हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बेराग पात्रहरुको आकाश

रमेश सायन, ( )

म आफू एउटा कथा हुँ । भेटेका हरेक मान्छे पात्र हुन् । जसको बजारमा माग छैन । पाठक छैनन् र दोस्रो संस्करण निस्कने छैन । बाँच्ने शैली बेरागात्मक छ ।  बिगत सम्झने उत्ति साह्रो फुर्सदै छैन  । मानौ ती पात्रहरु हावाले उडाउँदै गरेको कपासको छायाँ हुन् जो अब दोहोरिएर म बाँचेको बाटो फर्कने छैनन् । एकाध पात्रहरुले कतै न कतै पछ्याई रहेकाछन् । जीवनसँग कतै न कतै आएर ठोक्किई रहेकाछन् । र, ती नै पात्रहरुलाई कहिलेकाँही  फल्यास ब्याकमा उभ्याएर उनीहरुसँगै बेराग बगिरहन्छु ।
दुई वर्ष पहिले जीवनसँग थाकेका, प्रगतिमा ओरालीँदै गरेका एक जना मित्र पूजा पाठ गर्न र देवालय भाकल गर्न थालेका रहेछन् । जसले मलाई उनले चिनेका एक ज्योतिष कहाँ साथीको नाताले लिएर गएका थिए । ती मित्रलाई “शनिको दसा छ । ग्रह दसाको पाठपूजा गर्नु । शनिबार वर पिपलमा पानी चढाउनु” भनेको थियो । मलाई चाहिँ “जीवन सामान्य छ । कुनै मोडमा तँ जोगी हुन्छस्” भनेको थियो । उस दिन देखी आजसम्म मेरो जीवन उही गतिमा धकेलिरहेको छ । कतै संगीतको राग जस्तो शैली मिलेको तरंग छैन । भविश्यसँग चिन्ता छैन । आशा गर्ने सपना पनि छैन । त्यसैले ज्योतिषले जे भने पनि मेरो जीवनको कुनै कुनामा चिन्ताको दल सरेन । रु.पचास ज्याला दिए पछि म उसको दैलोबाट बलेसीमा झरेको थिएँ ।
तीन दिन अगाडि पशुपति जान मन लाग्यो । कारण केहि थिएन । मंसिर मैनाको घाम,पशुपतिको भिडभाडमा कसैलाई भाग नलगाई सिंगैै तापिरहें जसरी तापिरहेका थिए,स्वर्ग जाने बाटो खोज्न आएका सन्यासी योगीहरु ।
पैतालासम्म खसेको लट्टे दारी, उस्तै आकारको कपाल,पुरै खरानी दलेको खाई लाग्दो ज्यान । यो भन्दा अगाडी त्यत्तिको बलियो योगी कहिलै देखेको थिइन जसले आफ्नो छोप्नु पर्ने एक अंश मात्र छोपेको थियो । उसैको छेउमा उभिएँ, नाम र घर सोधँे । योगीहरुसँग सपना हुदैन, सपना र रहर नभएको मान्छे रिसाउँदैन भन्ने लागेको थियो तर त्यो योगीले मलाई रिसाएर भन्यो । “योगीको नाम, घर, थर, र जात सोध्ने तँ कोहोस्  ।” म उठेर हिड्न खोजँे । उति नै खेर कुनै विदेशीलाई टेक वीथ मि पिक्चर, वान पिक्चर टु हन्ड्ररेड भनिरहेको थियो । सम्झँे, भरे उसकी स्वास्नीले उसको खल्तिबाट सन्ध्याकालीन आय बिवरण खोज्नेछे वा दिन भरि खैरेसँग फोटो खिचाउँदा थाकेको शरीर ठमेलको कुनै मसाज सेन्टरको गेटमा बिसाउने छ ।
उसको बाँच्ने शैली हो, जसरी बाँचोस् । म अलि पर सरें र रमितेहरुमा थपिएँ ।
पारी लासहरुको लाईन छ । प्राय जसो आधा डढिसकेका छन् । लासहरुको उमेर फरक छ । नरबहादुरको सेकुवा पसलबाट आउने गन्ध र लासहरुबाट आउने गन्ध एक समानान्तर रेखा जस्तो लाग्छ  ।
सबै लासहरुबाट उडेको धुवा र फैलिएको गन्ध एकै रङ्ग, उस्तै आकार र गतिमा हावाले बोकेर दगुरिरहेको छ । मेरो आँखामा धुवाँको कालो रङ्ग,नाकमा लासको गन्ध र मेरो मथिङ्गलमा म भन्दा पञ्चहत्तर वर्ष जेठी र बीस वर्ष पहिलेको भोल्टि सर्किनीको अनुहार पौडिरहेको छ । मेरो आँखामा उनका भिराला खेतका गह्रा जस्ता गाला र तुषारोको बिहान जस्तो कपाल तैरिरहेको छ । जसलाई मेरा बा र हजुरबाले कहिल्लै हाम्रो मजेरीको रङ्ग उनको आँखाको नानीमा पर्न दिएनन् । घरको दलिन उनका औँलाका चक्रले छाम्न दिएनन् । उनी मलाई कान्छ बाजे भन्थिन् । म उनलाई “भोल्टि र तिमी” सम्म भनेर सम्बेधन गर्थेँ जस्तो मलाई सिकाइएको थियो । हाम्रो बेसीमा उनी असार रोपिन्थिन् र मंसिरमा बिस्कुन सुक्थिन् । हरेक साँझ उनी आफ्नो अगेनोमा बल्थिन कि बल्दिन थिईन मलाई राम्ररी थाहा भएन । तर उनी जीवन बोकेर हाम्रो घरमा बेसाहा किन्न आउनेहरुलाई थांग्रोबाट मकैका झुत्ता ओरालेर कुनै रहर नबोकी बाँचेकी हुन्थिन् ।
मैले आँखाको बराबर बिन्दुमा मेरा हजुरबा र भोल्टि सर्किनीको लास जलि रहेको सम्झिएँ । जो यिनै लासहरु झै बराबर गनाई रहेका थिए । अन्तमा दुवै स्वादहीन खरानी भएर सुनकोसिमा बगेका थिए ।
म मेरो हजुरबाको मथिङ्गलबाट उम्किएर डिलमा उभिएको छु जहाँ सबैले ओडेको क्षितिज एकै आयतनमा फैलिएको छ । धेरै बेर सम्म उनैलाई सम्झि रहें ।
घाट भित्रँदै गरेको एउटा नयाँ लासले ध्यान फेरि लासहरुको लाममा तान्यो । त्यो लासको उमेर मेरो बराबरको हुनु पर्छ । मलामीहरु मेरो एम. ए. कक्षाका संख्या जति छन् । सबै तन्देरी छन् । लासको उमेर र मलामीको उमेर प्राय मिल्छ । रुनेकाहरुको संख्या धेरै छैन । एक जना ठूलो स्वरमा धित मर्ने गरि रुहिरहेको छ । बुझदा  उसको बाबु रहेछ । टी.यू. मा एम.एसी. पढ्दा पढ्दै साईनाईट खाएर आत्महत्या गरेछ । ठिक्कै छ उसको मृत्यू उसको अधिकार, बाँच्न मन लागेन म¥यो । के भयो त ? कसैले कायर भनेर उसको जीवनको स्तर घट्ने छैन अव । आफ्नो जीवनयुद्धमा सहिद भयो । सकियो । आत्महत्या गर्नु कायर हैन बहादुरी हो । मनले भन्यो ।
तर एक पल्ट मर्नु छ किन साईनाईट खाएछ मनमा उसको मृत्युको पछुतो फैैलियो  । बिचराले मर्नुको आनन्द लिन पाएन । मर्नै पर्ने भए बिस्तारै घाँटिमा ब्लेडले सानो नसा काटेर मृत्युको अनुभब लिईलिई मर्नु राम्रो हो ।
बाग्मती अल्छि मानि मानि बगेको छ । पानीको धर्म बग्नु हो । धर्म निभाई रहेको छ । आज नबग्नु पर्ने भए लेदो त छँदै थियो जमेर बस्ने थियो होला । आफ्नो मृत्यु सक्नु अघि घामले मेरो लामो छाँया धमिलो पानीमा खसाल्यो । आफ्नो उमेर सम्झेँ, २६ वर्ष । कुनै रोग सम्झेँ, केहि छैन । मेरो आयु सम्झँे र पारी लासका लाईन हेरें । अब सरासर बाँच्न पाएँ भने ३५ देखी ४० वर्ष । बीचमा आत्महत्या गर्ने योजना छैन । तर मृत्युको रहर छ । भयानक पिडादायी मृत्यू जसले मलाई दुःखको जस्तै अनेक अनुभब दिईयोस् । चरम भोक र पराकाष्ठा प्यासको पिडा जस्तो अनुभब । हिउँमा खाली खुट्टाको जस्तो पिडा । या कसैले यातनास्वरुप बाघको खोरमा हालिदिने खबर जस्तो, जीवनको अनुभव ।
साँझ पर्न लागेको छ । जोगीहरु पातल्ली सकेकाछन् । बाँदरहरुको चहलपहल घटेको छैन । पशुपतीमा आरती शुरु भएको छ । एक किसिमको संगीत हृदयमा गुन्जियो । यहाँ पनि जीवनको एक आनन्द छ । वैरागीहरुको एक झुन्ड ईश्वरको शरणमा आइपुगेको छ । जहाँ आन्नद छ त्यहाँ ईश्वर हुनुपर्छ । रागमा विलिन यो साँझमा मलाई आनन्द आयो ।
दुई किशोर केटाहरु पानीमा चुम्मकको डल्लो हालेर डलर पैसो तानी रहेका छन् । जीवन जसरी पनि बाँचेर सक्नु छ । बाचिरहेका छन् । एउटाले अनुहार उज्यालो पारेर खल्तिमा हात हाल्यो । लगातार एक दुईका सिक्का भेटेको हुनु पर्छ । रमाउने अनेक तरिका हुन्छन् उ रमायो । मलाई आनन्द आयो । यी किशोरले कहिल्लै आत्महत्या गरेर जीवन सक्दैनन् । यीसँग ठुलो सपना छैन जीवनमा स सानो युद्ध गर्छ र जितिरहन्छ । अघि साईनाईट खाएको लास जलि सकेको छ । मैले जीवनको त्यो सहिदलाई मनमनै सलामी दिए ।
म अहिले घर फर्कन लागेको छु । यता टहलिने रहर पुगेको छैन तर घाम टाकुराबाट खसिसकेको छ ।
बाटामा फेरि सम्झँे मलाई जोगी हुन्छस् भन्ने ज्योतिषीको भाग्य कस्तो होला । उसको भविष्यमा कस्ता आरु बखडा फले र चिचिलामा झरे । कुन दिन धुरीमा काग करायो र दिनभरि अशुभको डरले कामिरहयो होला । मलाई लाग्छ त्यो ज्योतिषी पनि कहिल्लै आत्महत्या गर्दैन ।
ती मित्र जो जीवनसँग बैरागिएर ज्योतिषीकोमा भविष्य बोकेर पुगेका थिए उनको जीवन प्रति दया लागेर आयो । मलाई गालि गर्ने योगीले दारी र कपालको ब्यापार गरेकोमा आनन्द लागेको छ । कम्तिमा एकै जीवन दुई पाटाबाट अनुभब गर्र्न पाएको छ । उ जोगी र बेश्यालयको ग्राहक एकै पल्ट हुन सक्छ ।
भोल्टि सर्किनी उनको जीवनमा सधै गहिरिएर बाँच्न खोजेको छु । आफ्नो जीवन हदै सम्म फिक्का र दिक्दार लाग्छ उनको जीवनको अगाडि ।
त्यो आत्महत्या गरेको लास जसले मलाई मृत्युमा पिडाको रहर जगाई रहेको छ ।
वाग्मतीमा पैसाका सिक्का खोज्ने किशोर जसले जीवनसँग स–साना युद्ध गरेकोमा मेरो जीवनसँग मिले जस्तो लागि रहेको छ ।
म घर फर्कि रहेको छु
गौसला चौकमा आई पुग्दा धेरै ठाउँमा चर्किए । जीवनसँग राग नमिलेका यी अनेक पात्रहरुसँग म पनि थपिए ।
भविष्यसँग कापिरहेको मित्र
त्यो ज्यातिषी
त्यो योगी
मेरा हजुर बा
भोल्टि सर्किनी
त्यो लास
ती केटाकेटी
पशुपतीमा बजेको आरतीको राग
मैले बाँचेको मेरो आफ्नै जीवन
एक झुण्ड एक बेराग संगीत बदलियो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |