दशैं
अनिल घिमिरे, (तेह्रथुम)
एक वर्ष भरि
पुरानो कमिजले बेरिएर
माथि बुइगलमा मुस्किलले साश फेर्दै
बिंड अनि वरिपरी कट्कटिएका
पोहोर सालका रगतका छिटा चाट्दै
फेरी एक पटक आलो रगत पिउने आशमा
पुलुक्क आँखा खोलेर हेर्दै छन् कैयौ कत्ती हरु .
पर टाट्नामा
तन्की तन्की बकैनाका डाठ चपाई रहेका उसका शिकार
एकातिर
धुलो लागेको क्यालकुलेटर
सन्दुकको छेउबाट निस्केर चिटिक्क परेर
साउ ब्याज स्याज अनि प्याजसम्म
जोड्न र गुणन गर्न तयार छ
अनि
तल आँगनको
पन्ध्र ठाउँ टालेको जुवारी कोट
दाइने हातको कुइना सम्म निस्केको कालो रंगको जनै
दश ठाउँ टुप्पी निस्किएको घुर्मैलो टोपी
कानमा सिउरिएको आधा खाएको सुर्ती
झुस्स परेका दारी
काला दांत ,काला नङ र
रसिला आँखा सहित जोडिएका हात
गनाउने पसीना, गोबर, तितेपाती र
बड्कॆउलाको तिखो गन्ध
स्वाद मानेर जिब्रो चाट्दै छ
क्यालकुलेटर
हुक्का तान्दै .
अर्को तिर
झिंगा सुलुत्तै चिप्लेर लड्ने गाडी
पछाडी फुसुसुसु फ़ुस्फ़ुसाउदै छ
सपिङ्ग मलका प्राइस ट्यागमा
रेब्यान भित्रका नीला आखा
नजर दौडाउदै छन्
हातमा आइसक्रिम बोकेर
हरेक क्यालेन्डरका पाना पल्टाईसंगै
काफल पाक्योको गीतसंगै
टाकीले पालुवा फेरेसंगै
एक पटक फेरी आउछ
दशैँ ,
र दोहोरी रहन्छन यि
कहिल्यै नसकिने घटना