काठमाडौं
शरद निरोला , (मेरिल्याण्ड (अमेरिका))
यो कोलाहलले ग्रस्त भएको शहर
कोलाहलमैं यसको जिन्दगी छ
कोलाहलका निम्ति मरिमेट्ने यसको आत्मा
कोलाहल नभए मरेतुल्य छ
बिहानीको प्रथम प्रहरमा जुर्मुराउने शहर
दिउँसो दस बज्दा नबज्दा लथालिंग छ
सहस्रौं वाहनका अतिरन्जित कोलाहलले
बहिराहरुको संख्या बढाएको छ
दिउँसो त दिउँसो राति पनि उत्तिकै छ
टोलभरिका कुक्कुरले एकैसाथ भुक्ने परम्परा छ
दिउँसो कोलाहल राति कोलाहल सधैं कोलाहल
सम्पूर्ण जीवनभित्र नै कोलाहलको परिवेश छ
समाजमा कोलाहल राजनीतिमा कोलाहल
सत्ताको हानथापको लागि अर्कै कोलाहल
शिवपुरीको टुप्पाबाट नियालेर हेर्नुहोस् त
सम्पूर्ण काठमाडौंभित्र हलाहल नै हलाहल
११.०२.२०१२