सपनाहरू
मीरा मन थापा, (माईधार, झापा, हाल इजरायल )
एक हुल आशातित मानव झुण्डहरू
सुनसान रातमा सुन्दर सपना खोज्न निस्केकाछन् ,
रात आफैं अँध्यारो बाँचेको छ
खै के बाटो देखाउला ...
उज्यालो दिन आफैंमा सुन्दर सपना हो ,
तर लम्पट सुतेर भर्यांगमुनि
मुहारमा घामको आभा छेक्छ मान्छे ,
अनि जूनकिरीको सहारामा
अन्धकारमा घाम खोज्छ ,
यी दुर्घटनाहरू दोहोरिउँन्जेल
सपनाहरू मरिरहन्छन्,
..
कसरी भेटिन्छ सुन्दर सपना ?
आँखा चिम्लेर या आँखा खोलेर ?
हात बाँधेर या मुट्ठी कसेर ?
आँखा चिम्लेर अनुभूतिमा
जूनतारा अँगाल्नु जित्नु होईन ,
बरू पहरा फोरेर बर्कतले
जूनतारा फुलाउनु जित्नु हो ,
केहि भोगाईबाट सिकेर
अनि केहि स्वबिबेकले
लक्षित सपनाको पहिचान गर्न सके
सपनाहरूले ऐठन बाँच्नु पर्दैन ,
..
इच्छा र आकांक्षाहरू
जेलिएर बस्छन् शरीरभरि ,
समय जेलिएर बस्दैन ,
यसको रफ्तारले
त्रासदी जन्मिदिन्छ चेतनामा की
अहो! कति सपनाहरू छोडिएछन्
जो अब चाहेर पनि भेट्न सकिन्न ,
छोडिएका वा बेवास्ता गरिएका
सपनाका लस्करहरू
कहिले निको नहुने घाउ बनेर
दुखिरहन्छन् जीवनको अन्त्य सम्म ,
..
ओ ! सपना खोज्न निस्केका पथिकहरू ,
याद राख्नु
तिमीले नापेका हरेक पाईलामा
एउटा सम्भावनाको गहिरो पदछाप छोड्नु ,
ताकि तिमी पछि आउने बटुवाले
त्यहि पदछाप छामेर उर्जा पाओस्,
तिम्रा सपनाहरू
एकपछि अर्कोमा हस्तान्तरण गर्दै जानु ,
अनि त सुन्दर सपनाहरू
तिम्रै वरीपरी खात लागेर बस्नेछन् !