हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सडकको अभिलाषा

ऋचा, (काठमाण्डौ)

मेहनती गोडाको

म हुँ कसी

तिम्रा आरोह-अवरोहको

म एक दसी

 

जन्मदेखि मृत्युसम्मको

एक अभिन्न साथी

बामे, टुकु-टुकु, सुस्त,

दगुराईमा

तिम्रै हालिमुहाली

मैमाथि

 

सयौं पदचाप

छातीभित्र कोरेको छु

अनगन्ति अत्याचार

मूक बनी सहेको छु

 

दूरी नाप्दै तिम्रा पाउले

गन्तव्य भेटाएका छन्

साँझपख आफ्नै गुँडमा

पाउ सुस्ताएका छन्

 

मार्ग पछ्यौँउदै

दूरगामी मार्गी बन्यौ

अनवरत् पाइला चाल्दै पथमा

अथक पथिक भयौ

 

बाटोमा बरालिने

उद्देश्यहीन बटुवा तिमी नै

सडकमा रुमल्लिने

एक्लो यात्री तिमी नै

 

मार्ग, सडक, बाटो, पथ, गल्ली

गल्छेडो, गोरटो, घोडेटो -

मेरो आकरको

विभिन्न नाम दियौ

दामकै खोजीमा

यत्रतत्र भौंतरियौ

 

तर,

तिमीले झैं बाटो बिराई

अन्त भाग्या छैन

टायर-धुआँ, धूलो, जाम, बन्द

मैले माग्या हैन

 

सडक हुँ

मलाई

लमतन्न सुत्न देऊ

हरूको लुछाचुँडीमा (सत्ता, सरकार, संबिधान)

कुकुरले झैं

जर्जर मेरो आङ्गमाथि

भो! अब द्वन्द्व नचर्काऊ !!!

भो! अब द्वन्द्व नचर्काऊ !!!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |