हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपालै शून्य जस्तो!

कमल दीक्षित, (ललितपुर)

आज तीन दिन मात्र एको जगदीशजी जानुभएको। अस्ति १४ गते बिहान सबेरै हो उहाँको चोला उठेको तर उहाँ ऐले नै पुराण भैसक्नुभयो, जो पनि उहाँकै गुणगान गर्दैछन्। हिजो आजका सबै नेपाली अखबारहरूमा जगदीश घिमिरे नै  छाउनुभएको छ। आसन्न जननिर्वाचनका समाचार समेत ओझेलमा परेजस्ता भएका छन्!
मैले पनि मेरो त्रैमासिक नेपाली को पुर्णाङ्क २१६ का लागि एउटा सानो सम्पादकीय कोरिसकें। तर जगदीश घिमिरेका बारेमा मैले यौटा भावुक संपादकीय मात्र लेखेर पुग्दैन। हुन हाम्रो ५०\६० वर्ष लामो चिनजानको बेहोरा लेख्न थाल्योभने धेरै लामो हुन्छ। त्यो लेखेर साध्य छैन। त्यसैले धेरै विरुदावली नबखानी जगदीशजीलाई
सम्झन्छु।
०२०-२२ सालतिर होला मैले जगदीश घिमिरेलाई पैले चिनेको। सके उत्तम कुँवरले हाम्रो चिनजान गराएका थिए। उत्तमहरूको यौटा समूहै थियो पिपलबोटे साँझबिहान नयाँसडकको पिपलबोट वरिपरि जम्मा हुन्थे तन्नेरी बुद्धिजीवीहरू तिनताका त्यताबाट तिनीहरू फसिकेवमा रञ्जना सिनेमा अगाडिको रश्मी रेष्टुराँ नामको चियापसलमा जुट्थे। त्यहाँ उनीहरूको घन्टौं गफ चल्थ्यो त्यसको अनौपचारिक नामै चलेको थियो रश्मी राउन्ड टेबुल भन्ने। त्यो राउनडटेबुल मा गएको सम्झन्नं। तर पछि उत्तमहरूको स्तरवृद्धि भएछ। उनीहरूको चिया खाने थलो पिपलबोट माथिको  इन्दिरा रेष्टुराँमा हुन थालेछ। त्यहाँ भने पनि पुगेको छु कैलेकाँही त्यहीं हो मैले जगदीशजीलाई पैलोपटक
भेटेको।
मैले पैले प्रत्यक्ष कैले भेटें भन्ने कुरा महत्वको छैन, किनभने  निकै पछि जगदीश घिमिरेको लिलाम साबिती जैले पढियो त्यसै दिन खाश जगदीश घिमिरेलाई मैल भेटें भन्ने मेरो दावी छ। २०२८ साल वैशाखमालिलामको पैलो संस्करणलाई मदन पुरस्कारको दर्ताकापीमा नंबर ६६२२ मा चडाएको रहेछु मैले भनेपछि त्यो वैशाखमा मैले लिलाम पढिसकेको रहेछु भन्नुपर्यो। किन हो साबिती को पहिलो संस्करण त्यो दर्ताकापीमा चडेको पनि
रहेनछ।
लिलाम निस्केपछि जगदीश घिमिरे भन्ने युवकलाई सरकारले बढी शङ्काका दृष्टिले हेर्न थालेको हो। हुन त्यसअघि जनकपुरमा बस्दा नै उहाँ सरकारको आँखामा चढिसक्नु भएको बुझिन्छ। जगदीशजीकै भनाइमा उहाँ त्यसबेला साम्यवादी विचार राख्ने तन्नेरी हुनुहुन्थ्यो रे। साम्यवादमा पनि सशस्त्र क्रान्तिका पक्षधर भएपछि पञ्चायती सरकारले सहने कुरै भएन! पछि के कस्ता कुराले जगदीश घिमिरे कांग्रेसी कार्यकर्ता हुन पुग्नुभयो त्यो मैले राम्ररी बुझेको छैन। त्यो उति महत्पूर्ण कुरा पनि होइन मेरा लागि। मैले नयाँ सडक, पिपलबोटमा भेट्दा जगदीश घिमिरेलाई मैले चम्कीला आँखा भएका एक जना फुर्तिला युवा देखेको हुँ, बुद्धि पुर्याएर गहकीला कुरा बोल्ने जोसीला नौजवान का रूपमा। तर त्यति बेला पनि उहाँसँग बढी नजिक हुन सकिनं। मेरा आफ्नै वाध्यताहरू थिए। श्रीदरबार मा कार्यरत थिएँ, रानी जगदम्बाका सेवामा। मैले गर्ने नगर्ने कामहरूको फिरिस्त लामै थियो। त्यसमा मैले कितापहरूको काममा बाहेक बाहिर धेरै समय बिताउन नपाउने प्रावधन पनि सामेल थियो। अल्लारे केटाहरूसँग मेलजोल गरेको बडै मन पराइन्नथ्यो पनि। त्यसै हुँदा चाहेर पनि कसैको धेरै निकट हुन
सक्दिनंथें।
त्यसपछि उहाँ परिवार नियोजन संघमा पस्नुभयो, हाम्रो भेटघाट अझ कम भयो। अनि उहाँ सपरिवार बेलाइत भासिनुभयो। तर, सँधैका लागि बिलायो भनेको मान्छे, उहाँ पत्यारै नलाग्ने गरी उताबाट फर्केर आउनुभयो! अब भेट्ने क्रम पुन: चालू होला भन्ने आशा गरिएको थियो तर भएन। समाजसेवा गर्दै उहाँ रामेछापतिर पो लाग्नुभयो! जगदीश उतैका रैथाने जस्तो भएपछि हामीहरू राम्रै पराई भयौं, सम्पर्कविहीन! करीब दुई दशक रह्यो यस्तो स्थिति।  अनि जब भेट भयो उहाँ बिरामी भैसक्नुभएको थियो, हामीले टाढाबाटै हेर्नुपर्ने! त्यसपछि भने चमत्कारै भयो। अन्तर्मनको यात्रा, महायात्रा हुनपुग्यो। एकाएक जगदीश घिमिरे सेलिब्रिटी हुनुभयो बुद्धिजीवी नेपालीहरूका मन मस्तिष्कमा छाउनुभयो। तर, रक्त-अर्वुद, ब्लड क्यान्सरले थिलथिलाएको शरीर बोकेर जगदीश घिमिरे उच्च उत्साह अत्यन्त उमङ्गका साथ आफ्नो म्याग्नम ओपस (महत्तम कृति) सृष्टि गर्ने कार्यमा जुट्नुभएछ! उहाँले झन्डै दुई वर्ष लगाएरसकस पूरा गर्नुभयो त्यसलाई मूर्त रूप
दिनुभयो।
सकस को प्रकाशन जगदीश घिमिरेको जीवनमा मात्र होइन नेपाली साहित्य संसारमा नै एउटा कोशे ढुङ्गा बनेर आयो  स्थापित भयो। सर्वत्र स्वागत पायो यसले। बूढा तन्नेरी, महिला पुरुष, स्वदेशी विदेशी कसैलाई छाडेन यसले छुन। सबैले मन पराए यसलाई।  सिकारू शौखीन पाठकदेखि सिद्धहस्त समीक्षकहरूसम्म सबैको मन जित्यो यो सकसले।सकस लाई मन पराउने त्यही भीडमा यौटा पनि छिरेछु। जगदीशजीलाई पनि यो थाहा भएछ। सकस को विमोचन हुने दिन त्यसका बारेमा बोल्ने एक जना वक्ता भैदिन जगदीशजीले मलाई भन्नुभयो। मेरा लागि यो ठूलो सन्मानको कुरा थियो तर मलाई सङ्कोच लाग्यो त्यसको समीक्षा गरेर बोल्न। किनभने मलाई सकस धेरै नै राम्रो लागेकाले त्यसका बारेमा बोल्दा अतिप्रशंसा होला कि भन्ने डर लागेको थियो। मैले त्यही कुरा जगदीशजीलाई भने। तर उहाँले मान्नुभएन। मैले बोल्नैपर्ने
भयो।
अनि मैले यौटा बठाईं गरें, लेखेर पढ्ने। छोटो लेख्ने त्यही पढ्ने! तर जतिसुकै छोटो लेखे पनि जति संयमित भए पनि बेइमानी गर्नु भएन, आफूलाई राम्रो लागेको कुरा कसरी लुकाउनु? त्यसैले शुरूमै आत्मालोचना गर्दै मैले लेखें ...साधरणत: कितापहरू समग्र पढ्दिनं। मलाई तान्नुपर्छ कितापले नत्र पढ्दिनं। सकस ले तान्यो, चर्कोसँग तान्यो पढें। मलाई त्यो मनपर्यो भनिहालें। धेरै नै मनपर्यो। त्यसैले यसको प्रशंसामा सुपरलेटिभ मा बोल्दिन सक्छु। त्यसै हुँदा यहाँ यसका गुणहरूको बखान गर्दिनं

मैले त्यस सभामा त्यही लिखित भाषण पढें। तर सुपरलेटिभ या अतिसयोक्तिपूर्ण प्रशंसा नगर्दा नगर्दै पनि मैले सकस लाईरामरावणयुद्ध जस्तो भनिहालें। मैले भने ...सकस नेपालको रघुवंश हो। यसमा नेपाल देशको दुई अढाई सय वर्षको इतिहास बोल्छ।, तर बोल्छ यो अत्यन्त रोचक औपन्यासिक पाराले। त्यसैले यो उपन्यास अनौठो , यो कुनैजस्तो पनि छैन आफैजस्तो ठिक्करामरावणयोर्युद्ध: रामरावणयोरिव: भने जस्तै
!
मैले जगदीश घिमिरेका बारेमा लेख्नबस्ता मदन पुरस्कारको चर्चा नगरी सकिंदैन। उहाँलाई गुठीले सम्मान गर्यो भनेर मात्र होइन, अन्तर्मनको यात्रा पुरस्कृत भएपछि जगदीशजीसँग अत्यन्त निकट भएँ। पैले कैले नभएको निकटता झाँगियो हाम्रो। भनूँभने अन्तरङ्ग नै हुनपुग्यौं हामी। जगदीश घिमिरेसँगको त्यस निकटताले मलाई अर्को पनि उपकार गर्यो। पैले उति घुलमिल हुन नसकेका तीन जना गुणीजनहरूसँग पनि मलाई नजिक्याइदिनुभयो जगदीशजीले।अभिव्यक्तिका नगेन्द्रराज शर्मा, रचना का रोचक घिमिरे गजलसम्राट् ज्ञानुवाकर पौडेल मेरो हाई हेलो भित्रका मित्र मात्र थिए। तर जगदीशजीले हामीलाई समेटेर ल्याई आफू समेत हामी चारै जनालाई यसरी मायाको डोरीमा बाँधिदिनुभयो हामीहरू छुट्टिनै नसक्ने जस्ता हुनपुग्यौं! अब जगदीशजी हुनुहुन्न। हामीलाई एकै ठाउँमा बाध्ने त्यो डोरी नै नभएपछि रहँदा बस्दा हामी चार जना पनि परपर हुँदै जाउँला। तर ऐले चाँहि यत्ति मात्र भन्नसक्छुजगदीशजी, तपाईं जानुभयो, हामीलाई नेपालै शून्य जस्तो भएको !
                                                      
२०७० कार्तिक १६।

(हाम्रो अनुरोधमा प्राप्त यो लेख 'अभिव्यक्ति' पत्रिकामापनि यथाशिघ्र प्रकाशित हुँदै छ भन्ने जानकारी लेखकबाट प्राप्त भएको छ |)

Comments

गोपाल रेग्मी

मन छुने लेख । आनन्द आयो पढेर । धन्यबाद !

हरि घिमिरे

सार्है मार्मिक !!!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |