हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रेमिल चाह

नीरा शर्मा, (फेयरफाक्स)


खडेरीले ओइलाएको पालुवा जस्तो

धाजा फाट्न तयार बाँझो खेत जस्तो

बेहाल छौ तिमी यतिखेर

यो समय तिम्रो लागि

चिरेर धर्तीको छाती

जीवन मूल फुटाउने

म अमृतको झरी हुन सकुँ ।

 

पतझडले नांगिएको बगैंचामा

छटपट छटपट पंक्षि जस्तो

छालसँगै हुत्तिएर

पाखा लागेको माछा जस्तो

ब्याकुल छौ तिमी यतिखेर

बोकेर प्रेमिल मन

बहार गाउने वसन्तको

म चरी हुन सकुँ ।

 

रातले लात हान्दा

दिनले आँखा तर्दा

संघारमा अलमलिइ

तिमी दोधार बाँचेको बेला

च्यापेर निदले लुपुक्क

मीठा मीठा सपना बुन्ने

म परी हुन सकुँ ।

 

खडेरी वर्षा

बसन्त बहार

सपना बिपना

परी या चरी

जहाँ जे भएपनि

जिन्दगी भर म तिम्रो

वरिपरि हुन सकुँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |