डायस्पोरिक कवि नम्रता गुरागाई
होमनाथ सुवेदी, (उडब्रिज, भर्जिनिया)
नम्रता गुरागाईको जन्म २०२८/१९७१ सुन्दरपुर मोरङमा भएको हो । हाल नर्थ क्यारोलाइनमा सरेर साहित्यिक क्रियाकलापमा सक्रिय छिन् । शिक्षा भूगोलमा एम ए त्रिभुवन विश्वविद्यालयबाट । उनले धेरै प्रकारका पुरस्कार पाएकी छिन् । उनका प्रकाशित कृति हुन्ः
१. परिवेश र म २०५०/१९९३
२. मन भए तिमीसँग २०६५/२००८
कोमलता र माधुर्य भित्र नम्रता मानवता, जीवन प्रेम र सद्भाव सञ्चार गरिरहेकी छिन (भट्टराई, हरिराज. सेतु वाशिङ्टन डी सीः सेतु प्रकाशन २०६२) ।
उनको ‘नयाँ वर्ष’ २०४८ को कविता धनकुटाको ‘चट्याङ’ पत्रिकामा प्रकाशित भएको हो । उनको कविता यात्रा निरन्तर छ । उनले यी विभिन्न पुरस्कार र सम्मान पाएकी छिन् – प्रलेस वार्षिक कविता महोत्सव, काठमाडौं २०५४, वृहत् प्रतियोगितात्मक कवि सम्मेलन, पोखरा २०५४, मर्स्याङ्दी ब्राहमण प्रतिष्ठान, काठमाडा २०५४ । राष्ट्रिय कविता महोत्सव, ने. रा. प्र. प्र. (२०५४) प्रेलस वार्षिक कविता महोत्सव, काठमाडौं (२०५३), युवा कविता महोत्सव धरान (२०५२) । यी अवसरमा उनी पुरस्कृत भएकी छिन् । अनेसासकी आजीवन सदस्य पनि हुन् । आजीवन सदस्य मात्रै हुन् तर मौका पाए राम्रो काम गर्न सक्ने अग्रगामी सोच भएकी कवयित्री हुन् । उनका कविताको बारेमा ‘मन भए तिमीसँग’ को भूमिकामा भारती गौतम लेख्छिन्ः
“‘परिवेश र म’ मा उनको युवा जोश जाँगर र परिवेशको कुन्ठाबाट आएको वैचारिक द्वन्द छ र त्यस प्रति विद्रोह छ भने प्रस्तुत संग्रहमा जीवनको यथार्थसँग आत्मसात् छ । आफ्नो नियन्त्रणको सीमा पारिसँगको मौन सम्झौता छ जे भए पनि दुवै संग्रहमा नम्रता यौटी खारिएकी कवयित्री छिन् ।
‘मन भए तिमीसँग’ मा ४२ वटा कविता छन् । महिलालाई प्राथमिकता दिएर कविताहरु लेखिएका छन् । भरियाका पीडा बोध छ । डायस्पोरिक कविताको एक चाँग छ र प्रकृति वर्णनमा पनि नेपाल मूल थलोका हिउ र सिरैमा साथ साथ कवितामा आउँछन् । अतित मोहका छटाहरु कवितामा झुल्कन्छन् र अस्ताउँछन् । चाडपर्वहरु अमेरिकामा बस्दा पनि नेपाल बोकेर लान दशैं र तिहार सफल छन् । उपमा विम्ब र प्रकृति विम्बको प्रखर प्रयोग छ । बिधवा नारीको पीडाबाठ उनी द्रवित छिन् । अग्रगामी कविताका यी दुई कविता संग्रहका बीटा अत्यन्त मजबुत छन् । ‘मन भए तिमीसँग’ बाट यौटा नमुनाः
न थकाइ मेटाउने चौरी छ
न रहर फुकाउने दौतरी छ
—विधुवा
कति पीडा होला । नारीको विधवा भए पछि कारुणिक जीवन प्रतिको अभिव्यक्ति प्रखर छ ।
उनी ‘भरिया’ जस्तो कविता लेखेर शोषित पीडितहरुको पक्षमा बोल्छिन्
प्रकृतिले जे दियो त्यही रोप्छ
थाम्न सक्ने भन्दा धेरै बोक्छ ।
–भरिया
राजनैतिक दर्शन पनि भरियाले बोकेर हिडेको हो तर इतिहासले के दियो उसलाई ? कवयित्री उनीहरुको आत्मामा पसेर हामीले के पायौं ? कवितामा लेख्छिन्ः
विचार भित्र काँडा हालेर
तिमी कति अग्लो भयौ
म कति होचो भएँ
तिमी कति साँघुरो भयौ
म कति फराकिलो भएँ ।
–हामीले के पायौं ?
वैचारिक अव्यवस्थाले व्यक्ति, दल र राष्ट्रमा समेत चिरा परेको छ र यसरी टुक्राएर फाइदा के भो ? प्रश्न छ, इतिहास बोकेर हिडेका तेतृत्व वर्गबाट के पाए जनताले ? ‘गुमाएको घर’ कवितामा दैवी प्रकोपले पनि बेघरबार बनाइएका ती दुःखीप्रति नम्रताको कलमको शिर झुकेको छ र विश्वको जुनसुकै कुनामा पनि हुने जस्तो सुकै मानवीय पीडालाई यी कविताले छोएका छन् । त्यसको उदाहरण हो ‘गुमाएको घर’ कविता ।”
डायस्पोरिक सञ्चेतना
डायस्पोरिक सञ्चेतनाका कसी यिनलाई मान्न सकिन्छः दुई भिन्न भूमिको परिवेश, अधिन (भय, चिन्ता, अपरिवर्तता, असुरक्षा), द्वैध मानसिकता, विरानोपन, एकाकी एक सूत्रताको खोजी, आप्रवासी हुनुको चिन्ता, अल्पसंङ्ख्यक वा सीमान्तीकृत, अस्तित्वको लागि एक सूत्रताको खोज । यी चेत यो कृतिमा पाइन्छ ।
‘हिउ र म’ कविताले नेपाल अमेरिकाको भिन्न प्राकृतिक परिवेश भएको तुलना गर्दै मूल देश सम्झेको छः
आज
अर्कै महादेशमा
हिउँ उडिरहेको हेरिरहेकी छु
जहाँ हिमाल नै देख्न पाइदैन
त्यहाँ म उडिरहेकी छु बुर्कुसी मारेर र
खसिरहेको छ जवानी सकिएका रुखहरुमा/बाटो बाटोमा
–हिउँ र म
अभिघात ‘वर्क परमिट’ कवितामा रहेको छ, नेपाली आप्रवासीहरु अमेरिकामा ‘वर्क परमिट’ विना बस्दा काम खोज्दा कति कठिन हुन्छ त्यो चिन्ताले पीडित पात्रको विवृति हो यो तलको कविता ः
वर्क परिमिट नभएको मान्छे म
पखेटा काटिएको चरो जस्तो
जति जति कामको खोजीमा
आकाशमा उड्न खोज्छु
त्यति त्यति भुर्र भुर्र गर्दै
मैदानमा पछारिन्छु ।
– वर्क परमिट
कारुणिताको परासीमा छोएको छ यो बिम्बले ‘पखेटा काटिएको चरा जस्तो’ । यो उपमा बिम्बले ह्दय छुन्छ, पाठकका आँखाबाट आँसु खसाल्छ । पुरानो करुप रस आज डायस्पोरिक साहित्यमा अभिघात भएर अवतार लिएको छ । यसै कवितामा अल्पसंख्यक हुनुको पीडा पनि छ र उसको अस्तित्वको प्राप्तिको लागि ऊ उड्न खोज्छ तर खस्छ । संघर्ष गरिरहेको छ । आप्रवासी हुनुको पीडा बुझिदिने मान्छेको खोज छ तर पाइदैन ।
त्यस्तै ‘तिहारको सम्झना’ कविता डायस्पोरिक चेतले युक्त छ । अमेरिका बसे पनि दीपावलीमा यौटी डायस्पोरिक नारी पात्रले मनलाई भाइ बहिनीमा जोडेकी नेपाल पुराएकी छ । यो एक उदाहरणः
कहाँ पाइदो रहेछ र दाजु भाइ परदेशमा
पञ्च टीकाले निधार रंगाइदिन
–तिहारको सम्झना
आप्रवासीको पीडामा अझ टुटेफुटेको अंग्रेजी बोल्दै बिरानो बनेर भौतारिनु पर्ने वाध्यता छ । यौटा नमुनाः
समयका उकाली ओरालीमा
भौतारि रहेछु खोजेर नया आशा
जानी नजानी बोल्न खोजि रहेछु
अर्कै नागरिकताको भाषा
साँघुरो परिवारको परिभाषाभित्र
खै कति होला चेली माइतीको आत्मीयता
मेसिन् या मान्छे
छुट्टयाउनै गाह्रो ठाउँमा
खै कस्तो होला नाता भित्रको आत्मीयता
– तिहारको सम्झना
यही कवितामा द्वैध मानसिकता देखिन्छ तन अमेरिका, मन नेपाल छ । यताको जीवन यान्त्रिक मात्र छ । नेपालको जस्तो आत्मीय नाता नै पाउन पनि कठिन छ । नेपाली अर्कै नागरिक बन्नु त्यसको भाषामा अनुदित हुन,ु माइती छोडेर अर्को घरमै जाँदा रुन्छन् भने यो त आप्रवासमा किन परिवारको परिभाषा बदलिएको अनुभव न होस् अझ यो कविता चाड पर्वलाई लिएर लेखिएको छ र सहन सक्नेसम्म छ । यदि नेपालको नागरिकता छोडेर यहाँको नागरिकता लिने क्षणमा मन कस्तो हुन्छ! त्यसको कविता लेखिन् भने कति दर्दनाक होला त्यो यो कविताबाट अन्दाज गर्न सकिन्छ ।
अमेरिकामा लेखिएको कविता सबैमा डायस्पोरिक चेत हुदैन । जसमा उक्त ८ र १० वटा प्रवृतिहरु कसिएका हुन्छन् , ती मात्र डायस्पोरिक हुन्छन् । यो कवितासंग संग्रह डायस्पोरिक सञ्चेतना प्रवल भएको कविता संग्रह हो । अध्यागमनका समस्या, भाषाका समस्या, नयाँ देशमा कामको समस्या, मूल देशको अतीत मोह यसमा पर्याप्त छ ।
कला पक्षमा पनि गद्य कविता हो । यसमा आवश्यक लयात्मकता छ र बिम्बहरुको उपयोग गरिएको छ । पहिलो कृति भन्दा यो दोश्रो कविता संग्रहहरुले युगीन चेतना र कविताको ऐतिहासिक विकासको मर्मलाई आत्मसात् गर्दै अग्रगामी भएको पाइन्छ ।