हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कोठे गोष्ठी: एक अनुभूति

मंजु निरोला, (मेरिल्याण्ड)

मेट्रोपोलिटन वाशिंगटन डिसी वरिपरी अर्थात मेरिल्याण्ड, भर्जिनिया र डिसी क्षेत्रमा नेपालीहरुको घना वस्ती भएकोले नै होला यो क्षेत्रमा नेपालीकोमात्र ५७ भन्दा बढी सामाजिक संस्थाहरु छन् | साहित्य, पत्रकारिता, सामाजिक, राजनैतिक जस्ता बिभिन्न उदेश्यले खोलिएका बग्रेल्ती संस्थाका आआफ्नै विशेषता रही आएको छ | यसर्थ शनिवार आइतवार विदाका दिन यहाँ रहेका नेपालीहरुलाई कता मात्र भ्याउने भन्ने स्थिति रहिरहेको हुन्छ | फेरी नेपालबाट समय समयमा नेता, कलाकार, साहित्यकारहरु आइरहने क्रम जारी भएपछि विविध कार्यक्रमको ओइरोले नेपाली समाजको गतिविधि गुल्जार भएको छ | त्यस बाहेक पार्टी, पिकनिक, सामाजिक भेटघाट, पूजापाठ, साँस्कृतिक कार्यक्रम आदिपनि सबैजसो नेपालीलाई भेटघाट गर्ने सँगम स्थल भएको छ |

यसै सन्दर्भमा साहित्यिक गतिविधि अन्तर्गत वाशिंगटन क्षेत्रमा प्रत्येक दुई दुई महिनामा हुने गरिएको कोठे गोष्ठीको बारेमा केहि प्रसँग चलाउन उपयुक्त ठान्दछु | गोष्ठीको सदस्यले पालैपालो आयोजना गरेको घरमा दुई दुई महिनामा दुई महिनाभित्र लेखिएका कविताहरुकासाथ जमघट हुने उदेश्यले विशेष खसखस डट कमका सम्पादक अर्थात् संचालक महोदय बासु श्रेष्ठको घरबाट शुरुवात गरिएको यो कोठे गोष्ठीको रुपरेखाले आज बाह्रौ पटकको शृंखला नाघेर तेह्रौं शृंखलामा पुग्ने तरखरमा छ | यहाँ हुने प्रत्येक कार्यक्रमको आआफ्नै विशेषता रहे झैँ कोठे गोष्ठीको पनि आफ्नै वैशिष्ट्य र चरित्र रहेको मैले अनुभव गरेकी छुँ | कोठे गोष्ठीको परिचय दिनु पर्दा यसमा जम्मा जम्मी १५ जना साहित्यकारको जमघट हुने गर्दछ | थपमा कहिलेकाहिँ कोहि अतिथिको रुपमापनि आइपुग्छन् | पालैपालो आआफ्नो घरमा सदस्य साहित्यकारलाई स्वागत गरि अनौपचारिक रुपमा यो कार्यक्रमले निरन्तरता पाउँदै आएको छ | दिउँसो २ बजे देखि बेलुका ६ बजेसम्मको सिमामा सबैले दुई दुई वटा दुई महिना भित्रका नयाँ सिर्जना ल्याउनु पर्ने र ति वाचन गरिएका कविताको समिक्षा कुनै अतिथि वा कविले गर्नु पर्ने नियम बसालिएको छ | कविता राम्रो नराम्रो भन्दा पनि उचित टिप्पणी सबैले पाई रहेका हुन्छन |
सौहार्द्र वातावरणमा वाचन गरिएका कविताहरु छन्दोबद्ध, गजल, मुक्तक, हाइकु, हास्यव्यंग्य, दर्शनले माझिएको पाउँछु | यो कोठे गोष्ठी मौलिक र सरल वातावरणमा सदस्य साहित्यकारहरुको भाव छताछुल्ल बग्ने मीठो समयको सीमामा बाँधिएको मैले पाएकी छुँ |

कोठे गोष्ठीमा सहभागी भएका सबै साहित्यकार रमाएको देख्छु, उन्मुक्त बनेको पाउँछु, आफ्नो अभिव्यक्ति पोखेर हलुको भएको अनुभूति गर्छु | यो गोष्ठीको विशेषतामा यहाँ कोहि पनि पदमा आसिन छैनन्, यहाँ माल्यार्पण र खादा पहिरन हुँदैन, भाषणका पर्रा छोडिन्नन, अतिथि बनाई कसैलाई सिंहासनमा बसाइँदैन, लम्बेतान भाषणको त गुन्जायस नै छैन | अनौपचारिक रुपमा कार्यक्रम शुरु गरि यी कविवरहरु आफ्नै तरंगमा, भावमा रमाई रहेका हुन्छन | यो कुनै सँस्था होइन, अपितु काव्य रसमा, साहित्य सुधामा रमाएर मनका कौलासा, कहर, पिडा, खुशी व्यक्त गर्ने पवित्र चौतारी बनेको छ | सदस्य कविवरहरुकालागि घरै पिच्छे पालो लगाई गरिने यो साहित्यिक कार्यक्रममा गृहिणीहरूपनि आतिथ्य सत्कार गर्न पाएकोमा रमाएकै पाएकी छुँ | लगभग दुइ वर्षमा एक पल्ट पालो आउँदा परिकार पस्केर गृहिणीहरुले स्वागत गरेको अनुभव गरेकी छुँ | कतै यो गोष्ठी डायस्पोरिक क्षेत्रमा काली नागको झैँ नवरत्नको मन्दिर त होइन भन्ने भान हुन्छ | परदेशमा खुल्ला परिवेशमा गरिने यो काव्य गोष्ठीको आफ्नै महिमा, विशेषता, मौलिकता रहेको अनुभव गरेकी छुँ |

एघारौं कोठे गोष्ठीमा नेपालबाट आएका साहित्यकार पवन आलोक अतिथिको रुपमा उपस्थित थिए | उनलाई कविहरुको कविताबारे समिक्षा गर्न दिँदा प्रफुल्लित बनेका थिए | "न खादाको बर्को, न फूलमाला नै छ, न भाषणको पर्रा, न लम्बेतान अतिथिवर्गको बढाई, कति रमाइलो वातावरणमा सम्पन्न हुँदो रहेछ, यहाँको कोठे गोष्ठी अचम्मको रहेछ" भनेर साहित्यकार आलोकले रमाइलो मानेर टिप्पणी गरेका थिए | कविवरको शुषुप्त काव्यात्मक विचारलाई यो कोठे गोष्ठीले उर्जाशील बनाई दिएको छ | यहाँ सम्मिलित सबै कविहरुले पुस्तक निकाल्ने जमर्को पनि गरि रहेका छन | केहि कविले आफ्नो कविता सङ्ग्रह प्रकाशन पनि गरि सकेका छन् | गोष्ठी शुरु भएको एक वर्ष भित्र वाचन गरिएका कविताहरुको संग्रह 'वाशिंगटनका काव्य सुसेली' नामक कविता संग्रह प्रकाशनमा ल्याइसकिएकोपनि छ | कोठे गोष्ठीको यो सकारात्मक र असाध्य सफल पक्ष हो | कोठे गोष्ठीमा म प्रत्यक्ष आबद्ध नभए ता पनि श्रीमानको पछि लाग्दै अतिथिको रुपमा बेलाबेलामा पुग्ने गरेकी छुँ | परदेशमा हेलिएका यी कविवरहरुको शुषुप्त भावनामा नयाँ उर्जा, जोश जाँगर पलाएको साथै सबै रमाएको देख्दा आफुलाई सुखद अनुभव हुने गरेको छ | प्रवासमा हेलिएका 'सूधपा' जस्तै यी साहित्यकारहरु डायस्पोरिक संसारमा उत्तिकै रमाएका छन् भन्दा अत्युक्ति नहोला भन्ने सोचाई छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |