हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रेम युद्ध

गोपाल रेग्मी, (मनासस, भर्जिनिया)



मायाको गुलाफी चास्नीमा चुर्लुम्म
भ्यालेन्टाईन्स डे स्नान गरेर
रंगिएका भावनाहरु
जब उर्लिन्छन् ऋतुको मद सँगै
प्रीत आग्रहका पाइलाहरु
रंगीन डोब बनाउँदै
क्याट वाकमा निस्कन्छन्
माया नगरीका गुलाफी गल्लीमा ।

अलि पर बृहस्पति दम्भको ढाल
र जेमदग्नी हठको खोल ओढेर
अभेद्य किल्ला झैँ उभिएका
अर्काथरि पाइलाहरु ।

एकाएक छुट्छन् मुस्कानका तीरहरु
शब्दका लोलाहरु
माया नगरीका गल्लीबाट
बर्षिए कोमल तर चोटिला
मायाका गुच्छाहरु
छाडिन्छन् इशाराका  प्रेम-वाणहरु ।
दम्भ र हठ माथि खनिन्छन् यावत प्रहारहरु ।

घमासान युद्ध चल्छ
पत्थर-पुरुष र कोमल-प्रकृति
होमिन्छन् प्रेम युद्धमा ।
श्रृंगारका प्रहारहरु
प्रेमका कोमल धारहरु
कठोरता माथि नरमताका मारहरु ।
दम्भ र हठका हारहरु ।

पूर्ववत रीत दोहरिन्छ
प्रहारले पत्थर रसाउन थाल्छ
स्खलित हुन्छन् पत्थरी दम्भहरु
पत्थरी काप कापबाट
टुसाउँछन् प्रेम लतिकाहरु
प्रकृतिको समर्पणमा
सुसाउँछन् सृष्टिका ध्वनिहरु
फेरि एउटा बृष्टि हन्छ
सुन्दर एउटा सृष्टि हुन्छ ।

हरेक युगमा
पत्थरी दम्भ हारेको छ
गिरिश बाँधिए गिरिजा पाशमा
विश्वामित्र बहकिए मेनकाका आशमा ।

धन्य होस् प्रकृति
तेरो कोमलता नहुँदो हो त
कति दुख्दो हो चट्टान आफ्ना घाऊहरुमा
सुनाखरी फूल्ने तेरो रीतलाई सलाम
कोमल तेरो प्रीतको गीतलाई सलाम !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |