हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

उमेर

नीरा शर्मा, (फेयरफ्याक्स, भर्जिनीया)


न मैले दिनलाई रोक्न सकेँ

न रातलाई छेक्न सकेँ

बगिरह्यो समय निरन्तर

मैले मात्र पछ्याइरहेँ

लाग्थ्यो

छाता ओडेर घाम छेकेँ

बाँध बाँधेर खोलो रोकेँ

पर्खाल लाएर वतास छेकेँ ।

 

तर गलत रहेछु म

आँफ्नै गतिमा

हिडिरहेको रहेछ घाम

बगिरहेको रहेछ खोलो

चलिरहेको रहेछ वतास

छाताले केवल घामको

ताप छेकेको रहेछ

बाँधले केवल पानीको

बेग रोकेको रहेछ

पर्खालले केवल बतासको

बाटो बदलेको रहेछ ।

 

यतिखेर म

रोक्न खोजिरहेछु

घाम, पानी, वतास

जून, तारा, आकाश

र सिंगो समय !

 

हुन त मैले चाहँदैमा

खै कहँ रोकियो र समय ?

बरु समयको बहावसँगै

अरू पनि धेरै कुरा बगे

बैँस बग्यो

उमेर बग्यो

र सम्पूर्ण जीवन नै

घिस्रिदै घिस्रिदै

ओरालो लाग्यो ।

 

लालीको रातो पोत्दैमा

कहाँ फर्किदो रहेछ र बैँस

कपाल रङ्गाउँदैमा पनि त

छेकिदो रहेनछ उमेर ।


तैपनि म

समयको मैदानमा

जीवन नदिसँगै

अबिरल बगिरहने

उमेरको बहावलाई

रोक्न खोजिरहेछु

मनको घरातलमा

सोचहरुको पर्खाल लगाएर ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |