हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जगदीश दाई र सम्झना

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)

बितेका केहि दिनहरुमा अपरिचित व्यक्तिहरुको क्यान्सरबाट मृत्यु भएको समाचारबाट विचलित भईरहेको म आज अर्को मृत्युको खबरले झन् विचलित भएँ । भेटघाट भएर आत्मियताकासाथ सम्बन्ध कायम भईसकेको वरिष्ठ साहित्यकार जगदीश घिमिरेको निधनको समाचार एका बिहानै सुन्नुपर्यो । काममा जानकोलागी सदा झैँ नुहाएर बाथरुमबाट निस्केपछि श्रीमतिले यो खबर सुनाईन् । तिनले फेसबुकबाट थाहा पाईछिन् । म एकछिन स्तब्ध भएँ । बिरामी हुनुभएर अस्पतालमा राखिनुभएको समाचार पढेको थिएँ । अलि केहिदिनपछि जगदीश दाई तँग्रीनुभएपछि फोनमै भलाकुसारी गरौँला भन्ने राखेको मेरो सोच पानीको फोका झैँ प्वाक्क फुट्यो । आफैंलाई धिक्कार्दै मनमनै तैँले अस्तिनै फोन गर्नु पर्दैनथ्यो?” भनेर आफैँलाई गालीगर्दै दुख मान्न थालेँ ।

मेरो र जगदीश दाईको सम्बन्ध अलि अचम्म खालको छ भनेपनि हुन्छ । वहाँसँग ईमेलमार्फत सम्पर्क भएको चाहिँ सन् २००८ को सेप्टेम्बरको शुरु ताका हो । स्याटेलाईटको नामबाट लेखिएको एउटा ब्लग http://www.mysansar.com/archives/2008/08/id/3046 मैले माईसँसारमा पढेँ । त्यस ब्लगमा जगदीश घिमिरेको बारेमा र वहाँको रोग र निदान अनि समस्याहरुका बारेमा उल्लेख गरिएको थियो । र त्यसै ब्लगमा वहाँले व्हिस्पर अफ द ब्लेडभन्ने उपन्यास पढ्न चाहेरपनि नपाएको भन्ने उल्लेख थियो । मैले त्यो उपन्यास तत्काल वहाँलाई उपलब्ध गराउन चाहेँ र अमेरिकी बजारबाट किनेर वहाँकोलागी पठाएँपनि । वहाँको धन्यवाद सहितको ईमेल पाएपछि मलाई केहि सन्तोष मिलेको थियो । साहित्यकारप्रति श्रद्धा राख्ने मैले असाध्य रोगले च्यापेको एक साहित्यकारको सानो ईक्षा पुरा गर्नसकेको थिएँ भलै कहिल्यै वहाँसँग नबोलेको वहाँलाई नदेखेको होस् । यसरी हाम्रो सम्बन्ध गाँसिएको थियो । यसबिच जगदीश दाईको एउटा राम्रो बानी उल्लेख गर्न चाहन्छु । त्यो के भने ईमेलको जवाफ लेख्न असाध्य 'प्रम्प्ट', अर्थात कहिल्यै ढिलो नगर्ने । ईमेलको तुरुन्त जवाफ लेख्ने वहाँको बानी थियो जसकालागी म कायल थिएँ ।

मैले खसखस डट कम चलाएको एकवर्ष भैसकेको थियो । यसको पाहुनासँग खसखस भन्ने स्तम्भकोलागी म साहित्यकारहरुको नामावलीमा उचित व्यक्ति खोज्दैथिएँ । त्यतिबेला अन्तर्मनको यात्रा भर्खर बजारमा आएको थियो र यसले राम्रै हल्लाखल्ला मच्चाएको थियो । मेरो हातमा पनि परिसकेको थियो र पढिपनि सकेको थिएँ । बजारमा तातो तातो बहस चलिरहेको साहित्यकार र ईमेलमार्फत भएपनि सम्पर्कमा रहेको व्यक्ति जगदीश दाईलार्ई नै उचित व्यक्तिको रुपमा निर्क्यौल गरेँ र फोन र ईमेलमार्फत आफ्नो ईक्षा जाहेर गरेँ । वहाँले खुशी खुशी अनुमति दिनुभयो । त्यसपछि म वहाँका बारेमा जानकारीहरु बटुल्दै प्रश्नहरु तयार गर्ने क्रममा सोहि कृति मदन पुरस्कारले पुरस्कृत भएकोपनि सुखद समाचार पढ्न पाईयो । मलाई अझ थप प्रश्न गर्ने साधनहरु प्राप्त भएको अनुभव गरेँ अनि मनमनै व्यक्ति त साँच्चिकै राम्रै पो छानेछु भन्ने गर्व गरेँ । सो कुराकानीको लिँकः http://www.khasskhass.com/audio/Jagdish%20Ghimire.mp3 यहाँ छ ।

जे होस् यसरी भएको हाम्रो सम्पर्कलाई मैले बेला बखत फोन या ईमेल गरेर क्रमिकता दिएको थिएँ । यसबिच मेरो अनुरोधमा खसखस डट कमकोलागी वहाँका रचनाहरुपनि प्राप्त भए । अब एउटै धोको थियो वहाँसँग भेटने । कहिले र कहाँ अनि कसरी भन्ने कुनै टुँगो लागेको थिएन । तर यसकोलागी साईत जुराईदिनुभयो कमल दाई (कमलमणी दिक्षित) ले ।

गत मे महिनामा नेपाल भएको समयमा मदन पुस्तकालय हेर्ने ईक्षा राखेर पाटन ढोका पुगेको थिएँ । कमलदाईसँग भेटघाट र भलाकुसारीपछि वहाँले सोध्नुभयो अब तपाईको कार्यक्रम के छ र कसकसलाई भेट्ने विचार छ भन्नुभयो । मैले सररर नाम लिएको मध्ये रमेश खकुरेललाई तुरुन्तै फोन गर्नुभयो तर उठेन । अनि लगत्तै मैले लिएको अर्काे नाम जगदीश घिमिरेलाई फोन गर्नुभयो र मलाइपनि कुरा गराउनु भयो । जगदीश दाईसँग मैले आफ्नो भेट्ने इक्षा व्यक्त गरेँ अनि वहाँले समय दिनुभयो । मैले हस् भनेर फोन राखेपछि हाम्रो वार्ता सुनेर बस्नुभएको कमलदाईले मलाई भन्नुभयो जगदीशजीकहाँ जान त्यति सजिलो छैन, तपाई जान सक्नुहुन्न । त्यसकारण म तपाईलाई लगीदिन्छु । तपाई भेटने दिन यहि ठाउँमा आउनोस हामी सँगै जाउँला

मेरो मन हर्षले गद्गद भयो । मेरोलागी कमलदाईको प्रेम र सद्भाव पाएर आफैलाई धन्य सम्झेँ । साथमा श्रीमतिपनि थिइन् । हामी पर्सीपल्ट मे १० का दिन मदन पुस्तकालयमा पुग्यौँ र कमलदाईको गाडीमा बसेर लाग्यौँ किर्तिपुरतिर जगदीश दाईलाई भेट्न । बाटोमा एकछिनको ट्रफिक जाममा परेर जगदीश दाईको घरमा पुग्दा मलाई साच्चै अनुभव भयो म एक्लै आएको भए गाहारो नै हुने रहेछ । अनि मनमनै कमलदाईलाई धन्यवाद भन्दै जगदीश दाईको स्वागतमा घरभित्र पसियो । हामीलाई नै कुरेर बसी रहनुभएको रहेछ । दुर्गा भाउजुपनि काममा जान लाग्नुभएको मानिस हामी आउने थाहा पाएर काममै जानु भएनछ । यो हामीप्रतिको सद्भाव र प्रेम थियो । म साँच्चै फुलेल भएको थिएँ ।

ईमेल र फोनमा सिमित जगदीश दाई र मेरो परिचय अहिले आमुन्ने सामुन्ने विशाल भएर फैलिई रहेको थियो । के के न बोलौँला, के के न सोधौँला भन्ने लागेको मेरो मन त्यहाँपुगेपछि हर्षले ति सब हराए । आफ्नै शैली र मतापमा हाम्रा कुराकानी भए । कुनैपनि औपचारिकता थिएन । झन कमल दाई र जगदीश दाई त सम्धी सम्धी रे । कुन्नी कसरी हो वहाँहरु त्यो नातामा पर्नुभयो रे । कमलदाईले भन्नुभएको थियो । तर मैले अहिले बिर्सेँ । अनि मेरी श्रीमति वहाँको साली पर्ने रहेछ । कारण, अहिले सर्लाहीमा पर्ने वहाँको ससुराली गाउँ उतिखेर रौतहटमा पर्थ्यो । रौतहट मेरो श्रीमतिको माईत, मेरो ससुराली । यसरी कमलदाईले नाता गाँस्नुभएपछि त्यहाँ कुनै औपचारिकताको नामनिशान नै रहेन ।

जगदीश दाईसँग भलाकुसारी, कुशलक्षेमका कुराकानी सकेपछि हामीले खाजा खायौँ । खाजापछि चिया खायौँ । खाजा खाँदै केहि तस्विरहरुपनि लियौँ ।

एउटै ठुलो हलको एक छेउमा ठुलो डाईनिँग टेबल रहेछ । त्यसको सँगै एउटा ढोका रहेछ जुन भान्सातिर जाँदो रहेछ । त्यसै हलको अर्को छेउपट्टि जगदीश दाईको बस्ने, कुरा गर्ने, लेख्ने एउटा डेस्क रहेछ । त्यसको दाँयातर्फ वहाँको लाईब्रेरी जाने ढोका र त्यो ढोकासँग केहि सोफाहरु पाहुनाकोलागी राखिएको थियो । हामी त्यहि सोफामा र जगदीश दाई आफ्नो डेस्कमा बसेर गफ तताएका थियौँ । अलि अगाडि शर्मिला खड्का दाहालव्दारा लिखित जगदीश दाईले मलाई चिन्नुभएननामक एक लेख खसखस डट कममा प्रकाशित भएको थियो । यस लेखप्रति वहाँको आक्रोश सुन्न पर्ने हो कि भन्ने डर हुँदाहुँदैपनि वहाँको राय बुझ्न मैले त्यो प्रसँग उप्काएँ । मलाई लागेको थियो वहाँ रिसाउनु हुनेछ । तर यसको विपरित वहाँले सो लेख पढेको तर शर्मिला बहिनीले आफुप्रति गलत धारणा बनाएको भन्दै प्रष्टोक्ति दिनुभयो ।

त्यसै भेटमा वहाँले मलाई हरियो साईकल देखाएर 'यो पढेको छैन भने किनेर पढ्नोस्' भनेर मलाई सल्लाह दिनुभयो । जुन अमेरिका आएपछि मगाएर पढेँ र आफुलाई मन परेको कृतिमा दरेको छु ।

यसरी गफ चलेको एकघण्टा बितेको पत्तै पाईएन । जब कमलदाईको फोन बज्यो र अब हामी जानुपर्ने भयो भन्ने भान भयो अनि पो थाहा भयो समय गएको । त्यसमाथि जगदीश दाईको दैनिकी उपचारका कामहरुपनि गर्नुपर्ने बेला भईसकेको थियो । त्यसकारण जगदीश दाई र भाउजुसँग विदावारी भएर कमलदाई, मेरी श्रीमति र म फर्कियौँ ।

बाटोभरी जगदीश दाईको सौम्यता र सरलता, भद्रता अनि सौहार्द्रताबाट प्रभावित भएको म बारम्बार सोच्न बाध्य भै रहेको थिएँ यस्ता व्यक्तिहरुलाई किन लाग्छ क्यान्सर जस्तो असाध्य रोग ? के सबैलाई प्यारो लाग्ने व्यक्तिलाई रोगलेपनि प्यारो मान्ने रहेछ ? आफुलाई प्यारो लागेको व्यक्ति हेरेर रमाउन दिनु नि मानिसहरुलाई ए रोगहरु भन्ने भावनामा म उर्लिँदै थिए ।

मौका मिले एकपटक फेरी आउँछु भनेर विदावारी भएको त्यस भेटपछि एकपटकमात्र फोनमा कुरा गर्ने मौका पाएको थिएँ । फेरी भेट्ने समय त्यतिखेर त जुरेन भने अब त झन कुरै अर्को भईसक्यो । अब वहाँसँग कहिल्यै कुरा समेत गर्न पाउने छैन । भेट्ने त के कुरा ? आज विहान सुनेको, पढेको यो समाचारले मलाई विचलितमाथि विचलित बनाएको छ । दुर्गा भाउजुको हँसिलो मुहार मेरो आँखा अगाडि घुमीरहेको छ ।

मृत्यु साश्वत हो भन्ने जान्दाजान्दैपनि मृत्युसँग दिनदिनै लडेर जतिदिन जगदीश दाई बाँच्नु भयो त्यो वहाँको वीरता थियो । अवश्यम्भावी मृत्युलाई हामी टार्न खोज्छौँ । केहि हदसम्म हामी सफल त हुँदो रहेछौँ तर यो सफलता अनन्त भने नहुने रहेछ । मात्र बाँचुञ्जेल वीरताकासाथ जगदीश दाईले बाँचे जस्तो हामीलेपनि बाँच्न जान्नुपर्ने रहेछ ।

अब जगदीश दाई हाम्रो माझ हुनुहुन्न । तर वहाँको सम्झना, वहाँको सदाशयता, नम्रता, भद्रता, सौम्यता अनि वहाँका कृतिहरु लिलाम, सकस, बर्दि जस्ता उपन्यास र वहाँको अन्तर्मनको यात्रा हाम्रो सामु सदा रहिरहने छ ।

जगदीश दाईको आत्माले चीर शान्ति पाओस् ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |