हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजल

हरि पौडेल , (नेदरल्यान्ड)

जिन्दगी मशीन भएछ, रफ़्तारको के कुरा गरूँ ?
लुट्ने प्रवृति बढ्दै गएछ, प्यारको के कुरा गरूँ ?

तिर्थै गएर  हुँदैन धर्म, शिष्टाचार हराए पछि
गंगा आफै बनाएछन् मैलो, हरिद्वारको के कुरा गरूँ ?

न कर्मचारी सुकर्मी भए, न न्यायाधीश न्यायी भए
राजनीति गन्हाइ सकेछ, सरकारको के कुरा गरूँ ?

छोरा जान्छु विदेश भन्छ, श्रीमतीको कचकच सँधै
दिनभर गोरु जस्तै जोतिनु छ, घरबारको के कुरा गरूँ ?

तेरो मेरो भनि जनता लड्दैछन्, पहाड़ तराई छुट्टीदै
सयौं थुंगाको फूल हौं भन्छन, बेकारको के कुरा गरूँ ?

हप्ता भरी चाकरीमा बित्छ, साहबहरुको सेवा गर्दै
एकदिन छुट्टीमा घरको गनगन, शनिवारको के कुरा गरूँ ?

अन्नदाता कै बढि वर्णन हुन्छ, पत्रपत्रिकामा जहिले पनि
सत्य कुरा अब लेख्न छाडे, पत्रकारको के कुरा गरूँ ?

वास्तविक खबर बेखबर छन्, ल्याउनाले चटपटे खबर
सनसनीखेज नै खबर भए, अखबारको के कुरा गरूँ ?

कंश यहिँ रावण यहिँ कलियुगका छन मेनका यहिँ
पशुपतिनाथ भांग पिई मस्त, अवतारको के कुरा गरूँ ?

चाकरी गरी बिदेशीहरुको, आफुलाइ भन्छन वीर हरे !
नेपालीहरुको खुकुरी खिएछ, हतियारको के कुरा गरूँ ?

जड़ी बुटी जलस्रोत शक्ति, कच्चा पदार्थ सबै छन यहिँ
युवाशक्ति काम खोज्दै बिदेशिए, रोजगारको के कुरा गरूँ ?


३०-०८-२०१४

Comments

govinda rawat

 नेपालको बास्तबिकतालाई गजल मार्फत सुन्दर ढंगबाट प्रस्तुत गर्नुभएको छ । हरी जी लाई मेरो शुभकामना ।। 

Komal Bhatta

 काफिया दोष देखियो l

हरि पौडेल

मेरो रचनालाई आफ्नु वेबसाइटमा ठाउँ दिनु भएकोमा खसखस परिवार प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु साथै यस खसखस साहित्यिक ऑन लाइनको उत्तरोत्तर प्रगतिको लागि शुभकामना प्रकट गर्दछु.

हरि पौडेल 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |