हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फरक

जय प्रकाश विवश, (आँखिभुई —८, संखुवासभा)

म परिभाषाको खोजीमा छु
जिउँदो अस्तित्वको खोजीमा,
कैले व्यापारमा मारिन्छु,
कैले उद्योगमा पिसिन्छु
कैले घरमा चेपिन्छु
सामाजिकिकरणका नाममा
असामाजिक बाँचेको छु ।
मैले बाँचेको परिवेश, नौलो पनि छैन
नयाँ पनि छैन, गरिबी र अभाव उस्तै छ,
फेरिएको पनि छैन, उस्तै जाँतोमा पिसिएको छ
जिजुवा देखि अक्षरश पालना भएकै छ बाध्यता
                   फेरि मेरो नाम पनि छैन,

काम कहिल्यै टुट्दैन,
जोतिएको छु,
बस्, यसरी नै ।
मैले समानताका नारा सुनेको छु
अन्याय विरुद्धका आवाज सुनेको छु
आमरण अनसन स्वतन्त्रताको लागि,
भोक हड्ताल शान्तिका लागि,
साङ्ले जुलुस समानताका लागि
सडक र्याली हिंसा अन्त्यका लागि
यस्ता नारा हरेक दिन हेर्छु,
हप्तै पिच्छे सुन्छु धर्ना र घेराउहरु
अधिकार प्राप्तिको लडाँई ।
यस्ता एकताका स्वरहरु,
मलाई पर राखेर वार्ता बस्छन्
म ईटा पोल्छु, निर्माण खातिर
म बिहानै लाग्छु, सफाइमा
स्वच्छ शहर, निर्माण खातिर
हरेक तिमीले साना ठानेका काम
मैले ठूलो ठानेर गर्छु ।


तिमीले नगर्ने काम गर्छु म,
तिमीलाई सिँगार्छु, निरोगी राख्छु,
तिमीलाई ठूलो मान्छे बनेको हेर्छु
तिमी प्रगती गरेको हेर्छु ।


तिमी मलाई हेरेर नाक चेप्य्राउँछौं
म त रोबोट जस्तो छु,
सायद संवेदना शून्य
चेतना शून्य
कैले साईत बिग्रन्छ रे तिम्रो म हेरेर,
कैले सङ्गत बिग्रन्छ रे मेरो छेउ बसेर ।


तिमी पढालेखा बन्यौ, ज्ञानको गंगा बढायौ
उज्यालो संसार हेर्यौ, ज्योती फैलायौ,
म अध्यारोमा छु,
र त म तिमीलाई उच्च देख्छु, म नीच,
तिमीलाई भगवान र मलाई सानो मान्छे
तिमी फराकिलो ज्ञान भएर
आँफुमात्र मान्छे अरु अमान्छे देख्छौं,
र त मेरो सङ्गतमा आफन्त बिग्रेको हेर्छौ ।।


म खेत जोत्छु, खन्छु र फसल फलाउँछु
तिम्रो घर सम्म आपुर्ति हुन्छ,
तिमी पोसिन्छौं त्यसैले,
अनि गधाले भारी बोकेको सोचेर,
बोलेको पैसा लागे सरी बोल्छौ ।


बनौटले उस्तै लाग्छ तिमी र म
धर्म ग्रन्थले, कानुनका ठेलीले एक भन्छ सायद
तर धरातलमा
तिमी कहाँको मान्छे, म कहाँको अमान्छे
ज्ञानको ज्योतिले फरक पारिएको
म बाँचेर मरेको हुन चाहन्न
कम्तिमा मेरो इतिहासले
म भनेर चिनाओस ।।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |