हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जगदिश घिमिरेः मृत्युसँगपनि शान

सीमु श्रेष्ठ, (काठमाडौं)

हेपाहा स्वभाव । सामन्ती प्रवृत्ति । यहिँ भन्ठान्थे, सर्जक जगदिश घिमिरेलाई । वहाँप्रति मेरो सोचाई सकारात्मक कहिले रहेन । उच्च पदस्थ भैसकेकाहरुको स्वभाव स्वभावतः यस्तै रहन्छ भनेर स्वीकार्न पनि सकिन । हरेक भेटमा सिक्नुपर्ने कुरा रहँदा रहँदै पनि सिकिएन । मान्छेलाई आफ्नो बनाउने वहाँसँगको प्रभावकारी घटना हुँदापनि त्यसपट्टि मेरो ध्यान नगएको देख्ता अझपनि आफैप्रति अचम्म मान्छु ।

मिति असोज ६ २०६९, प्रज्ञा नेपाल प्रतिष्ठान कमलादी:

फाइन प्रिन्टको आयोजनामा चलिरहेको एनसेल लिटरेचर फेस्टिभल थियो । मैले किनेको किताबहरुको चाङमा सकस किताब थिएन । जगदिश घिमिरे सेतो मेडिकल मास्क लाएर श्रीमती दुर्गा घिमिरेसँग सर्जक हस्ताक्षरमा हुनुहुन्थ्यो । मलाई नचिनेको?भन्दै नमस्कार गर्नुभएको थियो । अफ्ठेरो मलाई लागेको थियो त्यसबखत । मेरो स्वभाव त्यस्तै- दुई हात जोड्न असाध्य गाह्रो मान्ने । मेरो छेउछाउको कम साथीहरुलाई थाहा छ । म वहाँलाई जग्गु सामन्तीभनेर सम्बोधन गर्थे । नभन, त्यसो भन्नु हुन्न ।पत्रकार रमण घिमिरे भन्ने गर्नु हुन्थ्यो । शायद, छोरी सम्बोधनले गर्दा मप्रति त सम्बोधनले मेरो वहाँप्रतिको सोचाई त्यस्तो हुन गएको । कारण साहित्यकार प्रकाश सायमीसँगको मेरो सम्बोधन बाबा रहेर पनि होला । अथवा म युवा पुस्ताको परेरपनि होला मसँग अरुलाई नटेर्ने, वास्ता नगर्ने र आफू बाहेक अरुलाई नगन्ने मानसिकता रहेको । त्यो दिन मदन पुरस्कार प्राप्त सर्जकको हस्ताक्षर प्राप्त गर्ने मोहले सकस किनेर हस्ताक्षर मागे ।

"प्रिय छोरी सीमू श्रेष्ठलाई हार्दिक शुभकामना,

 जगदिश घिमिरे, २०६९ असोज ६"

आजपनि मेरो बुकर्याकमा सकस किताब त्यस्तै नपढिएको अवस्थामा नै छ र त्यसमा कोरिएका जगदिश घिमिरेका हस्ताक्षरपनि । हस्ताक्षर पश्चात, “एकचोटि तेरो बासँग मेरो घर आईज ।त्यति भन्नु भाको हो । मौका मिलेपनि म कहिल्यै चोभारस्थित वहाँको घरमा गइन । साहित्यकारहरु मध्ये घर राम्रो प्रकाश सायमीपछि जगदिश घिमिरेको भनेर भनाई रहेको छ । जगदिश घिमिरेको घर हेर्ने रहर ममा नभएको भने होइन । वास्तवमा कसैको घर जाने स्वभाव मेरो कहिल्यै आएनपनि । साहित्यिक माहौल रहँदापनि प्रकाश बाबासँगपनि गईएन । अन्र्तमनको यात्रा पुस्तकले मदन पुरस्कार पाएपछि उक्त पुस्तक साहित्यकार प्रकाश सायमीले पढ्नलाई दिनुभएको थियो । पुरै किताब पढेपछि मलाई राम्रो लागेको भनेको पुस्तकको अगाडि पानामा अंग्रेजी लेखकको भनाई र उक्त पुस्तकमा प्रयोग गरिएको फन्ट थियो । यद्यपी, लिलामी, साविती र सकस ३ वटा किताब मेरो संकलनमा रहेको छ । एकदिन एक शो चलेको नाटक साविती हेर्न चाहिँ पुगेकी थिएँ ।

शब्दहार क्रियशनका रमेश कँडेलजीको 'जगदिश घिमिरे उपचारार्थ ओम हस्पिटलमा हुनुहुन्छ' भन्ने फेसबुक स्टाटस अपडेट पढ्दासम्मपनि मेरो मनमा यसरी यति चाँडै जानुहुन्छ भन्ने लागेको थिएन । ईच्छाशक्ति दह्रो भएको मान्छे, अस्पतालबाट सकुशल फर्केर आउनुहुन्छ भन्ने लागेको हो । जगदिश दाई बित्नुभयो ।पत्रकार रमण घिमिरेको एसएमएस एकाविहानै प्राप्त हुने बित्तिकै सामाजिक संजाल खोलेर हेरे । भटाभट सबैले अस्पतालमा सँगै खिचेको फोटो अपलोड गरेर शब्दहरु खर्चेका रहेछन् । अकालमा दिवंगत हुन केहि नचाहिदो रछ भन्ने लागेर आयो । उपचारार्थ अस्पतालमा भर्ना भएका व्यक्तिलाई कुशलक्षेमको अवस्था सोध्न जाँदापनि साक्षी चाहिने यिनीहरुलाई भन्ने लाग्या हो । मानौ, अन्तिम पटक भेट्न गएजस्तो । एक प्रकारको मानसिक दबाब । यस्तो संस्कार सृजना गर्ने ती सबै साहित्यकार, गैरसाहित्यकारहरुको असभ्य व्यवहार ।

गायिका आनी छोइङको पुस्तक फूलको आँखामाको सर्जक हस्ताक्षर कार्यक्रम थियो । जगदिश घिमिरे उहि मेडिकल मास्कमा । पहिरन निलो जिन्स सर्ट र शायद कोटराइज पाइन्टमा हुनुहुन्थ्यो । मेरो फोटोग्राफीको शौकले गर्दा क्यामेरा तेर्साउने बानी यद्यपी छदैछ । त्यसबेला मलाई नि पहिलो पटक थाहा भो सर्जकहरुमध्ये क्यामरा अगाडि पर्दा सेलीब्रेटी पोज दिन वहाँलाई आउँदो रहेछ भनेर । मेरो फेसबुक ग्यालरीमा अझपनि जीवन्त छन् समयका ती तस्वीरहरु । फोटो हेर्दापनि एउटा शान आफैमा बोकेर हिँडे जस्तो लाग्ने । एउटा साम्राज्य नै रहेजस्तो । एउटा रोल मोडल जस्तो ।

हुन त थुप्रै साहित्यकारहरुसँग वहाँको पानी बाराबारको अवस्थापनि थियो भन्ने कुरा सुनेकी हुँ । त्यसमा पनि समिक्षक हरि अधिकारीसँग । पछिल्लो समय पत्रकार रमण घिमिरेको सुलहबाट फेरि बोलचाल भएको कुरा स्वयं हरि अधिकारीले नयाँ पत्रिकामा स्वीकार्नु भएको छ । जस्लाई दिवगंतपछि मान दिने संस्कार भन्दछु । रचना साहित्यिक मासिक पत्रिकाको प्रधान सम्पादक श्री रोचक घिमिरेप्रति मेरो नमन छ । सकस मन्थन विशेषांक मेरो हातमा राखिदिदै भन्नु भाको हो । पढेपछि पाठक प्रतिक्रिया लेख । अर्को अंकका लागि आवश्यक छ ।आफ्नो कार्य व्यस्तताको कारणले लेख्न सकिन । बरु साथी दीपक जडितको सकस माथि लेखिएको समिक्षा ईमेल मार्फत पठाईदिएकी थिएँ ।

मेरो साहित्यमा लाग्नेप्रति उतिसारो सकारात्मक सोच रहेन । सामान्य स्तरको जीवनपनि व्यवस्थापन गर्न नसक्ने, अन्तरसंवादपनि पनि बेच्ने, आत्मसम्मान कम भएको पेशाकर्मी भन्ने लाग्दछ आजपनि । प्रेम गर्न नजान्ने तर अक्षरमा प्रेम पोख्ने । आफ्नो बेग्लै काल्पनिक संसारमा रमाउने यथार्थको धरातल नभएको भन्ने लाग्छ ।  आर्यघाटमा लगेर जलाईसकियो भन्ने खबर सुनेँ । एउटा मान्छे जलाउदा खुशी मानेको क्षण त्यहि एकदिन थियो किनभने नेपाल प्रज्ञाप्रतिष्ठानको परिसरमा लाश माथिको तमाशा आफैले गर्नुभएनछ भन्ने लाग्यो । अक्सर मृत्युमा पनि चर्चा खोज्ने साहित्यकारहरुको प्रवृत्तिको अन्त्य भएछ । एउटा बडप्पनको शुरुवात । जगदिश घिमिरेले मृत्युलाईपनि आफ्नो शान छोडेर जानुभएछ ।
ईतिश्री जगदिश घिमिरे !!!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |