मेरा शब्दसँगै लेडी डायना
शर्मिला खडका (दाहाल), (काठमाडौं)
..आफ्नैलागी काफी छ यो छाती अरूका लागी किन दुख्ने गर्छ¬¬
सास फेर्न यति आवश्यक छ भने किन गाह्रो भइदिन्छ जीवन
मेरा शब्दहरू रुन्छन् मसँगै जीवनका अनेकौँ नियतिहरू देखेर । मेरा शब्दहरू तिनै निमुखा, निरीह र पीडित मेरा आफन्तहरूका लागि समर्पित छन् । जब म रुन्छु, मसँगै मेरा शब्दहरू मेरा हजारौँ दाजुभाइ–दिदीबहिनी, आमाबुवाहरूका पीडासँगै रुन थाल्छन् । परार भदौमा जब मेरो कोठाभित्र पानी परेर मेरो महँगो कार्पेट भिजायो । त्यस बेला ममात्र रोइनँ मसँगै कोसीको बाढीले पीडित बनाएका गाँस, बास, कपास गुमाएका मेरा हजारौँ, दिदीबहिनीहरूसँग म रोएँ । व्यक्तिलाई आफ्नो पीडा ठूलो लाग्छ । मेरो मात्र दस हजार पर्ने कार्पेट भिजाउँदा मलाई त्यो पीडा भयो भने बाढीले आफ्नो सर्वस्व गुमाएर बाँच्नलाई जीवनसँगै सङ्घर्ष गर्नुपर्दा मेरो दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूको अवस्था कस्तो भयो होला ? म मेरा तिनै भाग्यले ठगिएका, कर्मले पछारिएका, बाध्यता र विवशताका कालचक्री पञ्जाले गला दबाइएका मेरा आफन्तहरूप्रति समर्पित गर्न चाहन्छु ।
मेरा शब्दहरू मेरा ती हजारौँ आफन्तका लागि हुन् जो गरिबीको चपेटामा मृत्युको भयलाई चपाएर अघि बढिरहेका हुन्छन् । जब म एउटा गाडीमा मेरो आमाको उमेर बराबरको महिला आफूभन्दा तीनगुणा ठूलो सागको भारी बोकेर थापाथलीको बीच चोकमा रोक्न लगाई उत्रन खोज्छिन्, त्यतिखेर मेरा शब्दहरू रुन्छन् मसँगै । मेरा शब्दहरू तिनै विवश र लाचार आमाहरूका लागि हुन् जो जीवनको भारीले किचिएर, थिचिएर नजिक आइरहेको मृत्युलाई देख्न सक्दिनन् । गरिबी र अभावले लखेटिएका लाखौँ मानवहरूका लागि हो जो प्रत्येक हिउँदमा मर्दै, बाँच्दै गर्छन् । जीवनको आशामा मृत्यु कुरेर बसेका भोकानाङ्गा आङहरू एक छाक पेटभरि खान तड्पिरहने आत्माहरूको लागि समर्पित छन् मेरा शब्दहरू । मै खाउँ मै लाउँ भन्नेहरूबाट टाढा भाग्छन् मेरा शब्दहरू । जीवनमा दुखको स्वाद नलिई सुखको परिभाषा नबुझ्नेहरूलाई तिरस्कार गर्छन् मेरा शब्दहरू । जीवनको अमूल्य परिभाषा नबुझ्ने विरेन श्रेष्ठजस्ता अपराधीलाई तिरस्कार गर्छन्, मेरा शब्दहरू । बाँच्नुको नाममा आभिशप्त जिन्दगी बाँच्ने विरेन श्रेष्ठहरू जस्ता त्रूmर अपराधीहरूका लागि तीखावाण बनेर बर्सन पुग्छन् मेरा शब्दहरू ।
बाँच्न कति कठिन छ एकचोटि मरेर त हेर
आफ्नो छाती साँची वाचा गरेर त हेर ।
ख्याति श्रेष्ठका बुवाआमाका भावनामा परिभाषित हुन पुग्छन् मेरा शब्दहरू । इतिहासमा नै त्रूmर अपराधीको आफन्त भएर बाँच्नुको पीडामा अर्को विकल्प के होला र ?
जब मेरा आफन्तहरू जङ्गली च्याउ खाएर बर्सेनि अज्ञानता र गरिबीले मर्छन् तब मेरा शब्दहरू मेरा भावसँगै दुख्न पुग्छन् । जब आफ्ना छोराछोरीलाई विष खुवाएर एउटी आमा आफुपनि विष खाएर मर्छिन् । तब मेरा शब्दहरू आघात हुन पुग्छन् । बाँच्न कति कठिन छ जीवन भोगाइका पीडाहरू कसैले कल्पना गर्न सक्ला ?
लाखौँ सम्पत्ति कमाएर पनि धनाढ्यको डकारले नअघाएर भ्रष्टचारी बनेका अपराधी समाजमा ससम्मान जिन्दगी बाँचेको देख्दा मर्माहत बन्न पुग्छन् मेरा शब्दहरू । घुसखोरी, कमिसनखोरीले देशलाई नाङ्गो झार पारेर फोहोरी राजनीतिमा रमाउने नेताहरू देखेर सत्यको खोजीमा भौंतारिन्छन् मेरा शब्दहरू । सहरको कङ्क्रिटको जङ्गलमा जब मानवता हराउँछ तब मेरा शब्दहरू काकाकुलझैँ तडपन पुग्छ अमानवीय मरुभूमिमा । विदेशमा अनेकौँ दुःख खेपेर बाँच्नुपरेको पीडित आफन्तहरू देखेर म आफैँबाट मेरा शब्दहरू निर्वासित हुन खोज्छन् । सडकमा फ्याँकिएका कैयौँ बालबालिका कन्टेनरमा खानेकुरा खोजिरहेको देख्दा घायल हुन पुग्छन् मेरा शब्दहरू । ती भोकानाड्गा अभिभावकहरूको ढुकढुकी छाम्न पुग्छन् मेरा शब्दहरू ।
क्रान्तिको दनदनी आगामा धेरै आत्माहरूले सहादत पाएको देख्दा मेरा शब्दहरू तिनै पीडासँग पोलिन पुग्छन् । आफ्नो अमूल्य जीवन होम्न पुगेका निरु, सुकन्या, हर्के, विरु, मैनाजस्ता ज्ञातअज्ञात सहिदहरूको संस्मरणमा विस्मृत बन्न पुग्छन् मेरा शब्दहरू । मेरा शब्द तिनै दुखित र पीडित आत्माहरूको लागि समर्पित छन् जो घावैघाउले भरिएको जीवन बाँच्न बाध्य छन् । म तिनै झुपडी, भीरपाखामा बाँच्न चाहन्छु, सुस्ताउन चाहन्छु । बेलायतकी राजकुमारी डायनाले जब भनिन्, “म बकिङ्घमकी महारानी होइन जनताको महारानी हुन चाहन्छु ।” बेलायती सभ्य समाजलाई एउटा चुनौती दिँदै उनी गरिब, रोगी जनताको हृदयमा बास बस्न आइपुगिन् । उनले आफ्ना छोराहरूलाई आफैँले उचित स्याहार र मार्गदर्शन गरिन् । आज तिनै आमाका छोरा ह्यारी विश्वका महिलाहरूको रोजाइमा प्रथम भएको उनले हेर्न पाइनन् । थोरै समय बाँचेकी डायनाले एउटा पर्खाल भत्काएर अर्को पर्खाल उभ्याइन्, समाजसेवाको नाममा र मानवताको इतिहासमा । तिनको सिको गरे अरू राजकुमारीहरूले । धेरैले गर्न सक्नुपर्छ डायनाको सिको ।
धेरै पर्खालहरू भत्किनुपर्छ त्यो उज्यालो यहाँसम्म आउन । आँसुले भिजेका, पीडाले सुकेका पवित्र आत्माहरूको लागि नत्र तिनै आत्माहरू पर्खाल भत्काउन आइपुग्नेछन् । सगरमाथाको शिखरलाई अझ अग्लाइदिइन् दिदी अनुराधा कोइरालाले समाजसेवाको पवित्र आत्मा बनेर । उनी नेपालका गर्व बनेकी छन् । मेरा हार्दिकताका उद्गारहरू शब्द बनेर स–सम्मान उनका गलामा पहिरिन पुग्छन् । मेरा शब्दहरू समय, परिस्थिति, देशकाल कुनै परिधिभित्र बन्धित हुन चाहँदैनन् । ती स्वतन्त्र र सार्वभौम भएर विशाल ब्रद्माण्डमा विचरण गर्न चाहन्छन् अनि गरिरहनेछन् ।
म यी माथिका शब्दहरूसँग बाँच्न चाहन्छु र म मेरा यिनै शब्दहरूसँग देशविदेश घुमिरहेको हुन्छु । बेलायतको भ्रमणमा पनि मैले यिने शब्दहरू बोकेर गएकी थिएँ । म चाहन्छु संसारमा सबै मानिस एउटै स्तरमा बाँचियोस् । यहाँ धनी, गरिब, रोगी र अशक्त भनेर नछुट्टिऊन् । यो एउटा रोग हो । यो रोग संसारबाट निमूर्ल हुनुपर्छ भन्ने धारणा म राख्दछु । ईश्वरसँग प्रायः म यही कामना गर्दछु तर मेरो देशमा यो कहिल्यै सम्भव देख्दिनँ । यहाँ धनी –गरिवको खाडल दिनप्रतिदिन गहिरिँदै गएको छ । नेपाल एउटा गरिब देश हो । यहाँ यस्तो होला तर संसारमा कहिल्यै सूर्य नअस्ताउने देश भनेर चिनिएको बेलायतमा पक्कै पनि धनी –गरिव भनेर छुट्ट्याइँदैन होला । त्यहाँ सबै मानिसको जीवनस्तर एक नासको होला भन्ने म सोच्दथिएँ । तर होइन रहेछ । त्यहाँपनि मैले धनी र गरिबबीच ठूलो अन्तर देखेँ । गरिब वा निम्नस्तरकोले सामान किन्ने पसल अलग हुँदो रहेछ । गरिबले लगाउने र प्रयोग गर्ने सामान अर्कै हुँदो रहेछ ।
धेरै समयअघि जुन बेला पुनर्जागरण युग सुरु भएको थिएन त्यो समयमा सम्पूर्ण युरोपमा कुलीन वर्ग, सर्वसाधारण वर्ग भनेर छुट्ट्याइन्थ्यो । समाजमा मानिसहरूको बाँच्ने शैली फरक–फरक थियो । पादरी वर्ग, कुलीन वर्ग, सर्वसाधारण वर्ग आदि प्रत्येक वर्गको अलग–अलग कानुन थियो । पछि पुनर्जागरणकाल आएपछि जनतामा चेतनाको लहर फैलिएपछि युरोपको इतिहासमा अनेकौँ उतारचढाव आयो । ठूलठूला क्रान्ति भए र विश्वयुद्धको मारसमेत खेप्नुपर्यो विश्वले नै । विश्वयुद्धको विध्वंशले युरोपमा मानवताको पक्षमा ठूलो क्रान्ति भयो । यस अवस्थामा धेरै मानवतावादी सङ्घसंस्थाहरू खोलिए ।
मानवताको नाममा धेरै वकालत गरेको र एउटा परिष्कृत राज्यव्यवस्था कायम गरी विश्वलाई नै पाठ सिकाइरहेको बेलायतमा यो विभेद नहोला भन्ने लागेको थियो तर त्यो रहेनछ । हुन त यहाँको जस्तो बाटोमा मागिखाने र अत्यन्त गरिब रोगीहरू देखिएन । यो पनि हामीहरूको उदाहरणीय कुरा हो । सरकारीस्तरबाट गरिबहरूलाई खान र बस्नका लागि विशेष सहुलियत दिइँदो रहेछ । उनीहरूलाई सामान्य जीवन बाँच्न कुनै कठिनाइ रहेनछ । तर बढ्दो फेसन, विलासी सामानको प्रतिस्पर्धा आदिमा उनीहरू कमजोर हुँदा रहेछन् । यसरी सामाजिक स्तरमा विभेद भएपछि गरिबहरूमा कुण्ठा, क्षोम, देष, पालेर मनोवैज्ञानिक रूपले विक्षिप्त हुने सम्भावना रहेको हुन्छ । केही समयअघि बेलायतको पूर्वीक्षेत्रमा ठूलो दङ्गा भएको कारण यही थियो भनेर भनिन्छ । त्यहाँ मर्मतकार्य भइरहेको थियो र हामीले त्यहाँ फोटो पनि खिच्यौँ । यो सामाजिक असमानताले समाजमा ठूलो प्रलय ल्याउन सक्छ भन्ने सानो नमुना बेलायती समाजले जन्माएको थियो । त्यहाँ धेरैजसो आप्रवासीहरूको जीवनस्तर कमजोर भएको महसुस भयो मलाई ।
मैले बेलायतलाई अर्को कोणबाट चिनेको भनेको लेडी डायनामार्फत थियो । एकताका म डायनाको एक प्रकारले फ्यान नै थिएँ । मैले उनको सबै जीवनी पढेकी थिएँ । उनको जीवन पढेर म उनीप्रति निकै प्रभावित थिएँ । उनले आफ्नो जीवनमा यही सम्भ्रान्त र गरिबबीचको दूरीलाई मनोवैज्ञानिक रूपले अस्वीकार गरेकी थिइन् । बेलायती सम्भ्रान्त शाहीपरिवारलाई सर्वसाधारणबाट टाढा राखिएको थियो । एउटा बेग्लै बन्देज, अवरोध र तगाराहरू थिए । जुन तगाराहरू उनी भत्काउन चाहन्थिन् । पछि उनले प्रिन्स चार्ल्ससँग सम्बन्ध विच्छेद भएपछि आफ्नो सम्पूर्ण जीवन उनै रोगी, असहाय र गरिबहरूबीच बाँडिदिइन् । थोरै समय बाँचे पनि उनी लाखौँ मुटुको ढुकढुकी भइन् । आज विश्वका धेरै पर्यटक उनको निजी निवासमा भ्रमण गर्न जान्छन् । किन ? बेलायती राजपरिवारमा धेरै राजकुमारीहरू थिए र छन् पनि तर किन डायनालाई यति श्रद्धा गरिन्छ । उनले उही असमानताको ठूलो खाडल भत्काउन ठूलो विद्रोह गरिन् । राजपरिवारको इच्छाविपरीत गरिब र रोगीको हात मिलाउन पुगिन् । गरिबको कुरा सुन्न पुगिन् । त्यसैले आज डायना धेरैको हृदयमा बसेकी छन् ।
बेलायत भ्रमणमा म पनि डायनाको दरबारमा पुगेकी थिएँ । डायनाप्रतिको श्रद्धा र आस्थाले मेरो शिर निहुरियो र मनमनै ती महान्लेडीलाई श्रद्धावाचन गरेँ– तिमी महान् छौ डायना, तिमीले मानवताको एउटा ठूलो पाठ विश्वलाई सिकायौ । तिमीले रोपेको यो बीज मर्न हुँदैन । यो दिनप्रतिदिन हुर्कंदै जानुपर्छ र बेलायतमा मात्र होइन विश्वको हरेक कुनामा पुग्नुपर्छ । तिमी थोरै समय बाँचे पनि अमर भएकी छ्यौ । तिम्रो उदार हृदय र विशाल भावानामा संसार अट्नुपर्छ । बेलायती राजपरिवार मात्र होइन संसार झुक्नुपर्छ तिम्रा भावना र विचारमा । यी मुस्कुराइरहेका ओठहरूमा धेरै गरिब, असहाय र निमुखाहरूको मुस्कान छरिनुपर्छ । तब मात्र तिम्रो अल्पायुमा बितेको आत्माले शान्ति पाउनेछ ।
कलम हुनेले कलमले, धन हुनेले धनले, मन हुनेले मनले दुःखी, गरिबको सेवा गर्नुपर्छ । तिमीले पहिल्याएको बाटोलाई सबैले पहिल्याउनुपर्नेछ । तब मात्र विश्वमा सबैको मुहारमा हाँसो छरिनेछ । मैले डायनाको मुस्कुराइरहेको अनुहारमा नमन गरेँ । उनको साथमा उनका छोराहरू विलियम र ह्यारीको फोटो थियो । उनी छोराहरूलाई असाध्यै माया गर्थिन् र आफ्नो छत्रछायामा हुर्काएकी थिइन् । उनको वैवाहिक जीवन सधैँ विवादमा रहिरह्यो । यति भएर पनि उनले आपूmभित्रको स्वाभिमानलाई कहिल्यै मर्न दिइनन् र कहिल्यै झुकिनन् पनि ।
राजपरिवारको इच्छाविपरीत गरिएको भए पनि उनले गरेको यो कार्यलाई उनको मृत्युपछि ठूलो सम्मान दिएर राखिएको थियो । महारानी एलिजावेथद्वारा उनलाई लेडीको उपाधि दिइएको थियो । गेटमा उनका ठूलठूला फोटाहरू थिए र साथमा फूलका गुच्छा पनि । त्यो एउटा पर्यटकीयस्थल बनेको थियो । उनको महल नेपाली राजदूतावासबाट नजिकै थियो । हामी नेपालबाट गएका साहित्यकारहरूलाई स्वागतसम्मान कार्यक्रम राजदूतावासमा राखिएको थियो । त्यसै अवसरमा हामी डायनाको महल गएका थियौँ । बेलायती भ्रमणमा डायनाको दरबारमा पुगेर श्रद्धारूपी दुई शब्द पोख्ने मेरो ठूलो अभिलाषा थियो त्यो पूरा भयो ।
ती महान् लेडी डायना यस संसारमा नरहे पनि तिनले संसारलाई देखाएको नयाँ बाटो धेरैले पहिल्याउनुपर्नेछ । बेलायतमा भएको दड्गाले धेरैले पाठ सिक्नुपर्छ कुण्ठा, आक्रोश र विक्षिप्त मस्तिष्कले भोलि ठूलो ज्वालामुखी ल्याउन सक्छ । जुन ठूलठूला विश्वयुद्धभन्दा खतरनाक हुन सक्छ । मेरा शब्दहरूमा म जहिले पनि डायनालाई भेटिरहेको हुन्छु । त्यसैले म डायनालाई भन्न चाहन्छु ‘प्रिय डायना तिमीले विश्वलाई नयाँ पाठ सिकाएकी छ्यौ । नयाँ सन्देश दिएकी छ्यौ, नयाँ बाटो देखाएकी छ्यौ त्यो हो — ‘आफु बाँचौँ र अरूलाई पनि बचाऔँ !’