदै रहिरहोस सबै सामु | बचाउन सकियोस सबै मिलेर दुखमा परेकाहरुलाई | मर्नु नपरोस कसैले ससानो सहयोगको अभावमा | आमाहरु नगुमाउन ससाना नानीहरुले अल्पायुमै | चेलीबेटीहरु बुवा दाजुहरु, काका मामाहरु सबैलाई बचाउन सकियोस | यस्ता दैबी बिपती र रोग महारोगसंग लड्न एउटा राष्ट्रिय कोष स्थापना गर्न सके बेलैमा सबैले गछे अनुसारको दान अभियानको महासन्देश र महापुराण समयमै लगाउनु पर्ने संदेश सहितको फरवाडेड म्यासेज सबैलाई पठाउन ढिला भै सकेन र ? मरेपछि दान दातब्य गर्ने गराउने परम्परामा सानो सुधार गरि जिउदै सकेको दान गर्ने र आफ्ना दानले कसैको जीवन बाचे बचाएको, हाँसे हसाएको आफ्नै आँखाले देखेर मर्ने नया परिपाटीको फरवाडेड म्यासेज देश विदेशका सबैलाई पठाउन सके कसो होला ??

 

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |