अप्रिल फूल.....
अमृत सुबेदी गुराँस, (तनहुँ, हाल–पोखरा)
आमाहरु सन्तानकालागि
कत्रा–कत्रा पहाडहरु
उक्लन्छन्–ओर्लन्छन्
आमाहरु सन्तानकालागि
हर दुःखलाई स्वीकार्छन
र, ममताको घुम्टोले छोपिदिन्छन्
आमाहरु सन्तानकालागि
अध्याँरोमै बस्छन,
तर चाहन्छन् सन्तानले सरमाथाकोजस्तो
उचाइ बनाओस् ,
र भन्ठान्छन्, पहिलाल्याउन सकोस्
जिन्दगीको उज्यालो वाटो
थिए, साइली आमाकापनि थिए
यस्तै रङ्गीन सपनाहरु,
थिए, चाउरी परेका गालाका रेखाहरु झै
दुःख र भोगाइका रेखाहरु
थियो, जिन्दगी कोरा कागज जस्तो
केबल, हुर्कदै गरेको घाम हेरेर
भुल्थिन जिन्दगीका ज्वारभाटाहरु,
त्यही प्रकाश अर्थात, वीरे
घर नफर्केको बषौं भइसक्यो..
वीरेको एक साथीले भन्यो
आमा..ए..आमा..वीरे फक्र्यो नि !
आमाको अनुहार यसरी उज्यालियो..
मानौं, जिन्दगीमा सबैभन्दा पहिलो पटक
यसरी मुस्काराएकी छन्
आमा बोल्नै सकिनन्
फेरी उही बोल्यो..
आमा..आज अप्रिल फूल..
अर्थात..आज ढाट्ने दिन..
उनी फेरी पनि केही बोलिनन् ..
मात्र जिवनको एक श्रृंखला अन्त्य गरिन् ।।