हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रिसेसन

रामहरि पौड्याल, (भरतपुर १२ / १९३, चितवन)

लामो हिउँद पार गरेर भर्खरै धर्ती उज्यालिँदै छ l स्प्रिंगको स्वागतमा स्वागतातुर l अविरल हिउँ र कठाङ्गरिने जाडोले पिल्सिएर नाङ्गीएका बूढा रुखहरुमा बिसतारै नयाँ पालुवाहरु पलाउदै छन् l बातावरण बदलिदै छ l बहुप्रतिक्षित समरकालीन दिनहरुको आगमनमा l फेब्रुवरीको मध्यतिर ढिलो गरि शुरु भएको तीव्र हिमपातले कठान्ग्रियेका बेलायतीहरु, मार्चको अन्त्यतिरै ससानो घाम देख्दै रोमान्चित हुन्छन् l मान्छेहरु खुसी साट्न थाल्छन बासन्ती सुभाषको मनमोहक चमक संगै -

‘’लब्ली वेदर !

 स्प्रिंग इज अन द ओए !!

 बिउटीफूल डे !!!’’

परिवेश उत्साहजनक भएपनि ऊ निरुत्साहित नै छ चारैतिरवाट l आफूभित्रको बिरही ब्यथाहरुलाई क्षणभर भुलेर हाइ स्ट्रीटमा हराउदै गर्दा देखि रहेछ लास्ट सेलका ब्यानरहरु l सारा सहर सेलका ब्यानरहरुमा आफुलाई रुपान्तरित गरिरहेछन् l  हेर्दा हेर्दै किंग्स स्ट्रीटको बिशाल बिएचएसको स्टोर उठ्यो l बार्क्लेज बैंकले आफ्नो शाखा कटौती गर्यो l गभरमेन्टको ब्याक अपमा बाल बाल बचेका आरबीएस र लोएड्स बैंकले आफ्ना कार्यरत स्टाफहरुको भारी कटौती गरे l भेन्कोभर सपिंग कम्लेक्स विस्तारै खाली हुदै छ l कुनै त्यस्तो हप्ता छैन जहाँ एउटा नया सप उठेको नहोस् l प्राइस लेस सुज्को चेन, पिकक, टिजे ह्युज, म्यालेट, फुजियान, क्युडी, ग्लीच एण्ड ब्लिच, पास्ट टाइम्सका गिफ्ट सप, कम्प्युटर गेमको ठूलो चेन स्टोर गेम सबै उठे हेर्दा हेर्दै शहरबाट l  नयाँ पनि थपिएका छन् नयाँ उत्साह संगै l एकजना इन्डिएन अंकलले आइ लाइक खोले, बंगाली भाइले निउ क्रिएसन खोले, पाकिस्तानी दाइले जियोज खोले l बंगालीले टाट पल्टेर बेचेको रेस्टुरेन्टलाई निउ गोर्खाज नामले विद्यार्थी भिसामा १० बर्ष बसेर आइएलआर पाएका बिशालले किने l

नर्फल्क स्ट्रीटको सिल्भर स्पून चम्कियो रातारात गैर अंग्रेजले चलाएको इंग्लिश रेस्टुरेन्ट l मान्छेको ओइरो लाग्यो म्याकडोनाल्ड र बर्गर किंगलाई चुनौती दिंदै l छिमेकी नामको आरिसे सानो चिप्स सपले आफ्नो नाम फेरेर सिल्भर स्पून चिप्स सप राख्यो केहि दिन l सिल्भर स्पूनका टर्किस मालिकले नामको चोरीमा मुद्धा हाले l अन्तत नाम फेरियो पुरानै चिप्स सपमा l व्यवस्थापन फेरिएन् र गरिएन सुधार कुनै गुणस्तरमा l

सहरमा राम्रो चलेको बम्बे ब्रासरिज नामको इन्डियन रेस्टुरेन्टका दुई भाइ संचालकबीच घमासान पर्यो र छुट्टिए बम्बे ड्रिम र भोजन नामले संगै जोडिएर l बम्बे ड्रिमले आफूलाई समय सापेक्ष परिवर्तन गर्यो आफ्नो डिजायनमा, आफ्नो परम्परागत व्यवस्थापनमा, विज्ञापनमा, खानाको गुणस्तरमा, भौतिक सुबिधामा l भोजनले भोज पस्कियो पारम्परिक शैलीमा l ठानेन सुधार कुनै ब्यपार वृद्धिको, नयाँ नयाँ व्यवस्थापकीय कौसलको l

मान्छेहरु बम्बे ड्रिममा खचाखच भरिरहेका छन् l चियर्स ! चियर्स !! उन्मुक्त पिई रहेछन, खाइ रहेछन l रमाई रहेछन इन्डियन कुजिनको स्वादसंगै l  सहर भरि बम्बे ड्रिमको स्पाइसकै चर्चा छ l वण्डरफूल खानाकै प्रसङ्ग छ l

पाइलो राख्ने ठाउ छैन यता तर उता भोजनको भोजको कुनै चर्चा छैन सहरमा l

किन्ने र बेच्ने, फुट्ने र जुट्ने बीचको यो व्यापारिक उपक्रम खोइ र रोकिएको ?

सन २००८ मा अमेरिकाको लेमेन ब्रदर्सको पतनसंगै सुरु भएको रिसेसन अमेरिका, युरोप, अस्ट्रेलिया हुँदै संसारभर उधम मचाई रहेछ l दिन दिनै नया नया कम्पनीहरु टाट पल्टी रहेछन l ससाना गिफ्ट सप, चेन स्टोरहरुमात्र नभएर ठूला ठूला ब्रान्ड नेमहरु हराएका छन् रिसेसनको कोपभाजनमा l

यी सबै यथार्थलाई नजिकबाट देखिरहेको ऊ पात्र एउटा प्रतिनिधि पात्र हो बर्तमान युरोपको l सन २००९ मा बेलायती सरकारले टेयर ४ को नाममा विद्यार्थी भर्ना खोल्यो आफ्नो रिसेसनलाई राहत पुर्याउन l इमिग्रेसनको सुल्कमा भारी वृद्धि गरियो l कम्युनिटी स्कूल /कलेज खोलेर आप्रवासी विद्यार्थी कुरेर बसेका शैक्षिक दलालहरुले कनसलटेनसीका नाममा बिद्यार्थीलाई सपना बाँडे पाउण्ड फलाउने l दुई चार कोठाका कलेजले हजारौको संख्यामा नेपाली विद्यर्थी भित्र्याए l आफू मालामाल भए त्यहि पैसाले उता बिद्यार्थीको कन्त बिजोग l कति पार्कमा सुते, कति बेरोजगार भए बस्ने खाने ठाउको व्यवस्था गर्न नसकेर कति फर्किए कति फर्काईए जवरजस्त l कतिले आत्महत्या नै गरे l यता बिद्यार्थी भरेर उता होम अफिसले नियम बदलिदियो काम गर्न नपाउने, डीपेनडेन्ट ल्याउन नपाउने... आदि इत्यादी l

एक शताब्दी भन्दा लामो इतिहास बोकेको सहरकै प्रतिष्ठित कम्पनि कुपर रोलर बिएरिंगले ७५ जना कामदारलाई एकै चोटी हटायो रिसेसनका नाममा l हार्डीक इन्डसट्रीयल इस्टेटको बिशाल क्याम्बेल सुपको २४ घण्टा चल्ने प्रिमियर फूड कम्पनि बन्द भो l त्यसमा काम गर्ने सयौं कामदारहरुको रोजीरोटी सकियो l मोर्गेज कम्पनीहरुले पैसा तिर्न नसकेपछी घरमा ताला लगाई दिए l किस्तामा लिएको कार फिर्ता गर्नु पर्यो l गर्ल फ्रेन्डले साथ छाडे l कैयौंका घरमा आगो बल्न छाड्यो l ग्यास, बिजुली,धारा सबैले एकपछि अर्को गर्दै सम्बन्ध बिच्छेद गरे l बेरोजगारी, अपमान, कुलत सबै सबैले तिनीहरुलाई पछ्याई रहे रिसेसनको नाममा l राष्ट्रिय समाचार र टेलिभिजन कार्यक्रममा हरेक दिन नयाँ कम्पनिहरु टाट पल्टेको समाचारहरु आइरहेकै हुन्छन l बेरोजगारी दर दोश्रो विश्व युद्धकै हाराहारीमै पुगिसकेको समाचारले सबैलाई त्रसित बनाइ रहेको छ l घरको भाउ घटेको छ, किनबेच ठप्प छ l युरोपको यो मन्दी सताब्दीकै भयङ्कर बन्दै गएको छ l मुद्रास्फीति, बेरोजगारी,महंगी सबैले जनजीवन कस्टकर बन्दै छ सबैका लागि l युरोजोनमा ग्रीस सबैलाई घाँडो भएको छ बचाउको प्याकेज पस्किदा पस्किदा l स्पेन, इटली, पोर्चुगल सबै समस्याका लाइनमा खडा भएका छन् l युरो,पाउण्ड, डलर सबै खस्किएर पातालमा पुगेका छन् l अन्तर्राष्ट्रिय रेटिंग एजेन्सीहरु एस.एण्ड पि,मुडी एकपछि अर्का देस र बैंकहरुको क्रेडिट रेटिंग घटाउन लागि परेका छन् l रिसेसन घट्ने भन्दा बढ्ने तर्फ लम्किरहेको छ l

स्थानीय जव सेन्टर बेरोजगारहरुले टन्न भरिएका छन् l मान्छेहरुका मनमा भयमिस्रित कालो छायाँ बाक्लै देखिन्छ l युवा बेरोजगारीले सबैलाई चिन्ता बढाएको छ l आप्रवासी कानुनलाई कडा बनाउने, नेसनल डीफिसिट घटाउने, रोजगारी बढाउने र सुशासनको नारा दिएर दशकौ सत्तामा रहेको लेवर पार्टीलाई धुलो चटाएर सत्तासिन भएको यो कन्जरभेटिव र लिब ड्यामको कोल्याब्रेसनले पनि भाषण गरे जस्तो उपलब्धि हासिल गरेको छैन l मान्छेहरु निरासै छन् l

विश्वबिध्यालयको शुल्क बढाइयो, बिदेशी बिद्यार्थीको आगमनमा अनेकौ नियमले बाटो छेकियो l संसार प्रसिद्ध बेलायतको स्वस्थ सेवा एनएचएसलाई प्राइभेट बनाउने चर्चाले सबैलाई दुखि बनाइ रहेछ l विश्वोको महाशक्ति कहलिएको ब्रिटिश साम्राज्य यतिखेर मात्र ऋणात्मक - ०.२ % को जिडिपीमा चाउरिएको छ l तीन बर्षमा फेरी डबल डिप रिसेसनले आक्रान्त छ बेलायत l हिजोसम्म आफैले बैदेशिक अनुदान दिदै आएका एसियाली राष्ट्र भारत र चिन ८ % को जिडिपी तिर लम्किरहेका बेला आफ्नो यो दुर्दशा ?

ठूला ठूला चेन स्टोरका शक्तिशाली शाखा बिस्तार गर्न दिने अदूरदर्सी नीति नियमले गर्दा ससाना स्टोर र स्थानीय पसलहरु व्यवसायीहरु प्रभावीत भएका छन् नराम्ररी l बजारमा तिनै ठूला पूंजीपतिहरुले बिस्तार गर्ने तिनका विशालतम स्टोरहरुकै छायामा ससाना मान्छेहरू र तिनले जिविकोपार्जनकालागी बर्षौदेखि गर्दै आएका स्थानीय व्यवसायहरु धारासायी भएका छन् l

हाईस्ट्रिटमा खाली भएको बिएचेसको स्टोरलाई प्राइमार्कले लियो र बिस्तार गरेर विशालतम प्राइमार्क खोल्यो अनि शुरु भो सारा साना कपडा पसलेहरुको दुर्भाग्य l उनीहरुले त्यो ठूलो छिमेकिसंग कसरि गरुन प्रतिस्पर्धा ? यसरी सुरु भो प्राइमार्कको दादागिरी र मनोपोली यो सानो सहरमा l

युकेको सबैभन्दा ठूलो ग्रोसरी चेन स्टोर टेस्कोले किन्यो आफैसँग जोडिएको छिमेकी क्याम्बेल सुपको प्रिमियर फूड कम्पनि टाट पल्टेपछि l टेस्कोको स्टोर बढाउने कार्य योजना थापाएको सेन्सवरीलाई किन मन पर्थ्यो र ? उसले थाल्यो हात बढाउन टेस्को अघिको अर्को फूड कम्पनि पिन्गुइनसंग जग्गा लिएर l

टेस्कोको बिस्तार योजनालाई काउन्टर दिन सेन्सवरिले नयाँ शाखा बिस्तारको कार्यक्रम ल्यायो l दुईचार सय यार्डमै दुई दुई बिशाल चेन स्टोरको स्वीकृतिकालागि कार्य योजना काउन्सिलमा परे l

म्याकडोनाल्डलाई चुनौती दियो ठीक अघि उभिएर केएफसिले l होमबेशलाई चुनौती दियो बिशाल बि एण्ड क्युले l यी सबै आधुनिक प्रतिस्पर्धि कार्य ब्यापारका स्थानीय साँचा नमूना हुन बर्तमान परिबेशका l रातारात हराए कति ससाना टेक अवेहरु,कफी सपहरु,फार्म सप, मासु पसले, ग्रोसरीहरु, पुष्प व्यवसायीहरु र डी आइ वाई सपहरु l तिनका पुस्तौनी पहिचानहरु समाप्त भए कहिलेइ नउठ्ने गरि l

काउन्सिलिरहरु बिभाजित भए ठूला चेन स्टोरको बिशाल शाखा खोल्न दिने र स-साना व्यवसायीहरुलाई बचाउने र तिनका पुस्तौनी धरोहरलाई कायमै राख्ने बीचमा l पत्र पत्रिकाहरुले मसला पाए आआफ्ना समाचार पस्किए- बिशाल स्टोरले सहरको बेरोजगारी कम गर्ने / स्थानीय पसलहरुलाई जोगाउनु पर्ने नाममा l लोकल एमपी, लोकल काउन्सिलर, लोकल बौद्धिक जमात सबै बिभाजित भए l आ आफ्ना अनुकूल स्वार्थमा l

चक्का जाम, हडताल, बिरोध य्राली नभएपनि प्लानिंग प्रपोजलका विरुद्ध प्रजातान्त्रिक किसिमले पेटिसन दर्ता गर्न पाउने l त्यसका विरुद्ध परेको आवाजको सुनुवाई हुने l सभ्य व्यवस्थाले सबैलाई आफ्नो जनमत जाहेर गर्न पाउने लोकतान्त्रिक अभ्यास बेलायतका अनुकरणीय नमूना हुन l कुनै कुराको बिरोधकालागि तेहिं पुग्नु पर्दैन l सम्बन्धित संस्थाको वेबसाइटबाटै त्यो इपिटिसनको व्यवस्था गरिएको हुन्छ l मान्छेहरुको व्यस्त दैनन्दिनी भएको यो मुलुकमा मान्छेहरुलाई नचाहिँदो बन्द चक्का जाम गर्न जाने खै र समय ?

स्थानीय काउन्सिलले टेस्कोको प्रपोजललाई नमानेर सेन्सवरीकोमात्र शाखा बिस्तार गर्ने स्वीकृति दिएपनि टेस्कोले बुझाएको हजारौ समर्थकको दस्तखत सहितको पिटिसनले काम गरि छाड्यो l

रातारात ठडीदै छन सेन्सवरी र टेस्कोको नया ब्यापारिक भवनहरु l सयौं बर्ष पूरानो ऐतिहासिक धरोहरको रुपमा ठडिएको सहरकै संकेत स्तम्भ क्याम्बेल टावरको बिशाल धरहरालाई बचाउनु पर्ने अर्को पुरातात्विक स्मारकलाई बचाउने अभियानलाई भने अपिलले पनि छेकेन, रोकेन l

ढल्यो क्याम्बेल टावर रिसेसनको क्रुर पन्जामा l भत्काइए पूराना बिल्डिंग र सम्भिएर घुलो पिठो भो हेर्दा हेर्दै सहरको गौरभ अग्लो क्याम्बेल टावर l बन्दै छन् नयाँ डिजाइनका बिशाल गार्डेन सेन्टर, बिशाल टेस्कोको स्टोर बिस्तार l के यसरी बन्दै र भत्कदैका यी उपक्रमले युरोपमा महामारीकै रुपमा फैलिएको रिसेसनको ज्वालालाई रोक्न र छेक्न सक्ला र ? यिनै अनुत्तरित प्रश्न हजारोँ माइल परको दूरदेशमा उसका सामु खेलि रहेका छन् l

 

सम्प्रति: संयुक्त अधिराज्य बेलायत

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |