हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

घर

विनोद खड्का, (दोहा, कतार )

यात्रामय जीवनका श्रृँखलाहरुमा
भूमण्डलका थुप्रै पाटाहरुमा
अनेक वासहरु बसेको छु
भाषा, भेष र जीवनशैलीले
मेल नखाए पनि
न्यानो माया पाएको छु
हरेकपल्ट मैले
नयाँ घरहरु पाएको छु
उस्तै दुई प्रहर रातहरु
निर्धक्क बिताएको छु
पुरा विश्व नै मेरो घर
जहाँ मैले मेरा जीवनका
केही पानाहरु भरिरहेको छु ।

त्यो घर
जहाँ म जन्मिएँ
अब त्यो रहेन
ढलाईसकेको छ
महत्वाकांक्षाका ढेरहरुले
मेटिसकेको छ
अहंकारका लेपहरुले
हराईसकेको छ
होडबाजीका श्रृँखलाहरुले
तर पनि
बिर्सन सक्दिनँ म
मैले खेलेका ती सुन्दर पिँडी र आँगनहरु
मैले न्यानो पाएका
मुलछेन र अगेनाहरु
मस्त निदाएका फलैँचाहरु
अनि त्यही फलैँचाहरुबाट
अवलोकन गरिएका
ती रमाईला बर्षे झरीहरु
मण्डीमा गुटमुटिँदै
राडीमा मडारिँदै
बिताईएका ती हिँउदहरु
आमाहरुले चलाउँदै गरेका
ढिकी र जाँतोका आवाजहरु
बचाउनै सकिनँ मैले
जोगाउनै सकिनँ
शहर पस्ने रहरसंगै
त्यो सुन्दर बस्ती
जो मेरो घर हो
त्यो सानो छानो
जो मेरो घर हो
त्यो सानो परिवेश
जो मेरो घर हो
बचाउनै सकिनँ ।

परिवर्तनका पाटाहरुमा
नयाँ परिवेशहरु जन्मिने गर्छन
घरैघरहरु विच
फेरी अर्को नयाँ घर खोज्ने
महत्वाकाँक्षाहरु जन्मिन थाल्छन
थाहा छैन कस्तो हुनेछ
त्यो अन्तिम घर!
महान घर!!

१२ जुलाई २०१४,।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |