हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

द्रौपदीहरु

बासु श्रेष्ठ, (भर्जिनिया)

भन्छन् मानिसहरु
द्रौपदी पौराणिक ईतिहास हो
द्रौपदि एक विगत हो
द्रौपदि एक पश्चाताप हो |

तर महाभारतको लामो कालखण्डपछि
आज आएर म भन्छु
द्रौपदी वर्तमानपनि हो
द्रौपदि हिजोपनि थियो
र भोलीपनि हुनेछ
द्रौपदिको अन्त्य कहिल्यै हुँदैन
जसरी महाभारतमा भएथ्यो ।

कारण,
हिजो आजका द्रौपदि
यौन पिपासु आँखाबाट शोषित छन्
हिँस्रक लोग्नेबाट प्रताडित छन्
बसको घच्चमघच्चामा लाचार छन्
घरको करेसाबारीमै आफन्तका व्यभिचारको शिकार भएका छन् |

हिजोको द्रौपदिको चीर हरणमा त
काले कृष्ण सहारा थियो र पो बचिन्
तर आजको द्रौपदिको चीर हरण कृष्ण आफैँ गर्छ
अब द्रौपदि कसलाई गुहारोस्?

मात्र पाँचजनाको न पत्नी थिई द्रौपदि
तर अहिलेका द्रौपदिहरु त कठै
अनगिन्ती अप्रत्यक्ष पतिका शिकार भएका हुन्छन्
सडक सुसेली र जालका गुलेली हान्नेहरुबाट
बसमा भीडको बहानामा स्पर्श गर्नेहरुबाट
आफ्नै बाजे बाबु या काका मामाबाट
अझ भनौँ जसमा आश्रित छ उसैबाट
पलपल र हरपल
शारिरीक र मानसिक रुपमा
दौपदि भई नै रहेको हुन्छ

विचरा दौपदि
न रुने ठाउँ पाउँछ
न विलौना गर्न पाउँछ
न सहारा भरोसा र विश्वास नै पाउँछ
न टेक्ने धरती पाउँछ
न उड्ने आकाश पाउँछ
अनि त पलपल हर पल
निरिह द्रौपदिहरुको जन्म भईरहेको हुन्छ

आखिर कहिलेसम्म
यो चीर हरण भई रहने हो?
कहिलेसम्म शोषण र स्वेच्छाचारी चल्ने हो?
द्रौपदिको लाचारी र
निरिहता कहिलेसम्म चल्ने हो?
एक न एकदिन त अवश्य रोकिनुपर्छ
तर
अफशोच,
जबसम्म पाण्डब, दुर्योधन या सकुनीको अन्त्य हुन्न
या द्रौपदिहरुले करुण क्रन्दन होइन
विरोधको स्वर नउरालेसम्म
आँखामा आँसु होईन
ज्वाला नदेखाएसम्म
क्रोधाग्नी बालेर भष्म गर्न तयार नभएसम्म
बाधा र बन्धन, लाज अनि शरमका
माखेसाँग्लो नचुँडाएसम्म
द्रौपदिको चीर हरण जारी नै रहने छ
द्रौपदिहरुको जन्म भई नै रहने छ
द्रोपदिको आँसु बबगी नै रहने छ
अनन्त अनादि कालसम्म ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |